नेपाली सार्वभौमसत्ता अपहरण गरिएको ‘कान्दाहार हाइज्याक’
कुनै वेला ‘देवभूमि’ का रूपमा क्यानभासमा कैद गर्ने बलिउडका फिल्मकर्मी अचेल नेपाललाई ‘आतंकवादी अखडा’ का रूपमा पेश गर्न उद्यत देखिन्छन्।
काठमाडौं सधैंभरि दुनियाँका खुफिया एजेन्सीहरूको गढ रहेको छ।
नेटफ्लिक्समा २९ अगस्टमा रिलिज भएको चर्चित निर्देशक अनुभव सिन्हाको वेब सिरिज आईसी ८१४ : दि कान्दाहार हाइज्याकमाथिको इन्ट्रोबाट प्रारम्भ हुन्छ। यो इन्ट्रोको सीधा अर्थ हुन्छ, तिमीले खुफिया एजेन्सीहरूको गढ काठमाडौंको कथा हेर्न शुरू गरिसकेका छौ। २५ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडेको इन्डियन एअरलाइन्सको विमान अपहरण काण्डमा आधारित बेव सिरिजले रिलिज हुनासाथ विवादको पोको खोलिदिएको छ।
भारतमै यसका पात्र र प्रस्तुतिलाई लिएर विरोध भइसकेको छ भने यो सिरिजले नेपाली अस्मितामाथि त ठाडो हस्तक्षेपको भाषा बोलेको छ। अपहरित विमानका क्याप्टेन देवी शरणले पत्रकार श्रीन्जय चौधरीसँग मिलेर लेखेको आत्मसंस्मरणात्मक पुस्तक फ्लाइट इन्टु फियर : दि क्याप्टेन्स स्टोरीलाई आधार बनाएर तयार गरिएको भनिएको यो सिनेमाले तथ्यलाई नै तोडमरोड गरेर नेपाली छवि बिगार्न भरमग्दुर प्रयत्न गरेको छ।
अपहरण इतिवृत्ति
इतिहासमा कलंकित त्यो दिन २४ डिसेम्बर १९९९ थियो। घडीले सवा ४ बजाउँदै थियो। इन्डियन एअरलाइन्सको एअरबस ‘ए ३०० बी २-१०१’ भित्र जहाज उड्ने सूचना सहित सुरक्षा जानकारी दिने क्रम चलिरहेको थियो। जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका निम्ति उड्ने अन्तिम तयारीमा थियो। विमान बाहिरको विश्व बीसौं शताब्दीलाई हात हल्लाई एक्काइसौं शताब्दीलाई अंकमाल गर्न पाउनुलाई ठूलो अहोभाग्यका रूपमा हेर्दै थियो।
त्यसमाथि अंग्रेजी नयाँ वर्षको सँघार र क्रिश्चियन धर्मावलम्बीको महत्त्वपूर्ण चाड क्रिसमसको पूर्वसन्ध्या। संसारले उत्सव मनाइरहेको यो रमाइलोमा नेपाल पनि संलग्न भई त्यसको लुफ्त उठाइरहेको थियो। तर केही अतिवादीले योे उमंग भंग गर्ने तानाबाना बुनिरहेका थिए, जसको निशानामा थियो इन्डियन एअरलाइन्सको एउटा विमान। उनीहरू विभिन्न तिगडम सहित विमानस्थलको सुरक्षा घेरा पार गर्दै एअरबसभित्र छिरिसकेका थिए। भुइँ छाडेको आधा घन्टामै जहाजभित्र हतियार सहित देखिएका उग्रवादीले ककपिटमा प्रवेश गरी नियन्त्रणमा लिइसकेका थिए।
तत्क्षण (अपराह्न ४ः४० बजे) क्याप्टेन देवी शरणले विमान अपहरणमा परेको सूचना गोप्य कोड मार्फत सम्बन्धित निकायमा पठाइसकेका थिए। अपहरित विमान काठमाडौंबाट उडान भरेको झन्डै पौने तीन घन्टापछि तेल भर्न ६ः४५ बजे भारतको अमृतसर विमानस्थलमा अवतरण गर्छ। त्यहाँ ४५ मिनटसम्म बहानाबाजी गर्दै विमानलाई रोकिराख्छन्, क्याप्टेन देवी शरण। तर त्यतिन्जेल भारतीय सुरक्षाफौजबाट कुनै कारबाही नभएपछि उनको चलाखीले पनि काम गर्दैन। जहाजलाई अफगानिस्तानको कान्दाहार पुर्याइन्छ।
अपहरणकारीले यात्रुको रिहाइको बदलामा भारतीय जेलमा आतंकवादीको सजाय काटिरहेका ३५ जनालाई छोड्न र २० करोड अमेरिकी डलर दिन माग राखे। तर द्विपक्षीय वार्तामा एउटा सहमतिमा पुगेपछि भारतीय विदेशमन्त्री जसवन्त सिंह मौलाना महसुद अजगर, गोमार सइद शेख र मुस्ताक अहमदलाई लिई कान्दाहार पुगेका थिए। त्यसपछि ३१ डिसेम्बरको रातमा विमानका बन्धक यात्रुलाई रिहा गरी विशेष विमानबाट भारत ल्याइयो।
बल्झिरहने नेपाली घाउ
यो अपहरणपछि भारतले ठूलो मूल्य चुकाउनुपर्यो। भारतीय जेलबाट मुक्त भएका तीनमध्येका एक मसूद अजहरको नेतृत्वमा सन् २००१ मा भारतीय संसद् भवनमा हमला भयो। उनैको डिजाइनमा सन् २००८ मा मुम्बई बम विस्फोट गराइयो।
त्यस्तै, सन् २०१६ को पठानकोट र सन् २०१९ को पुलवामा हमलामा पनि मसूद नेतृत्वको जैश-ए-मोहम्मदको हात रहेको दाबी गरियो, जुन संगठन मसूदले स्थापना गरेका थिए। यी आक्रमणमा ठूलो मानवीय क्षति भयो भने भारतले भौतिक क्षति पनि बेहोर्नुपर्यो।
इन्डियन एअरलाइन्सको जहाज अपहरणको दूरगामी असर भारतले मात्र नभई नेपालले पनि भोग्नुपरिरहेको छ। भारतले आतंकवादी हमलाको पीडा झेल्नुपर्यो भने नेपालले राष्ट्रियता र सार्वभौमिकतामाथिको हमला सहनुपरिरहेको छ। यो प्रकरणपछि भारतले नेपालसँगको हवाई सम्बन्धविच्छेद गर्यो।
नेपालको अध्यागमन आफ्नो नियन्त्रणमा हुनुपर्ने, नेपालको भूगोलभित्र जहाँ भए पनि आफूले सन्दिग्ध मान्छे पक्राउ गरी अनुसन्धान गर्न पाउनुपर्ने तथा विमानस्थलमा आफ्ना एअर मार्शल राख्न दिए मात्र हवाई सम्बन्ध पुन: सञ्चालन गर्ने प्रस्ताव राख्यो। नेपालले सबै प्रस्ताव अस्वीकार गरे पनि विमानस्थलमा आफ्नो छुट्टै चेकपोस्ट राख्ने र त्यसमा आफ्ना एअर मार्शलले अन्तिम सुरक्षा जाँच गर्न पाउने शर्तमा पाँच महीनाको अवरोधपछि हवाई सम्बन्ध पुनः शुरू भयो।
अहिले पनि भारततर्फको उडानमा जाँदा सबै जाँच सकिएपछि जहाजमा चढ्नुअघि बाटैमा एउटा अस्थायी पोस्ट राखिन्छ, जहाँ भारतीय सुरक्षाकर्मीले अन्तिम सुरक्षा जाँच गर्छन्। भारतीय सुरक्षाकर्मीले नेपाली भूमि नटेकीकनै सुरक्षा जाँच गरिरहेका छन् भन्ने देखाउन जमीनबाट करीब दुई फुटमाथि उचालेर पोस्ट राखिन्छ।
विदेशी भूमिमा आफ्नो सुरक्षाकर्मी राखेर सुरक्षा जाँच गर्ने यस्तो अभ्यास दुनियाँमा कहीं कतै होला त? सार्वभौमसत्तामाथिको यो तहको हस्तक्षेपको भावभूमि भारतीय सिनेमाबाट गरिने ‘प्रोपोगान्डा’ले नै तयार पार्ने गर्छन्। भारतमा कट्टरपन्थी राजनीति हावी भएयता बलिउडमा पनि प्रोपोगान्डा सिनेमा बन्ने क्रम असाध्यै बढेर गएको छ। त्यसैले सिनेमा भनेर मात्र हुँदैन, त्यसको राजनीतिक अन्तर्वस्तुको विश्लेषण गर्न बिर्सनु हुँदैन।
दुवै देशतर्फ प्रश्न
इन्डियन एअरलाइन्सको विमान अपहरण काण्डलाई ‘कभर’ गरेका पत्रकार सुधीर शर्माले यही भदौ २३ मा यूट्यूबमा सार्वजनिक गरेको भिडिओ सामग्री अनुसार २२ डिसेम्बर १९९९ मा प्रहरी प्रधान कार्यालयले नेपाली गुप्तचर संस्थाको हवाला दिंदै गृह मन्त्रालयमा एउटा गोप्य रिपोर्ट पठाएको थियो। त्यो रिपोर्टमा भनिएको थियो, ‘केही समययता आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका समर्थक र कश्मीरी उग्रवादी संगठन लस्कर-ए-तोयबाको गतिविधि बढिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कमजोर भएकाले उनीहरूबाट विमान अपहरण समेत हुन सक्ने सूचनाहरू पाइएका छन्।’
त्यो विमान अपहरण सम्बन्धी उच्चस्तरीय छानबिन समितिका सदस्य तथा पूर्व गृहसचिव खेमराज रेग्मीको आत्मकथा जोधाहा राष्ट्रसेवकमा पनि शर्माले भनेको तथ्य उल्लेख गरिएको छ। विमान अपहरणको घट्ना हुनु अगावै नेपालस्थित अमेरिकी दूतावासले ‘नेपालमा ओसामा बिन लादेनको गतिविधि बढिरहेको भन्दै सचेत रहन’ सुझाव दिएको कुरा विमान अपहरणपछि तत्कालीन पर्यटन सहायकमन्त्री नारायणसिंह पुनले हिमाल खबरपत्रिका (१-१५ माघ २०५६)सँग बताएका थिए।
यस्ता खाले सुरक्षा खतराबारे सूचनाहरू प्राप्त हुँदा त्यसलाई विश्लेषण गरी सतर्कता अपनाउन नसक्नु विमानस्थल व्यवस्थापनको ठूलो कमजोरी हो। सम्बन्धित निकायलाई जिम्मेवार बनाउन पनि यसमाथि जोडदार प्रश्न गरिनु जरूरी छ।
उता भारतीय सुरक्षाकर्मी समक्ष क्याप्टेन देवी शरणले तत्कालै विमान अपहरण भएको सूचना दिंदा र विमानलाई अमृतसरमा लामो समयसम्म रोकिराख्दा समेत किन भारत ‘एक्सन’ मा आउन सकेन? कुनै ठोस योजना बनाउन नसक्नु भारतीय संस्थापनको असफलता थिएन? यी प्रश्न उनीहरूतर्फ पनि सोझिन्छन्।
अझ सुरक्षा अधिकारीले समेत टेलिभिजन र रेडियोबाट समाचार सुनेर मात्रै यो विमान अपहरण भएको थाहा पाएको कुरा धेरै जना लेखकले पुस्तकमा लेखिसकेका छन्, बोलिसकेका छन्। यो पनि व्यवस्थापनको कमजोरी होइन र? अमृतसर विमानस्थलमा ४७ मिनेटसम्म विमान अड्याइराख्दा पनि कुनै ‘एक्सन’ नलिनुको पछाडिको कारण भारतीय खुफिया एजेन्सी ‘रअ’ मा लामो समय काम गरेका मेजर जर्नल भीके सिंहले लेखेको पुस्तक इन्डियाज् एक्सटर्नल इन्टेलिजेन्सः सेक्रेट्स अफ रिसर्च एन्ड अनालाइसिस विङ् (रअ)मा उल्लेख छ।
पुस्तकमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीका शक्तिशाली सेक्रेटरी एनके सिंहका बहिनीज्वाइँ शशी भूषण सिंह तोमर पनि अपहरित विमानमा भएको खबर प्राप्त भएपछि अमृतसरमा कमान्डो एक्सन नलिएको दाबी गरिएको छ। त्यस वेला तोमर काठमाडौंस्थित ‘रअ’ को स्टेशन चीफ थिए। उनलाई आफ्नै गुप्तचर सूत्रहरूले विमान अपहरण हुन सक्ने सूचना दिए पनि उनले तिनलाई बेवास्ता गरिदिएको दाबी समेत गरिन्छ।
अहिले बनेको वेब सिरिजमा नेपाललाई अन्तर्राष्ट्रिय खुफिया एजेन्सीहरूको गढ भनेर शुरूमै दर्शकको मनस्थितिलाई मोड्दै नेपालको सुरक्षा संवेदनशीलताको खिल्ली उडाइए पनि खासमा विमान अपहरणको योजना भारतकै मुम्बई र बाङ्लादेशको राजधानी ढाकामा बनाइएको खुलिसकेको छ। सबै अपहरणकारीलाई अब्दुल लतिफ नामका एक जना भारतीय नागरिकले भारतीय परिचयपत्र मात्र बनाइदिएनन्, उनैले सबैलाई विभिन्न नाकाबाट नेपाल छिराए र विमानस्थलसम्मै पुर्याइदिए। तर यो सन्दर्भमा वेब सिरिज सीधै झूटो तथ्य पेश गर्छ। वेब सिरिज भन्छ, ‘अपहरणकारीलाई सघाउनेहरू नेपाली थिए।’
अर्को महत्त्वपूर्ण कुरा, जसबारे नेपालले आफ्नो असहमति राख्नै पर्छ। अहिलेसम्म प्रकाशित कुनै पनि सार्वजनिक रेकर्डमा आरडीएक्स (विस्फोटक पदार्थ) जस्ता कुनै पनि विस्फोटक पदार्थ विमानमा भेटिएको स्वतन्त्र पुष्टि हुँदैन। तर वेब सिरिजमा जहाजको एउटा कुनामा रातो झोलाभित्र आरडीएक्स लुकाइएको देखाइन्छ, त्यो पनि १७ किलोग्राम। त्यति मात्र नभएर नेपालस्थित पाकिस्तानी खुफिया अजेन्सी आईएसआई एजेन्टको डेराबाट उत्ति नै मात्राको आरडीएक्स बरामद गरिएको कहानी पनि देखाइएको सन्दर्भलाई सिनेमाको कल्पनाशीलता भनेर मात्रै लिन सकिंदैन। सिरिजले यस्ता झूटाठा तथ्य राखेर नेपालको सुरक्षा संयन्त्रलाई ठाडै चुनौती दिएको देखिन्छ। जबकि भारतीय पक्षको कमजोरीमाथि एक शब्द बोल्दैन यो सिरिज। यसलाई प्रोपोगान्डा नभनी के भन्ने?
यो वेब सिरिजले अपहरणको घटनाबाट दुई जना नेपाली अनाहकमा प्रताडित भएको उल्लेखनीय पक्षलाई कतै पनि देखाउन चाहेन। अपहरित विमानमा आठ जना नेपाली थिए। उनीहरूमध्ये एक थिए गजेन्द्र ताम्राकार। अहिले ताम्राकारको निधन भइसकेको छ।
अर्का एक नेपाली यात्रु सञ्जय धितालका अनुसार अपहरणका पछिल्ला दिनतिर अपहरणकारी निकै खुलेर कुरा गर्न थालेका थिए। उनीहरू ख्यालठट्टा गरिरहेका थिए। त्यही क्रममा एकले यात्रुमध्येबाट कसले चुटकिला वा कमेडी गर्छ भनेर सोध्दा गजेन्द्रले ‘म गर्छु’ भनेछन्। उनले अपहरणकारीको अनुमतिमा उनीहरूकै क्यारिकेचर गर्न शुरू गरे। तर अन्तिममा एक जनाले आफ्नो नक्कल मन नपराएपछि दौडेर आई गजेन्द्रलाई आक्रमण गर्यो। गालीगलौज पनि गर्यो।
सञ्जयको भनाइमा ती अपहरणकारीले बन्दूक हान्नै लाग्दा उनका साथीहरूले तानेर लगेपछि गजेन्द्र बाँचेका थिए। तर तिनै गजेन्द्रलाई भारतीय सञ्चारमाध्यमले अन्तिम दिनसम्म अपहरणकारीको सूचीमा राखेर प्रचार गरिरहेको थियो। उनी एउटा सामान्य यात्रु मात्र भएको कुरा सबैको रिहाइपछि पुष्टि भयो। तर भारतीय सञ्चारमाध्यमले एक सातासम्म गजेन्द्रबारे गलत प्रचार गरेकामा आत्मालोचना समेत गरेनन्।
अर्का नेपाली थिए युसुफ नेपाली, जसलाई अपहरणमा संलग्न भएको आरोपमा १४ वर्षसम्म भारतीय जेलमा राखियो। उनको खास नाम भूपालमान दमाईं भए पनि इस्लाम धर्म अँगालेपछि युनुस नेपाली भएका थिए। उनको सम्पर्क विमान अपहरणकर्तासँग भएको आशंका गरेर भारतमै पक्राउ गरिएको थियो।
सन् २०१४ मा पन्जाबको उच्च अदालतले उनी निर्दोष भएको फैसला गरेपछि मात्र जेलमुक्त भएका थिए। यस्ता घटनामा प्रताडित नेपालीबारे सिरिजमा कतै केही उच्चारण छैन। अनि तिनको नियतमाथि किन प्रश्न नउठाउने?
भारतीय सिनेमामा हेपिएको नेपाल
भारतीय सिनेमा वा सिरिजमा नेपाललाई गलत ढंगले चित्रण गरिएको यसमा मात्रै होइन। पछिल्लो समय यस्ता कैयौं सिनेमा बनेका छन् जसले नेपालको सुरक्षा संवेदनशीलतामाथि भद्दा मजाक गर्दै गलत ढंगले व्याख्या गरिरहेका छन्। जस्तै- अक्षयकुमारको मुख्य भूमिका रहेको फिल्म बेबी, साउथ स्टार नागार्जुन अभिनीत फिल्म वाइल्ड डग हुन्।
त्यस्तै, सिरिजहरू काठमान्डु कनेक्सन र नेपालकै कलाकार तथा रक स्टार रोविन तामाङ अभिनीत सिरिज द लास्ट आवरमा पनि नेपालको स्वाधीनता र सार्वभौमिकतालाई चुनौती दिने प्रसंग र पटकथा सिर्जना गरिएका छन्।
लेखक तथा पत्रकार सरोजराज अधिकारीको पुस्तक जासूसीको जालोमा एउटा सन्दर्भ उल्लेख छ। २०५० को दशकमा नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइराला सबैभन्दा शक्तिशाली राजनीतिज्ञ थिए, तर त्यति वेला चर्चा हुन्थ्यो, ‘सय गिरिजा बराबर एक मिर्जा।’
तत्कालीन सद्भावना पार्टी र पछि राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार भई कपिलवस्तुबाट निर्वाचित सांसद मिर्जा दिलसाद बेग त्यति शक्तिशाली थिए/थिएनन्, तर उनलाई कोइरालाभन्दा १०० गुणा शक्तिशाली व्यक्तिका रूपमा चित्रित गर्न यस्ता कथन चलाइएका थिए। उनै मिर्जालाई सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटनको योजनाकार देखाइएको छ र भारतीय खुफिया सुरक्षाकर्मीद्वारा काठमाडौंमा हत्या गरेको देखाइन्छ, काठमान्डु कनेक्सनमा। सिनेमामा यस्तो देखाइन्छ, मानौं नेपाल भारतको कुनै प्रान्त हो, जहाँ भारतीय सुरक्षाकर्मी बेरोकटोक छिर्छन् र विना अवरोध आफ्नो मिशन पूरा गर्छन्, फर्कन्छन्।
बलिउड सिनेमामा यस्ता भ्रामक तथ्य बारम्बार दोहोरिइरहेका छन्। नपत्याए बलिउडका स्टार नायक अक्षयकुमारकै सिनेमा बेबी हेरौं। सन् २००८ नोभेम्बर २६ देखि २९ सम्म दक्षिण मुम्बईको आठ स्थानमा शृंखलाबद्ध आक्रमण हुन्छ। बमबारी, सामूहिक हत्या, भीडभाडमा अन्धाधुन्ध गोलाबारी, सर्वसाधारणलाई बन्धक बनाउने जस्ता तरीका अपनाई गरिएको आतंकवादी हमला जैस-ए-मोहम्मदद्वारा गराइएको हुन्छ।
यही विस्फोटनको अनुसन्धान गर्न बनाइएको ‘स्पेशल टास्क फोर्स’ को टोली ‘आतंकवादी’ खोज्दै नेपाल आइपुग्छ। बम विस्फोटमा संलग्न एक योजनाकारको ल्यापटपबाट प्राप्त सूचनालाई पछ्याउँदै टास्क फोर्सका अजय (अक्षय कुमार) र शबाना (तापसी पनु) नेपाल छिर्छन्। प्राप्त सूचनामा ‘नेपालमा वशिम शेख नामक व्यक्तिले भारत विरोधी अभियानमा लागेका आतंकवादीलाई सहयोग गरिरहेका छन्’ भनिएको हुन्छ। उनले अब्दुल हकको नामबाट काठमाडौंमा ट्राभल एजन्सी चलाइरहेका हुन्छन्। कथाका नायक-नायिका काठमाडौं आउँछन्, वशिमलाई पक्रन्छन् र खुरुखुरु भारत लिएर जान्छन्।
अर्को यस्तै वेब सिरिज छ, दि लास्ट आवर। आठ शृंखलामा बाँडिएको यो चामत्कारिक थ्रिलर कथामा एक जना दिव्य शक्ति भएका खलनायकलाई अन्तिममा ओत लाग्न पूर्वाेत्तर भारतको सिमानाबाट नेपालमा छिरेको देखाइन्छ। यो सिरिज हेरेपछि यस्तो लाग्छ, मानौं नेपाल आपराधिक गिरोहको भूस्वर्ग हो जहाँ संसारका खुंखार अपराधीलाई भरपूर संरक्षण प्राप्त छ।
यी भए बलिउडका मसाला मिश्रित सिनेमामा देखाइएका बेतुके कुरा। नेपालको उछितो काढ्न पछिल्लो समय नेपाली दर्शकमाझ असाध्यै प्रसिद्धि कमाएको दक्षिण भारतीय सिनेमाको कथाप्लट पनि केही कम छैन। दक्षिणका सुपरस्टार नागार्जुन अभिनीत वाइल्ड डगमा त झन् हाम्रा सांसद र राजनीतिक दल नै अपराधी बचाउन प्रत्यक्ष जोडिन्छन् भन्ने सन्देश प्रवाह गरिएको छ।
१३ फेब्रुअरी २०१० का दिन महाराष्ट्रको पुनेस्थित जर्मन बेकरी क्याफेमा विस्फोटक पदार्थले भरिएको झोला विस्फोट हुँदा १८ सर्वसाधारण मारिएको घटनामा आधारित फिल्म हो, वाइल्ड डग। त्यो घटनाको जाँचबुझ गर्न तथा घटनामा संलग्नको खोजी गर्ने जिम्मा ‘न्याशनल इन्भेस्टिगेशन एजेन्सी’ लाई दिइन्छ। मुख्य भाषा तेलुगुमा बनेको यो फिल्म भारतका विभिन्न भाषामा डबिङ गरिएको छ।
विस्फोटमा इन्डियन मुजाहिद्दीन संगठनको संलग्नता भेटिन्छ। नायकको नेतृत्वमा खोज्दै जाँदा त्यो घटनामा संलग्न खालिद नेपालमा लुकिरहेको जानकारी प्राप्त हुन्छ। त्यो जानकारी पछ्याउँदै नायक आफ्नो टोली लिएर नेपाल पुग्छ ‘अपरेशन वाइल्ड डग’ का नाममा। नेपाल प्रवेश गरिसकेपछि उनीहरूमथि एउटा स्थानीय गुन्डाको समूहले आक्रमण गर्छ। पछि थाहा हुन्छ, एक जना सांसद जो पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको सहयोगी हुन्छ, उसको इशारामा नायकको टोलीमाथि आक्रमण गरिएको हुन्छ।
खालिद त भेटिन्छन्, तर उनको संरक्षणमा थुप्रै हतियारधारी पनि सँगै निस्कन्छन्। ती हुन्छन्, १० वर्ष सशस्त्र संघर्षले संसारैभरि बहस सिर्जना गरेका माओवादीका लालसेना। शुरूमा टोले गुन्डा लगाउने एक जना सांसद हुन्छन्। त्यतिले नसकेपछि पूरै माओवादीका लालसेना बम विस्फोट गराउने आतंकवादी संगठनका मान्छेलाई बचाउन आइपुग्छन्।
दुवैतिरबाट गोलाबारी चल्छ। दक्षिण भारतीय सिनेमा न हो, गोली सँगसँगै दौडने चामत्कारिक शक्ति वहन गर्ने नायकका अगाडि तिनको के लाग्छ! सबै स्वाहा हुन्छन्। खालिद सार्वभौम देशभित्र छिरी गोलीबारी गर्ने नायकको ‘टास्क फोर्स’ को नियन्त्रणमा पर्छ।
यो सिनेमामा पनि नेपाललाई भारत विरोधी गतिविधि गर्नेहरूलाई सुरक्षा दिने थलोका रूपमा मात्र देखाइएन, आईएसआईलाई खुलमखुला सहयोग गर्ने सांसद पनि छन् भन्ने देखाइयो। त्यति मात्र नभई ती सांसदले भारतको आतंकवादी हमलामा संलग्न व्यक्तिको खोजी गर्न नेपाल पुगेको सुरक्षा टोलीलाई हत्या गर्न नेपालको सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गरेको दृश्य समेत देखाइनुले नेपालको राज्य संयन्त्र पूरै भारत विरोधी छ भन्ने आमधारणा निर्माण गर्दैन र?
सिनेमामा देखाइएको नेपाली सांसदले नेपाल प्रहरीका अधिकारीलाई ‘कमिस्नर’ भनी सम्बोधन गर्छन्, जबकि नेपाल प्रहरीमा कमिस्नर भन्ने तह नै हुँदैन। आफूसँग जे छ, जस्तो व्यवस्था छ, नेपालमा पनि त्यस्तै हुनुपर्छ भन्ने मानसिकता होइन र यो? साथै, नेपालका माओवादी समेत भारत विरोधी आतंकवादीसँगको साँठगाँठमा छन् भन्ने देखाइएको यो सिनेमाले सर्वसाधारणमा नेपाललाई हेर्ने दृष्टिकोण कस्तो बनाउला?
यी विभिन्न सिनेमाका दृश्यले बोल्ने जोडदार कुरा एउटै हो, नेपालमा आतंकवादीलाई सहयोग गर्ने उपल्लो दर्जाका मान्छे विभिन्न आवरणमा प्रशस्तै छन्। त्यस्तो संरक्षण हतियारधारी समूहले पनि गर्ने गरेका छन्। काठमाडौंमा विदेशी जासूसी एजेन्टहरू यत्रतत्र भेटिन्छन्, त्यसमाथि भारतीयको त के कुरा! ती त जतिखेर चाह्यो नेपाल छिर्छन् र बेरोकटोक आफ्नो मिसन फत्ते गरी फर्कन्छन्। तिनलाई नेपाल छिर्न सरकारसँग कुनै औपचारिकता पूरा गर्नै पर्दैन। नेपालबारे कुनै धारणा नबनेको नयाँ मान्छेका लागि यस्ता सिनेमाले कस्तो सन्देश प्रवाह गर्लान्?
त्यसो त सिनेमामा देखाइए जस्तो भारतीय पक्षबाट नेपालको सार्वभौमसत्ता लत्याएर गरिएका ‘अप्रेशन’ हरू नभएका होइनन्। यी अप्रेशन गुपचुप पनि गरिएका छैनन्। तर यी अप्रेशनबारे भारतले औपचारिक रूपमा कहिल्यै मुख खोलेको छैन। तिनको स्वीकारोक्ति या कुनै कूटनीतिज्ञका संस्मरण पुस्तक र मिडियामा उल्लेख भई आउँछन्, या त सिने पर्दामा देखिन आइपुग्छन्।
नेपाली नागरिक मिर्जा दिलसाद बेग र सञ्चार उद्यमी जमिम शाहलाई गोली हानी हत्या गरियो। जाली भारतीय नोट कारोबारमा पक्राउ परेका पूर्व मन्त्री सलिममियाँ अन्सारी पुत्र युनुश अन्सारीलाई जेलभित्रै गोली प्रहार भएको छ। अरुण सिंघानिया र गोठाटारमा मारिएका कपडा व्यापारी लाल मोहम्मदको हत्या भारतीय खुफिया एजेन्सीद्वारा नै सम्पादन गरिएका बहस मिडियामा आएकै हुन्। यी हत्यामाथि भारतीय मिडियामा लामा बहस चलेकै हुन्।
भारतले यसमा प्रत्यक्ष नबोले पनि सिनेमा मार्फत ‘हो, यी हत्या हामीले नै गरेका हौं’ भनी बोल्दै आएको छ। सिनेमा मार्फत आफ्नो स्वीकारोक्ति दिइरहेको छ। त्यसो हो भने एउटा सार्वभौम मुलुकभित्र हातहतियार सहित प्रवेश गरी मान्छे मार्ने अधिकार कुन अन्तर्राष्ट्रिय कानूनले दिन्छ भारतलाई? यो प्रश्न जनस्तरबाट उठाउन ढिलो भइसकेको छ।