हेजबुल्लाद्वारा इजरायलमाथि मिसाइल आक्रमण
लेबनानी लडाकू समूह हेजबुल्लाले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको छ।
इजरायले गरेको आक्रमणको बदलामा रकेटबाट आक्रमण गरिएको हेजबुल्लाले जनाएको छ। हेजबुल्लाले डेढ सयभन्दा बढी मिसाल आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ।
हेजबुल्लाले प्रहार गरेका धेरै सिसाइल आकाशमै ध्वस्त पारिएको इजरायली डिफेन्स फोर्स (आईडीएफ)को दाबी छ। हेजबुल्लाले प्रहार गरेका केही मिसाइलले हाइफा शहरमा क्षति गरेको छ। आक्रमणबाट केही इजरायली घाइते भएको आईडीएफले जनाएको छ।
गत साता लेबननमा मोबाइल फोन र वकीटकीज जस्ता सञ्चार उपकरणहरू एकसाथ बिस्फोट भएका थिए। बिस्फोटमा ३२ जनाको ज्यान गएको थियो। त्यसमा तीन हजारभन्दा बढी घाइते भएका थिए। हेजबुल्लाले प्रयोग गरिरहेको आशंकामा इजरायलले सञ्चार उपकरणमा विस्फोट गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
त्यसको बदलामा इजरायलमाथि आक्रमण गर्ने हेजबुल्लाले घोषणा गरेको थियो। त्यही क्रममा आज इजरायलमाथि आक्रमण गरिएको जनाएइको छ।
यसअघि शुक्रबार पनि इजरायलले लेबननको बेरूत शहरमा हवाइ आक्रमण गरेको थियो। त्यसमा ४५ जनाको ज्यान गएको थियो। शनिबार पनि इजरायलले लेबननका विभिन्न स्थानमा हवाइ आक्रमण गरेको थियो।
इजरायलले आक्रमण जारी राखेपछि हेजबुल्लाले पनि प्रत्याक्रमण थालेको जनाएको छ। इजरायलमाथि अझै आक्रमण गर्ने हेजबुल्लाले चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन्।
२०८० असोज २० मा फलस्तीनी लडाकू समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो। त्यसयता इजरायले गाजामा नरसंहार मच्चाइरहेको छ। इजरायली आक्रमणबाट अहिलेसम्म ४० हजारभन्दा बढी फलस्तीनीको ज्यान गइसकेको छ।
इजरायलले नरसंहार जारी राखेपछि लेबननी लडाकू समूहले हेजबुल्लाले हमासको समर्थन गरेको थियो। हमासलाई सघाएको भन्दै इजरायलले हेजबुल्लामाथि पनि आक्रमण गरिरहेको छ। पछिल्लो पटक लेबननमाथि आक्रमण थालेपछि हेजबुल्ला प्रत्याक्रमणमा उत्रिएको अल जजीराले उल्लेख गरेको छ।
यो पनि पढ्नुहोस् :