संघीयतालाई सबल बनाउने बाटो
संघीयता र समावेशी लोकतन्त्रको विषयमा हाम्रो समझलाई गहिरो बनाउने यस पुस्तकले नेपालको संघीय शासन प्रणालीलाई अझ बलियो बनाउन पनि सघाउनेछ।
काठमाडौं विश्वविद्यालयको स्कूल अफ लले गत पुसको पहिलो साता (२२-२३ नोभेम्बर, २०२३) मा ‘संघीयता, शक्तिको हस्तान्तरण र समावेशी लोकतन्त्र’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो। सम्मेलनमा नेपालमा संघीयताका विभिन्न आयाममाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वका बीचमा बृहत्तर छलफल भएको थियो।
त्यही अन्तर्राष्ट्रिय सम्मेलनका विषयवस्तु समेटेर फेडेरालिज्म, डेभलपमेन्ट अफ पावर एन्ड इन्क्लुसिभ डेमोक्रेसी नेपाल्स कन्स्टिच्यूशनल कन्टेक्स्ट पुस्तक तयार गरिएको छ। यसको पहिलो ‘भोल्युम’ काठमाडौं विश्वविद्यालय स्कूल अफ लले प्रकाशन गरेको छ।
यस पुस्तकमा विभिन्न विचार, विश्लेषण तथा अनुभवको गहिरो अध्ययन समावेश गरिएको छ। नेपालमा संघीय प्रणालीलाई कसरी सुदृढ बनाउन सकिन्छ र समावेशी लोकतन्त्रको अवधारणालाई कसरी व्यवहारमा लागू गर्न सक्छौं भन्ने महत्त्वपूर्ण छलफल यस पुस्तकभित्र समेटिएको छ।
नेपालले संघीय शासन प्रणालीलाई अंगीकार गरेको धेरै भएको छैन। तैपनि संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न क्षेत्रका विशेषज्ञ, विद्वान् र सरोकारवालाको गहन योगदानको आवश्यकता छ। संघीय शासनलाई अझ समावेशी र जनमुखी बनाउन संघीयतासँग सम्बन्धित चुनौती, अवसर तथा यसका व्यावहारिक पक्षबारे अझ गहिराइमा बहस हुनुपर्ने देखिन्छ। गत वर्षको अन्तर्राष्ट्रिय सम्मेलन त्यसैको एक कडी थियो। त्यो सम्मेलनको उत्पादनका रूपमा यस पुस्तकले सोही दिशातर्फ एउटा कदम अघि बढाउने प्रयत्न गरेको छ।
संघीयता केवल संघ, प्रदेश तथा स्थानीय तहबीचको शक्तिको बाँडफाँड मात्र होइन। यसले स्थानीय समुदायलाई सशक्त बनाउन, उनीहरूको आवाजलाई प्राथमिकतामा राख्न र सरकारलाई नागरिकप्रति जवाफदेह हुन सहयोग पुर्याउनुपर्छ।
यसका साथै वित्तीय संघीयताको विषय पनि नेपालका लागि महत्त्वपूर्ण विषय हो। यस्ता विषयलाई यस पुस्तकले एक सूत्रमा बाँधेको छ।
यस पुस्तकमा समावेश गरिएको समावेशी लोकतन्त्रको अवधारणा विशेष महत्त्वको छ। समावेशी लोकतन्त्रलाई राजनीतिक प्रतिनिधित्वमा मात्र सीमित बनाउनु हुँदैन। यो समाजको हरेक क्षेत्रका मानिसको सहभागिता सुनिश्चित गर्ने मार्ग हो। यस पुस्तकमा समावेशिताले कसरी सबै समुदायलाई राज्यका स्रोतहरूमा समान पहुँच दिलाउन सक्छ भन्ने विषयलाई विस्तृत रूपमा उल्लेख गरिएको छ।
यो पुस्तक केवल ज्ञानको स्रोत मात्र होइन, यसले नेपाल र अन्य संघीय राष्ट्रहरूका लागि मार्गदर्शन प्रदान गर्नेछ। यसले आगामी दिनमा नीतिनिर्माता, विद्वान्, विद्यार्थी र सरोकारवालाका लागि एक प्रेरणादायी दस्तावेजका रूपमा काम गर्नेछ।
यस पुस्तक मार्फत विभिन्न लेखक र सम्पादकले महत्त्वपूर्ण योगदान गरेका छन्। उनीहरूको मिहिनेत पुस्तकमा झल्किएको छ। यसमा अस्ट्रेलियाली सरकार र द एशिया फाउन्डेशनले सघाएका छन्। यस्तो महत्त्वपूर्ण कार्यमा जोडिएका सबै धन्यवादका पात्र बनेका छन्।
समग्रमा संघीयता, शक्तिको हस्तान्तरण र समावेशी लोकतन्त्र जस्ता महत्त्वपूर्ण विषयमा आधारित पुस्तक तयार भएको छ। यस पुस्तकले केवल ज्ञानको संकलन मात्र नभई हाम्रो लोकतन्त्रको विकास र संघीयताको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। यसले संघीयता र समावेशी लोकतन्त्रको विषयमा हाम्रो समझलाई गहिरो बनाउनेछ र नेपालको संघीय शासन प्रणालीलाई अझ बलियो बनाउन योगदान दिनेछ।
(काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाले फेडेरालिज्म, डेभलपमेन्ट अफ पावर एन्ड इन्क्लुसिभ डेमोक्रेसी नेपाल्स कन्स्टिच्यूशनल कन्टेक्स्ट पुस्तक विमोचन समारोहमा राखेको विचारको सम्पादित अंश। पुस्तक प्रा.डा. विपिन अधिकारीले सम्पादन गरेका हुन्।)