सुदूरपश्चिम सरकारले भदौ ३१ मा फेरि बजेट ल्याउने
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि भदौ ३१ गते फेरि बजेट ल्याउने भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार पत्रकार सम्मेलन गरी भदौ ३१ मा बजेट ल्याउन लागेको बताएका छन्। “संवैधानिक र कानूनी प्रक्रियामा रहेर नै बजेट आउँछ,” मुख्यमन्त्री शाहले भने, “यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैका आधारमा नै बजेट ल्याउँछौं।”
यसअघि नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ मा चालू आव २०८१/८२ को बजेट ल्याएको थियो। प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो।
यसअघि सदनमा प्रस्तुत बजेटमा सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएको मुख्यमन्त्री शाहले बताए। प्रदेश सरकारले बजेट निर्माणका लागि चार वटा आधार तय गरेको छ। त्यसभित्रै रहेर बजेटको तयारी भइरहेको उनले बताए।
प्रदेश सरकारले योजनाका लागि २५ लाख रुपैयाँभन्दा माथिको सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र औचित्यका आधारमा २५ लाख रुपैयाँभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्ययोजना सहित सशर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने तय गरेको छ।
त्यस्तै, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत नगरिने आधार तय गरेको पनि मुख्यमन्त्री शाहले बताएका छन्।
यसअघि ल्याएको बजेट पारित नहुँदा प्रदेश सरकार उधारोमा काम गरिरहेको छ। चालू आव शुरू भएको दुई महीनासम्म पनि बजेट आउन नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ।
समयमा बजेट नआउँदा प्रदेश सरकारका योजना ठप्प छन्। प्रदेश सरकार मातहतका कर्मचारीले तलब समेत पाउन सकेका छैनन्।
मुख्यमन्त्री शाहले भदौको ३१ गते बजेट आउने र दुई-तीन दिनमै छलफल सकेर पारित गर्ने योजना रहेको बताए।