विवादका धनी धनराज
सुशासनका पक्षमा पार्टीभित्र र बाहिर चर्को बोल्ने गरेका कांग्रेस उपसभापति धनराज गुरुङ जहिल्यै विवादमा मुछिंदै आएका छन्, यसको पछिल्लो उदाहरण हो, मितेरी सहकारी।
संसदीय छानबिन विशेष समितिमा ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कुम्भराज गुरुङले एउटा बयान दिए। मितेरी सहकारीमा भएको बचत हिनामिनाको विषयमा अध्यक्ष कुम्भराजले भनेका थिए, “महाप्रबन्धक ज्योति गुरुङ र सांसद धनराज गुरुङ सगोलमै रहँदाका बखत रकम हिनामिना गरिएको हो।”
विशेष समितिको भदौ ६ गतेको बैठकमा कुम्भराजले दिएको बयानले कांग्रेस उपसभापति एवं सांसद गुरुङलाई पनि विवादमा तानेको हो। प्रतिनिधि सभाले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा बनाएको संसदीय छानबिन विशेष समितिमा मितेरी सहकारी विरुद्ध पनि उजुरी परेको थियो। त्यही उजुरीमाथि छानबिनका लागि समितिले अध्यक्ष कुम्भराजलाई बोलाएको थियो।
मितेरी सहकारीकी प्रबन्धक ज्योति चार वर्षदेखि सम्पर्कमा नभएको पनि अध्यक्ष कुम्भराजले सुनाएका थिए। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ। सहकारीमा भएको बचत अपचलनबारे सांसद गुरुङ पनि जानकार रहेको अध्यक्ष कुम्भराजले बयानका क्रममा बताएका थिए। ज्योति सांसद गुरुङकी पूर्व पत्नी हुन्।
मितेरीका अध्यक्ष कुम्भराजको यो बयानसँगै सांसद गुरुङ सहकारीको रकम हिनामिनाको विवादमा तानिएका छन्। यसलाई लिएर सांसद गुरुङको आलोचना भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा पनि सांसदले यो विषय उठाएका छन्।
चौतर्फी रूपमा यो कुरा उठ्नुमा सांसद गुरुङकै विगतको भाषणले पनि बल दिएको छ। गुरुङले सहकारीको बचत हिनामिनाको विषय गत जेठमा प्रतिनिधि सभामा जोडतोडले उठाएका थिए। यसलाई लिएर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै संसद्मै चर्काचर्की भएको भिडिओ भाइरल बनेको थियो।
पोखराको सूर्यदर्शन लगायत केही सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरिएको विषयमा तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने कांग्रेस लगायत विपक्षी दलले माग गरिरहेका थिए। यो प्रकरणमा लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई पनि मुछिएका थिए। छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध नै बनाएको थियो।
सूर्यदर्शन सहकारीको बचत हिनामिनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने लगायतमाथि छानबिन गर्नुपर्ने आवाज जोडतोडले उठाउँदै आएका कांग्रेस उपसभापति गुरुङ नै अहिले मितेरी सहकारीको रकम अपचलनमा मुछिएका हुन्। अहिले फेरि प्रतिपक्षमा रहेको रास्वपाले यो विषय संसद्मा उठाइरहेको छ।
मितेरी सहकारीको रकम अपचलन भएपछि कारबाहीबाट जोगिन सांसद गुरुङले सम्बन्धविच्छेद गरेको समेत आरोप लागेको छ। सांसद गुरुङ र मितेरी सहकारीकी प्रबन्धक ज्योतिले २०७६ फागुन १९ गते जिल्ला अदालत, ललितपुरमा सम्बन्धविच्छेद गरेका थिए।
सांसद गुरुङले भने यस प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन्। उनले प्रेस विज्ञप्ति जारी गरेर सहकारीको रकम अपचलनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ‘तत्कालीन मेरी श्रीमती ज्योति गुरुङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन्। निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनका बारेमा मलाई जानकारी हुने विषय भएन,’ गुरुङले विज्ञप्तिमा भनेका छन्।
त्यस्तै, उनले संसद्मा पनि आफ्नो बचाउ गरेका छन्। प्रतिनिधि सभाको भदौ २५ गतेको बैठकमा बोल्दै गुरुङले आफूमाथि षड्यन्त्र भएको जिकिर गरे। “संसदीय छानबिन विशेष समितिको नतीजा आउने वेला विषयान्तर गर्न यो कुरा बाहिर ल्याइयो,” उनले भनेका थिए।
सांसद गुरुङले प्रस्टीकरण दिए पनि विरोध थामिएको छैन। प्रतिपक्षी दलका नेतासँगै मितेरी सहकारीका पदाधिकारी पनि गुरुङमाथि छानबिनको माग गरिरहेका छन्।
यसको कारण उनको विगत पनि हो। यसअघि पनि उनी थुप्रै विवादमा मुछिएका थिए। कतिपय विवादमा सफाइ भएका छन् भने कतिपय विवाद अझै पनि जारी छन्।
विवादित विगत
गुरुङले विद्यार्थीकालबाटै राजनीति शुरू गरेका थिए। पोखरा क्याम्पस पढ्दा नेपाल विद्यार्थी संघ (नेवि संघ)मा आबद्ध भए।
२०५३ सालमा नेविसंघको सभापति बने। त्यति वेलैदेखि खरो नेताको छवि बनाएका गुरुङ पार्टीभित्र र बाहिर पनि सुशासनका पक्षमा चर्को बोल्ने नेतामा गनिन थाले।
उनी २०५६ सालमा नेपाल तरुण दलको महासचिव बने। त्यसपछि भने विवादको क्रम शुरू भयो। २०५७ सालमा रातो पासपोर्ट काण्डमा उनको नाम पनि मुछियो।
त्यति वेलाका कांग्रेसका सांसद रामचन्द्र अधिकारी सहित केही नेता तथा सांसदले कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरेको पाइएको थियो। रातो पासपोर्टले सजिलै विदेश जान सकिने भएकाले नेताहरूले अन्य व्यक्तिलाई पनि बनाइदिने गरेको भेटिएको थियो।
रातो पासपोर्ट दुरुपयोग भएको बाहिर आएपछि तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले छानबिन समिति बनाएका थिए। गृह मन्त्रालयका तत्कालीन सहसचिव श्रीकान्त रेग्मीको नेतृत्वमा बनेको समितिले गुरुङलाई कारबाही गर्न सिफारिश गरेको थियो। पछि यो विषय अदालत पुग्यो। अदालतबाट उनले सफाइ पाए। तर रातो पासपोर्ट काण्डले गुरुङलाई अझै छोडेको छैन, आलोचना भइरहन्छ।
उनी विवादमा तानिएको अर्को घटना हो, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथिको सांघातिक हमला। नेविसंघमा आबद्ध विद्यार्थीले २०७७ असोज २० गते उपप्राध्यापक चलाउनेमाथि त्रिवि परिसरमै आक्रमण गरेका थिए। उनको खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा पनि गम्भीर चोट लागेको थियो। यस घटनामा पनि कांग्रेस नेता गुरुङ आक्रमणमा संलग्न विद्यार्थीको बचाउमा उत्रिएका थिए।
२०७७ कात्तिक २० मा आक्रमण गर्ने विद्यार्थी योगेन्द्र रावल, हरि आचार्य, रूपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ विरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भयो। मुद्दा विचाराधीन रहेकै वेला २०८० जेठ ३० मा सरकारले फिर्ता लिने निर्णय गर्यो। त्यति वेला गुरुङ कानून, न्याय तथा संसदीय मामिलामन्त्री थिए। मुद्दा फिर्ता लिन उनले अग्रसरता लिएको भन्दै विरोध भएको थियो।
त्यसअघि पनि आक्रमण गर्ने विद्यार्थीको बचाउमा उत्रिएका थिए। चलाउनेले पाठ्यपुस्तकबाट बीपी कोइरालाबारे लेखिएको पाठ हटाएको गुरुङले आरोप लगाएका थिए। त्यसैले आक्रमण भएको भन्दै उनी सार्वजनिक रूपमै आक्रमणकारीलाई जोगाउन लागेका थिए।
त्यस्तै, गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएको घटनामा पनि गुरुङ विवादमा आएका थिए। २०७२ भदौ ३ मा कपुरधारा क्षेत्रमा प्रहरीले घैंटेलाई ‘इन्काउन्टर’ गरेको थियो। उनी मारिएपछि कांग्रेस नेताहरू विरोधमा उत्रिएका थिए। तीमध्ये गुरुङ पनि थिए। घैंटेको पक्षमा उभिएपछि त्यति वेला पनि गुरुङको चर्को आलोचना भएको थियो।
दुई वर्षअघि चुनावमा भएको धाँधलीको विषयमा पनि उनी विवादमा मुछिए। दुई पटक समानुपातिक सांसद बनेका गुरुङ २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार गुरुङ र एमालेका उम्मेदवार पद्मा अर्यालले प्रतिस्पर्धा गरेका थिए।
गुरुङले पाँच वटा मतदान केन्द्रमा धाँधली गरेको भनी अर्यालले आरोप लगाइन्। विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नामबाट समेत गुरुङलाई मतदान गराइएको एमाले नेताहरूको आरोप थियो। गुरुङ ३१ हजार ४६६ मत पाएर निर्वाचित भए भने अर्यालले २५ हजार ८३९ मत पाइन्। ‘पितृको भोटले जितेको’ भन्दै उनको आलोचना हुँदै आएको छ।
यो विषय अदालतमा पनि पुगेको थियो। उनी विरुद्ध बुद्धिमान श्रेष्ठले दिएको रिटमा निर्वाचन बदर गरी पुनः निर्वाचनको माग गरिएको थियो। भदौ ५ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गरेको छ।
सांसद गुरुङ सामाजिक सञ्जाल मार्फत दिने अभिव्यक्तिले पनि विवादमा पर्दै आएका छन्। पछिल्लो पटक भने मितेरी सहकारीको बचत हिनामिना प्रकरणले विवादमा मुछिएका छन्। यसमा कांग्रेसको आधिकारिक धारणा चाहिं आएको छैन। कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा अहिले आरोप मात्रै लागेको र उनी विरुद्ध कुनै उजुरी नपरेको दाबी गर्छन्। “उपसभापतिजीले नै यसमा मलाई छानबिन गरियोस् भनिसक्नुभएको छ,” विश्वकर्मा भन्छन्, “हिजो सहकारीको बचत अपचलनमा कांग्रेसको जे धारणा थियो, भोलि पनि त्यही हुन्छ।”