कवाडीमा मिल्किरहेको सुन
नेपालमा कवाडीको भाउमा संकलन हुने बिग्रिएका ल्यापटप, मोबाइल भारत पुर्याएर सुन, तामा र चाँदी निकाल्ने गरिएको छ। एउटा मोबाइल फोनमा औसतमा ०.०२५ ग्राम सुन, ०.००१७ ग्राम चाँदी र १३ ग्राम तामा हुन्छ।
बालाजुस्थित सुकुम्बासी बस्तीको एक कोठामा ग्राहक माग्दै थिए, चार हजार रुपैयाँमा ल्यापटप। मिया थरका व्यक्ति जवाफ दिंदै थिए, “पाँच हजारबाट एक रुपैयाँ कम हुँदैन।”
साँघुरो कोठाको एकातिर मैलो ओछ्यान हालिएको खाट देखिन्थ्यो। अनि अर्कातिर थियो, बिग्रिएका ल्यापटप र मोबाइलको असरल्ल थुप्रो। भित्ता र भुइँतिर तिनैका चार्जर, टुपिन अनि अन्य विद्युतीय तार लत्र्याङलुत्रुङ देखिन्थे।
भारत, पश्चिम बंगालका बासिन्दा मिया करीब २५ वर्षअघि काठमाडौं छिरेका थिए। शुरूमा ‘ए कागज, बोतल’ भन्दै टोल टोल चहार्ने उनी पछि ‘टुटाफुटा मोबाइल, ल्यापटप’ भन्दै बिग्रिएका विद्युतीय सामग्री पनि संकलन गर्न थाले। पश्चिम बंगालको शिलामपुरमा विद्युतीय फोहोरका ठूलै संकलन केन्द्रहरू छन्। फोहोरलाई आम्दानीमा बदल्न सकिने कुरा उनले त्यहीं सिके। नेपालमा चाहिं विद्युतीय फोहोरहरू जलाइन्थे। यिनको पुनरुपयोगको ज्ञान नै थिएन। नेपाल पसेपछि मियाले त्यसैमा अवसर छोपे।
काठमाडौं उपत्यकामा मिया जस्ता अरू पनि थुप्रै व्यक्ति छन्, जो घर घर धाएर सस्तोमा कवाडी सामान किन्छन्। बिग्रिएका मोबाइल, ल्यापटप आदि तिनको प्राथमिकतामा हुन्छ। मियाका अनुसार यहाँ संकलित विद्युतीय सामग्री भारतका दिल्ली र पश्चिम बंगाल लगिने गरेको छ। यदाकदा चीन पनि पुग्छ।
यसका लागि मियासँग ती सामग्री किन्ने साहुहरू आउँछन्। ती धेरैजसो भारतीय र केही नेपाली पनि छन्। तिनीहरूले थोक मूल्यमा ती सामान उठाउँछन्।
यस बाहेक खुद्रे ग्राहक पनि छन् जो कोठामै आएर एउटा–दुइटा ल्यापटप–मोबाइल उठाउँछन्। तिनीहरूसँग मोलमोलाइ पनि खुद्रा मूल्यमै हुन्छ। चार हजार रुपैयाँमा ल्यापटप मागिरहेका माथिका ग्राहक तिनैमध्येका रहेछन्। कम्प्युटर साइन्सका विद्यार्थी उनी डेढ वर्षयता मियाका नियमित ग्राहक हुन्। बिग्रेका ल्यापटप बनाएर बिक्री गरी पकेट खर्च जुटाउँदा रहेछन्।
साहुहरूले उठाउने फोहोर चाहिं के गर्छन् त? मियाले साहुहरूबाट सुने अनुसार मोबाइल–ल्यापटपभित्र सुन, चाँदी र तामा पनि हुन्छन्। भारत र चीन पुर्याएपछि त्यहाँ यस्ता धातु निकालिन्छन्। “यही कारणले बिग्रिएका मोबाइल-ल्यापटप इन्डिया-चाइना लगिने गरेको साहुले सुनाउनुहुन्छ। नेपालमा चाहिं यी सामानमा सुन हुन्छ र त्यो निकाल्न सकिन्छ भन्ने मान्छेहरूलाई थाहै छैन,” मिया भन्छन्।
नेपालबाट विद्युतीय फोहोर भन्सार तिरेरै भारत लगिंदो रहेछ। अर्थात् महँगो मूल्यमा आयात हुने यी सामान जाँदा फोहोरका रूपमा सस्तोमा निर्यात हुन्छन्। मियाका अनुसार हरेक महीना वा कहिले शुक्रबार पारेर टनका टन विद्युतीय फोहोर भारत पठाइने गरेको छ। “हिजोआज चिनियाँहरू चाहिं बिग्रिएका मोबाइल लिन उति आएका छैनन्, पहिले आउँथे,” उनी भन्छन्।
मियाले ठूलो आकारको मोबाइल साहुलाई ५५–६० र सानोलाई १५ रुपैयाँसम्मका दरले बेच्ने गरेका छन्। उनी भन्छन्, “सकेसम्म त होलसेलमै दिन फाइदा हुन्छ।” खुद्रे ग्राहकलाई चाहिं राम्रो ब्रान्डको कुनै मोबाइल ६०० रुपैयाँसम्म पनि बेचेका छन्।
विद्युतीय फोहोरको यस्तो कारोबार गर्नेहरू बालाजुसँगै कालीमाटी, धोबीघाट, वनस्थली, कोटेश्वर र भक्तपुरतिर पनि छन्। मिया बसेकै घरमा अरू सात-आठ जना छन् जो कवाडी सामान संकलन गर्छन्। ती सबै पश्चिम बंगालकै हुन्। कोही १० वर्ष त कोही २०-२५ वर्षअघि नेपाल छिरेका। उनीहरू मोबाइलमा सुन हुन्छ भन्ने सुने पनि यकीन थाहा नभएको बताउँछन्।
तीमध्ये केहीको बुझाइमा बिग्रिएका विद्युतीय सामान भारत लगेर पुनरुत्पादन गरिन्छन्। मोबाइलको हकमा भित्री ‘पार्टस्’ मात्र उपयोगमा आउने भएकाले खोल फ्याँकिन्छ।
इलेक्ट्रोनिक इन्जिनीयर प्रतीक चौधरी भने पुरानो मोबाइलको ‘पार्टस्’ नयाँ मोबाइलमा काम नलाग्ने बताउँछन्। “मर्मत गरेर प्रयोग गर्न चाहिं सकिन्छ,” उनी भन्छन्, “यसमा सानो मात्रामा सुन, चाँदी र तामा पनि हुन्छ। भारततिर यसबाट सुन निकालिएको सुनिन्छ।”
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार एउटा मोबाइलबाट औसतमा ०.०२५ ग्राम सुन निस्किन्छ। ५०० वटा मोबाइलको जोड्दा एक तोला (११.६६ ग्राम जति) हुन्छ। त्यस्तै, मोबाइल सेटमा ०.००१७ ग्राम चाँदी र १३ ग्रामसम्म तामा हुन्छ। यसरी हेर्दा सात हजार सेटबाट एक तोला चाँदी र ८० वटा सेटबाट एक किलो तामा निस्किन्छ।
सुनको मात्रा मोबाइल अनुसार फरक फरक हुन सक्छ। यो अध्ययन सामसङ ब्रान्डका मोबाइलमा गरिएको हो।
एप्पल डटकममा प्रकाशित प्रोडक्ट इनभाइरोमेन्ट रिपोर्ट र एसडीबुल्लियन डटकममा प्रकाशित हाउ मच गोल्ड इज इन अ सेलफोन रिपोर्ट अनुसार मोबाइल फोनमा सुन, चाँदी र तामा आदि धातु आन्तरिक संरचना टिकाउ बनाउनका लागि प्रयोग गरिन्छन्। सुनमा तुलनात्मक रूपमा कम खिया लाग्ने भएकाले यसलाई मोबाइलको कनेक्सन र सर्किट बोर्डहरूमा प्रयोग गरिन्छ।
त्यस्तै, चाँदी विद्युत्को सबैभन्दा राम्रो सुचालक भएकाले मोबाइल फोनका डेटा दुरुस्त ट्रान्सफर गर्न सघाउँछ। यसले ताप समेत नियन्त्रण गरिदिन्छ।
तामामा लचिलोपन हुने भएकाले यसलाई चाहेको आकारमा ढालेर पावर, सिग्नल, ट्रान्समिशन तार, सर्किट बोर्ड सहितका भित्री संयन्त्रमा करेन्ट प्रवाह गर्न सकिन्छ।
विश्वमा प्रत्येक वर्ष मोबाइल, कम्प्युटर आदि विद्युतीय सामग्री उत्पादनमा करीब ३२० टन सुन र सात हजार ५०० टन चाँदी खपत हुने गरेको यूकेबाट प्रकाशन हुने फाइनान्सियल टाइम्समा समेटिएको ‘अ वर्ल्ड विदआउट वेस्ट : हाउ गोल्ड माइनिङ इज गोइङ ग्रीन’ लेखमा उल्लेख छ।
झन्डै तीन करोडको धातुजन्य फोहोर निर्यात
काठमाडौं उपत्यकामा दैनिक करीब एक हजार २०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ, जसमा काठमाडौं महानगरबाट मात्र ६०५ टन फोहोर निस्कन्छ। कुल फोहोरमा धातुजन्य फोहोरको हिस्सा थोरै छ। मोबाइल, ल्यापटप यसैमा पर्छन्।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णका अनुसार रक्सौल नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा तीन लाख ६७ हजार २९१ किलोग्राम धातुजन्य फोहोर निर्यात भएको छ। यसको मूल्य दुई करोड ८६ लाख ८० हजार रुपैयाँ जति रहेको भन्सारको आँकडा छ।
“यही साउनमा मात्र ६६ हजार ५६० किलोग्राम मेटल स्क्राइब गएको छ,” उनी भन्छन्, “इलेक्ट्रोनिक फोहोर वा मोबाइल, ल्यापटप भनेर छुट्याइएको छैन, सबैखाले फोहोर एकैचोटि जान्छ।”
नेपालमा मोबाइल फोनको आयात बढ्दो छ। भन्सार विभागका अनुसार आव २०८०/८१ मा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएका छन्। आयात मोबाइलको यो संख्या आव २०७९/८० को भन्दा दुई लाख ८२ हजार थानले बढी हो। उक्त वर्ष २२ अर्ब ३८ करोड रुपैयाँ बराबरका मोबाइल भित्रिएका थिए।
नेपाल भित्रिने मोबाइल औसतमा १५ हजार रुपैयाँ मूल्यका छन्। अवैध बाटो भित्रिने समेत जोड्दा संख्या अझ बढी हुन सक्छ। यो आँकडाबाट बिग्रिएर फोहोरका रूपमा सीमापारि जाने मोबाइलको संख्या पनि सानो नरहेको अनुमान गर्न सकिन्छ।
पछिल्लो समय विद्युतीय फोहोर व्यवस्थापनको कुरा उठ्दै आए पनि तिनलाई यहीं प्रशोधन गरेर फोहोरका रूपमा विदेश गइरहेको सम्पत्ति रोक्नेतिर राज्यको ध्यान देखिंदैन।