एघार वर्षअघि निर्माण थालिएको मध्य भोटेकोशी बल्ल सकिने चरणमा
एघार वर्षअघि निर्माण थालिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना बल्ल निर्माण सकिने स्थितिमा पुगेको छ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको यो आयोजनाले एक महीनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम तयारी भइरहेको प्राधिकरणले जनाएको छ। २०७० पुस १७ मा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रोइलेक्ट्रिकसँग सिभिल तथा हाइड्रो मेकानिकल कार्यका लागि सम्झौता गरिएको थियो। लामो अड्चन, निर्माणमा शिथिलता तथा व्यवस्थापनमा अनेकौं कमजोरीका कारण आयोजनाको निर्माण निकै सुस्त रहेको थियो।
पछिल्लो समयमा प्रसारण लाइन निर्माणमा व्यवधान आएपछि आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको थिएन। स्थानीयवासीले करीब १४ महीनादेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दै आएका थिए।
बाह्रबिसे नगरपालिका-५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट बाह्रबिसे-३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करीब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको प्राधिकरणले जनाएको छ। २२० केभी सिंगल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैंअघि सक्ने लक्ष्य छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका मेयर बालकृष्ण बस्नेत लगायत जनप्रतिनिधि र आयोजनाबीच गत भदौ १३ मा सहमति जुटेको थियो।
बाँधक्षेत्रको निर्माण सकेर पानी हालेर परीक्षण पनि भइसकेको छ। आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण शुरू गरिएको थियो। परीक्षणका क्रममा मुख्य सुरुङको करीब एक हजार ४०० मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ। अबको १५ दिनपछि सुरुङमा पानी भर्न थालिनेछ।
विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) भइरहेको छ। सुरुङबाट पानी आउनसाथ उपकरणको ‘वेट टेस्ट’ शुरू हुनेछ। बाँकी रहेका सम्पूर्ण काम एक महीनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन शुरू गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ।
मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन शुरू भएपछि बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ। २२०÷१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ। बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई १३२ केभीमा झारेर प्रवाह गरिने छ।
यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ। सोही प्रसारण लाइनबाट मध्यभोटेकोशीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १६ अर्ब रुपैयाँ पुगेको छ। आयोजनाको शुरूको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावरको १-१ प्रतिशत सेयर रहेको छ।
४९ प्रतिशत साधारण शेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत शेयर रहेको छ। कम्पनीले साधारण शेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन्।
आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरीद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने जनाइएको छ।