विश्व दृष्टिकोण भएका नेपाली शल्यचिकित्सक
रोक्न सकिने अन्धोपन घटाउन विश्वभर गरेको कामका लागि विद्याप्रसाद पन्तलाई डेनमार्कमा सम्मान गरिंदै छ।
साढे तीन दशकअघि विद्याप्रसाद पन्त धनगढीको गेटा आँखा अस्पतालमा नेत्र सहायक हुँदा एक जना वृद्धलाई बाँसको डोकामा बोकेर ल्याइयो। उनलाई आफन्तले बझाङबाट एक सातासम्म डोकामा बोकेर गेटा पुर्याएका थिए। ७० वर्षीय वृद्ध मोतियाबिन्दुले गर्दा आँखा नदेख्ने भएका थिए।
२०४१ सालमा परोपकारी संस्थाद्वारा सञ्चालित गेटा अस्पतालले नर्डिक शल्यचिकित्सकहरू भ्रमणमा आउँदा मात्र मोतियाबिन्दुको शल्यक्रिया गर्थ्यो। त्यसैले साता दिन बोकेर ल्याएका वृद्धलाई उपचार नगरी फर्काउनुपरेको थियो।
“ती व्यक्तिको अवस्थाले मलाई गहिरो रूपमा छोयो। त्यसपछि मैले आँखा सर्जन बन्ने निश्चय गरें,” पन्त भन्छन्।
गत ४० वर्षमा पन्तले नेपाल, बर्मा र विश्वका अन्य भागमा दुई लाखभन्दा बढी आँखाको शल्यक्रिया गरिसकेका छन्। उनले एकै दिन ३१२ र एकै वर्षमा १६ हजार आँखाको शल्यक्रिया गरेर सम्भवतः अधिकतम आँखा शल्यक्रिया गर्ने व्यक्तिको कीर्तिमान राखिरहेका छन्।
नेत्र स्वास्थ्यमा उत्कृष्ट योगदानका लागि उनलाई २७ सेप्टेम्बरमा डेनिस अफ्थाल्मोलोजिकल सोसाइटीले ‘बोबर्ग-एन्स पुरस्कार’ प्रदान गर्दै छ।
त्यस ताका डाक्टर बन्ने सबैभन्दा सस्तो र छिटो तरीका रूस जानु थियो। श्रीमती र तीन बच्चा घरमै छोडेर पन्त सन् १९९२ मा रूस गए र सन् १९९९ मा रोस्तोभ-अन-डनबाट आँखाको शल्यक्रियामा विशेषज्ञता हासिल गरे। त्यसपछि उनलाई गेटाका शल्यचिकित्सक साथी डाग रिसेले नर्वेको हामारमा आँखाको शल्यक्रिया सम्बन्धी थप तालीमका लागि निम्तो दिए।
नेपालमा द्वन्द्व चर्किरहेको थियो र रिसेले पन्तलाई हामारमै जागीर प्रस्ताव गरे, तर उनले अस्वीकार गरे। पन्त नेपाल मात्रै फर्केनन्, धनगढीको गेटा नै आए।
रिसे पन्तलाई आफ्नो ‘नेपाली छोरो’ मान्थे। सन् २०१३ मा स्की दुर्घटनामा ८१ वर्षको उमेरमा डुबेर रिसेको मृत्यु भएपछि उनको परिवारले अन्त्येष्टिमा पन्तलाई निम्तो दियो। नेपाल फर्केपछि पन्तले आफ्नो जीवन गेटाको विस्तारमा समर्पित गरे, जसले नेपाल र भारतका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्थ्यो।
पन्तलाई अल्बर्ट कोल्स्टाडले शल्यक्रिया सहायकका रूपमा तालीम दिएका थिए, जसले चार दशकअघि विश्व स्वास्थ्य संगठन र नर्वेली सरकारको परियोजनाका रूपमा गेटा आँखा अस्पतालको स्थापना गरेका थिए।
कोल्स्टाडकी पत्नी सिसेल हाल्डेनले पन्तलाई एक ‘प्रतिभाशाली युवक’ का रूपमा सम्झिन्छिन्। उनी थप्छिन्, “मेरा पतिले तुरुन्तै उनको क्षमता थाहा पाए। विद्या चलाख थिए, छिटो सिक्ने थिए र उनले निगरानीमा मोतियाबिन्दुको शल्यक्रिया गर्न थाले। शल्यचिकित्सकका रूपमा उनको काम उत्कृष्ट थियो।”
जब एक भारतीय कूटनीतिज्ञले धनगढी भ्रमणका क्रममा गेटामा ८५ प्रतिशत बिरामी भारतबाट आएको थाहा पाए, दूतावासले अस्पतालको एक अतिरिक्त भवन निर्माण गर्न सहयोग गर्यो। थप शल्यचिकित्सकलाई तालीम दिइयो र एक समयमा अस्पतालले वार्षिक ४५ हजार शल्यक्रिया गर्थ्यो।
पन्तले नेपालमा निःशुल्क शल्यक्रिया गर्न हेल्पमीसीसँग काम गरे, र साथै अर्बिस भन्ने संस्थाको डीसी-१० विमानमा पनि काम गरे, जुन अफ्रिका, एशिया र ल्याटिन अमेरिकाका विभिन्न विमानस्थलमा पुगेर आँखाको अपरेशन गर्थ्यो।
सन् २०१४ देखि पन्तले अस्ट्रेलियाको डीएके फाउन्डेशनका लागि विकासशील देशमा निःशुल्क आँखाको शल्यक्रिया गर्दै आएका छन्। उनी र उनको टोलीले बर्मामा मात्र ३० लाख शल्यक्रिया गरिसकेका छन्।
अहिले आवश्यकता अझै ठूलो छ, किनभने वृद्ध बिरामीको संख्या बढिरहेको छ। स्ट्राटोस्फेरिक ओजोन तहको पातलो हुँदै जानुका कारण उच्च उचाइमा अल्ट्राभायोलेट सौर्य विकिरणको जोखिम बढेको छ। मोतियाबिन्दु विश्वभरमा अन्धोपनको आधाभन्दा बढी कारण हो र यो आगामी २५ वर्षमा ७० प्रतिशतले बढ्नेछ।
सबैभन्दा बढी आवश्यकता भएको स्थानमध्ये एक बर्माको मन्डलेको नजीकको ग्रामीण क्षेत्र हो, जहाँ पन्तले तिपिटक चलुपला आँखा अस्पतालमा शल्यचिकित्सक टोलीको नेतृत्व गर्छन्। “जब म पहिलो पटक २०१३ मा यांगुन गएँ, त्यहाँ आँखाको शल्यक्रियाका लागि ६ महीनासम्म लाइनमा पर्खिरहेका मानिस थिए,” पन्त सम्झन्छन्।
नेपालबाट आएका डाक्टरले शल्यक्रिया गरिरहेको थाहा पाएर बर्मेली नेपालीहरू उत्साहित थिए। गत वर्ष धनगढीमा पन्तका बुबाको निधन हुँदा बर्मेली बिरामीहरूले चार हजार ५०० डलरभन्दा बढी रकम दानस्वरूप जम्मा गरे, जुन उनले तुरुन्तै अस्पताललाई हस्तान्तरण गरे।
पन्त शल्यक्रिया मात्र गरिरहेका थिएनन्, बर्मेली शल्यचिकित्सकलाई काठमाडौंका तिलगंगा र अन्य अस्पतालमा तालीम लिन पनि सहयोग गरिरहेका थिए।
बर्मामा गरेको कामका लागि पन्तलाई ब्रिटिश मेडिकल जर्नलले वर्षको शल्यचिकित्सा टोली पुरस्कारबाट सम्मानित गर्यो। सन् २०१७ मा अन्तर्राष्ट्रिय अन्धोपन रोकथाम संघ (आईएपीबी)को आँखा स्वास्थ्य हिरो पुरस्कार प्रदान गरियो।
यी सबै काम गरे पनि डा. पन्तलाई नेपालमा धेरैले चिन्दैनन्। धनगढीका पत्रकार दीर्घराज उपाध्याय भन्छन्, “पन्तको मिडियाबाट टाढै रहने र हल्लाखल्ला नगरी खुरुखुरु आफ्नो काम गर्ने बानी छ।”
(नेपाली टाइम्समा प्रकाशित रिपोर्टको अनुवाद अन्शु खनालले गरेकी हुन्।। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)