सिर्जङ्गा लिपिको कथा
थोन्मी सम्भोटले सातौं शताब्दीमा विकास गरेको लिपिलाई सम्भोटा भनिए झैं अठारौं शताब्दीमा सिर्जङ्गा सिङथेबेले विकास र विस्तार गरेको लिपिलाई सिर्जङ्गा भनिनु तथ्यपरक र न्यायसंगत देखिन्छ।
भाषाशास्त्रीहरूका अनुसार संसारमा लगभग सात हजार भाषा र २९३ लिपि छन्। तीमध्ये १५६ लिपि मात्र अस्तित्वमा छन्। विश्वभरिमा लगभग ७० प्रतिशत रोमन वा ल्याटिन लिपिको प्रयोगले ओगटेको छ। त्यसपछि विश्वमा सर्वाधिक प्रयोग हुने लिपिमा चाइनिज, अरेबिक, देवनागरी आउँछन्। सात हजार भाषामध्ये करीब चार हजार भाषाको मात्र लेख्य परम्परा छ।
याक्थुङ (लिम्बू) समुदायले प्रयोग गर्दै आएको सिर्जङ्गा (सिरिजङ्गा) लिपि अठारौं शताब्दीदेखि प्रचलनमा आएको हो। यस लिपिमा लेखिएका याक्थुङ (लिम्बू) भाषाका अभिलेख तथा पाण्डुलिपि बेलायतको इन्डिया अफिस लाइब्रेरीमा सुरक्षित छन्। याक्थुङ भाषा बाहेक यस लिपिमा अन्य भाषामा लेखिएको कुनै पनि सामग्री हालसम्म भेटिएको छैन।
लेख्ने शैलीका हिसाबले यस लिपिले तिब्बती वा सम्भोटा लिपिसँग सामीप्य राख्छ। सम्भोटा र सिर्जङ्गा लिपि दुवैको जननी ब्राह्मी लिपिलाई मानिन्छ। इतिहास केलाउँदा राज्यहरूको उत्पत्ति र सभ्यताको विकासक्रमसँगै लेखन पद्धति र लिपि विकास भएको पाइन्छ। विभिन्न कालखण्डमा आरोहअवरोह झेल्दै आएको याक्थुङ भाषाले आफ्नो अस्तित्व बचाइराखेकै छ। यसको विकासक्रमको इतिहास हेर्दा शुरूआतदेखि हालसम्मको लेखिम वा ध्वनि संकेतको संख्यामा एकरूपता देखिंदैन। पछिल्लो समय याक्थुङ वर्णविज्ञानका आधारमा वर्णविश्लेषण गरी वर्णहरूको यकीन संख्या खुट्याइएको छ। यसबाट याक्थुङ भाषा र सिर्जङ्गा लिपिले नयाँ फड्को मार्न सक्ने आशा गर्न सकिन्छ।
लेखन पद्धतिको इतिहास
प्रागैतिहासिक कालमा गुफा र ओडारमा रङ्गीन चित्रहरू बनाएर सन्देश दिन र कुनै पनि कुरा रेकर्ड राख्ने गरिन्थ्यो। संसारमा लिपि विकासको इतिहास इसापूर्व ३५०० वर्ष पुरानो छ। प्राचीन मेसोपोटामियामा (वर्तमान इराक, कुवेत) सभ्यताको विकासक्रममा सुमेरियनहरूले क्युनफर्म लिपिको शुरूआत गरेको इतिहास छ। लेनदेनको हिसाब राख्न र टाढा सन्देश पठाउन गिलो माटोको इँटामा काँटीले त्रिकोणात्मक चिह्नका रेखा कोर्थे। लिपिविद्हरूका अनुसार प्राचीन मिश्र र चिनियाँ लिपि इसापूर्व ३००० वर्ष पुरानो मानिन्छ।
ल्याटिन भाषा लेख्नका लागि इपू ७०० मा रोमन लिपि विकास गरियो। दक्षिणएशिया विशेषगरी भारतीय उपमहाद्वीपमा संस्कृत, पाली भाषा लेखनका लागि विकास भएको ब्राह्मी लिपि इपू ३०० वर्ष पुरानो मानिन्छ। ब्राह्मी लिपिबाट दर्जनौं लिपिको विकास भएको छ। ब्राह्मीबाट विकास भएका लिपिहरू देवनागरी, सम्भोटा, बाङ्ला, गुजराती, तमिल, उडिया, तेलुगु आदि हुन्। भारत र नेपालमा प्रयोग हुने देवनागरी लिपि पहिलोदेखि चौथो शताब्दीको बीचमा शुरूआत भएको र यसको प्रयोग सातौं शताब्दीदेखि संस्कृत लेख्नका लागि विकास गरिएको मानिन्छ। तिब्बती भाषा लेख्नका लागि सम्भोटा लिपि सातौं शताब्दीदेखि शुरू भएको थियो। एघारौं शताब्दीमा ब्राह्मीबाट नेपाल भाषाको रञ्जना लिपिको प्रादुर्भाव भएको थियो।
सिर्जङ्गा लिपिको विकास
सिर्जङ्गा लिपिको शुरूआत कहिले भयो र यस लिपिमा याक्थुङ (लिम्बू) भाषा लगायत अरू कुन कुन भाषा लेखिन्थ्यो भन्ने विषयमा हालसम्म भरपर्दो आधार भेटिएको छैन। कतिले किरात शासनकालमा विकास गरिएको किरात लिपि भएको अनुमान गरेका छन्। लिम्बू समुदायले आफूलाई याक्थुङ र आफ्नो भूमिलाई याक्थुङ लाजे? भन्छन्। याक्थुङ लाजे? लिम्बुवानमा याक्थुङ भाषा, साहित्य, मुन्धुम मौखिक शास्त्र प्रचुर मात्रामा विकास भइसकेको अवस्थामा यसलाई लेख्य रूप दिन आवश्यक थियो। यसै सिलसिलामा इसाको नवौं शताब्दीमा प्रतापी राजा सिरिजङ्गा (सिर्जङगा) हाङले लिपि निर्माण गर्न लगाई सारा देशवासीलाई लेखपढ गर्न सिकाएको इडेन भेन्सिटार्ट र इमानसिंह चेम्जोङले लेखेका छन्।
कतिले सन् ७०० तिर मोराहाङ राजाले याक्थुङ लिपिको आविष्कार गरे, त्यही लिपिलाई सन् ९०० तिर राजा सिर्जङगाहाङले प्रचार गरे भनेका छन्। तर उनीपछि यो लिपि निरन्तर प्रचलनमा भएको कुनै लिखित दस्तावेज पाइएको छैन। उनीपछि सन् १७०४ मा याङवरक क्षेत्र हालको ताप्लेजुङ जिल्ला सिरिजङ्घा गाउँपालिका सिनाम तेल्लकमा जन्मिएका सिर्जङ्गा सिङथेबेले याक्थुङ लिपिको माध्यमबाट भाषा साहित्यको प्रचार गरेका थिए। पहिलो र दोस्रो सिर्जङ्गाबीच लगभग ९०० वर्षको अन्तर छ। यसबीचमा लेखिएको कुनै पनि अभिलेख पाइएको छैन। त्यसैले नवौं शताब्दीका राजा सिर्जङगा हाङले लिपि आविष्कार गरे भन्ने कुरा त्यति विश्वसनीय देखिन्न। किनभने त्यो समयदेखि यताका कुनै पनि लिखित अभिलेख नभेटिनु र आमसमुदायले त्यसमा लेखपढ गरेको नपाइनुले भरपर्दो आधार फेला पर्न सकेको छैन।
सिरिजङ्गा (याक्थुङ उच्चारणमा सिर्जङ्गा/सिर्जङ्गा) सिङथेबेले नै सम्भोटा लिपिलाई आधार मानी याक्थुङ लिपि विकास गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ। त्यति वेलाको लिपि र अहिले लेखिने सिर्जङ्गा लिपिमा निकै परिवर्तन भएको छ अर्थात् विकसित भएको छ। याक्थुङ भाषा लेखनमा प्रयोग भएको लिपि सिर्जङ्गा सिङथेबेले लिम्बुवानका विभिन्न गाउँबस्तीमा लेख्न पढ्न सिकाएका थिए, प्रचार गरेका थिए। त्यस ताका लिम्बुवानको पश्चिम सुक्खिम नामग्याल राजाहरूको अधीनमा थियो। पश्चिम सुक्खिमका याक्थुङहरूलाई ठाछाङ लामाहरूले तिब्बती लिपिमा बौद्ध ग्रन्थ पढ्न र बौद्ध धर्म मान्न बाध्य पारेका थिए। यस्तो अवस्थामा सिर्जङ्गाले आफ्ना चेला सहित पश्चिम सुक्खिम गई याक्थुङ भाषा, साहित्य लेखपढ गर्न सिकाए। आफ्नो भाषा, साहित्य, धर्म–संस्कृतिको संरक्षण गर्न र बौद्ध धर्मको अतिक्रमण र प्रभावबाट समुदायलाई जोगाउनु उनको उद्देश्य थियो।
उनले पृथक् लिपिमा आफ्नै भाषा, संस्कृति र मुन्धुम सिकाउन थालेपछि याक्थुङहरूले गुम्बा धाउन र तिब्बती लिपि पढ्न छाडे। यसबाट लामाहरूले तिब्बती भाषा, लिपि र बौद्ध धर्म प्रचारमा अवरोध सिर्जना भएको देखेर दरबारमा उजुर गरे। राजाबाट धर्म सम्बन्धी फैसला आफैं गर्न आदेश दिएपछि पेमायोन्ची गुम्बाका लामाहरूले राजद्रोहको अभियोग लगाई उनलाई सन् १७४१ मा मृत्युदण्ड दिए। यसरी सिर्जङ्गा सिङथेबेले याक्थुङ भाषा, लिपि, साहित्यको क्षेत्रमा ३७ वर्षको उमेरमै बलिदान दिनुपर्यो। भारतको शिलोङस्थित नर्थइस्टर्न हिल युनिभर्सिटीका प्रा.डा. टंक सुब्बा सुक्खिममा नामग्यालवंशी र नेपालमा शाहवंशी राजाको उदयपछि याक्थुङ समुदायको दुर्दिन शुरू भएको र दमनको शिकार भएको बताउँछन्। नेपालमा शाहवंशीय राजतन्त्रको उदयपछि याक्थुङ भाषा, लिपि तथा साहित्यका गतिविधि प्रतिबन्धित थियो।
उन्नाइसौं शताब्दी ताका ब्रायन हटन हज्सनले लिम्बुवानका विभिन्न क्षेत्र, सुक्खिम, दार्जिलिङ लगायतबाट याक्थुङ भाषाका पाण्डुलिपिहरू संकलन गरी लन्डनको इन्डिया अफिस लाइब्रेरीमा लगेर राखे। हज्सन पाण्डुलिपिमा १९ व्यञ्जन वर्ण र सात स्वर वर्ण छन्। जसमा स्वरको संकेत चिह्न/अक्षर ‘अ’ एउटा मात्र छ र त्यसैमा मात्रा दिएर स्वर वर्णको संख्या सात वटा देखाइएको छ। हज्सन संकलित पाण्डुलिपिमा व्यञ्जन तथा स्वर वर्ण र उच्चारण देवनागरीमा देखाइएको छ।
सिर्जङ्गाकालीन हज्सन पाण्डुलिपिको लेखोट हेर्दा व्यञ्जनलाई आकारान्त उच्चारण गर्ने र स्वर वर्ण प्रतिनिधित्व गर्ने एउटै मात्र चिह्न ‘अ’ राखिएको छ। यो चिह्न वा लिपिमा सातखरी मात्रा लगाइएको छ। याक्थुङ ‘अ’ लाई देवनागरी उच्चारणमा ‘आ’ देखाइएको छ। यसको सूची तल राखिएको छ (तेस्रो हरफ)।
सिर्जङ्गा सिङथेबे पक्कै पनि सम्भोटा लिपि लेखपढ गर्न जान्दथे। सिर्जङ्गा सिङथेबेले नै सम्भोटा लिपिको आधारमा अठारौं शताब्दीमा याक्थुङ लिपि विकास गरेको हुन सक्ने प्रबल सम्भावना छ। यस विषयमा थप अध्ययन आवश्यक छ। व्यञ्जन वर्णको उच्चारण आकारान्त हुनु (जस्तैः का, मा, हा, ला इ.) र स्वर ध्वनिको चिह्न एउटा मात्र लेखेर त्यसमा उपचिह्न वा मात्रा दिएर अरू स्वर वर्ण जनाउनु (जस्तैः अ, अी, अु, अे इत्यादि) र वर्णको टाउकोमा राइट चिह्न जस्तो मात्रा लाउने आदि विशेषता सम्भोटा लिपिसँग मिल्दोजुल्दो छ। सिर्जङ्गाकालीन लिपिलाई सुबेदार बाजवीर थलङले सुधार गरे। त्यसैले सन् १९२८ देखि यस लिपिमा देवनागरीको प्रभाव परेको देखिन्छ। सम्भोटा लिपिमा तिब्बती वर्णलाई आकारान्त उच्चारण गरिन्छ र स्वर ध्वनिमा उपचिह्न वा मात्रा दिएर चार स्वर वर्ण लेखिन्छ।
लिपिको नामकरण
विश्व इतिहासमा लिपिहरूको नामकरण विभिन्न मूल्यमान्यताका आधारमा भएको दृष्टान्त छ। देव र नागरी मिलेर देवनागरी भएको हो। देव ‘ईश्वर’ र नागरीको अर्थ नगरवासी हो। देवताहरूको निवास भएको शहर भएकाले त्यसबाट व्युत्पत्ति भएको भन्ने पाइन्छ। ल्याटिन भाषा लेख्न विकास गरिएको लिपिलाई प्राचीन रोम सभ्यताको आधारमा नाम दिइयो। तिब्बती राजा स्रोङचोङगम्पोले इसाको सातौं शताब्दीमा तिब्बतको इतिहास, संविधान र बौद्ध धर्मग्रन्थहरू लेख्न लिपि आवश्यक भएकाले मन्त्री थोन्मी सम्भोटलाई अध्ययनका लागि भारत पठाए। त्यहाँ थुप्रै इन्डियन लिपिको अध्ययन गरी तिब्बत फर्केर नयाँ लिपि विकास गरे। थोन्मी सम्भोटले आविष्कार गरेको हुनाले उनको नामबाट सम्भोटा लिपि नामकरण गरियो।
भारतमा प्रचलित विभिन्न लिपि जस्तै गुजरात प्रान्तको नामबाट गुजराती लिपि भनियो भने बाङ्ला भाषा लेखिने बाङ्ला लिपि, ओडिया भाषाबाट ओडिया लिपि, मलयालम भाषाबाट मलयालम लिपि, तमिल भाषाबाट तमिल लिपि, तेलगु भाषाबाट तेलगु लिपि आदि जाति र भाषाको आधारमा नामकरण गरिएका हुन्।
सन् ९०० मा राजा सिर्जङ्गाहाङले आविष्कार गरेको विश्वास गरिएको लिपिलाई अठारौं शताब्दीका त्येअङसी सिर्जङ्गाले पुनरुत्थान गरी याक्थुङ भाषा, साहित्य र मुन्धुमको प्रचार गरे। विद्या प्रचारकै क्रममा सुक्खिममा शहीद भएका त्येअङसी सिर्जङ्गा सिङथेबेको योगदानको कदर गर्दै उनलाई अमर राख्न सन् १९२५ मा कालेबुङको डुङ्ग्रा बस्तीमा सुवेदार मैतसिंह थेगिमको अगुवाइमा स्थापित याक्थुङहाङ चुम्लुङ सभाले सिर्जङ्गा लिपि नामकरण गर्ने ऐतिहासिक र दूरगामी महत्त्वको निर्णय गरेको थियो। इमानसिंह चेम्जोङ संस्थापक सदस्यमध्ये एक हुन्।
यस लिपिको श्रीजंगा, शिरिजंगा, लिम्बू, किरात विविध नाम लेख्ने गरिएको पाइन्छ। इमानसिंह चेम्जोङको लेखनमा लिपिको नाममा एकरूपता देखिन्न, कुनै ठाउँमा शिरिजंगा, कुनै ठाउँमा किरात लेखेका छन्। उनले हरेक ठाउँमा याक्थुङको समानान्तर शब्द लिम्बू नलेखेर किरात लेखेका छन्। त्यसैले उनले किरात भाषा, किरात लिपि लेख्नुको तात्पर्य लिम्बू भाषा, लिम्बू लिपि हो। सिक्किममा याक्थुङ भाषा लिपिले राज्यस्तरबाट मान्यता पाएपछि लिम्बू भाषा, लिम्बू लिपिको नामबाट आधिकारिक रूपमा स्थापित भयो।
तर नेपालमा हालसम्म सिर्जङ्गा लिपिको नामबारे एकमत छैन। किरात लिपि, सिरिजङ्गा लिपि, लिम्बू लिपि, याक्थुङ लिपि, किरात सिरिजङ्गा लिपि आदि नाम सतहमा देखिएका छन्। किरात याक्थुङ चुम्लुङले २०४८ सालको राष्ट्रिय जनगणनालाई ध्यानमा राख्दै जनगणनामा जाति र भाषा लिम्बू, लिपिको सवालमा किरात लिपि (सिरिजंगा लिपि), धर्म किरात लेखाउने निर्णय गर्यो। यस निर्णयमा किरात लिपि भन्नुपर्छ भन्नेको मत बलियो देखिन्छ, किनकि सिरिजङ्गा लिपि कोष्ठकभित्र मात्र लेखिएको थियो। त्यही निर्णयलाई आधार मान्दै २०४९ सालमा धरानमा सम्पन्न दोस्रो महाधिवेशनले दुवैलाई समायोजन गरेर किरात सिरिजंगा लिपि नाम पारित गरेको थियो। त्यसको अर्को वर्ष २०५० सालमा तेह्रथुमको मेयङलुङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले यसलाई अन्तिम रूप दिएको थियो।
निष्कर्षमा, हामीलाई लिम्बू र राई जाति अस्तित्वमा आउनु अगावै यो लिपि थियो वा उपत्यकामा किरातकालमै थियो भन्ने भ्रम छ। त्यसो हुँदो हो त करीब तीन दर्जन राई भाषामा लेखिएका दस्तावेज या अभिलेख फेला पर्नुपर्ने हो। लेख्ने अभ्यास निरन्तर हुँदै आउनुपर्ने हो, याक्थुङको जस्तै। किरातकालमै लेखिएका शिलालेख, अभिलेख, पाण्डुलिपि र दस्तावेज पाइनुपर्ने हो। तर प्राचीन अभिलेख र दस्तावेज केही पनि भेटिएको छैन। त्यसैले तथ्य हेर्दा सिर्जङ्गा लिपि याक्थुङ भाषा लेख्नकै लागि आविष्कार गरिएकोमा शंका रहेन। अरू भाषामा लेखिएका दस्तावेज हालसम्म फेला नपरेको, लेख्नेपढ्ने अभ्यास अरूमा नभएको त छँदै छ, यस लिपिले अरू भाषाको ध्वनि र वर्णलाई प्रतिनिधित्व गर्न पनि सक्दैन। त्यसकारण किरात लिपि नामको औचित्य सावित हुँदैन। किरात भनिएका अन्य भाषाहरूलाई प्रतिनिधित्व गर्न नसक्ने भएरै २०७८ सालमा ती भाषालाई पनि लेख्न सकिने गरी परिमार्जन गरी अनुकूलन गरिएको हो।
लिपिको नाममा किरात राख्न जोड दिनुको पछाडि भावनात्मक र राजनीतिक उद्देश्य देखिन्छ। सभ्यता, इतिहास, युगपुरुष, स्थान, भाषा आदिका आधारमा लिपि नामकरण भएको दृष्टान्त माथि उल्लेख भइसकेको छ। किरात संस्कृत शब्द हो। वेद, पुराण, रामायण, महाभारत आदि हिन्दू ग्रन्थमा किरात उल्लेख छ र यसले खास रूपमा कुन समुदायलाई भनेको हो भन्ने स्पष्ट छैन। याक्थुङ भाषा र मुन्धुममा किरात शब्द छैन। अर्थात् यो मौलिक शब्द हैन। त्यसैले हामीसँग सम्बन्ध नै नभएको औपनिवेशिक शब्द किन भारी बोकेर हिंड्ने भन्ने मनोविज्ञान प्रबल देखिन्छ। आदिवासी जनजाति, नेपाली भने जस्तै किरात कुनै समूह विशेष जनाउन प्रयोग गरिएको शब्द मात्र हो। यसले कुनै विशिष्ट जाति, भाषा, वंश, सभ्यता, भूगोल आदि जनाउँदैन।
सन् १९२५ मा नै नामकरण गरिसकिएको लिपिको नाम २०४८ मा पुनर्नामकरण गर्नु मनासिब थिएन। संस्थापिच्छे फरक नाम थप्दै जाने र प्रयोगकर्ता थपिंदैपिच्छे नाम संशोधन गर्दै जाने कुरो हुँदैन। कुनै खास भाषा लेखनका लागि नै लिपिको आविष्कार गरिन्छ। पछि आवश्यकताले अरूले पनि चलाउँदै लान्छन्, तर लिपिको नाम फेरिन्न। ल्याटिन भाषाका लागि बनाइएको रोमन लिपिमा विश्वका करीब १५ सय भाषा लेखिन्छन्, तर नाम संशोधन गरिएको छैन। सिरिलिक, अरेबिक, देवनागरी धेरै वटा भाषाका लागि प्रयोग हुने लिपि हुन्। सम्भोटा लिपिमा १५ भाषा लेखिन्छन्। तर कुनैको नाम पनि परिवर्तन गरिएको छैन। याक्थुङ भाषा लेखनका लागि आविष्कार गरिएको लिपिलाई याक्थुङ लिपि भन्नु अन्यथा होइन। त्यसैले सिर्जङ्गा सिङथेबेको संघर्ष र बलिदानलाई अवमूल्यन हुने गरी नाम संशोधन गर्नु न्यायोचित हुँदैन। सिर्जङ्गा लिपि नै नाम राख्नु उनको योगदानको उचित कदर र सही मूल्यांकन हो।
(लेखक नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हुन्।)