फिल्म साउथएशिया २०२४ मा ४७ वटा वृत्तचित्र
मानव क्रियाकलापले वातावरणमा पारेको असरमा केन्द्रित १४औं संस्करण आगामी मंसीर ६ देखि शुरू हुँदै छ।
फिल्म साउथएशिया २०२४ मा ४७ वटा वृत्तचित्र प्रदर्शन हुने भएका छन्। साउथएशिया गुठीले आगामी मंसीर ६ देखि ९ सम्म पाटनढोकास्थित यलमाया केन्द्रमा चौधौं संस्करण आयोजना गर्दै छ।
आयोजकका अनुसार यस पटकको महोत्सवको मुख्य नारा छ– ‘डकुमेन्ट्री इन द एन्थ्रोपोसिन’। अर्थात् प्रदर्शन गरिने धेरैजसो वृृत्तचित्र दक्षिणएशियामा मानव क्रियाकलापले वातावरणमा पारेको असरमा आधारित हुनेछन्। “दक्षिणएशियामा जलवायु संकट मुख्य संकटका रूपमा देखिन थालेको छ,” गुठीका कार्यक्रम व्यवस्थापक पावोस मानन्धर भन्छन्, “वृत्तचित्रले यस्तै विषय उठान गर्नेछन्।”
यीबाहेक राजनीति, संगीत र कलामा आधारित वृत्तचित्र पनि प्रदर्शन हुँदै छन्। मानन्धरका अनुसार यस पटकको मुख्य वृत्तचित्र नेपालकै राजन कठेत र सुनील पाण्डेको निर्देशनमा बनेको नो विन्टर होलिडेज छ। यसमा ढोरपाटन बस्दै आएका दुई वयोवृद्धाको एक्लोपनको कथा छ।
प्रदर्शन हुने सूचीमा रहेको अर्को वृत्तचित्र छ, देवी। सुबिना श्रेष्ठको निर्देशनमा बनेको यो वृत्तचित्र १० वर्षे सशस्त्र द्वन्द्वमा माओवादी पक्षबाट खटिएकी देवी खड्काको भोगाइमा आधारित छ। यसले महिला हिंसा, खासगरी द्वन्द्वका क्रममा भएको बलात्कार र यातनाको कथा भन्छ।
त्यस्तै, भूटानबाट अरुण भट्टराईको निर्देशनमा बनेको एजेन्ट अफ ह्याप्पिनेश वृत्तचित्र देखाइँदै छ। भूटान सरकारले नागरिकको खुशीलाई विकासको सूचक मान्दै आएको छ। खुशीको तथ्यांक जुटाउन गाउँ गाउँमा सर्वेक्षक खटाइने गरेको छ। यस्तै एक सर्वेक्षकको वरिपरि यो वृत्तचित्र केन्द्रित छ।
जलवायु संकटको विषयभन्दा बाहिरका यी तीनै वृत्तचित्र उम्दा रहेको आयोजकको दाबी छ। तेह्रौं संस्करणमा ७२ वटा वृत्तचित्र सहभागी गराइएकामा यसपालि कम देखाउन लागिएको हो। कार्यक्रम व्यवस्थापक मानन्धरका अनुसार यसपालि दुई हजारभन्दा बढी आवेदन परेकामा ४८७ वटा मात्र मापदण्डभित्रका थिए। छनोटका लागि साउथएशियामै बनेको, यहींको मुद्दा उठाएको र १० मिनेटभन्दा बढीको हुनुपर्ने मापदण्ड बनाइएको थियो। यी वृत्तचित्र एकै ठाउँ प्रदर्शन गरिंदा यिनले दक्षिणएशियालाई जोड्ने र यही मेसोमा वृत्तचित्रका निर्देशकबीच छलफल पनि हुने आयोजकको अपेक्षा छ।
“यस पटकका वृत्तचित्रले पहिलेभन्दा गहकिला विषय उठान गरेका छन्,” मानन्धर भन्छन्, “प्रविधिको प्रयोग पनि पहिलाको भन्दा बलियो छ।”
चौधौं संस्करणमा सबैभन्दा धेरै वृत्तचित्र भारतका छन्। भारतबाट २९, नेपालबाट पाँच, पाकिस्तानबाट चार, अफगानिस्तान, बाङ्लादेश, म्यानमार र श्रीलंकाबाट दुई-दुई तथा भूटानबाट एउटा वृत्तचित्र छानिएका छन्।
प्रदर्शित वृत्तचित्रमध्येबाट विभिन्न पाँच विधामा अवार्ड पनि दिइनेछ। उत्कृष्ट वृत्तचित्रले रामबहादुर ट्रफी पाउनेछ। त्यस्तै, जुरी, वेस्ट फिल्म अन एन्थ्रोपोसिन र बेस्ट स्टुडेन्ट फिल्म आदि अवार्ड पनि छन्। नेपाल, भारत र श्रीलंका गरी तीन देशका निर्णायकले विजेता छान्नेछन्। महोत्सव अवधिभर बिहान १० देखि साँझ ५ बजेसम्म वृत्तचित्र देखाइनेछन्। यो महोत्सव सन् १९९७ देखि हरेक दुई वर्षमा आयोजना गरिंदै आएको छ।