‘सुनौली माहुरी प्रवृत्तिका इतिहासकारबाट नेपालको इतिहास लेखन र व्याख्यामा समस्या आएको छ’
‘पाश्चात्य पद्धतिसँग हामी परिचित छैनौं भन्ने आरोप लगाउनेहरू कुनै पनि अनुसन्धान पद्धतिसँग अपरिचित छन्। अनुसन्धानको नाममा थरलाई अगाडि र नामलाई पछाडि राखेर सन्दर्भ दिन मात्र जानेका छन्।’
नेपालको इतिहास अध्ययनमा दिनेशराज पन्तको नाम अपरिचित होइन। पिता नयराज पन्तले स्थापना गरेको गुरुकुलीय पाठशालामा संस्कृत र पूर्वीय वाङ्मय अध्ययन गरेका पन्तका इतिहास सम्बन्धी ४२ वटा पुस्तक र दर्जनौं अनुसन्धानमूलक लेख प्रकाशित छन्। वाल्मीकि क्याम्पसमा ३८ वर्ष प्राध्यापन गरेका पन्तले नेपाल प्रज्ञा-प्रतिष्ठानमा आठ वर्ष प्राज्ञ सदस्य भएर काम गरेका छन्।
संशोधन-मण्डलका संस्थापक सदस्य पन्तले इतिहासप्रधान अनुसन्धानमूलक पत्रिका पूर्णिमाको सम्पादन मण्डलमा रहेर नेपाली इतिहासको परिशीलन गरेका छन्। संशोधन-मण्डलको स्थापना दिवसका सन्दर्भमा उनै प्राध्यापक पन्तसँग हिमालखबरका लागि गोविन्द न्यौपानेले गरेको कुराकानी :
इतिहास अनुसन्धानमा तपाईंको पृष्ठभूमिबारे बताइदिनुहोस् न।
अपूर्ण शिक्षाको अनुभव गरेर बनारसबाट फर्किएपछि मेरा पिताजी प्राध्यापक नयराज पन्तले चलाएको पाठशाला (पद्धति)को सबभन्दा कान्छो विद्यार्थी म हुँ। माथिल्लो पाठेले आफूभन्दा तल्लो पाठेलाई पढाउने चलन थियो त्यहाँ। तात्कालिक अवस्थामा धनवज्र वज्राचार्य मेरा गुरु हुनुहुन्थ्यो।
अक्षरारम्भको दृष्टिकोणले देवीप्रसाद भण्डारी, गणितको दृष्टिकोणले शंकरमान राजवंशी र अन्य विभिन्न दृष्टिबाट भोलानाथ पौडेल, रामजी तिवारी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त आदिले मलाई ज्ञान दिनुभयो।
पिताजीका चेलाहरू शुरूदेखि नै इतिहासको अध्ययनमा लागेकाले म पनि उहाँहरूसँगै त्यसमा जोडिंदै गएको हुँ। दैवसंयोगै भन्नुपर्छ कि १० वर्षको हुँदै २०१६ सालमा जयतुसंस्कृतम्मा पृथ्वीनारायण शाहबारे मेरो पहिलो लेख छापियो।
त्यस वेलाका सम्पादकज्यूहरूले मलाई ‘दिनेशराज पन्त दशवर्षे वयस्क’ भन्ने नाम दिनुभएको थियो। यसकारण जयतुसंस्कृतम्मा प्रकाशित त्यस लेखबाटै मेरो इतिहास अध्ययन कार्य प्रारम्भ भयो।
तपाईंका पिताजीबाट गुरुकुलीय परम्परामा आधारित पाठशाला स्थापना हुनुको पृष्ठभूमि बताइदिनुहोस् न।
खासमा पिताजीले कुनै नाम राख्नुभएको थिएन, तर मानिसले आआफ्नै दृष्टिकोणले गुरुकुलीय शिक्षा पद्धतिमा पढाइ हुने पाठशाला भने, भन्छन्। संशोधन-मण्डलका जाज्वल्यमान नक्षत्र ज्ञानमणि नेपाल (२०८१ जेठ १ मा मृत्यु)लाई धेरैले अनौपचारिक शिक्षा प्राप्त गरेको भने, तर म अनौपचारिक होइन, औपचारिक शिक्षा नै हो भनिरहेको छु।
पिताजीले पनि लेख्नुभएको छ- बनारसमा उहाँलाई परीक्षा उत्तीर्ण गर्न कुनै गाह्रो भएन, परीक्षकहरूले गरेको अशुद्धि पनि पत्ता लगाउनुभयो। त्यसपछि उहाँलाई यसखाले परीक्षा पद्धतिको शिक्षा काम लाग्दैन भन्ने महसूस भयो।
त्यस वेला भारतमा स्वराज आन्दोलन चलिरहेको थियो। अंग्रेजकै कारण हाम्रा शिक्षा पद्धति कमजोर हुँदै गएको भन्ने पिताजीको मनमा पर्न गयो। उहाँमा राजनीतिक चेत पनि थियो भन्ने कुरा उहाँका लेखहरू पढ्दा थाहा हुन्छ।
मेरा आदरणीय दाइ डा. महेशराज पन्तले सम्पादन गर्नुभएको पिताजीको राजा, राणा र कांग्रेस पुस्तकबाट पनि यो कुरा थाहा हुन्छ। उहाँका अरू धेरै डायरी पनि छन्, जुन पछि प्रकाशित हुँदै जाला।
केही भारतीय नेताको भाषणलाई दाँजेर हेर्दा अंग्रेजभन्दा भारतीयहरू फटाहा हुन् भन्ने उहाँलाई लागेछ। यिनीहरूको संगतमा लागेर हाम्रो उन्नति हुँदैन भन्ने पिताजी नयराज पन्तको धारणा थियो।
शिक्षा अध्ययनमा घोक्ने पद्धति हाम्रो प्राचीन पद्धति हो। साथै, आधुनिक पद्धति अनुसार अनुसन्धान गर्ने हाम्रो संशोधन-मण्डलको शैली हो। संशोधन-मण्डलले अनुसन्धानमा आधुनिक पद्धति अपनाएको छैन भन्नु भ्रम हो।
उदाहरणका लागि अहिले पनि याज्ञवल्क्यस्मृति भन्दा धेरैले बुझ्दैनन्, मिताक्षरा भन्दा बुझ्छन्। जबकि याज्ञवल्क्यस्मृतिको टीका मिताक्षरा हो। याज्ञवल्क्यस्मृतिमा नखुलेका धेरै कुरा मिताक्षरामा खुलेका छन्। त्यस्तै, ज्योतिष सम्बन्धी ग्रन्थ मुहूर्तचिन्तामणि बुझ्दैनन्, तर पीयूषधारा सबैले बुझ्छन्। मुहूर्तचिन्तामणिमा प्रस्ट नभएको कुरा पीयूषधारामा खुल्छन्।
यसरी पिताजीले शुरू गर्नुभएको अभियानको मूल उद्देश्य नै ग्रन्थहरू बरु थोरै नै हुन्, तिनलाई कण्ठस्थ पारेर कार्यक्षेत्रमा प्रयोग गर्ने भन्ने थियो। त्यस्तै, हाम्रो पुरानो शास्त्रार्थ परम्परा अनुसार विद्वत्मण्डली तयार गर्नुभएको थियो।
त्यो वेला १०० पूर्णांक परीक्षा प्रणालीमा ३३ अंक ल्याए उत्तीर्ण भइन्थ्यो। १०० मा ३३ ल्याएर उत्तीर्ण गर्ने त्रिखण्डी परीक्षा प्रणालीको विरोधमा उहाँले पाठशाला स्थापना गर्नुभएको हो। मेरा अग्रजहरूले यही पद्धति अनुरूप पिताजीसँग पढ्नुभएको हो। मैले उहाँहरूकै पदचाप पछ्याएँ।
त्यो पाठशालामा कस्ता पाठ्यक्रमहरू थिए?
पाठशालामा आठ वर्षका लागि पाठ्यक्रम तयार गरिएको थियो। पहिलो चार वर्ष महाकवि कालिदासको रघुवंशका साथै संस्कृत, नेपाली र हिन्दी भाषा तथा इतिहासका १०० वटा आधारभूत पुस्तक पढ्नुपर्थ्यो।
त्यस वेला पिताजी र उहाँका चेलाहरूले इतिहास संशोधन सम्बन्धी काम गरेको हुनाले बाहिरियाहरूले ‘संशोधन-मण्डल’ पनि भन्न थाले। पिताजीले चाहिं पौरस्त्य वाङ्मय र विशेषगरी संस्कृत र भारतीय विद्यामा पुनर्जागरण ल्याउने उद्देश्य राख्नुभएको थियो।
उहाँको शिक्षाको लक्ष्य कुनै कार्यालयको कारिन्दा भएर बस्ने विद्या नभई इतिहास-संस्कृतिको मूल वाङ्मय नै छिचोल्न सक्ने बनाउनु थियो। उहाँले मूलरूपमा सिद्धान्तज्योतिष अर्थात् गणित पढ्नुभएको थियो।
मेरा पितामह व्याकरणका विद्वान् हुनुहुन्थ्यो। पिताजी डेढ वर्षको हुँदा उहाँ बितेपछि पिताजी मामाघरमा हुर्किनुभयो। मावलीहरू पनि ज्योतिषका विद्वान् हुनुहुन्थ्यो। मावली घरमा ऐतिहासिक सामग्री पनि धेरै थिए।
मेरा दाइ महेशराज पन्तसँग झन्डै ७९ हात लामो कपडामा लेखिएको गीर्वाणयुद्धविक्रमको चिना अहिले पनि छ। त्यस्तै, कुमाउँका राजा मोहनचन्दले नेपालका राजा रणबहादुर शाहसँग विसं १८४४ मा गरेको सन्धिको सक्कल प्रति पनि छ।
ऐतिहासिक सामग्रीसँग घरमै परिचित भएकाले पनि हुनुपर्छ, पिताजी इतिहासको काममा बढी ढल्किएको। उहाँले तोत्रराज पाण्डेसँग मिलेर २००४ सालमा प्रवेशिका तहका लागि नेपालको संक्षिप्त इतिहास लेख्नुभयो। त्यो पुस्तक निकै गहन अनुसन्धान गरी तयार गरिएको थियो।
पिताजीको पाठशालाको दोस्रो चारवर्षे पाठ्यक्रम अनुसार पाणिनिको अष्टाध्यायी, भट्टिको भट्टिकाव्य, अमरसिंहको अमरकोश जस्ता पुस्तक पूरै कण्ठस्थ गर्नुपर्ने थियो। साथै, वाणको हर्षचरित्र ग्रन्थको व्याख्या गर्न सक्ने हुनुपर्थ्यो। यी चार बाहेक अरू १०० वटा पुस्तक पढ्नुपर्थ्यो।
त्योसँगै इतिहासका सामग्रीको खोजी र ब्राह्मी, गुप्त, कुटिला, नेवारी लगायत प्राचीन लिपिको अध्ययन गर्नुपर्थ्यो। गणितको राम्रो अध्ययन त गर्नै पर्थ्यो। अरू माथिल्लो तहको अध्ययन पनि गर्नुपर्थ्यो।
उहाँको पाठशालामा ४० जना जति शिष्य भर्ना भए पनि इतिहास संशोधकका रूपमा २१ जना मात्र देखा परे। यीमध्ये पनि केही छुट्दै गएर आठ जना मात्र बाँकी रहे।
पिताजीका चेलामध्ये केशवमणि आचार्य दीक्षित, महेन्द्रनाथ अधिकारी र सुरेन्द्रनाथ अधिकारीका संशोधनपत्र २००९ असोज ५ गतेबाट छापिन थालेका थिए। २०१८ सालबाट चाहिं संशोधन-मण्डलको नामबाट प्रकाशित हुन थाल्यो। २०२० सालमा पिताजी नयराज पन्त र म समेत गरी १० जनाले संस्था दर्ता नियम अनुसार ‘संशोधन-मण्डल’ दर्ता गरियो।
अघि तपाईंले लिपिको कुरा गर्नुभयो, गुरुकुलमा कस्ता लिपिहरू पढाइन्थे?
पिताजीले शुरूमा लिच्छवि लिपि सिकाउन थाल्नुभयो। धनवज्र वज्राचार्य त्यसमा अब्बल निस्कनुभयो। उहाँपछि शंकरमान राजवंशीले पनि लिच्छवि लिपिमा दक्षता हासिल गर्नुभयो र सोही विषयमा पुरातत्त्व विभागमा आबद्ध हुनुभयो।
अधिकांश क्षेत्रमा द्वितीय स्रोतमा आधारित हुने पद्धति छ। मूल स्रोतमै पुगेर काम गर्नु चाहिं संशोधन-मण्डलको वैशिष्ट्य हो। पिताजीले लेख्नुभएको पनि छ- ‘प्राचीन र मध्यकालको इतिहासको अनुसन्धान गर्ने हो भने त संस्कृत भाषा, प्राचीन लिपिहरूको अनिवार्य ज्ञान हुनुपर्छ। आधुनिक इतिहासको अध्ययन गर्ने हो भने अंग्रेजी, फारसी र तिब्बती भाषामा पनि दखल हुनुपर्छ। हामीले ‘मनुलिपिलिखितं यत् पद्यमत्यद्भूतं वै’ (जुन आश्चर्यजनक पद्य १४ थरीका लिपिमा छ) भनेर प्रताप मल्लकै अभिलेख राम्रोसँग पढ्ने हो भने त अरेबिक लिपिहरू पनि जान्नुपर्छ।
संशोधन-मण्डलका पाठशालाहरू काठमाडौं बाहिर पनि खोलिएका थिए कि?
ज्ञानमणि नेपाल गुरुले २०१२ सालमा आठवर्षे पाठ्यक्रम पूरा गरी भोजपुर फर्केर पाठशाला स्थापना गर्नुभएको थियो। पछि आर्थिक लगायत कारणले गर्दा उहाँले पाठशाला बन्द गर्नुभयो।
पिताजीका अर्का चेला भोलानाथ पौडेलले लुभुमा आफ्ना गुरुकै शैलीमा पाठशाला स्थापना गर्नुभएको थियो। पिताजीले पनि पहिले पढाएको रानीपोखरी पाठशालामा फेरि अनौपचारिक ढंगले पढाउन थाल्नुभएको थियो।
पछि धनवज्रका जेठा दाइ तथा गौतमवज्रका पिता वैद्य दिव्यवज्र वज्राचार्यले मासंगल्लीको आफ्नो घरमा पाठशालाका लागि कोठा दिनुभयो।
नयराज पन्तको गुरुकुलमा पढेकामध्ये ज्ञानमणि नेपाल एक जनाले मात्र गुरुबाट प्रमाणपत्र प्राप्त गर्नुभएको हो?
यो अर्धसत्य कुरा हो। पहिलेको अध्ययन पद्धतिमा भाषा, इतिहास, गणितका आधारभूत ज्ञान लिएपछि एकै पटक ७-८ कक्षामा भर्ना हुने चलन थियो, तर हाम्रो पाठशालामा त्यस्तो थिएन, आठ वर्षको पाठ्यक्रम उत्तीर्ण गर्नै पर्थ्यो।
त्यस अनुरूप ज्ञानमणि गुरुले परिश्रमपूर्वक पढ्नुभयो। बुबाका अन्य चेलामध्ये उहाँले केही त भोजपुरमै पढेर आउनुभएको थियो।
पिताजीको इतिहास संशोधन अभियानपछि ‘संशोधन-मण्डल ससाना विद्यार्थीलाई इतिहास संशोधन गर्न लगाउँदो रहेछ’ भन्ने हल्ला पनि चलाइयो। भविष्यमा इतिहास अनुसन्धानमा लाग्न सकून् भनेर विद्यार्थीलाई विषयहरू दिनुभएको हो, तर कसैले
आफू लुकेर बस्ने अर्काको नाम राखने,
चेलाको नाम राखेर ठूलाको दर्प तोडने
भन्ने कविता पनि चलाए यहाँ। नयराज पन्तसँग पढ्दा कहिल्यै प्रमाणपत्र नपाइने भो, प्रमाणपत्र दिइयो भने यसलाई जोत्न पाइँदैन भन्ने उनको सोच छ भन्ने जस्ता हल्ला फिंजाइयो। ज्ञानमणि गुरु एउटा लक्ष्य लिएर आउनुभएको थियो, त्यो पूरा भएपछि फर्कनुभयो। घर टाढा भएकाले उहाँलाई प्रमाणपत्र दिइएको हो।
नयराज पन्तका लागि त प्रमाणपत्र भनेको कागजको एउटा खोस्टा हो, मुख्य कुरा ज्ञान हो। चेलाहरू आफ्नो विषयमा पारंगत होऊन् भन्ने उहाँको धारणा थियो।
वास्तवमा संशोधन-मण्डल पनि बुबाले राख्नुभएको नाम होइन। इतिहास संशोधन गरेको हुनाले हामीलाई इतिहास संशोधन-मण्डल भन्न थालिएको हो। कतिपयले ‘करेक्शन सर्कल’ पनि भनेका छन्।
संस्कृत भाषामा संशोधन भनेको अनुसन्धान हो। भारतको पुनामा अहिले पनि ‘वैदिक संशोधन-मण्डल’ भन्ने संस्था छ, जसलाई अंग्रेजीमा ‘वेदिक रिसर्च सेन्टर’ भनिएको छ।
इतिहास संशोधन-मण्डल स्थापनाको पृष्ठभूमिबारे प्रकाश पारिदिनुहोस् न।
संस्कृत भाषाको उत्कृष्ट अध्ययनबाट आयुर्वेदमा उन्नति गर्न सक्ने हो भने नेपालीहरू धेरै हदसम्म निरोगी भएर बाँच्नेछन् भन्ने बुबाको धारणा थियो। अर्थात् पूर्वीय पद्धतिको ज्ञान परम्पराले नै हामी समृद्ध हुन सक्छौं, देशमा पुनर्जागरण आउँछ भन्ने उहाँको चिन्तनको मूल मर्म थियो।
उहाँ संस्कृत शिक्षा र इतिहास अध्ययनमा किन लाग्नुभयो भन्ने पनि प्रश्न उठ्छ। आफू हुर्किएको घरमा उहाँले इतिहासका कुरा धेरै सुन्नुभयो। त्यहाँ ऐतिहासिक सामग्री पनि धेरै थिए। त्यस पृष्ठभूमिले उहाँलाई इतिहासमा लाग्न अभिप्रेरित गर्यो।
पहिलेकाहरूले अपेक्षाकृत परिश्रमपूर्वक नेपालको इतिहास नलेखेका हुनाले त्यसको संशोधन पनि आवश्यक भयो। हामीले पूर्णिमा प्रकाशन गर्न थालेपछि ४०० जति ग्राहक सदस्य भए। भारतीय राजदूतावास पनि हाम्रो ग्राहक बन्यो र एक वर्षसम्म ५० प्रति पत्रिका किन्यो।
चिनेजानेका मानिसलाई हामी ‘अहिले पैसा नभए पछि दिनुहोला’ भन्दै कर-बलले पनि पत्रिका किन्न लगाउँथ्यौं। अन्य विभिन्न माध्यमबाट पनि पत्रिका बेच्थ्यौं। यसरी पूर्णिमा बेच्दै हिंड्दा हाम्रो पढाइ बिग्रेला भनेर बुबा भन्ने गर्नुहुन्थ्यो, “इत्थं कथं विद्या भवति?”
बुबा विद्याको उन्नति कसरी गर्न सकिन्छ भनेर घोत्लिनुहुन्थ्यो। पूर्णिमाका हरेक अंकमा बुबाको कवितात्मक लेख आउँथ्यो।
करीब ५० विद्यार्थी रहेको संस्कृत पाठशालाले उन्नति गरेर संशोधन-मण्डल स्थापना भइसकेपछि संस्था सुकेर जानुको कारण के होला?
त्यो वेला पढेर वृत्ति (करिअर)का लागि जागीर नै खानुपर्छ भन्ने भाव बढी थियो। स्वान्त: सुखाय भावमा पढ्ने कमै हुन्थे। हाम्रो पाठशालाका पनि सबै इतिहास संशोधनमा लागेनन्। संशोधनमा लागेकामध्ये पनि कोही व्याकरण सम्बन्धी त कोही अन्य गतिविधिमा हुन्थे।
जस्तो- संशोधन-मण्डलले छापेका संशोधनपत्रहरू बिक्री गर्ने जिम्मा शंकरमान राजवंशीले लिनुहुन्थ्यो। हामी महांकालदेखि नयाँसडकको ढोकासम्म पुस्तक बेच्दै हिंड्थ्यौं। ‘डिल्लीरमण रेग्मीले हाम्रो सम्पत्ति चोर्नुभयो’, ‘बालचन्द्र शर्माको दृष्टिमा राजल्लदेवी उनकी आमा हुन् कि स्वास्नी हुन्?’, ‘सूर्यविक्रम ज्ञवालीले एउटै मानिसलाई बाबु र बाजे लेख्नुभयो’ भन्दै कराएर किताब बेच्थ्यौं हामी।
यसले गर्दा ठूला मानिसलाई असर पर्यो। त्यो कारण पनि हाम्रा केही साथीले बिस्तारै संशोधन-मण्डल छाड्दै जानुभयो।
शुरूमा बुबाले जुनसुकै तहका मानिसलाई पनि भर्ना गर्नुहुन्थ्यो, पछि २०१२ सालतिर आइपुग्दा धेरै कमजोर मानिसलाई भर्ना लिन नहुने महसूस भयो उहाँलाई। जस्तो- म नै पहिलो पटक २१ विद्यार्थीमा पर्न सकिनँ।
भर्ना हुन चाहने विद्यार्थी र उनीहरूका अभिभावक दुवैले प्रतिज्ञा गर्नुपर्ने नियम पनि बन्यो पछि। संशोधन-मण्डलमा पढेका विद्यार्थीले सरकारी जागीर पाउन गाह्रो हुँदा पनि भर्ना हुने घटे अनि छाड्नेहरू बढेर गए।
संशोधन-मण्डलमा लाग्दा आम्दानी हुने अवस्था थिएन। बुबाले पूर्णिमा पत्रिका प्रकाशनका लागि हामी दुई छोरा समेतको गरी रु. २२५ हाल्नुहुन्थ्यो। अन्य गुरुले रु.१५ हाले पुग्थ्यो।
श्री ५ को सरकारको राजपत्रांकित प्रथम श्रेणीका प्राध्यापक भएको र त्रिविविबाट मासिक रु. २२५ पाउने हुँदा बुबालाई गाह्रो थिएन। मासिक रु. ९५ खाने उहाँका चेलाहरूलाई भने गाह्रो भएकाले पनि संशोधन-मण्डल छोड्दै गएको हुनुपर्छ। छोड्दै गएकाहरूले पनि संशोधन-मण्डललाई चाहिने/नचाहिने दोषारोपण गरे।
शंकरमान गुरु मलाई ‘राजा’ भन्नुहुन्थ्यो। संशोधन-मण्डल छोड्नुको कारण सोध्दा उहाँले मलाई भन्नुभयो, “हेर राजा, यहाँ धेरै परिश्रम गर्नुपर्छ, उल्टो पैसा तिर्नुपर्छ। संशोधन-मण्डलमा आबद्ध रहेर पुरातत्त्व विभागमा जागीर खान नैतिक अप्ठेरो पनि भयो (संशोधन-मण्डलले पुरातत्त्व विभागसँग पनि बहस गर्ने हुनाले), त्यसैले छोडेको हुँ।”
संशोधन-मण्डलमा लाग्दा आम्दानी पनि हुने भएको भए शायद कसैले छोड्दैनथे भन्ने लाग्छ। पिताजीसँग यही विषयमा मेरो विमति हुन्थ्यो, तर उहाँले आर्थिक पक्षलाई कहिल्यै महत्त्व दिनुभएन। संशोधन-मण्डल पद्धतिको सबैभन्दा मूर्ख शिष्य भएर पनि मैले यस विषयमा बुबासँग विमति राखें।
पिताजी हाम्रो पद्धतिलाई स्वीकार गराएर बाहिर गएर वृत्ति लिनुपर्छ भन्नुहुन्थ्यो। म चाही बाहिर गएर कमाउनुभन्दा संशोधन मण्डलले नै हामीलाई आर्थिक पक्षमा व्यवस्थापन गर्नसके घरपरिवार पनि चलाउन सक्छौं र अझ बढी स्वतन्त्र भएर काम गर्न सक्छौं भन्ने पक्षमा म थिएँ।
हुन त मैले पनि वाल्मीकि क्याम्पसमा ३८ वर्ष पढाएँ। क्याम्पसले दिएको पेन्सनले नै म यतिसम्म बोल्न सकेको हुँ। आखिर पैसा नभई जिन्दगी चल्दैन।
एउटा कुरा चाहिं के भने, चाहेर वा नचाहेर पनि हामी संशोधन-मण्डलका मान्छेहरू झन्डैझन्डै संशोधन मण्डल भन्दा बाहिरका मानिसहरूको घेरामा पर्न गयौं। हामीले अरू मान्छेलाई लिएनौं पनि।
अर्को कुरा, बुबाले नै यो काम गर्दा पनि विशेषतः नातेदार र साथीका छोराहरूलाई गुरुकुलमा भर्ना लिनुभयो। उहाँले आफ्नो अभियानलाई देशव्यापी रूपमा लैजान सकेको भए यो अवस्था आउने थिएन कि?
फेरि त्यो वेला संशोधन-मण्डलको काम विद्वद्मण्डलीमा आतंक जस्तो नै भयो। त्यसकारण धेरैले यसको खेदो खन्न थाले।
वास्तवमा विद्या र अविद्याबीचको झगडा थियो। डेनियल राइट्सको किताबको सन्दर्भ लिएर लेख्ने प्राध्यापकहरूले संशोधन-मण्डलको विरोध गरे। जिन्दगीभरि ट्यूशन गरेर प्राध्यापक भएका द्रव्य संकलक सुनौला माहुरीहरूले नै संशोधन-मण्डललाई गाली गरेका हुन्, जसले इतिहास लेखनको नाममा केही गर्न सकेका थिएनन्।
२१ संशोधकबाट कत्रो उत्साहका साथ गरिएको यो काममा अब तपाईंंहरू दुई जना मात्र बाँकी हुनुहुन्छ। अब संशोधन-मण्डलको भविष्य के होला?
संशोधन-मण्डलमा अहिले मेरा दाइ महेशराज पन्त र म मात्र छौं। २०६० सालभन्दा पहिले दाइ जर्मनीमा हुँदा पनि पूर्णिमा प्रकाशनको कामलाई निरन्तरता दिई नै रहनुभयो। कतिपयले पूर्णिमा बन्द हुन्छ भन्ने अनुमान गरेका थिए, तर त्यस्तो भएन। जर्मनीबाट फर्केपछि पनि तन, मन र धन लगाएर पूर्णिमालाई निरन्तरता दिइरहनुभएको छ।
पहिले संशोधन-मण्डल पद्धतिभन्दा बाहिरका मान्छेको लेख पूर्णिमा पत्रिकामा छापिंदैनथ्यो। पछिल्ला अंकहरूमा बाहिरका मानिसका पनि संशोधन-मण्डलकै शैलीमा लेखहरू प्रकाशित भएका छन्।
संशोधन-मण्डलको सिद्धान्त अनुरूप काम गर्न सक्ने विद्वत् मानिसहरू तयार गर्नेतर्फ मेरो पनि ध्यान गएन। हामीले त्यसो गर्न सक्नुपर्यो, यस पद्धतिमा लाग्ने मानिसमा पनि समर्पण हुनुपर्यो।
संशोधन-मण्डलको पद्धतिले आममानिसमा इतिहास अध्ययनका लागि प्राचीन लिपि र भाषाको ज्ञान हुनुपर्छ भन्ने बोध गराएको छ। संशोधन-मण्डलले इतिहास लेखनमा राइट साहेबको भर पर्ने चलन तोड्दै मूल सामग्रीमै गएर काम गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्यो।
यस क्षेत्रमा लाग्नेहरूलाई हामीले जतिसक्दो सहयोगै गरेका छौं। मेरा दाइ महेशराज पन्तले केही वर्ष पहिले संस्कृत भाषा र प्राचीन लिपिमा चासो राख्नेहरूलाई अनौपचारिक प्रशिक्षण पनि दिनुभएको थियो।
संशोधन-मण्डलले इतिहास लेखन क्षेत्रमा उत्तराधिकारी उत्पादन गर्न किन सकेन?
अघि नै भनें, एक त संशोधन-मण्डलका मानिसलाई वृत्तिको समस्या भयो। पिताजीले अर्थोपार्जनलाई जोड दिनुभएन। मेरै कुरा गरौं न, वृत्तिकै लागि मैले २५औं वर्षसम्म वाल्मीकि क्याम्पसमा करार सेवामा प्राध्यापन गरें। दुई-दुई पटक प्राज्ञ भएँ।
हाम्रो काम अत्यन्त गाह्रो काम हो। हामीले पनि पहिलेको ढंगले पाठशाला चलाएर शिक्षा दिन सकेनौं। देश काल र परिस्थिति अनुसार यो काम गर्न गाह्रो भएकाले पाठशालालाई निरन्तरता दिन सकिएन। तर हामीले हाम्रो संगतमा आएका मानिसलाई मूलसामग्रीसम्मै पुगेर प्रामाणिक ढंगले काम गर्नुपर्छ भनेर भनिरहेका छौं।
गोरखाको इतिहास लेखन र प्रकाशनमा तात्कालिक राजदरबारबाट तपाईंले सहायता पाएको सुनिन्छ। संशोधन-मण्डलले चाहिं दरबारबाट कुनै आर्थिक सुविधा पाएन?
गोरखाको इतिहास लेख्दा वीरेन्द्रबाट मलाई सहयोग भएकै हो। मलाई सहयोग गर्ने राजाको इच्छा थियो होला। र नै राजाबाट निजी सचिव चिरनशमशेर थापा मार्फत के विषयमा अनुसन्धान गर्ने भनी सोधनी भएको थियो।
२०३४ सालमा आदरणीय कमल दीक्षितज्यूको सद्भावले जगदम्बा प्रकाशनबाट १५०० पृष्ठको श्री ५ पृथ्वीनारायण शाहको उपदेश प्रकाशित भयो।
देवीप्रसाद भण्डारी र गौतमवज्र वज्राचार्यले सम्पादन गर्नुभएको त्यस किताबमा पिताजीको पद्यात्मक व्याख्या थियो। म चाहिं सहायक सम्पादक थिएँ। त्यसपछि मलाई के लाग्यो भने, पृथ्वीनारायणभन्दा अगाडिको गोरखा राज्यको इतिहास लेख्न पाए कस्तो हुन्थ्यो होला !
२०३१ सालमा भक्तपुर क्याम्पसमा प्रवचनका लागि बोलाउँदा पनि मैले ‘पृथ्वीनारायण शाहभन्दा अगाडिको गोरखा राज्य’ शीर्षकमा बोलेको थिएँ। लिच्छविकालको इतिहास लेख्छु भनेको भए स्वीकृत हुँदैनथ्यो कि! जे होस्, श्री ५ वीरेन्द्रबाट सहयोग पाएरै मैले गोरखाको इतिहास लेखेको हुँ। यो कुरा मैले प्रस्ट लेखेको छु।
व्यक्तिगत रूपमा मैले सहयोग पाउनुअघि २०३४/३५ सालमा पूर्णिमा पठाए बापत दरबारबाट संशोधन-मण्डललाई पनि मासिक हजार रुपैयाँ प्राप्त हुन्थ्यो। पूर्णिमाको आय-व्यय विवरणमा हामीले यो कुरा पनि प्रकाशन गरेका छौं।
त्यसअघि २०२१/२२ सालमा भुवनलाल प्रधान शिक्षामन्त्री हुँदाखेरी संशोधन-मण्डललाई १००० रुपैयाँ सहायता आएको थियो। ‘जात फाल्नु गहतको झोलमा’ भने झैं देवीप्रसाद गुरु उक्त सहायता नलिने पक्षमा हुनुहुन्थ्यो भने धनवज्र वज्राचार्य गुरु चाहिं लिनेमा। म चाहिं बीचमा थिएँ अर्थात् माग्नु पो हुन्न र दिएको त लिनुपर्छ भन्ने मेरो धारणा थियो। दुई-तीन वर्षपछि त्यो रकम आउन छोड्यो।
अनि २०३७ सालतिर जस्तो लाग्छ, गंगाप्रसाद गौचन सहायक शिक्षामन्त्री हुनुहुन्थ्यो। उहाँ धनवज्र गुरु लगायत संशोधन-मण्डलसँग परिचित र पूर्णिमाका पाठक हुनुहुन्थ्यो। राष्ट्रिय संग्रहालयका प्रमुख पशुपतिकुमार द्विवेदी रहनुभएको कुनै एक कार्यक्रममा मन्त्री गौचन अतिथि हुनुहुन्थ्यो। म जस्तो साधारण मान्छेलाई पनि त्यस कार्यक्रमको मञ्चमा राखिएको थियो।
सँगै बस्दा मन्त्रीले मलाई भन्नुभयो, “पन्त सर, तपाईंहरूले के गर्नुभएको? दुनियाँले पैसा लगेका छन्, त्यति धेरै काम गर्नुभएको तपाईंले चाहिं एउटा निवेदन पनि नदिने भन्नुभयो।”
पहिल्यै दुई-चार पटक निवेदन दिएको बताउँदा गौचनले फेरि दिनु भन्नुभयो। बुबा र दाइ, रामजी तिवारी बुबा र देवीप्रसाद गुरुसँग सल्लाह गरेर मैले फेरि निवेदन दिएँ। दरबार धाउने फुर्सद र प्रवृत्ति दुवै थिएन मसंग। वार्षिक रु. १५ हजार दिने भनी तोक लगाएको खबर पछि सुनें। क्याबिनेटले फेरि वार्षिक रु. एक हजारमा झारेको सुनेर हामी खिस्रिक्क पर्यौं। तर प्रतिवर्ष त्यो रकम लिइरह्यौं।
२०५१ सालमा समाज कल्याण मन्त्रालयका एक कर्मचारीले ‘दिनेशजी, बुबाले प्राप्त गरेको एक लाख रुपैयाँको भानुभक्त पुरस्कार संशोधन-मण्डललाई दिने अनि हजार रुपैयाँका लागि धाउन नछाड्ने तपाईं कस्तो मान्छे?’ भने।
मैले ‘मेरो निजी पैसा भएको भए त लिने थिइनँ, तर संशोधन-मण्डलको भएकाले छाड्न मिल्दैन’ भनें।
सरकारले संशोधन-मण्डललाई मान्यता दिएको लक्षण थियो त्यो। उनले निवेदन दिन भनेपछि हामीले सोही अनुरूप गर्यौं। सचिवले मलाई बोलाएर तपाईंको संस्थालाई त एक लाख घटी हुँदैन भने तर उनको पाँच हजार रुपैयाँ पनि नदिने आसय मैले बुझेको थिएँ र आखिरमा दिएन पनि। त्यो एक हजार रुपैयाँमै रह्यो।
पछि आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री र महेश आचार्य अर्थमन्त्री भएको वेला प्रा.डा. इन्दिरा जोशी र पूर्व मन्त्री नवीन्द्रराज जोशीको पहलमा रु. दुई लाखको प्रस्ताव भए पनि वार्षिक रु. एक लाख दिने निर्णय भएर पाउन थालेकामा श्री ५ ज्ञानेन्द्रको शासनकालमा रोकियो।
पछि मेरा जेठान डा. मधुनिधि तिवारीलाई भनेपछि दुई वर्ष ५०-५० हजार रुपैयाँ पाइयो। राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा चाहिं संस्कृति मन्त्रालय मार्फत रु. ५० लाख संशोधन-मण्डललाई प्राप्त भयो। पछि एक वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट एक लाख रुपैयाँको दरले आउन थाल्यो। एक वर्ष त दुई लाख पनि आयो। हाल दुवै मन्त्रालयबाट सो रकम आउन बन्द भएको छ।
कतिपय आलोचकले संशोधन-मण्डललाई ‘दरबारिया इतिहासकार’ भनी आरोप लगाए। यसमा के भन्नुहुन्छ?
प्रामाणिक इतिहास मात्र लेख्नु संशोधन-मण्डलको पद्धति हो। विद्वान् जगदीशचन्द्र रेग्मीले ‘दिनेशराज पन्त त माओवादी भयो’ भनेर कान्तिपुर दैनिकमा लेख्नुभयो अनि डा. नयनाथ पौडेलले त्यसको खण्डन गर्नुभएको छ। मानिसहरू यस्ता आरोप लगाइरहन्छन्।
राजा महेन्द्रको पालामा एक दिन रेवतीरमण खनाल हाम्रोमा आएर ‘महेन्द्र अभिनन्दन ग्रन्थ निस्कने भएको छ, गुरुले पनि लेख दिनुपर्यो’ भन्नुभयो। बुबाले ‘म लेख्न सक्दिनँ’ भन्दा रेवतीरमणले ‘बाबुराम आचार्यले त दिनुभएको छ’ भन्नुभयो।
लेखका लागि धेरै जोड गरेपछि बुबाले भन्नुभयो, “रेवती, मैले तारीफ गरें भने राजाको मनमा एउटा भार थपिएछ भन्ने हुन्छ। निन्दा गरौं भने राजाले विश्वेश्वर जस्ता नेतालाई त सुन्दरीजलमा थुनेका छन् भने म त सामान्य पण्डित।”
जगदीशचन्द्र रेग्मीले बाबुराम आचार्यको नामको दुई लाख राशिको पुरस्कार ग्रहण गर्नुभयो, आचार्यको पुस्तकको विरोध गरें पनि भन्नुभएको छ।
संशोधन-मण्डललाई आरोपित गर्ने पछिल्ला आलोचक त बिचरा बबुरा हुन्। किनभने
थोरै पढे तापनि धेर जाँचमा
पैला भई विज्ञ बनेर लोकमा
ग ले जमायो घरबार सम्पत्ति
गाह्रै अरूलाई छ जोड्नु ता त्यति ।।
भने झैं संशोधन-मण्डलको विरोध गरेपछि विज्ञ भइन्छ भन्ने भ्रममा परेका छन्।
हामीले राजाको निन्दा वा प्रशंसा केही गरेका छैनौं। तथ्य जे बोल्छ, सो लेखेका छौं। निन्दा वा प्रशंसा गर्नु इतिहासकारको काम होइन।
हाम्रा राजा तरङ्गी, कलुषित, चरित, राजपत्नी हुनाले,
धेरै दुःख पाए मुलुकमा पनि भताभुङ्ग बन्दो छ ऐले ।।
बुबाले यसो भनेर लेख्दा माधव घिमिरे, बालकृष्ण पोखरेल, ढुण्डीराज भण्डारी, विजयबहादुर मल्ल, भूपि शेरचनहरूले विरोध गर्नुका साथै प्रज्ञामा छापिएका बुबाका लेखहरू च्यातियो।
बुबा राजाको विरोधी होइन, समर्थक पनि होइन। उहाँले दलहरू च्याउ झैं उम्रंदै छन् भन्दा यसले बहुदलको विरोध गर्यो भन्ने आरोप पनि लाग्यो। संशोधन मण्डल भन्दा बाहिरका मानिसले बुबाको लेखको भाव नबुझी वा गलत अर्थ लगाएर उहाँलाई बहुदल विरोधी देखायो। कतिले दरबार विरोधी पनि देखाए।
पाश्चात्य अनुसन्धान पद्धतिसँग त्यति परिचित हुनुहुन्न भन्ने सुनिन्छ, यसमा तपाईंंको धारणा के हो?
पाश्चात्य पद्धतिसँग हामी परिचित छैनौं भन्ने आरोप लगाउनेहरू कुनै पनि अनुसन्धान पद्धतिसँग अपरिचित छन्। अनुसन्धानको नाममा थरलाई अगाडि र नामलाई पछाडि राखेर सन्दर्भ दिन मात्र जानेका छन्। संशोधन-मण्डलको कामलाई कमसल भन्न नसकेपछि हामीलाई बदनाम पार्न गरिएको दुष्प्रयासको के अर्थ!
तपाईंंका कृतिहरू शाहकालमा बढी केन्द्रित हुनुको कारण के होला?
पूर्णिमाका परिकल्पनाकार तथा संस्थापक सम्पादक गौतमवज्र वज्राचार्य र महेशराज पन्त हुन्। यसमा अझ हस्तलिखित रुपमा निकाल्न गौतमवज्रको बढी भूमिका छ। संशोधन-मण्डलमा आफैंले पैसा खर्चेर काम गर्नुपर्ने। अभिलेख संग्रहमा काम गर्दा पनि आफैं पैसा निकाल्नुपर्ने।
पूर्णिमाका लागि काम गर्दै जाँदा धनवज्र गुरु लिच्छवि र मल्लकालका सामग्रीमा बढी लाग्नुभयो। म चाहिं शाहकालका दस्तावेजमा बढी तानिएँ, जुन उद्देश्यपरक विभाजन थिएन। काम गर्दै जाँदा आआफ्नो क्षेत्रमा विशेषज्ञता हासिल हुँदै गयो। यो नियतवश भएको होइन।
पूर्णिमाका पछिल्ला अंकहरूमा तपाईंंका लेखले कम स्थान पाउनुको कारण के होला?
हाम्रा बुबा स्वर्गे हुँदा दाइ यहाँ हुनुहुन्नथ्यो। बुवा स्वर्गे भएको पाँचौं दिनमा जर्मनबाट आउनुभयो। २०६० सालमा उहाँ नेपाल आएपछि पूर्णिमा प्रकाशनकै काममा बढी लाग्नुभयो। अरू विभिन्न पत्रिकामा पनि लेख्न थाल्नुभयो।
हामीले के नीति बनायौं भने, बुबाका पुराना लेखहरू प्रकाशन गर्ने र दाइको पनि प्रकाशन गर्ने। यसकारण पनि मेरो लेख कम भएको हो। म बाहिरतिर पनि लेखहरू लेख्ने, क्याम्पसमा पनि आबद्ध र आठ वर्ष जति प्रज्ञा-प्रतिष्ठानमा पनि बसेको हुनाले पूर्णिमामा मेरा लेखहरू कम छापिए।
अहिले पनि पृथ्वीनारायण शाह सम्बन्धी एक हजार २०० पृष्ठको पुस्तक तयार गर्दै छु। मूलकारण त्यही नै हो।
इतिहास लेखनमा संशोधन-मण्डलको योगदानको मूल्यांकन कसरी गर्नुहुन्छ?
संशोधन-मण्डलले दुई कुरामा बढी जोड दिएको छ। एउटा, मूल सामग्रीमा गएर काम गर्नुपर्छ, प्रमाण बाहेक अरू केहीमा जानु हुँदैन। र अर्को, नजान्ने विषय लेख्नुपर्छ भन्ने कुरा यसले मान्दैन।
अपूर्णता भए पनि अशुद्धिको दोष नआओस् भन्ने हाम्रो धारणा हो। पुरानो लिपि र भाषा जान्नुपर्छ, इतिहासमा गणितको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने जानकारी आमपाठकलाई भएको छ। यसको श्रेय संशोधन-मण्डललाई जान्छ।
संशोधन-मण्डलको स्थापना हुनुभन्दा पहिले नेपालको इतिहास लेखन कछुवा गतिमा थियो। त्यो गति बढाउने काम संशोधन-मण्डलले गर्यो।
अभिलेखको खोजी, लिप्यन्तरण र रूपान्तर इतिहास लेखनको पहिलो काम हो। यसमा संशोधन-मण्डल समर्पित छ। यस आधारमा इतिहासका विविध पक्षको विवेचना गर्नु इतिहासकारको दोस्रो काम हो।
इतिहासको आकर र उपकरणहरूको आधारमा नेपालको इतिहास लेखनका लागि बाटो बनाइएको छ। भावी पुस्ताले यसका आधारमा नेपाली इतिहासको व्याख्या-विमर्श त पनि गर्ला नि!
नेपालको इतिहास लेखनमा त्रिवि र अन्य सरोकारवाला निकायको कस्तो योगदान देख्नुहुन्छ?
हामीकहाँ मूल सामग्रीमा पुगेर काम गर्न सक्ने शिक्षा दिइएकै छैन। सरोकारवाला संस्थाहरूलाई जिम्मेवारीको गहनता अनुसार साधनस्रोत पनि दिइएको छैन। दक्ष जनशक्तिको अभाव छ।
कुनै समय धनवज्र वज्राचार्य र नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) पर्यायवाची जस्तै थिए। संशोधन-मण्डलबाट प्रशिक्षित भई इतिहास अध्ययनका लागि चाहिने ज्ञान लिएर त्यहाँ जानुभएकाले उहाँले आफ्नो विधामा राम्रो काम गर्नुभयो।
कति त तलब खाने मात्र काम गर्छन्। अहिले म के देख्छु भने, विविध क्षेत्रमा नयाँ नयाँ संस्था खोल्ने प्रवृत्ति छ, तर ती संस्थाले विज्ञताको अभावमा लक्ष्य अनुरूप काम गर्न सकेका छैनन्।
प्रज्ञा-प्रतिष्ठानको पनि हालत यस्तै हो। कसैले गरेनन् भन्ने होइन, मुख्य कुरा, त्यसका लागि चाहिने आधारभूत कुरामा हाम्रो ध्यान नै गएन, प्रयत्न नै भएन।
संशोधन-मण्डलको अनुसन्धान क्षेत्र काठमाडौं उपत्यका मात्र भयो भन्ने कुरा साँचो हो?
संशोधन-मण्डलका संस्थापक नयराज पन्तले ज्योतिष क्षेत्रमा काम गर्न चाहिने जति जनशक्ति नभएपछि आफू इतिहासमा आएको कुरा लेख्नुभएको छ। अभिलेख्य सामग्रीमा उहाँको पहुँच भएकाले त्यो सम्भव भएको हो।
धनवज्र वज्राचार्यले कर्णालीबारे लेख्नुभएको त छ, तर उहाँ त्यहाँ गएको मलाई थाह छैन। सत्यमोहन जोशीले कर्णाली अध्ययन को दोस्रो संस्करण बाहिरबाट छाप्नुभयो। त्यसवेलाका प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरूले यस्तो महत्त्वपूर्ण पुस्तक हामीबाट छुट्यो पनि भने।
मदन पुरस्कार पाएको नेपाली राष्ट्रिय मुद्रा र इतिहासको पुस्तक त्यति गुणस्तरीय भने छैन। त्यसको इतिहास खण्ड त पूर्णिमा अंक ६ मा छापिएको धनवज्र गुरुको लेख जति पनि गुणात्मक छैन। यो कुरा यस्तै हो।
शक संवत्बारे लिच्छवि संवत्को निर्णय पुस्तकमा प्रस्ट पारिए पनि किन विवाद भइरहेको? प्राज्ञिक जगत्ले किन निरूपण नगरेको होला?
लिच्छविकालका अभिलेखहरूमा महीनाको उल्लेख छ, तर बारको उल्लेख छैन। अंशुवर्माको चाँगुनारायणको अभिलेखमा रहेको श्लोकमा
ॐ एकत्रिंशत्तमे वर्षे वर्तमाने स्वसंस्थया
माघशुक्लत्रयोदश्याम्पुष्येण सवितुर्दिने।।
उल्लेख छ। धनवज्र वज्राचार्य गुरुले २०३० सालमा शंकरमान गुरुलाई यो श्लोक अनुसार गणना गर्ने जिम्मा दिनुभयो।
शंकरमान गुरु गणित ज्योतिषमा जान्ने मान्छे हो, तर गणना गर्दा झुक्किई अधिकमास जोड्न बिर्सिएर सो हिसाब दिनुभयो। धनवज्र गुरुले त्यो पत्याउनुभएन र आफ्नो पुस्तकमा त्यसको टिप्पणी लेख्नुभयो। त्यसबाट रिसाएर शंकरमान गुरुले लिच्छवि संवत्को निष्कर्ष पुस्तक नै लेख्नुभयो। त्यसमाथि सबैभन्दा बढी टिप्पणी भुवनलाल प्रधानले गर्नुभएको छ।
हाम्रा बुबाका बाहुन चेलाहरू गुरुपूर्णिमाका दिन आउँथे। नेवार चेलाहरू चाहिं गुरुपूर्णिमा र दशैं दुवै दिन आउँथे। यसरी आउँदा पिताजीले ‘शंकरमान! तिम्रो गणित बिग्रेको छ, सच्याऊ’ भन्नुहुन्थ्यो। भन्दा भन्दा नमानेपछि यसबारे पूर्णिमा अंक ३५ मा लेख्नुभयो।
त्यसपछि संशोधन-मण्डल विरुद्ध लागेका बाहिरका मान्छेहरूले शंकरमान राजवंशी र संशोधन-मण्डलबीच द्वन्द्व बढाइदिए।
शंकरमान गुरु संशोधन-मण्डलका प्रतिष्ठित र वरिष्ठ सदस्य हुनुहुन्छ। अहिले संशोधन-मण्डलको जुन प्रतिष्ठा छ, त्यो हुनुमा उहाँको ठूलो भूमिका छ। उहाँले निकालेको हिसाबमा २२ वर्षको फरक छ। पछि त्रिविले सोही विषयमा पीएचडीको उपाधि दियो। उहाँले अरू कुनै विषयमा पनि त शोध गर्न सक्नुहुन्थ्यो नि।
संशोधन-मण्डलकोे कामबाट त्यस वेलाको विद्वत्मण्डलीलाई धेरै गाह्रो भएको थियो। पहिले त आफूले पढ्नुपर्यो र सुनौली माहुरी बटुल्न छाड्नुपर्यो। यो कुराले गर्दा नै विवाद भएको हो। यो प्रवृत्ति भएका इतिहासकारहरूबाट नेपालको इतिहास लेखन र व्याख्यामा समस्या आएको कुरा स्पष्टै छ।
लिच्छविकालीन चर्चित नारीपात्र भृकुटी र स्वर्णयुगको कथनबारे संशोधन-मण्डलको धारणा नआउनुको कारण के होला?
संशोधन-मण्डलले परिकल्पित र अप्रमाणित कुरामा विचार नगर्ने हुनाले यस प्रश्नमा चासो नै राख्दैन। नेपालका ऐतिहासिक सामग्रीमा कहीं पनि भृकुटीको चर्चा छैन।
त्रिविका भीसी रामचन्द्रबहादुर सिंह र सिनासका डाइरेक्टर माधवराज पाण्डे भएको वेला २०३९ सालमा सिनासले मेचीदेखि महाकालीसम्मको एकसरो इतिहास लेख्ने प्रस्ताव पेश गर्यो। त्यसमा मैले दुई वटा कुरा गरेको थिएँ। पहिलो त, तपाईंहरूले देशैभरबाट ऐतिहासिक दस्तावेज खोज्नुपर्यो। दोस्रोमा, इतिहास लेखनमा पञ्चवर्षीय योजना बनाउनुपर्यो।
इतिहास, संस्कृति र पुरातत्त्व विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका १०-१० जना विद्यार्थीलाई कम्तीमा पाँच वर्ष प्राचीन लिपि तथा तिब्बती, संस्कृत, फारसी भाषा र ज्योतिष विज्ञान समेत पढाएर योग्य बनाऔं, त्यसपछि यही जनशक्तिले नेपालको इतिहासमा काम गर्नेछ भन्दा मेरो प्रस्ताव मानिएन।
स्वर्णयुगको जुन प्रश्न छ, लिच्छविकालका लगभग २५० वटा अभिलेख अध्ययनको आधारबाट मेरो हिसाबमा त्यस काललाई स्वर्णयुग भन्न मिल्दैन। इतिहास लेख्दा भावनामा बहकिने प्रवृत्तिले तथ्य ओझेल पर्ने खतरा हुन्छ। यो नहोस् भन्नका लागि इतिहासलाई वस्तुपरक दृष्टिकोणबाट विवेचना गर्नुपर्छ।
राजनीतिक दृष्टिकोणले नहोला, तर कला, सम्पदा र संस्कृतिको हिसाबले मल्लकाललाई चाहिं स्वर्ण युग मान्न सकिन्छ।
नेपालमा गणित शिक्षाको इतिहासबारे गुरु नयराज पन्तको केकस्तो योगदान रह्यो?
पिताजी नयराज पन्तसँग पौरस्त्य गणितको माथिल्लो स्तरको ज्ञान थियो। आधुनिक गणितको पनि राम्रो ज्ञान थियो। सबभन्दा मुख्य कुरा त उहाँमा विद्वान्मा हुनुपर्ने विवेक थियो।
अहिले धेरै मान्छेले संस्कृतलाई कर्मकाण्डी भाषा भनी हेय गर्छन्। अर्काथरी केही पुराणपन्थीहरू संस्कृत बाहेक केही पनि चाहिंदैन भन्छन्। पिताजीले हाम्रो पौरस्त्य सभ्यतामा गणित र पश्चिमी सभ्यताको गणितको योगदानको अध्ययन गरी हिन्दू सिद्धान्त ज्यौतिष र ग्रीक सिद्धान्त ज्यौतिषको तुलना पुस्तक लेख्नुभएको छ। त्यस्तै, सुमतितन्त्र, कालचक्रको ज्यौतिष भाग र त्यसको विवेचना लगायत ज्यौतिषका धेरै पुस्तक प्रकाशन गर्नुभएको पनि छ।
उहाँले चाहेअनुसार काम गर्न पाउनुभएको भए गणितबारे धेरै पुस्तक प्रकाशित हुन्थे। प्रज्ञा-प्रतिष्ठानमा त्यस वेला हरेक तीन महीनामा आफ्नो विषयमा प्रवचन दिनुपर्ने, कुलपति र उपकुलपतिले प्रत्येक ६ महिनामा र सदस्यसचिवले वर्षको एउटा कार्यपत्र प्रस्तुत गर्नुपर्ने नियम थियो। बुबाले करीब १५ वर्षमा ६२ वटा प्रवचन दिनुभयो। पौरस्त्य ज्ञानमा उहाँ युगान्तकारी व्यक्तित्व हुनुहुन्थ्यो।
इतिहास संशोधन-मण्डल नजन्मेको भए नेपालको इतिहास लेखनको अवस्था कस्तो हुने थियो भनी अनुमान गर्नुहुन्छ?
अहिलेसम्म पनि इतिहासको मूल सामग्रीसम्म पुगेर काम गर्न सक्ने जनशक्ति नभइरहेको वस्तुस्थितिलाई हेर्दा संशोधन-मण्डल नजन्मेको भए नेपालको इतिहास लेखनको अवस्था धेरै कमजोर हुने अनुमान गर्न सकिन्छ।
के चाहिं ठोकेरै भन्न सकिन्छ भने, संशोधन-मण्डल नभएको भए विवादित विषयमा निर्णय गर्ने पद्धति आउँदै आउने थिएन। वस्तुतः संशोधन-मण्डलले विवादित विषयहरूको निरूपण बाहेक केही पनि गरेन।
संशोधन-मण्डलको कामको प्रभावले पनि हुन सक्छ, अहिले केही व्यक्ति पुराविद्याको अध्ययनमा लागेका छन्। अपेक्षा अनुरूपको काम भने उनीहरूबाट हुन सकेको देखिंदैन।
यो पनि पढ्नुहोस् :