तिलगंगाको विष्णुविक्रान्तले खोलेको इतिहास
उत्खननमा फेला परेका जलहरी, इँटाको गारो, माटाका भाँडा र खरानीले यो मूर्ति लिच्छवि राजा मानदेवले राखेको ठाउँमै कायम रहिरहेको, त्यहाँ कुनै वेला मन्दिर रहेको र अझ पहिलेदेखि नै मानवीय गतिविधि रहेको संकेत गरेका छन्।
नेपालमा अहिलेसम्म फेला परेका विस्तृत विवरणयुक्त अभिलेख सहितका मूर्तिमध्ये सबैभन्दा पुरानो हो, विष्णुविक्रान्तको मूर्ति। मानदेवले शक संवत् ३८९ मा लाजिम्पाट र पशुपतिको तिलगंगामा गरी एकै दिन विष्णुविक्रान्तका दुई मूर्ति प्रतिष्ठापन गरेको तिनको अभिलेखबाट खुल्छ।
लाजिम्पाटमा चौरमा रहेको मूर्ति सुरक्षाका निम्ति विसं २०२४ देखि छाउनी संग्रहालयमा राखिएको छ। ठ्याक्कै उस्तै देखिने तिलगंगाको मूर्ति भने वर्षौंदेखि दहमा परित्यक्त स्थितिमा थियो।
पशुपति क्षेत्र विकास कोषले चोरीको उच्च जोखिममा रहेको यो मूर्ति संरक्षणका लागि पछिल्ल्लो समय पहल गरेको छ। यसै क्रममा गरिएको उत्खननबाट नयाँ तथ्य समेत उजागर भएको कोषले जनाएको छ। कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतम उत्खननमा उक्त मूर्तिको जलहरी पनि फेला परेको र पुरातत्त्वका दृष्टिले यो कुरा महत्त्वपूर्ण रहेको बताउँछन्।
लाजिम्पाटमा भेटिएको मूर्तिको जलहरी अहिलेसम्म भेटिएको छैन। “यसको अर्थ तिलगंगामा भेटिएको मूर्ति चाहिं मानदेवले राखेको मौलिक स्थानमै अहिलेसम्मै रहिरहेको पुष्टि भएको छ,” गौतम भन्छन्, “कतिले यसलाई शाहकालमा पशुपतिको वनकालीबाट ल्याएर राखिएको भन्थे, त्यो गलत सावित भएको छ।” उत्खनन टोलीले मूर्तिभन्दा करीब सात फिट तल खरानी र माटाका भाँडाका टुक्रा समेत फेला पारेको छ। यसले मानदेवभन्दा अघि नै यहाँ मानवीय गतिविधि भएको संकेत गर्ने गौतमको ठम्याइ छ।
ऐतिहासिक सुदर्शनराज तिवारी भने मूर्तिभन्दा मुनि भेटिएको खरानी मूर्ति स्थापना गर्दा वा पछि पूजा गर्दा बालिएको धूपदीपबाट निस्किएको पनि हुन सक्ने बताउँछन्। “कुन समयको खरानी हो भन्ने पत्ता लगाउन ‘कार्बनडेटिङ’ गर्नुपर्छ। नेपालमा ‘कार्बनडेटिङ’ नहुने भएकाले भारत वा बेलायत लगेर भए पनि जाँच गरिहाल्नुपर्छ,” उनी भन्छन्।
मन्दिर रहेको संकेत
तिवारीका अनुसार तिलगंगामा पाइएको जलहरीको पछाडि आड लगाइएको छ जुन लिच्छविकालकै प्रचलन हो। जलहरीमुनि लिच्छविकालीन इँटा समेत फेला परेका छन्। ती कुनै फुटेका छैनन्। न त त्यहाँ टुक्रा इँटाको प्रयोग भएको छ। यसले तत्कालीन डकर्मीहरूको कला झल्काउँछ। यी सबै प्रमाणबाट त्यहाँ मानदेवकालीन चतुर्भुज आकारको मन्दिर हुनुपर्ने तिवारीको ठम्याइ छ। “चार कुनामा प्राचीन इँटा भेटिनु र अन्य संरचना हेर्दा चतुर्भुज आकारको मन्दिर हुनुपर्छ। शिलालेखमा ‘भवन’ शब्द प्रयोग हुनुले पनि यो कुरामा बल दिन्छ,” उनी भन्छन्।
एकै आकार र बनोटका दुई मूर्तिमा अभिलेखको बेहोरा पनि एकै छ। ऐतिहासिक धनवज्र वज्राचार्यको पुस्तक लिच्छविकालका अभिलेख अनुसार यसको कुँदाइमा भने अलिकति अन्तर छ। लाजिम्पाटको अभिलेखमा उठानमा ॐ शब्द छ, तिलगंगामा छैन। लाजिम्पाटको अभिलेखमा ‘वैशाखशुक्लदिव २’ दोस्रो पंक्तिको अन्त्यमा दिइएको छ भने तिलगंगामा चाहिं दोस्रो पंक्तिको उठानमै छ। लाजिम्पाटको अभिलेखका अक्षर प्रस्ट बुझिंदैनन् भने तिलगंगाका स्पष्ट छन्।
दुवै मूर्तिको अभिलेखमा ‘लक्ष्मीवद् भवनं कारयित्वा’ लेखिएको छ। यसबाट मानदेवले वामनमूर्ति स्थापना गर्दा सुन्दर मन्दिर पनि बनाउन लगाएका थिए भन्ने संकेत मिल्ने वज्राचार्यले पुस्तकमा चर्चा गरेका छन्। तर त्यति वेलासम्म लाजिम्पाट र तिलगंगा दुवै ठाउँमा मन्दिरको अवशेष भेटिएको थिएन। तिलगंगामा अहिले भेटिएका संरचनाले वज्राचार्यले गरेको संकेतलाई बल दिएका छन्।
अभिलेख अनुसार राजा मानदेवले आमा राज्यवतीको पुण्यको बढीबढाउका लागि भगवान् वामनको मूर्ति स्थापना गरेका हुन्। यही प्रसंगमा तिवारीको हाँडीगाउँ पुस्तकमा मूर्तिको अभिलेखमा रहेको ‘मातुः...हितकृतमनस’ वाक्यांशबाट मानदेवलाई पिताको हत्या गरेको अनुभूति भएपछि कम्तीमा आमाका लागि भए पनि प्रायश्चित् स्वरूप यी मूर्ति स्थापना गर्नुपर्ने उनलाई लागेको हुन सक्ने अनुमान गरिएको छ। पुस्तकमा अन्जानमा मानवहत्या हुँदा राजाहरूले यस स्वरूपको विष्णुको प्रतिष्ठा गर्नुपर्ने श्रुतिधर्मशास्त्रको विधान रहेको समेत उल्लेख गरिएको छ।
दुवै मूर्ति अहिले ठाउँ ठाउँमा चोइटिएका छन्। तिलगंगाको मूर्तिमा विष्णुविक्रान्तका आठ हातमध्ये दायाँतिरका तीन वटा फुटेका छन्। लाजिम्पाटको मूर्तिमा ती हात सग्ला छन्। तिनले अभय मुद्रा, चक्र र गदा समातेका छन्। ऐतिहासिक तिवारी तिलगंगामा अभिलेख प्रस्ट भएकाले पेलियोग्राफी (अक्षर अध्ययन)का लागि र लाजिम्पाटको मूर्ति केही सग्लो रहेकाले आइकोनोग्राफी (आकार अध्ययन)का लागि उपयोगी रहेको बताउँछन्।
खोजिन बाँकी तथ्य
प्राचीन समयमा एकै खालका मूर्ति एकै व्यक्तिले दुई स्थानमा राखेको नेपालमा अन्यत्र पाइएको छैन। तिलगंगाको मूर्ति पनि मानदेवले नै राख्न लगाएको प्रमाण भइसकेपछि अब एकै व्यक्तिले एउटै खालको मूर्ति किन दुई ठाउँमा राख्न लगाए भन्नेबारे पनि गहिरो अध्ययन गर्नुपर्ने ऐतिहासिक महेशराज पन्त बताउँछन्। “एकै किसिमको मूर्ति, एकै मिति, एकै व्यक्तिले अन्त कतै राखेको पाइँदैन। त्यसैले यो खोजीको विषय हो,” उनी भन्छन्।
तिलगंगामा रहेको मूर्तिको मौलिक स्थान त्यही हो भने त्यो ठाउँमा पछि अतिक्रमण भएको हुन सक्ने पन्त बताउँछन्। “मूर्ति राखिएको ठाउँ अहिले जति साँघुरो पारिएको छ, त्यस्तो ठाउँमा मानदेवले कसरी मन्दिर बनाए होलान् त? मन्दिरको क्षेत्रफल पक्कै ठूलो हुनुपर्छ। यो पनि खोजी गरिनुपर्छ,” उनी भन्छन्।
ऐतिहासिक पन्तका अनुसार तिलगंगाको मूर्ति भएको ठाउँमा २०१६ सालसम्म पनि वामन द्वादशीका दिन मेला लाग्थ्यो। १४ वर्षको उमेरमा उनी पनि परिवारसँग मेला हेर्न गएका थिए। ६५ वर्षअघिको समय सम्झँदै पन्त भन्छन्, “उति वेला मूर्ति वरिपरिको क्षेत्र पनि अहिलेभन्दा फराकिलो थियो।”
कोषका पुरातत्त्व अधिकृत सुशीलकुमार गौतमका अनुसार २०३० सालअघि गोल भन्ने नेवार बस्तीका मानिसले यहाँ पूजापाठ गर्थे। तर २०३० को दशकमा त्यो बस्ती नै विस्थापित भयो। सिनामंगलतिर सरेका स्थानीय गाईजात्रा र द्वादशीमा पूजा गर्न यहाँ आउँछन्। उनीहरूको समुदायमा कसैको मृत्यु हुँदा शव बिसाएर विष्णुविक्रान्तको थानमा केशरी दलिदिने चलन पनि छ।
ऐतिहासिक तिवारी यति पुरानो समयको यतिको कलाले पूर्ण अर्को मूर्ति भारतमा समेत नरहेको बताउँछन्। “यसरी खुट्टा उचालेको आकारमा कुँदिएको मूर्ति भारतमा साताैं शताब्दीपछि मात्र पाइएको छ, हामीकहाँ त पाँचौं शताब्दीमै पाइयो,” उनी भन्छन्। यति महत्त्वपूर्ण कलाको मूल्य नेपालीले नै बुझ्न नसकेको गुनासो गर्दै उनी थप अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन्।
लाजिम्पाटस्थित शिलालेखको मूलपाठ
१. ॐ संवत् ३८९ मातुः श्रीराज्यवत्या हितकृतमनसः सर्वदा पुण्यवृद्वच्यै
राजा श्रीमानदेवः शुभविमलमतिः पात्रदानम्बुवर्षी
२. लक्ष्मीवत्कारयित्वा भवनमिह शुभं स्थापयामास सम्यक्
विष्णुं विक्रान्तमूर्तिं सुरमुनिमहितं सर्वलोकैकनाथम्
वैशाखशुक्लदिव २।
स्रोत : लिच्छविकालका अभिलेख
तिलगंगास्थित शिलालेखको मूलपाठ
१. संवत् मातुः श्रीराज्यवत्या हितकृतमनसः सर्वदा पुण्यवृद्वच्यै
राजा श्रीमानदेवः शुभविमलमतिः पात्रदानाम्बुवर्षी
२. वैशाख लक्ष्मीवत्कारयित्वा भवनमिह शुभं स्थापयामास सम्यक्
शुक्लदिव २ विष्णुं विक्रान्तमूर्तिं सुरमुनिमहितं सर्वलोकैकनाथम्।
स्रोत : लिच्छविकालका अभिलेख
भावार्थ : राजा मानदेवले आफ्नी माता राज्यवतीको नाममा एउटा विशाल मन्दिर बनाउन लगाई तीनै लोकका देवता कहलिएका भगवान् विष्णुविक्रान्त (त्रिविक्रम वामन)को मूर्ति यस ठाउँमा विधिपूर्वक स्थापना गरे।
याे पनि पढ्नुहाेस्
कसरी पुगे नेपाली मूर्ति मन्दिरदेखि म्यूजियमसम्म?
देउताको स्वदेश फिर्ती!