रास्वपाका पूर्व सांसदले बेचेको ‘ट्यापेन्टाडोल’ के हो?
दुखाइ कम गर्ने औषधि बेचेको पाइएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरिएको छ, किन?
कास्की प्रहरीले गत साउन महीनामा पोखराबाट केही लागूऔषध सेवनकर्तालाई पक्राउ गर्यो। तिनैमध्येका एक थिए, ४२ वर्षीय प्रकाश थापा मगर। प्रहरीले उनलाई साउन ३ गते अपराह्न साढे ४ बजेतिर पोखरा महानगरपालिका-२ स्थित बाग्लुङ बसपार्कबाट पक्राउ गरेको थियो। पोखरा महानगरपालिका-४, नालामुखका उनलाई लागूऔषध सम्बन्धी कसूरमा पक्राउ गरेको थियो।
प्रहरीले उनको साथबाट ९७ ट्याब्लेट ट्यापेन्टाडोल बरामद गरेको थियो। सोधपुछ गर्दै जाँदा ट्याब्लेट खाएपछि निद्रा लागे जस्तो हुने र आनन्द महसूस हुने उनले बताए।
यो औषधि उनले पोखरामा सञ्चालित दिया फार्मेसीबाट किनेको बताए। त्यसपछि प्रहरीले खोजतलास शुरू गर्यो। यो फार्मेसी डा. ढाकाकुमार श्रेष्ठको नाममा रहेको पाइएको छ।
त्यसपछि प्रहरीले भदौ २७ गते डा. श्रेष्ठलाई पक्राउ गरेको हो। “प्रकाशलाई दिया फार्मेसीले तीन हजार रुपैयाँमा सय पत्ता लागूऔषध बिक्री गरेको पाइएको छ,” जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापा भन्छन्, “दिया फार्मेसी डा. ढाकाकुमार श्रेष्ठको नाममा दर्ता भएको देखिएकाले पक्राउ गरेका हौं।”
डा. श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व समानुपातिक सांसद हुन्। उनले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंबाट दुई करोड रुपैयाँ मागेको अडिओ २०७९ चैतमा सार्वजनिक भएको थियो। त्यसपछि रास्वपाले उनलाई कारबाही गरेको थियो।
त्यही कारण उनले सांसद पद गुमाएका थिए। त्यससँगै रास्वपाले साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो। डा. श्रेष्ठले भने त्यो अडिओ आफ्नो नभएको जिकिर गरेका थिए।
सांसद पद गुमाएपछि उनी मेडिकल क्षेत्रमै क्रियाशील थिए। अहिले भने प्रहरीले ‘लागूऔषध कारोबार’ मा उनको फार्मेसी संलग्न रहेको आरोप लगाएको छ। सञ्चारमाध्यमले पनि प्रहरीलाई उद्धृत गर्दै ‘लागूऔषध कारोबारमा पक्राउ’ गरिएको भनेर समाचार प्रकाशित गरेका छन्।
के डा. श्रेष्ठले लागूऔषध कारोबार गरेकै हुन् त? उनको दिया फार्मेसीबाट लागूऔषध प्रयोगकर्ताले ट्यापेन्टाडोल खरीद गरेको पाइएको हो। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल ट्यापेन्टाडोल नियन्त्रित औषधि भएको बताउँछन्। “ट्यापेन्टाडोल दुखाइ कम गर्ने औषधि हो, नियन्त्रित रूपमा बिक्रीवितरण हुन्छ,” ढकाल भन्छन्।
एक वर्षअघि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ का आधारमा बिक्रीवितरण हुँदै आएको थियो। अहिले जस्तो ट्यापेन्टाडोल खरीद गर्दा पक्राउ पर्ने अवस्था थिएन। यसलाई लागूऔषध दुर्व्यसनीले सेवन गर्ने गरेको पाइएपछि नियन्त्रण गरिएको हो। “ट्यापेन्टाडोललाई लागूऔषध प्रयोगकर्ताले व्यापक रूपमा प्रयोग गरेको गुनासो आएपछि बिक्रीवितरणमा कडाइ गरिएको हो,” महानिर्देशक ढकाल भन्छन्।
औषधि व्यवस्था विभागले राजपत्रमा सूचना प्रकाशित गरी यसलाई नियन्त्रित औषधिको सूचीमा राखेको थियो। त्यसयता जुनसुकै फार्मेसीबाट पनि यसको बिक्रीवितरण गर्न नपाइने भएको छ। “ट्यापेन्टाडोल जहाँसुकै पाइँदैन,” महानिर्देशक ढकाल भन्छन्, “चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा मात्रै किन्न पाइन्छ। त्यो पनि सरकारी अस्पतालको फार्मेसीमा मात्रै बिक्री हुन्छ।”
उनका अनुसार आमभाषामा भन्दा यो ‘पेनकिलर’ हो। यो औषधि दुखाइ कम गर्न प्रयोग गरिन्छ। सरकारी अस्पतालको फार्मेसीमा मात्रै पाइन औषधि डा. श्रेष्ठको दिया फार्मेसीबाट बिक्री भएको पाइएपछि उनी पक्राउ परेका हुन्। प्रहरीले लागूऔषध बेचबिखन सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाएको एसपी थापा बताउँछन्।