पलेशालाई बीवाईडीको डल्फिन कार उपहार
पारालिम्पिक्समा पदक जितेकी खेलाडी पलेशा गोवर्धनलाई बीवाईडीको डल्फिन कार उपहार दिइएको छ।
नेपालका लागि बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले डल्फिन कार उपहार दिएको हो। यो कारको मूल्य ४१ लाख रुपैयाँ छ।
एक कार्यक्रमबीच साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कीर्तिमानी खेलाडी गोवर्धनलाई कार हस्तान्तरण गरेकी छन्। उनलाई हौसला प्रदान गर्न कार उपहार प्रदान गरिएको श्रेष्ठको भनाइ छ।
“खेलाडीलाई हौसला मिलोस् भनेर कार उपहार दिएका हौं,” प्रबन्ध निर्देशक श्रेष्ठले भनिन्, “पलेशा गोवर्धनलाई आर्थिक रूपमा सबल बनाउने जिम्मेवारी सबैको हो। त्यसैले हाम्रो तर्फबाट यो सानो उपहार प्रदान गरेका छौं।”
कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले सामाजिक दायित्व वहन गर्दै पदक विजेता खेलाडीलाई उपहार दिन पाउँदा खुशी लागेको बताए। कीर्तिमानी खेलाडी गोवर्धनले कम्पनीलाई धन्यवाद दिइन्।