‘द लोकल्स’को लयमा आमाहरूको धिमे नाच
युवाको समूह द लोकल्सले हौस्याएपछि इन्द्रजात्राको अवसर पारेर काठमाडौंंको केन्द्र मरूटोलका आमाहरू धिमे नाचमा रमाए।
साताव्यापी इन्द्रजात्राको उत्सवका क्रममा यस पटक एउटा नौलो दृश्य देखियो, भदौ ३० मा। वसन्तपुरको महादेव पार्वती देगः अगाडि करीब १०० जना कलाकारले धिमे बजाउँदै धिमे नाच प्रस्तुत गरे।
बाजा बजाउने मरूटोलका स्थानीय किशोर थिए भने नाच्ने एउटा समूह किशोरकिशोरीकै थियो। अर्को समूह थियो, स्थानीय आमाहरूको। जसले स्थानीय बासिन्दाको मात्रै होइन, अरुको पनि ध्यान खिच्यो।
यो नौलो प्रस्तुति दिएको थियो, द लोकल्सले। द लोकल्स अर्थात स्थानीय युवाले गत वर्ष स्थापना गरेको संस्था हो। यो संस्था स्थापना गर्दा सबै सदस्य १९ वर्षमूनिका थिए। “हामीले हराउँदै गएको नेवा नाच, बाजा र सङ्गीतलाई फेरि पुनर्जीवन दिने उद्देश्यले द लोकल्स स्थापना गरेको हौं,” हाल अध्यक्ष रहेका २० वर्षीय प्रसन्न मानन्धर भन्छन्।
काठमाडौंको केन्द्रमा रहेको मरूटोलका बासिन्दा प्रसन्नले कक्षा ४ मा हुँदादेखि नै नेवा नाच सिक्न थालेका हुन्। अहिले त उनी नाच सिकाउने भइसकेका छन्। यो वर्ष इन्द्रजात्रामा भएको कार्यक्रममा पनि उनैले नाच सिकाए।
यसअघि द लोकल्सले एउटा नृत्य प्रतियोगिता आयोजना गरेको थियो, जसमा एक मात्र जोडीले भाग लिएको थियो। त्यसपछि योमरी पुन्हिको मौका पारेर ‘मतिना पारू’ मनाए। योमरी पुन्हि अर्थात मंसीर महीनाको पूर्णिमामा नेवा समुदायले योमरी खाएर मनाउने दिन र मतिना अर्थात माया, प्रेम।
“अहिले ‘भ्यालेन्टाइन्स डे’को विदेशी अवधारणा लोकप्रिय भए पनि नेवा समुदायमा प्रेम दिवसको पुरानो प्रचलन छ। ठाउँठाउँमा योमरी माग्दै हिँड्दा युवायुवती सुटुक्क भेटेर प्रेमको कुरा गर्थे रे!” द लोकल्सका सचिव सन्देश मानन्धर भन्छन्, “यो प्रचलन आजकाल हराइसकेको छ। हामीले त्यसलाई ब्युँताउनका लागि ‘मतिना पारू’को दिनमा नाच गरेका थियौं।”
द लोकल्सका अधिकांश सदस्यको वासस्थान मरूटोल नेवा संस्कृतिको केन्द्र नै हो, इन्द्रजात्रा लगायतका जात्राहरू यहिँ हुने गर्छन्। भीमसेनथान अगाडि रहेको सन्देशको पसल अघिल्लतिर इन्द्रजात्राको रथ रोकिन्छ र पूजा गरिन्छ। सानैदेखि यहि सांस्कृतिक वातावरणमा रमाएका युवामा नेवा संस्कृतिप्रति मोह देखिन्छ।
१६ वर्षीय सन्देशले घरछेउकै परम्परागत भजनमण्डलीबाट सङ्गीत सुन्न र सिक्न शुरू गरे। हाल द लोकल्स समूहबाट किशोरकिशोरीलाई धिमे बाजा बजाउन सिकाउने गर्छन्। परम्परागत भजमण्डलीबाट प्रशिक्षित युवाले इन्द्रजात्रामा धिमे बाजा बजाएका थिए। त्यसमा बाँसुरी बजाउने सन्देशका भाइ थिए, उनी १३ वर्षका छन्।
यस पटक इन्द्रजात्रामा भने उनीहरूले युवाको मात्र नभएर आमाहरूको नाच पनि समावेश गरे। त्यसमा सन्देशकी आमा सुनिता मानन्धरले पनि नृत्य गरिन्। उनले द लोकल्स समूहबाट नाच सिकेकी थिइन्। “एक दिन प्रसन्न र सन्देश घरमा कुरा गर्दै थिए, यो पाली त आमाहरूलाई पनि नचाउनु पर्छ भनेर,” सुनिता भन्छिन्, “पहिला त मलाई उनीहरू जिस्केको हो कि जस्तो लाग्यो। अनि मैले मेरो पनि नाम राखिदेउ भनेर भनेँ। अनि धिमे नाच सिक्न गएँ।”
त्यसपछि मरूटोलका अन्य आमाहरूले पनि प्रसन्न र उनकी पनि प्रशिक्षक रजिना नापितको प्रशिक्षणमा धिमे नाच सिक्न थाले। “प्रायः आमाहरू दिउँसो कार्यालयमा काम गर्नुहुन्छ। म त पसलमा पनि बस्छु। बिहान बेलुका घरमा खाना बनाउनुपर्ने हुन्,” सुनिता सुनाउँछिन्, “त्यसैले हामीले सबैलाई मिल्ने समय खोजेर बेलुकी ६ बजे नाच सिक्थ्यौं।”
यसरी आमाहरूले दुई साता धिमे नाच सिके। अनि यो वर्षको इन्द्रजात्रामा उनीहरूले महादेव पार्वती देगःमा धिमे नाच प्रस्तुत गरे। “स्टेजमा जाँदा बिग्रेला कि भनेर डर लागिरहेको थियो। तर त्यहाँ गएपछि त त्यस्तो केही सोचिन मैले,” सुनिता उत्साहित हुँदै भन्छिन्, “यति खुशी लाग्यो त्यसरी नाच्दा, दर्शकहरूको समर्थनले झनै उत्साहित बनायो।”
उनले २५ वर्षपछि धिमे नाचेकी हुन्। यसअघि किशोरावस्थामै नाचेकी थिइन्। त्यसपछि नाच्ने मौका परेको थिएन। अचानक यति पछि नाच्दा डर पनि लागेको उनी सुनाउँछिन्।
नेवा सांस्कृतिक धिमे नाच हाल विभिन्न कार्यक्रममा नाचिन्छ। अझ भक्तपुर र ललितपुरमा विशेष अवसरमा ठूलो समूहमा नाच्ने गरिन्छ। काठमाडौंमा यसरी धिमे नाच कमै प्रदर्शन हुने गरेको छ। त्यसैले आफूहरू नाच प्रदर्शन गर्न उत्साहित भएको द लोकल्सका सदस्य बताउँछन्।
यससँगै नेवा संस्कृतिलाई पुस्तान्तरण गर्न पनि नाच सिकाउने गरेको द लोकल्सका अध्यक्ष प्रशन्न सुनाउँछन्। “नेवा संस्कृति बाजा, सङ्गीत र नाचमा समृद्ध छ। यीमध्ये कतिपय त हराउँदै गएका छन्,” उनी थप्छन्, “हाम्रै टोलमा पनि कतिपय दाफा परम्परा धरापमा परेका छन्। त्यसैले युवालाई यी गीत र नाच पुस्तान्तरण गर्न चाहन्छौं।”