हङकङमा नेपाली भाषा सिक्दै नयाँ पुस्ता
हङकङमा रहेका नेपाली पछिल्लो समय आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन थालेका छन्, जसले नयाँ पुस्तालाई पुर्खाको थलोप्रति आकर्षित पारिरहेको छ।
हङकङको एउटा फेशन म्यागजिनमा ‘क्रिएटिभ राइटर’ का रूपमा कार्यरत छिन्, नङसाङ लावती। यो म्यागजिन हङकङको क्यान्टोनिज भाषामा छापिन्छ। यो म्यागजिनमा प्रवेश गर्नुअघि लावतीले हङकङ विश्वविद्यालयबाट पत्रकारितामा स्नातक गरेकी हुन्।
उनी क्यान्टोनिजसँग अंग्रेजी भाषामा पनि पोख्त छिन्। हङकङमै जन्मेहुर्केकी लावतीले चिनियाँ माध्यममा पढाइ हुने विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेकी हुन्।
स्थानीय भाषा बोलाइ र लेखाइमा हङकङका चिनियाँ विद्यार्थीभन्दा कुनै हिसाबले कम छैनन्। क्यान्टोनिज र अंग्रेजी भाषामा सजिलै बोल्न र लेख्न सक्ने उनलाई नेपाली भने आउँदैनथ्यो। त्यसको खासै वास्ता पनि थिएन।
उच्च शिक्षा पूरा गर्ने क्रममा जब लावतीलाई आफ्नो देश, समाज र परिवारको पहिचानबारे बोल्नुपर्यो, त्यसपछि भने अप्ठ्यारो भयो। आफ्नो भाषा नजानेकोमा निकै थकथकी लाग्यो।
त्यसपछि उनी शारदा गुरुङलाई भेट्न सुटुक्क पुगिन्। गुरुङले हङकङमा रहेका नेपाली विद्यार्थीलाई नेपाली भाषा सिकाउँदै आएकी छन्। आफ्ना अभिभावकलाई थाहै नदिई नेपाली भाषा सिक्न गएकी लावतीमा चाँडै प्रभाव देखिएको शिक्षिका गुरुङ सुनाउँछिन्। “दुई वटा भाषामा राम्रो दखल भएकाले होला, नङसाङले नेपाली भाषा बोल्न र लेख्न अपेक्षाकृत छिटै सिकिन्,” शिक्षिका गुरुङ भन्छिन्।
लावतीले नेपाली र क्यान्टोनिज भाषाको संरचनासम्म केलाएर भाषा सिकेको उनी बताउँछिन्। “नेपाली भाषा सिकेर नङसाङले नेपालमा रहेका आफ्ना साहित्यकार बुबालाई लामो पत्र लेखेर ‘सरप्राइज’ नै दिइन्,” गुरुङ भन्छिन्।
लावती त आफ्नै अग्रसरताले नेपाली भाषा सिकाउने कक्षामा पुगिन्। कतिपय नेपाली विद्यार्थी आफैं नेपाली भाषा सिक्न पुग्छन्। अहिले भने हङकङका नेपाली अभिभावकले आफ्ना बालबालिकालाई नेपाली भाषाको ट्युसन कक्षासम्म पुर्याउन थालेका छन्।
तीमध्ये एक हुन्, धर्मराज राई। उनी आफ्नो छोरालाई नेपाली भाषा सिकाउन नियमित ट्युसन सेन्टर पठाइरहेका छन्। “यहीं जन्मिएर हुर्किरहेको मेरो छोरालाई नेपाली केही आउँथेन,” राई भन्छन्, “नेपाली नजान्नाले नेपाल जाने भनेपछि फिटिक्कै रुचि थिएन।” अहिले भने छोरामा परिवर्तन आएको उनी सुनाउँछन्।
हङकङमा रहेका नेपाली बालबालिकाले स्थानीय क्यान्टोनिज र अंग्रेजीमै लेखपढ गर्छन्। अझ धेरै त अंग्रेजी नै रोज्छन्। विदेशमा रोजगारका निम्ति पनि अंग्रेजी नपढी हुँदैन। यससँगै हङकङको स्थानीय भाषा क्यान्टोनिज र मेन्डारिन पनि जान्नै पर्छ।
यसले गर्दा अधिकांश बालबालिकालाई नेपाली भाषा आउँदैन। मातृभाषा नजान्दा आफ्नो जरो नै पत्तो नपाउने हुनाले अभिभावकले नेपाली भाषा पढाउने तत्परता देखाउन थालेका छन्। पछिल्लो समय हङकङमा चलेको यो जागरणले नेपाली विद्यार्थीमाझ आफ्नो पहिचान पहिल्याउने जिज्ञासा बढेको शिक्षिका गुरुङ बताउँछिन्।
उनी पनि नेपाली भाषाको कक्षा पढाउँछिन्। अहिले १० जना विद्यार्थीले नियमित कक्षा लिइरहेका छन्। “भाषा बिर्सिए संस्कृति बुझिंदैन। संस्कृति नबुझे आफ्नो पहिचान पहिल्याउने चेत हुँदैन भन्ने सोचाइ धेरै नेपाली अभिभावक र विद्यार्थीमा देखिएको छ,” उनी भन्छिन्।
उनी सरकारी विद्यालय बेथल हाइस्कूलमा नेपाली विषय पढाउँछिन्। यससँगै नेपाली भाषाको ट्यूसन सेन्टर खोलेकी छन्। अभिभावक र विद्यार्थीको नेपाली भाषाप्रति जागरूकता देखेर नै ट्यूसन सेन्टर मार्फत सस्तोमा पढाइरहेको उनी सुनाउँछिन्।
बेथल हाइस्कूलमा पनि ८० जना विद्यार्थीले अनिवार्य नेपाली विषय पढिरहेका छन्। हङकङ सरकारले मान्यता दिएको नेपाली पाठ्यक्रम बमोजिम कक्षा १ देखि ६ सम्म अनिवार्य नेपाली विषय पढ्नुपर्छ।
हङकङमा बेथल जस्तै नेपाली पाठ्यक्रम पढाइ हुने सरकारी विद्यालय अरू पनि छन्। बेथल हाइस्कूलबाट अहिलेसम्म नौ वटा ‘ब्याच’ ले माध्यमिक तह उत्तीर्ण गरिसकेका छन्। यसरी नेपाली भाषा सिकेपछि युवा विद्यार्थीलाई आफ्नो पुर्खाको देशप्रति चासो पनि बढ्न थालेको छ।
नेपाली भाषा पढ्न थालेपछि छोरालाई नेपालप्रति रुचि बढेको हङकङमा बस्दै आएका धर्मराज राई बताउँछन्। यसले राईलाई खुशी पनि तुल्याएको छ। उनी छोरालाई नेपाल घुमाएको सुनाउँछन्। “छोराले नेपाली भाषा सिकेपछि बजूको देश जाऔं भन्यो,” राई भन्छन्, “उसलाई पहाड लगेर गएँ। एक महीना केही गुनासो नगरी बस्यो। थुप्रै साथीहरू बनाएर फर्कियो।”
राई जस्तै हङकङमा रहेका नेपाली अभिभावक छोराछोरीलाई नेपाली पढाउन पाउँदा खुशी हुन थालेका छन्। यसले नयाँ पुस्तालाई आफ्नो देश र संस्कृतिसँग जोड्न सजिलो भएको शिक्षिका गुरुङ बताउँछिन्। हङकङमा देखिएको नेपाली भाषाप्रतिको मोहले आफूलाई पनि उत्साहित बनाएको उनी बताउँछिन्। “हङकङमा रहेका नेपाली विद्यार्थी र अभिभावकको भाषाप्रतिको रुचि राम्रो संकेत हो,” गुरुङ भन्छिन्।
हङकङमा करीब ४० हजार नेपाली बस्दै आएका छन्।