अमेरिकामा उच्च रक्तचापबारे अनुसन्धान गर्दै नेपाली चिकित्सा समाजशास्त्री
अमेरिकामा अध्ययनरत नेपाली चिकित्सा समाजशास्त्री पोषण दाहाल उच्च रक्तचापका विविध पाटोमा अनुसन्धान गरिरहेका छन्।
विज्ञान प्रविधिको क्षेत्रमा थुप्रै नेपाली अमेरिकामा अध्ययन-अनुसन्धानमा सक्रिय रहे पनि सामाजिक विज्ञानको क्षेत्रमा भने निकै कम छन्। औंलामा गन्न सकिने त्यस्ता नेपालीमध्ये एक हुन्- पोषण दाहाल।
पछिल्लो पाँच वर्षयता अमेरिकाको ओहायो राज्यमा चिकित्सा समाजशास्त्रीका रूपमा अध्ययन-अनुसन्धानरत दाहाल नेपालमा छँदा पनि स्वास्थ्य समाजशास्त्रको अनुसन्धान तथा अध्यापनमा सक्रिय थिए। उनी केस वेस्टर्न रिजर्भ विश्वविद्यालयको समाजशास्त्र विभाग अन्तर्गत विद्यावारिधि पनि गर्दै छन्। यसका लागि उनले उच्च रक्तचाप विषय छानेका छन्। उच्च रक्तचापका सामाजिक, आर्थिक तथा राजनीतिक पाटोबारे अनुसन्धान गरिरहेको उनी बताउँछन्।
चिकित्सा समाजशास्त्री दाहाल भन्छन्, “विशेषगरी उच्च रक्तचापमा देखिएको विभेद तथा असमानताबारे शोध केन्द्रित गरेको छु।” रक्तचापको व्यापकतामा उमेर, लैंगिक र जातीय आधारमा देखिएको परिवर्तन र प्रभावको विषयमा पनि अनुसन्धान केन्द्रित रहेको उनी बताउँछन्।
यसअघि केस वेस्टर्न रिजर्भ विश्वविद्यालयकै प्राध्यापकसँग मिलेर दाहालले आफ्नै अगुवाइमा अमेरिकी वृद्धवृद्धामा चिकित्सकको सल्लाह अनुसरण विषयमा अनुसन्धान गरेका थिए। स्वास्थ्य सम्बन्धी विभेद अन्त्य तथा समान पहुँच बनाउन यस्ता अध्ययन महत्त्वपूर्ण हुने दाहालको भनाइ छ।
नेपालमा रहँदा पनि उनले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रकेन्द्रित अध्ययन-अनुसन्धान गरेका थिए। अमेरिकी सरकारको सहयोगमा सञ्चालित स्वास्थ्य, कृषि तथा पोषण परियोजना (पहल कार्यक्रम)मा अमेरिकाकै टफ्ट्स विश्वविद्यालयका तर्फबाट अनुसन्धाता तथा नेपाल प्रतिनिधिका रूपमा काम गरेका थिए।
उनी नेतृत्वको अनुसन्धान टोलीले सुदूरपश्चिम क्षेत्रमा मानव स्वास्थ्यको महत्त्वपूर्ण क्षेत्र पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा अध्ययन गरेको थियो। त्यो अध्ययनले मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक तथा आर्थिक कारणको पहिचान गर्नुका साथै सरकारी तथा गैरसरकारी क्षेत्रका स्वास्थ्य सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सुझाएको थियो।
त्यसअघि पनि टफ्ट्स विश्वविद्यालय मातहत अनुसन्धान एशोसिएटका रूपमा काम गरेका थिए। यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर स्वास्थ्य तथा यस सम्बन्धी विभेदका विषयमा अध्ययन-अनुसन्धान गरेका थिए।
अहिले अमेरिकामा पनि नेपाल छँदा गरेका अध्ययन-अनुसन्धानलाई नै निरन्तरता दिइरहेको उनी बताउँछन्। संसारभर तथ्यांकको सहज उपलब्धताले चिकित्सा समाजशास्त्रीय अनुसन्धान सहज बन्दै गएको उनको अनुभव छ। आउँदा दिनमा पनि यिनै अध्ययन-अनुसन्धानलाई अघि बढाउने योजना रहेको दाहाल सुनाउँछन्।