चियावालामा सय थरी चिया
पुर्ख्यौली चिया व्यवसायसँग विरक्तिएका फिल्मकर्मी गणेशदेव पाण्डे कोलकातामा एक कप चियाकै १५० भारतीय रुपैयाँ तिर्नुपरेपछि भने रंगीन दुनियाँ छोडेर अनेक थरी चिया पकाइरहेका छन्।
पहाडको दैनिकी कष्टकर बनेपछि घनश्याम र टुकादेवी पाण्डे दम्पती स्याङ्जाबाट बुटवल झरे। आयआर्जनको माध्यम केही थिएन। दुवै मिलेर बुटवलमा चिया पकाउन शुरू गरे।
चिया व्यवसाय फस्टाउँदै गएपछि दैनिकी सहज बन्दै गयो। पाण्डे दम्पती झन् झन् काममा रमाउन थाले। बिहानैदेखि रातिसम्म चिया पसलमै खटिन्थे। त्यही आम्दानीले परिवारको गर्जो त टर्यो नै, छोराछोरीलाई स्कूल पढाउन पनि सहज भयो।
तर छोरा गणेशलाई बुबाआमाको काम देखेर दिक्क लाग्थ्यो। उनी केही नयाँ काम गर्नेबारे सोच्थे। “बिहान झिसमिसेदेखि अबेर रातिसम्म खटिनुहुन्थ्यो,” उनी सम्झिन्छन्, “बुबाआमाको दुःख देखेर यो पेशा कहिल्यै गर्दिनँ भन्ने लाग्थ्यो।”
आम्दानी राम्रै भए पनि गणेश भने चिया पसलतिर लागेनन्। उनी अरू नै कामको खोजीमा भौंतारिए। त्यही क्रममा रेडियो बुटवल एफएममा जोडिए। त्यसमा केही वर्ष काम गरेपछि तिनाउ एफएमको निर्देशक बने।
खेलकूद र कला क्षेत्रमा सानैदेखिको रुचि थियो। त्यसैले एफएम छोडेर फिल्मतिर लागे। कामकाज राम्रै चलिरहेका वेला आफ्नो क्षमता थप बढाउन २०६१ सालमा भारतको मुम्बई हानिए। “मुम्बईमा राम्रै भयो, काम पाएँ। फिल्मकै सिलसिलामा भारतका विभिन्न शहर पुगें,” उनी भारत बसाइ सम्झिन्छन्।
त्यसै क्रममा एक दिन कोलकाता पुगे। साथीसँगै एउटा चिया पसलमा पुगेका उनले एक कप चियाको १५० भारु तिरे। “चियासँगै पसलका अन्य सेवासुविधा पनि जोडेर १५० भारु लिएको रहेछ। त्यो सुन्दा त म छक्क परें,” उनी भन्छन्।
त्यहाँ चिया पिउन कैयौं मानिसको भीड थियो। सामान्य मान्छेदेखि ठूल्ठूला सेलिब्रेटी पुगेका थिए। त्यो दृश्यले उनलाई बुटवल पुर्यायो। “चिया पिउँदापिउँदै बुबाआमाले गरिराखेको पेशाको सम्झना आयो,” मुम्बई बसाइ सम्झिंदै गणेश भन्छन्, “चिया पेशाप्रतिको सोचाइ नै बदलियो।”
पाण्डे परिवार चियासँग अभ्यस्त थियो। बिहान हातमुख मुख धोएपछि र राति सुत्नुभन्दा पहिला सबैले चिया खाने गर्थे। यो दैनिकी चलन जस्तै बनेको थियो। उनी पनि घरमा छँदा चिया पिउँथे। घरपरिवार, छरछिमेकीको छलफल र भेटघाट गर्ने बहाना पनि बन्थ्यो, चिया।
पाँच वर्ष मुम्बईमा काम गरेपछि उनी नेपालमै केही गर्ने योजनाले २०६६ सालमा काठमाडौं फर्किए। मुम्बईमा सिकेकै फिल्मको काम थियो। काठमाडौं आएपछि पनि फिल्मतिरै लागे। दैनिकी चलिरहेकै थियो, फिल्म निर्माण गर्ने योजना बन्यो।
उनको लेखन तथा निर्देशनमा ‘गाँजा बाजा’ फिल्म बन्यो। तर यसको नामलाई लिएर विवाद भयो। सेन्सर बोर्डले गाँजा शब्दमा आपत्ति जनाएर नाम परिवर्तन गर्न भन्यो। उनी त्यसमा अडिग रहे। बरु सेन्सर बोर्ड विरुद्ध सर्वोच्च अदालत पुगे। सर्वोच्च आदेशका आधारमा झन्डै दुई वर्षको झमेलापछि २०७४ सालमा ‘एडल्ट’ प्रमाणपत्र पाएर ‘गाँजा बाजा’ रिलिज भयो।
तर त्यो सबै झैझमेलाका कारण आर्थिक रूपमा कठिनाइ भोग्नुपर्यो। फिल्म क्षेत्रमै टिकिराख्न सकेनन्। दैनिकी चलाउन अन्य पेशा व्यवसाय गर्नुपर्ने भयो। के काम गर्ने भन्ने सोचिरहेकै वेला उनले कलकत्तामा चिया पिएको याद आयो। त्यसले पनि उनलाई पछ्याइरहेको थियो। अनि जन्मियो- चियावाला। “खुला र शान्त ठाउँमा स्वादिष्ट चिया खुवाउन चिया पसल खोलें,” गणेश भन्छन्।
२०७४ सालमा काठमाडौंको आलोकनगरमा उनले ‘चियावाला’ नामले चिया पसल सञ्चालन गरे। अनेक थरी चिया पकाउन शुरू गरे। चियावालाको फरक फरक स्वादलाई चियाका पारखीले रुचाए। छोटो समयमै राम्रो आम्दानी हुन थाल्यो। “तर घरबेटीको आँखा पर्यो। राम्रो चलेको देखेर होला, मलाई हटाए, आफैंले चिया पसल राखे,” उनी भन्छन्।
यसबाट उनलाई दिक्क त लाग्यो, तर हरेस खाएनन्। आलोकनगरबाट बखुन्डोल सरे। चियाका पारखी पनि बखुन्डोलतिरै सरे। उनको व्यवसाय दिनदिनै फैलिंदै गयो। “राम्रै भयो, ग्राहकको आकर्षण बढ्दै गयो,” गणेश भन्छन्, “अहिले त थप तीन ठाउँमा चियावाला विस्तार गरेका छौं।”
बखुन्डोलसँगै थापाथली, चाबहिल र बुटवलमा चिया पसल छन्। चारै ठाउँमा परिवारका सदस्यले साथ दिइरहेका छन्। बखुन्डोलमा पल्पसा पाण्डे, थापाथलीमा रूपा पाण्डे, चाबहिलमा शान्ति पाण्डे र बुटवलमा अन्जु पाण्डेले कारोबार हेर्छन्।
असोज पहिलो साता गणेश भने थापाथलीस्थित चियावालामा भेटिए। चिया पिउँदै उनले चिया यात्राबारे सुनाए। “घरपरिवारमा पकाउन सिकेको चियालाई नै परिष्कृत गर्दै १०० थरी बनाएको छु,” उनी भन्छन्।
अहिले चियावालामा १०० थरी चिया पाइन्छ। यो चिया यात्रा भने उनका लागि सहज थिएन। शुरूआत पनि गाह्रोसाह्रोमै गरिएको उनी सुनाउँछन्। “जुन दिन चिया पसल खोल्छु भन्ने निर्णय गरें, त्यो दिन मसँग ५०० रुपैयाँ मात्रै थियो,” गणेश प्रारम्भिक दिन सम्झिन्छन्, “आमासँग केही पैसा मागे, श्रीमतीका गहना बेचें। केही पैसा साथीभाइसँग ऋण मागें।”
यसरी शुरू भएको चियावालामा अहिले त चिया पारखीको भीड लाग्छ। चारै ठाउँमा दैनिक २५० देखि ३०० जना चिया पिउन आइपुग्ने गरेको उनी बताउँछन्। सबै ठाउँमा गरी २८ जनाले रोजगारी पाएका छन्, धेरैजसो महिला छन्।
चियावालामा घरको जस्तै वातावरण बनाइएको छ। ग्राहकले देख्ने गरी चिया पकाइन्छ। सरसफाइमा ध्यान दिइएको छ। “जसरी घरमा आमाले पकाएको देखिन्छ, त्यही हिसाबले सबै सरसामान खुला राखेर सबैले देख्ने गरी पकाउने अभ्यास गरेका छौं,” उनी भन्छन्, “यो देखेर ग्राहक पनि खुशी हुन्छन्।”
चिया पकाउने भान्सासँगै बाहिर बस्ने ठाउँ पनि चिटिक्क पारेका छन्। पसल सजावटका लागि कवाडमा फालिएको टेबलकुर्सीको प्रयोग गरेका छन्। गाउँमा प्रयोग हुने सानो सानो खटियामा बस्ने व्यवस्था गरेका छन्। गाउँकै झल्को दिने गरी सबै व्यवस्था मिलाएको उनी बताउँछन्। “चिया खान आउनेलाई गाउँ र जमीनसँग जोडिएको महसूस हुने वातावरण बनाएको छु,” गणेश भन्छन्।
यससँगै उनले चियाको स्वादमा पनि फरकपन ल्याएका छन्। दूधको मात्रै १३ प्रकारका चिया पाक्छन्। फूलदेखि जडीबुटी मिसाएका चिया छन्। धेरै चल्तीमा तराई, घनश्याम, मेरो खुशी, केशर, मनरूपा, मसला चिया लगायत छन्। चियासँगै रैथाने स्वादकोे पकौडा, आलुचप, बटुक र टिकिया चाट पनि ग्राहकले रुचाइरहेका छन्।
अंग्रेजको आगमनसँगै दक्षिणएशियामा चिया भित्रिएको मानिन्छ। पाहुनाको सत्कार गर्न पानीसँगै चिया दिने परम्परा पुरानै हो। अहिले त यो प्रतिष्ठाको विषय पनि बन्दै गएको छ। गाउँका ससाना पसल हुन् कि तारे होटल, चियाले स्थान पाएकै छ।
गणेशले चिया पकाउन शुरू गरेको पछिल्लो सात वर्षमा पनि चियाको स्वादसँगै मूल्यमा पनि ठूलो फेरबदल आइसकेको छ।चिया बेच्ने मट्काको मूल्य पनि वृद्धि भएको छ। आलोकनगरमा चियावाला खोल्दा एउटा मट्काको ११ रुपैयाँ थियो। अहिले २५ रुपैयाँ पुगेको छ। चियावालामा सामान्यदेखि विशेष चिया पाइन्छन्। प्रतिकप २०० रुपैयाँसम्मको चिया पिउन सकिन्छ।
चियाको ब्रान्ड बनाउन सकेकामा उनी खुशी छन्। चियामा बाजे, बुबाकै सिको गरेको सुनाउँछन्। “बुबाको चिया पसलमा धनी, गरीब सबै तह र तप्काका मान्छे आउँथे,” उनी भन्छन्, “चियावालामा पनि सबै वर्ग र उमेरका मान्छे आउँछन्।”
चिया त अब उनको दैनिकीको अभिन्न अंग बनेको छ। चियाले आर्थिक रूपमा बलियो पनि बनाएको छ। घरमा हजुरआमाले र पसलमा बुबाले पकाएको चिया खाँदै हुर्केका उनले त्यो स्वाद बिर्सेका छैनन्। त्यसैले त १०० थरीमध्ये दुई वटा आफन्तकै सम्झनामा नामकरण गरेका छन्। गणेश भन्छन्, “बुबाको कामलाई सम्मान गर्दै घनश्याम र हजुरआमाको सम्झनामा मनरूपा चिया नाम राखेको छु।”