राहुघाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सकियो
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एक्जिम ब्यांक, भारतको सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट)बाट म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ। आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ भने कंक्रिट लाइनिङको काम भइरहेको छ। कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रूपमा कंक्रिट लाइनिङ गरिंदै छ। हालसम्म मुख्य सुरुङको एक किलोमिटर कंक्रिट लाइनिङ गरिएको प्राधिकरणले जनाएको छ।
मुख्य सुरुङबाट विद्युत्गृहसम्म पानी पुर्याउन राखिने एक हजार ५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ। विद्युत्गृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी टर्बाइन, जेनेरेटर लगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ। विद्युत् उत्पादनका लागि २०/२० मेगावाटका दुई वटा युनिट रहनेछन्।
खोलाको पानी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण भइसकेको छ। बाँधमा रहने गेट लगायत उपकरण जडान शुरू गर्न लागिएको छ। बालुवा थिग्र्याउने पोखरी (डिसेन्टर)को निर्माण ३० प्रतिशत सकिएको छ। वर्षाका कारण रोकिएको हेडवर्क्सको निर्माण शुरू गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका छन्। कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्न निर्देशन दिएका छन्।
आयोजनाको अनुमानित लागत नौ अर्ब १७ करोड रुपैयाँ छ। भारतीय एक्जिम ब्यांकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ। बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन्।
सिभिल संरचना र हाइड्रोमेकानिकलका कामहरू इन्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) ढाँचामा जयप्रकाश एशोसिएट्स लिमिटेड, भारतले, इलेक्ट्रोमेकानिकलका कार्यहरू भारत हेभी इलेक्ट्रिकल लिमिटेडले र निर्माण सुपरिवेक्षण वाप्कोस लिमिटेड, भारतले गरिरहेका छन्। दैनिक चार घन्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ।