ग्लोबल आईएमई ब्यांकलाई सिंगापुरमा दुई वटा अवार्ड
ग्लोबल आईएमई ब्यांक लिमिडेट ‘यूरोमनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट ब्यांक नेपाल र बेस्ट ब्यांक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ।
सिंगापुरमा बिहीबार आयोजित एक समारोहमा यूरोमनी म्यागजिनका प्रतिनिधिले ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका छन्। सन् १९९२ मा यूरोमनी म्यागजिनद्वारा स्थापित यो अवार्ड ब्यांकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड हो।
ग्लोबल आइएमई ब्यांकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, ब्यांकिङ क्षेत्रमा भित्र्याएको नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा गरेको लगानी तथा उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको जनाइएको छ।
ग्लोबल आइएमई ब्यांक दोस्रो पटक बेस्ट ब्यांक नेपाल अवार्डबाट सम्मानित भएको हो। यसअघि पनि सन् २०२२ मा बेस्ट ब्यांक नेपाल अवार्ड प्राप्त गरेको थियो।
देशका ७७ वटै जिल्लामा ब्यांकका शाखा सञ्जाल छ। साथै, एक हजार १०० भन्दा बढी सेवा केन्द्र छन्, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित ब्यांकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।