फेवा, तालबाराही र फेवाली रानाको इतिहास
कास्की राज्यको अध्ययन गर्दा, शाहवंशी राजाको उदय हुनुपूर्व यस भेगमा पहिले मगर जातिले, त्यसपछि गुरुङ जातिले स्वतन्त्र राज्य खडा गरी लामो समय शासन गरेको वृत्तान्त पाइन्छ।
पोखरा, कास्की जिल्लाको सदरमुकाम मात्र नभई गण्डकी प्रदेशको राजधानी पनि हो। चारैतिरबाट हरियाली डाँडाकाँडाले घेरिएको पोखरा सुन्दर तथा फराकिलो उपत्यका हो, जहाँ अनेकौं तालतलैया, ऐतिहासिक कोट र मठमन्दिर छन्। माछापुच्छ्रे र अन्नपूर्णको हिमशृंखला, तालबाराही, फेवा, बेगनास तथा रुपा ताल, पातले छाँगो (डेभिडफल्स) र महेन्द्र गुफा यहाँका आकर्षण केन्द्र हुन्।
त्यस्तै, कास्कीको पन्चासे डाँडा, सराङकोट, कास्कीकोट, पुम्दी-भुम्दीकोट, गुप्तकालिका, विन्ध्यवासिनी, बौद्धगुम्बा, शान्तिकुण्ड, घान्द्रुक, सिक्लेस, अन्नपूर्ण बेसक्याम्प, ट्रेकिङ (पदयात्रा), स्थानीय कला, संस्कृति र स्वस्थकर हावापानीले जोकोहीलाई सजिलै लोभ्याउँछ।
कास्की राज्यको अध्ययन गर्दा, शाहवंशी राजाको उदय हुनुपूर्व यस भेगमा पहिले मगर जातिले, त्यसपछि गुरुङ जातिले स्वतन्त्र राज्य खडा गरी लामो समय शासन गरेको वृत्तान्त पाइन्छ। यिनै जातजातिको मूर्त-अमूर्त संस्कृतिबाट गण्डकी सभ्यता विकसित र व्यापक भएको हो। त्यसैले यहाँका स्थाननाममा स्थानीय लवज (गुरुङ र मगर)को गहिरो छाप भेटिन्छ।
जानकारहरूका अनुसार गुरुङ भाषामा ‘कास’ भन्नाले ‘कछाड’ र ‘शिव’ भन्नाले ‘लगाउने’ बुझिन्छ। अर्थात् यी दुई शब्द मिलाएर कछाड लगाउनेको बसोबास क्षेत्रलाई ‘कासशिव’ भन्दाभन्दै अपभ्रंश भएर ‘कास्की’ नामकरण भएको विश्वास गरिन्छ। त्यस्तै, कास्की प्राकृतिक तालतलैयाले भरिपूर्ण छ। पानी जम्ने ताल या पोखरीलाई मगरहरू आफ्नो भाषामा ‘पोखरा’ भन्दछन्, यही नामले कास्की जिल्लाको सदरमुकाम ‘पोखरा’ बनेको हुन सक्दछ।
फेवा तालको उत्पत्ति
प्रा.डा. राजाराम सुवेदी कास्की राज्यको इतिहासमा लेख्छन्- कास्कीको उत्तर-पश्चिममा पर्ने अर्मलाकोटमा घले थर भएका गुरुङ राजाको दरबार थियो। त्यसलाई अधीनमा पारी आफू शक्तिशाली कहलिन राजा कुलमण्डन शाहले स्याङ्जाको पल्लो नुवाकोटबाट आफ्ना विश्वासी राने (राना) मगरहरूलाई झिकाई कास्की चिलमडाँडामा बसोबास गराए। तिनका नायक कुम्भैरव राना (कुम्भेराना) थिए (सुवेदी, उही, ७८)।
यिनको बारेमा ‘टपटप टोपी लेकको ताना, परबाट आए कुम्भेराना...’ चर्चित बालगीत पनि छ। याे बालगीत पाठ्यपुस्तकमा समेत पढाइन्थ्याे। यिनै कुम्भेरानाले युद्धको नेतृत्व गर्दै घले राजालाई हराएका थिए। यसरी अर्मलाकोट अधिकारमा आएपछि ती लडाकूलाई विभिन्न स्थानमा बसोबास गराइयो।
सुवेदी थप्छन्- राजा कुलमण्डन शाहले आफ्नो राज्यकालमा सघाउने कुम्भैरव राना खलकलाई चिलमडाँडा, शेरा, फेवाफाँट, ढाव, कोदी लगायत स्थानमा खोरिया फँडानी गरी बसोबास गर्ने बिर्ता दिए र कास्कीकोटकी गुप्तकालिकालाई इष्टदेवीको मान्यता दिंदै यिनै बरकुमारी वंशका राना मगरलाई त्यहाँको पुजारी बनाइएको विद्वान् जगमान गुरुङको भनाइ उद्धृत गरिएको छ (सुवेदी, उही, ८७)।
यो पुजारी परम्परा कास्कीकोटमा आजसम्म कायमै छ। स्याङ्जाको आलमदेवीबाट शाहवंशी राजाहरूको विस्तार भएकाले कास्कीकोटकी गुप्तकालिकालाई आलमदेवीकै प्रतिमूर्ति मानेर तत्कालीन राजाले बरकुमारी रानालाई पुजारी बनाएको देखिन्छ। विसं १८४२ मा कास्की राज्य गोरखाको अधीनमा आए पनि साविकका बरकुमारी पुजारी थमौतीमा परेका थिए (सुवेदी, उही, १३४)।
यिनै बरकुमारीहरू फेवाफाँटका अधिपति भएर गएकाले ‘फेवाली राना मगर’ कहलिएका हुन्। लेखक सुवेदीले यिनै पुजारी खलकलाई कहीं बरकुमारी, कहीं फेवाली राना मगर भनी उल्लेख गरेकाले पनि यो तथ्यमा बल पुगेको छ।
अर्मलाकोटको दखलपछि राजा कुलमण्डन शाहले बरकुमारी मगरलाई फेवाफाँट लगायत भूभागमा बसोबास गराएको चर्चा माथि भइसक्यो र अहिले ‘फेवा ताल’ रहेको ठाउँ कुनै बखत ‘फेवाफाँट’ थियो। कालान्तरमा यही स्थानमा प्राकृतिक रूपले ताल बन्यो र फेवाफाँट पछि फेवा ताल भयो।
घैरुङ, गोरखाकी ८७ वर्षीया जीतमाया थापा मगरका अनुसार असार महीनामा स्थानीयहरू छिपछिपे पानीमा रोपाइँ गर्दै थिए। त्यही समय फेवाफाँट भास्सियो र जलमग्न हुँदै गयो। मानिस घरबारी छाडेर अन्यत्र भागे र हेर्दाहेर्दै तालको बन्याे।
फेवा तालको निर्माणबारे रोचक किंवदन्ती पनि छ। अहिले फेवा ताल भएको स्थानमा धेरै पहिले मानवबस्ती थियो र मानिसहरू खेतीपातीबाट आफ्नो जीविकोपार्जन गर्दथे। एकपल्ट साँझको समय कुनै वृद्ध जोगी घुम्दै आएर गाउँमा वास मागेछन्, तर कसैले दिएनछन्। यसरी वासको खोजीमा भौंतारिएका जोगीलाई ‘साँझको पाहुना, देवता समान’ ठानी एक वृद्धा महिलाले ‘वास त दिन्छु, तर खानलाई केही छैन, अलिकति ढुटोको रोटी छ, के गरौं?’ भनी सोधिछन्। जोगीले खुशी हुँदै त्यही ढुटोको रोटी खाएर पिंढीमा रात काटेछन्।
भोलिपल्ट जोगीले ‘यो गाउँमा अरूले वास दिएनन् तर तिमी चाहिं दयालु रहिछौ आमा, मलाई वास र गाँस दुवै दियौ।’ त्यस गुणको बदलामा ती वृद्धालाई ‘मेरो श्रापले यो स्थान छिटै जलमग्न हुनेछ, तिमी कतै अग्लो स्थानतिर गएर बस्नू’ भनी जोगी हिंडेछन्। नभन्दै त्यो सिंगो बस्ती केही दिनमै जलमग्न भई डुब्यो। वृद्धाले स्थानीय मानिसलाई वेलैमा अन्यत्र पठाई तिनको कल्याण गरिन् र आफू पनि अग्लो थुम्कोमा पुगेर बाँचिन्। यो किंवदन्ती अध्येता प्रेमराज पहारी एवं प्रा.डा. सुवेदीका पुस्तक र स्वयं तालबाराही मन्दिरको अभिलेखबाट पनि थाहा हुन्छ।
यसरी उत्पन्न फेवा ताल कुनै बखत पोखरा-२३ स्थित माझथुमसम्म फैलिएको स्थानीय बूढापाका बताउँछन्। नजीकैका हर्पन खोला र अँधेरी खोला यसका प्रमुख स्रोत हुन्। यी खहरे फेवा तालमा मिसिंदै पार्दी क्षेत्रबाट निकास हुने भएकाले त्यहाँ बाँध बनाइएपछि तालले विशाल रूप लिएको हो।
२०३१ सालमा बाँध फुटेर पानीको सतह घट्दै गएपछि आवश्यक मर्मतसम्भार गरिएको र २०३८ सालमा पोखरा नगर विकास योजनाबाट मन्दिरको उत्तर-पश्चिमतर्फ पर्खाल ठड्याई माटो भरेर थुम्काको संरक्षण गरिएको रहेछ। धेरै पहिले चिलमडाँडाको वारपार फैलिएको फेवा ताल अहिले अतिक्रमणमा पर्दै गएकाले सर्वत्र चिन्ता छाएको छ।
तालबाराहीको उत्पत्ति
फेरि किंवदन्तीतर्फ फर्कौं, जोगीको कृपाले बाँचेकी वृद्धाको उपकार सम्झेर स्थानीयवासीले श्रद्धा र भक्ति देखाउनु स्वाभाविकै थियो। उति खेरको समाज अत्यन्त धर्मभीरु भएकाले देवीदेवतालाई पुज्नु जीवनको उच्च कर्तव्य मानिन्थ्यो। प्रेमराज पहारीको पुस्तक श्री तालबाराही मन्दिरको इतिवृत्त अनुसार वृद्धाको मृत्युपछि स्थानीयले विसं १४६७ तिर माझथुम्कीमा खरको झुप्रोमा देवीथान बनाई पूजा चलाए (पहारी, २०७८ः१-१४९) र बीचतालकी देवीलाई ‘तालबाराही’ को संज्ञा दिए। मगर संस्कृतिका विशेष जानकार विष्णुकुमार सिंजाली मगरका अनुसार मगरहरूले ‘बराहाङ’ लाई पुर्खा मान्दछन् र तालबाराहीलाई ‘जेठाबराह’ भन्ने गर्छन्। यो भनाइबाट ‘बाराही’ शब्दको व्युत्पत्ति मगर भाषाको ‘बराहाङ’ बाटै भएको बुझिन्छ।
तालबाराहीबारे अर्को कथन पनि पाइएको छ, कुनै बखत फेवा तालको ढिस्कोमा अर्घौतो आकारको एउटा शिला थियो, त्यसैलाई बराहको प्रतीक मानेर मन्दिरमा स्थापना गरी नित्य पूजाको परम्परा बसेको हो (पहारी, उही, ४)। अनेकौं किंवदन्तीका बावजूद तालबाराहीप्रति भक्तजनको आस्थामा कमी आएको छैन। तालकै कारण मन्दिरको र मन्दिरकै कारण तालको महत्त्व बढेकामा दुईमत पनि छैन।
कुनै वेला फेवा तालमा आएको भीषण बाढीले सो थुम्को साविकको ठाउँबाट हालको स्थानमा सरेको बताइन्छ। त्यो थुम्को अहिले पनि बीचतालमा टापु झैं अडिएको हुनाले फेवा तालको सुन्दरता झन् बढेको छ। २०१७ सालमा महेन्द्रको पालामा जीर्णोद्धार गरिएपछि तालबाराही मन्दिरले वर्तमान स्वरूप पाएको रहेछ। मन्दिरको प्रांगणमा श्रद्धालु भक्तजनका साथै पर्यटकको चाप बढ्दै गएकाले ३-८-२-० रोपनीमा फैलिएको मन्दिर परिसर जोखिममा परेको देखिन्छ।
प्रचलित किंवदन्ती अनुसार तालबाराही मन्दिर राजा कुलमण्डन शाहको राज्यकाल (विसं १५२४-१५८३)मा निर्माण भएको प्रस्टै छ। सराङकोटका भूम्या र फेवा तालको बाराही गुठीको पूजाआजा सञ्चालन गर्न बैदाम पोखराका पहाडी परिवारका डिल्लीराम पाध्याको नाउँमा विसं १८६८ आषाढ सुदी ३ रोज २ मा जारी (श्री ५ गीर्वाणयुद्धविक्रम शाहकालीन) संयुक्त लालमोहर पाइएको र त्यो गुठी संस्थान अन्तर्गत केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय, भद्रकालीमा सुरक्षित छ। लालमोहरको व्यहोरा यस्तो देखिन्छ :
स्वस्ती श्री मन्महाराजधिराज कसाकुछना ..... आगे डील्लीराम पाध्या पाहाडीके सरांकोटका भुम्या र फेवा तालका श्रीबाराहको पुजा गुठीको खेत सीम पिपल्या मुरी ५० विहु १। पुवालीवोट मुरी ४० पंचोपचारादी नीमीत्त गौचर सींपानी पाखो अघी परंपरादेषी आजतक षायाको रहेछ सोही वमोजीम् थामी वक्स्यौं परम्पराको रीतसीत पुजा चलाइ हाम्रो जये मनाइ सेषरह्याको भोग्य गर इती सम्वत १८६८ साल आषाढ सुदी ३ रोज २ शुभम्...
प्रस्तुत लालमोहर जारी हुनुअघि मन्दिरका पुजारी को थिए भनेर जिज्ञासा उठ्नु स्वभाविकै हो। त्यसबारे सोधखोज गर्दा धेरैजसो बूढापाकाले ‘राना मगर’ भएको बताए, तर तिनका सन्ततिबारे कुनै जानकारी पाउन सकिएन।
तालबाराहीको विशेष पूजा
तालबाराहीमा वैशाख पूर्णिमा र मंसीर पूर्णिमामा विशेष प्रकारले उधौली-उभौली पूजा गर्ने चलन छ। यो परम्पराले मगर संस्कृतिको प्रतिनिधित्व गर्दछ। स्थानीयबाट धान, चामल, धूप, दीप, नैवेद्य, भेटी र पशुको बलि सहित पूजा गर्ने परम्परा भएकोले उहिले उहिले यसलाई ‘गामनाच्ले’ भन्ने गरिन्थ्यो। सो अवसरमा चक्र गाड्ने र झिक्ने प्रचलन भएकाले चक्रपूजाको विशेष महत्त्व देखिन्छ।
अघिल्लो दिन गाउँमा कटुवाल घोकाई फूल, प्रसाद, धूप, अक्षता आदि ल्याउन उर्दी जारी गरिन्थ्यो र पूजा गर्ने भेडो पञ्चे राना मगरले गाउँमा खोज्दै जाने, मन परेको भेडालाई ध्वजा बाँध्ने र त्यही भेडो पूजाका निम्ति छुट्याउने चलन थियो। भेडाको मूल्य भने पञ्चे राना मगरले तोके अनुसार बुझाइन्थ्यो र कटुवाललाई जिम्मा लगाइन्थ्यो। भोलिपल्ट उनी भेडो सहित पूजामा उपस्थित हुने गर्थे। यो रोचक प्रसंग अध्येताले पं. इन्द्रप्रसाद पौडेलबाट संकलन गरेको बताउँछन् (पहारी, उही, पृ.३३), तर ‘पञ्चे राना मगर’ बारे केही खुलाइएको छैन।
फेवाली मगरको सम्बन्ध
फेवाफाँट, आँधी खोलाको मुहानमा पर्ने पल्लो नुवाकोटबाट कुम्भेरानाको नेतृत्वमा कास्केली राजवंशलाई युद्धमा सघाउन ल्याइएका बरकुमारी राना मगरहरूले बिर्तास्वरूप पाएको भूमि थियो, जसको चर्चा माथि गरियो। अतः फेवाफाँटका बासिन्दा बरकुमारी मगर नै थिए भन्नेमा द्विविधा छैन। पछि त्यही फाँट जलमग्न भई बसोबासयोग्य नहुँदा स्थानीय पलायन हुन बाध्य भए र कालान्तरमा तिनै बरकुमारीहरू ‘फेवाली राना मगर’ भनेर चिनिए। ऐतिहासिक घटनाक्रमले यही संकेत गर्दछ।
यथार्थमा फेवालीहरू बरकुमारी राना मगरकै मूल लहरा हुन्। तसर्थ आफूलाई फियाली, फ्याली वा फ्याउली बताउनेहरू अन्ततः सबै ‘फेवाली’ हुन् र तिनको मूलवंश ‘बरकुमारी’ बाटै शुरू हुन्छ। अतः फेवाली र बरकुमारी सहोदर भाइ हुन् देखिन्छ। परस्पर पुर्ख्यौली पृष्ठभूमि केलाउँदा निष्कर्षमा पुग्न सकिन्छ। अर्को चाखलाग्दो कुरा, गुरुङ समुदायमा पनि ‘फेवाली’ र ‘राना’ थर पाइएका छन्। यो पनि अध्ययनको अभिन्न पाटो हो।
प्राकृतिक प्रकोपका कारण फेवाफाँटबाट बाध्यतावश देशैभर छरिएका बरकुमारी वंशजले मूलथलोसँग जोडिएर आफूलाई ‘फेवाली राना मगर’ भनी चिनाउनु अस्वाभाविक देखिंदैन पनि। किनकि थर-उपथरको उत्पत्तिमा ऐतिहासिकता, विद्वत्ता, पदीयता मात्र नभई भूगाेलको पनि उत्तिकै प्रभाव हुन्छ। त्यस्तै, सराङकोट डाँडामा बस्ने मगरहरू पछि ‘सराङकोटी’ बने झैं समाजमा नयाँ चिनारी निर्माण हुने घटना सर्वत्र भेटिन्छन्।
अर्को कुरा, फेवा तालको उत्पत्ति कथामा अग्लो थुम्कोमा पुगेर आफ्नो प्राण जोगाउने वृद्धा आमा र उनकै कारण बाँचेका स्थानीय पनि बरकुमारी मगर थिए, जो पछि ‘फेवाली’ मा रूपान्तरित भए। यसमा सन्देह गर्ने ठाउँ छैन, किनकि ‘भेडाको बगालमा भेडा, बाख्राको बगालमा बाख्राहरू नै बस्छन्’ भन्ने पुरानो आहान यहाँ मननयोग्य छ।
फेवाली रानाहरूले आफ्नो उद्गमथलो फेवा ताल मानेका छन् र तालसँग जोडिएका अनेकौं जनश्रुति बताउँछन्। केहीले तालबाराहीलाई आफ्नै इष्टदेवी वा कुलदेवी मानेको देखिन्छ भने केहीले त्यहाँ जान हुँदैन, फेवा ताल नाघिन्छ र बाराहीको दर्शन गर्नाले अनिष्ट हुने बताउँछन्। आफ्नै थातथलो जान नहुने, बाराहीको दर्शन गर्न नहुने किन रहेछ, यो रहस्य कहींकतै खुलेको छैन।
शाहवंशी राजाका अत्यन्त विश्वासी बरकुमारी मगर कास्कीकोटको र चुमी मगर सराङकोटको पुजारी भए झैं फेवालीहरूकै इतिहास, संस्कृतिसँग जोडिएकी तालबाराहीबाट मगर पुजारी किन हटाइए? जबकि तत्कालीन समाज आफ्नो धर्म, संस्कृति र परम्परामा अडिग रहन्थ्यो। त्यसमा परिवर्तन गर्नुभन्दा मर्नु श्रेयस्कर ठान्थ्यो। सबैमा आफ्नो परम्परालाई पुस्तौंपुस्तासम्म डोर्याउनुपर्छ भन्ने मान्यता रहन्थ्यो। आफ्नो जातीय परम्परामा विश्वास र भरोसा हुन्थ्यो। कास्केली समाज आफ्नो धर्म, संस्कृति र परम्परा बदल्न डराउँथ्यो, त्यसलाई अपराध मानी सजाय गर्ने चलन पनि थियो। त्यसैले मन्दिरको पुजारी बदल्नुको औचित्य बुझ्न सकिएको छैन। यसको खोजीनिती हुनु आवश्यक छ।
फेवा ताल, तालबाराही र फेवाली राना मगरबीचको अन्तर्सम्बन्ध केलाउँदा फेवाली राना र शाहवंशी राजाको भित्री सम्बन्धमा प्रकाश पार्नु सान्दर्भिक नै हुन्छ। राजा कुलमण्डन पहिले ‘खान’ थरका ठकुरी थिए, यिनले दिल्लीका बादशाहलाई रिझाएर ‘शाह’ उपाधि पाएका थिए। मगर भाषामा ‘खान’ वा ‘खाण’ शब्दको निकै प्रयोग हुन्छ। कुनै परिवार वा गाउँघरका प्रमुख व्यक्ति, अग्रज, मूली, थकाली वा नायकलाई यही शब्दले सम्बोधन गर्ने परम्परा छ।
घले गुरुङहरूको शासनकाल शुरू हुनुभन्दा पहिले कास्कीमा ‘फेवाली राना मगर’ ले राज्य गरेको इतिहास पाइएको हुँदा यिनीहरू महाराजिक खानदान भएको प्रस्ट हुन्छ। पछि यिनका ठकुराई ‘खान’ ले सम्हालेको हुँदा खानहरू ‘ठकुरी’ मा परिणत भएका हुन्। यसरी राज्य गर्ने ठकुरी तत्कालीन समयमा जुनसुकै जातजातिका पनि हुन्थे।
गण्डकी भेगका शाहवंशी राजाको पुर्ख्यौली मगर जातिसँग जोडिएको र तिनमा ठकुराई नचलाउनेहरू ‘मग्वर’ बाट ‘मग्गर’ हुँदै ‘मगर’ भएका हुन्। त्यसैले शाहवंशी झैं फेवाली राना मगरले आफूलाई चन्द्रवंशी, भारद्वाजगोत्रीय खानदानी घराना मान्नुको यथार्थ यही हो। यही रक्तमिश्रणका कारण शाहवंशी राजाले राना मगरलाई विशेष प्राथमिकतामा राखेको र आफ्नो कुल पुजारी समेत बनाएको देखिन्छ। यो परम्परा अद्यापि कायमै छ।
कुलमण्डन शाहले कास्कीकोट दरबारमा गुप्तकालिकाको स्थापना गरी पञ्चोपचार र षोडशोपचार विधिले तान्त्रिक पद्धति अनुसार पूजा गरी इष्टदेवीको आराधना गर्न राना थरका आफ्नै मावली (?) खलकलाई पुजारी बनाएका थिए (सुवेदी, उही, २८०)। त्यसै वेलादेखि कालिकाको गाथमा दर्शन गर्ने अनुमति कुम्भेरानाका सन्तान बाहेक अरूलाई नदिने परम्परा बसेको मानिन्छ (डा. मीन श्रीसमगर, नेपाली राष्ट्रियताको विकासमा मगर पुजारीहरूको भूमिका, २०७७ः५९)। कास्केली राजाका भारदार एवं आठपहरियामा पनि राना मगरकै वर्चस्व थियो।
यी तथ्यलाई मनन गर्दा मगर-ठकुरीबीच परम्परागत रूपले रगतको मात्र नभई विश्वासको सम्बन्ध पनि देखिन्छ, जसलाई चौबीसे भेगमा सर्वत्र अनुभव गरिएको छ। शाहवंशी राज्यको स्थापना र सञ्चालनका साथै तिनका पूजाआजा र तन्त्रसाधनामा मगर जातिले अहम् भूमिका खेलेको छर्लंग हुन्छ। त्यस्तै, यिनै शाहवंशी राजाले कोटकोटमा भूमे, भुयँर, देवीदेउराली, चक्र र ओल्केको पूजा गर्ने जिम्मेवारी, बलिपूजा र नाथमौलो पूजा गर्ने काममा अनुभवी एवं वयोवृद्ध गुरुङहरूलाई मुखिया बनाई उपयोग गरिएको यथार्थ पनि छ। गुरुङ र मगर समुदायलाई साथ राखुन्जेल शाहवंशी राजा र तिनका परिवारको श्रीवृद्धि हुँदै गएको विगतको इतिहासले देखाउँछ।