सहकारी ठगीमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ
सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पक्राउ परेका छन्।
पूर्व डीआईजी जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले हिमालखबरलाई बताए। पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।
संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा जोशीलाई पनि कारबाही गर्न सिफारिश गरिएको थियो। प्रतिनिधि सभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिएका थिए।
असोज ४ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो। गृहमा पुगे लगत्तै पूर्व डीआईजी जोशीलाई पक्राउ गरिएको हो।
उनी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन्। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम गोरखा मिडियामा लगानी गरेको पाइएको थियो।
यसमा जोशीसँगै पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जीबी राईलाई पनि कारबाही गर्न सिफारिश गरिएको छ। राई गोरखा मिडियाका अध्यक्ष हुन् भने लामिछाने त्यति वेला प्रबन्ध निर्देशक थिए।