व्यवसायी आरबी रौनियारकाे निधन
सुक्खा बन्दरगाहको प्रणेताका रूपमा परिचित व्यवसायी रास विहारी रौनियार (आरबी)को निधन भएको छ।
रौनियारको शनिबार मेडिसिटी अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको उनका भतिजा विकास रौनियारले जानकारी दिए। उनी दुई वर्षदेखि मुटु तथा क्यान्सर रोगबाट पीडित थिए। उपचारका क्रममै उनको निधन भएको हो।
रौनियार सानैदेखि व्यवसायमा लागेका थिए। उनको परिवारको कपडा र चाँदी आयात गर्ने व्यवसाय थियो। त्यसै मार्फत व्यवसायमा लागेका रौनियारले नेपालमा इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट र सुक्खा बन्दरगाहको अवधारणा भित्र्याएका थिए।
यसको शुरूआत रक्सौलबाट गरेका थिए। त्यसपछि वीरगन्ज र विराटनगर हुँदै अन्य क्षेत्रमा पनि फैलियो। उनले उद्योगधन्दा स्थापनासँगै नेपालमा रासायनिक मल, डिपार्टमेन्ट स्टोर र ट्रान्सपोर्टेशनको शुरूआत गरेका थिए।
आइतबार पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ।