मैकोटे मायामा सशस्त्र द्वन्द्वको छाया
एकअर्काको मन मिल्दैन भने चलनको नाममा जवरजस्ती सम्बन्ध स्थापित गर्नुहुँदैन भन्ने फिल्म ‘खुस्मा’को स्पष्ट सन्देश छ।
माओवादीले सञ्चालन गरेको दशक लामो सशस्त्र द्वन्द्वलाई हिंसा मान्ने कि नमान्ने भन्ने विवादले गत भदौमा प्रतिनिधि सभा बैठक पटकपटक अवरुद्ध भयो। भदौ ३१ मा दुवै सदनको अधिवेशन अन्त्यपछि बल्ल यो विषय संघीय संसद् भवनमा सुनिन छाड्यो।
संविधान दिवसको दिनदेखि प्रदर्शन शुरु भएको फिल्म ‘खुस्मा’ले भने सशस्त्र द्वन्द्वलाई पुनः बहसमा ल्याएको छ। फरक यति हो, द्वन्द्वको चर्चा संसद्को बैठक हलबाट सिनेमा हलतिर सरेको छ।
रुकुमको मौकोटवासी फोटोपत्रकार सुरवीन्द्र के. पुनका अनुसार ‘खुस्मा’को अर्थ ‘आमाको कोख’ हो। काठमाडौंले कहिल्यै कोखमा राख्न नमानेपछि विरक्तिएको रुकुम-रोल्पामा तीन दशकअघि द्वन्द्वको विजारोपण गरिएको थियो। त्यो द्वन्द्वले राज्य र विद्रोही दुवै पक्षमा नलागेका तटस्थ परिवारलाई पनि बाँकी राखेन। द्वन्द्वका बाछिटाले भर्खर अंकुराएका प्रेमिल जोडीलाई पनि छाडेन।
यही परिवेशमा निर्देशक अशोक थापा मगरले खुस्मा (उपासना मल्ल ठकुरी) र गेमी (धिरज मगर) बीचको प्रेमकथा प्रस्तुत गरेका छन्। आफ्नै फुपूका छोरा मात्र होइन, खुस्मालाई मन पराउने गाउँका अन्य युवा पनि छन्। दोहोरो बन्दुकबीच हुर्किरहेको गेमी र खुस्माको प्रेम फक्रिन पाउला? यसको जवाफ पाउन भने फिल्म हेर्नै पर्छ।
मगर समुदायमा मामा चेली र फुपू चेलाबीच विवाह गर्ने चलन छ। तर एकअर्काको मन मिल्दैन भने चलनको नाममा जवरजस्ती सम्बन्ध स्थापित गर्नुहुँदैन भन्ने फिल्मको स्पष्ट सन्देश छ।
सशस्त्र द्वन्द्वका मृतक र बेपत्ताका परिवार तथा घाइते र अपाङ्गता भएकाहरूका लागि न्याय कुन चरोको नाम हो जस्तो भएको यथार्थ पनि ‘खुस्मा’ले बोलेको छ।
शान्तिश्री परियार र एसडी योगीको स्वर रहेको ‘रुकुम मैकोट...’ बोलको गीत त युट्युबमा एक करोड २० लाखभन्दा बढी पटक हेरिसकिएको छ। यो गीत लगत्तैको दृश्यले द्वन्द्वकालमा भुम्या, रोदी, हाट बजार कसरी विरानो बन्यो भन्ने सम्झाउँछ।
केहीलाई अपवाद मान्ने हो भने बाँकी सबैको अभिनय अब्बल छ। उपसना र धिरजसँगै राज थापा काउचा, माउत्से गुरुङ, खड्गबहादुर पुन (खबपु),विजय सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरुण मगर, राजु रेग्मी, संगिता थापा, सारा राई, महेश बराल, विवेक बुढा, श्वेता बुढा, साजन थापा, मीरा गुरुङ लगायतले अभिनय गरेका छन्। वीरबहादुर लामा, चन्द्र भट्टचन, बेतान मगर र मानबहादुर मगर निर्मातामा रहेको फिल्म एम मिडियाको ब्यानरमा बनेको हो।
हलिउड र बलिउडमा अभ्यस्त दर्शकलाई कतिपय दृश्य अलि ‘स्लो’ लाग्न सक्छन्। केही संवाद मैकोटका स्थानीयसँग मैतक्य नराख्ने खालका पनि छन्। तर मैकोट आसपासकै दृश्यले दर्शकलाई मोहित पार्छ।
फिल्मबारे अधिवक्ता रोम थापाको टिप्पणी छ, ‘एउटा अर्ग्यानिक परिवेश र द्वन्द्वकालीन समयको प्रेम कथामा आधारित यस फिल्मले दुई घन्टा २० मिनेट दर्शकलाई मज्जैले काबुमा राख्छ।’