स्थानीय तहका ३९ पदमा मंसीर १६ मा उपनिर्वाचन
स्थानीय तहमा रिक्त ३९ पदका लागि आउँदो मंसीर १६ गते उपनिर्वाचन हुने भएको छ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मंसीर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। निर्वाचन आयोगले गरेको सिफारिशका आधारमा उपनिर्वाचनको मिति तोकिएको सरकारका प्रवक्ता गुरुङले बताए।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपनिर्वाचनको मिति तोक्न सिफारिश गरेको थियो।
अहिले स्थानीय तहका ३९ पद रिक्त छन्। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष नौ, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्षका २१ पद रिक्त छन्।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि समाप्त नहुँदै पद रिक्त भएमा र एक वर्षभन्दा बढी समय बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ। त्यही व्यवस्था बमोजिम उपनिर्वाचनको तयारी गरिएको आयोगले जनाएको छ।
उपनिर्वाचन हुने स्थानीय तह र पद :