सञ्चालनको तयारीमा ३१ करोडको कृषि बजार
बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरको ३१ करोड रुपैयाँ लगानीमा बनेको प्रादेशिक कृषि थोक बजार सञ्चालनको तयारीमा छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११, थानाभर्याङमा प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माण सम्झौता भएको चार वर्षपछि कृषि बजार सञ्चालन गर्ने तयारी थालिएको छ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बजार सञ्चालनका लागि कार्यविधि बनाउने लागिएको जनाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजारको स्थलगत निरीक्षण गर्दै एक महीनाभित्र सञ्चालन गर्न निर्देशन दिएको बताए। “समयमै सञ्चालन हुनुपर्छ, एक महीनाभित्र चलेको खबर पाउनुपर्छ,” काफ्लेले भने।
थोक बजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा जुटेको मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले बताए। भवन हस्तान्तरण हुनुअघि कार्यविधि बनाइसक्ने योजना रहेको श्रेष्ठको भनाइ छ।
प्रदेश सरकार र हेटौंडा उपमहानगरबीच कृषि बजार निर्माणको सम्झौता हुँदा सञ्चालनको जिम्मा उपमहानगरलाई दिने तय भइसकेको छ। हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले कार्यविधि बनेपछि कृषि बजार सञ्चालन गरिने बताए।
प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लगानीमा कृषि बजार निर्माण थालिएको हो। दुई बिघा चार धुर क्षेत्रफलमा तीन वर्ष लगाएर कृषि बजार निर्माण गर्ने लक्ष्य सहित २०७७ भदौ १४ मा प्रदेश सरकार र उपमहानगरबीच सम्झौता भएको थियो।
त्यसको एक वर्षपछि कृषि बजार निर्माण थालिएको थियो। काठमाडौंको निर्माण कम्पनी अनक/माउन्टेन जेभीलाई ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँमा ठेक्का दिइएको थियो।
२०७८ जेठ ९ मा काम शुरू गरेको कम्पनीले २०८१ जेठभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। काममा ढिलाइ हुँदा सात महीना म्याद थप भएकाले आउँदो मंसीर ८ सम्म सम्पन्न गर्नुपर्नेछ।
कृषि विकास निर्देशनालयले भौतिक प्रगति ९६ प्रतिशत भएको जनाएको छ। सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै बाँकी रहेको निर्देशनालयका सबइन्जिनीयर मोदनाथ तिम्सिनाले बताए। निर्देशनालयले सडक निर्माणका लागि ठेक्का खुलाउने तयारी गरेको छ।
थोक बजारमा होलसेल मार्केट, रिटेल मार्केट, किसानका टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेज लगायत संरचना हुनेछन्। बजारको होलसेल मार्केटमा ४० वटा शटर र रिटेल मार्केटमा २३ वटा शटर छन्। भवनमा भूमिगत पार्किङको पनि सुविधा छ।
एउटै भवनमा दुई वटा लिफ्ट छन्। बजार क्षेत्र प्रवेशका लागि तीन वटा ठूला मुख्य गेट राखिएका छन्। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कृषि बजार निर्माण गरिएको जनाइएको छ। ताजा तरकारी भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य कृषि बजारबाट गर्न सकिने मन्त्रालयका सचिव विनोद भट्टराईले बताए।
दुई वर्षअघि हेटौंडा-१० मा रहेको तरकारी बजारलाई व्यवस्थित गर्न हेटौंडा-१, स्वर्गद्वारीमा सारिएको थियो। अब त्यो तरकारी बजार हेटौंडा-११, थानाभर्याङस्थित नयाँ संरचनामा ल्याइनेछ।