सोरठी : जैसिंगे राजाको वैराग्यकथा
लोकगाथा विविध समुदायको साझा सम्पदा हो। जुन जुन संस्करणमा ती लोकगाथा छन्, ती सबैलाई मनन गर्नुपर्ने र स्विकार्नुपर्ने हुन्छ।
आदिवासी परम्परामा एक पुस्ताले अर्को पुस्तालाई आफ्नो ज्ञान, संस्कृति र इतिहासलाई कथा मार्फत हस्तान्तरण गर्ने चलन नौलो होइन। आदिवासी समाजमा यसरी भनिने कथा र गाइने गीतमा लोकको स्मृति, लोकजीवन र लोकसाहित्य जीवित रहँदै आएको थियो।
प्रविधिसँगको सामीप्यले अचेल गाउँघरमा समेत कथा भन्ने र सुन्ने चलन लोप हुन थालेको छ। यसैले एक पुस्ताको ज्ञान अर्को पुस्तामा हस्तान्तरण हुन सकिरहेको छैन। उहिले बाजेबज्यैले नातिनातिनीलाई काखमा खेलाउँदै वा झोलुंगोमा हल्लाउँदै, गीत गाउँदै र कथा सुनाउँदै सुताउने चलनलाई टेलिभिजनले कमजोर बनाउँदै लग्यो। अचेल मोबाइलले बाजेबज्यैको कथावाचनको अधिकार खोसिसकेको छ।
मोबाइल स्वयंले ‘अल्गोरिदम’ मार्फत बालबच्चालाई कथा देखाउँदै मक्ख पारिरहेको छ। त्यसैले कथावाचनरूपी आदिवासी परम्पराले आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेको छ। काठमाडौं जस्तो महानगरमा त यस्तो संघर्षको घनत्व असाध्यै बडेमानको छ।
तैपनि यस्तो डिजिटल लतमा लट्ठिएको महानगरमा लेखक सञ्जय काउछा मगर र निर्देशक संगीता थापा मगर सोरठी नाटक मार्फत एकादेशको कथा तपाईं-हामीलाई सुनाउन-देखाउन कम्मर कसेर लागेका छन्। यस्तो बदलिंदो संकटग्रस्त परिवेशमा शिल्पी थिएटरमा मञ्चन भइरहेको सोरठी नाटकमा बज्यैले आफ्नी नातिनीलाई सोरठी रानीको कथा सुनाइरहेकी छन्।
निष्पट्ट अँध्यारोमा बज्यै नातिनीलाई सोरठी रानी र जैसिंगे राजाको कथा सुनाउन थाल्छिन्। यही दृश्यबाट नाटक शुरू हुन्छ। बज्यैले नातिनीलाई इतिहासको त्यो कालखण्डमा पुर्याउँछिन्, जहाँ एक स्त्रीलम्पट राजा जैसिंगे छ, सौन्दर्यले ढपक्क बलेकी सोरठी छे र छ, उसको प्रेमी आइते।
कथा चल्दै जान्छ। बीच बीचमा नातिनीले जिज्ञासु भई प्रश्न सोध्ने र हजुरआमाले प्रस्ट पार्दै जाने आदिवासी कथ्य परम्परा र शैलीले कथालाई अगाडि बढाउँदै लैजान्छ।
हामीले पढेकै हो, इतिहासमा हाम्रा राजाहरू पनि सुन्दरी युवतीप्रति आसक्त हुन्थे र दरबारमा दर्जनौं रानीको ताँती लगाउँथे। रणबहादुर शाहले जनकपुरकी विधवा ब्राह्मणी कान्तवतीको सौन्दर्यमा सम्मोहित भई उनलाई दरबार भित्र्याउँदा हाम्रो इतिहासवाचनले अर्कै मोड समातेको छ।
राजाहरू रासलीलामा डुब्दा प्रजा र मुलुकले दुःख पाएका दृष्टान्त थुप्रै छन्। यस्तो देश र परिवेशमा जैसिंगे राजामा पनि त्यस्तो कामेच्छा जागृत हुनु कुनै नौलो विषय भएन।
मगर र गुरुङ समुदायमा लोकगीतको रूपमा प्रचलित सोरठीले यही कथा कहन्छ। एक पुस्तादेखि अर्को पुस्तामा मौखिक साहित्यका रूपमा हस्तान्तरण हुँदै आएको कथावाचनको यो परम्परा गाउँघरतिर अस्तित्व बचाउन संघर्षरत छ।
तर १० वर्षअघि गाउँ गाउँ डुली यो परम्परामाथि शोध गरेका एकबहादुर गुरुङले गण्डकी क्षेत्रका मगर र गुरुङले यो लोककथा वाचन परम्परालाई बचाइरहेको देखेका थिए। २०७५ सालमा प्रकाशित गुरुङको पुस्तक आर्थर डाँडा खर्कको सोरटी गीत तथा कथामा भने उनले सोरठीलाई ‘सोरटी’ उल्लेख गरेका छन्।
यो नाटक हेरिसकेपछि मलाई लागेका केही कुरा यहाँ चर्चा गर्न गइरहेको छु। डोरबहादुर विष्टले भाग्यवाद र विकास पुस्तक (सन् १९९१ मा पहिलो प्रकाशन)मा भाग्यवाद नै उन्नतिको अवरोध हो भनी विश्लेषण गरेका छन्, जसलाई उनले ब्राह्मणवाद नामकरण गरेका छन्।
सोरठी नाटकको कथानक नै ज्योतिषको भविष्यवाणीबाट प्रारम्भ भएको छ। नाटकका दुई ठाउँमा भाग्यवादलाई प्रवर्द्धन गर्ने संवाद छन्। नाटकले यस्ता संवाद र भविष्यवाणीलाई आधिकारिकता दिनुले भाग्यवादको वकालत गरेको देखिन्छ। मगर जस्तो आदिवासी समुदायले भाग्यवादको बिंडो बोकेर हिंड्नुलाई मलाई चाहिं राम्रो लागेन।
भाग्यवादलाई प्रवर्द्धन गर्नु प्रकारान्तरले समाजमा प्रगतिशीलतालाई भित्रन नदिनु हो। विष्टकै भनाइमा ब्राह्मणवादकै पक्षपोषण हो। विष्टले नेपालको अविकास र पछौटेपनको कारण भाग्यवाद रहेको संश्लेषण गरेको करीब ४० वर्षपछि पनि सोरठी मार्फत त्यसैको पुनः वकालत गरिनु लेखक र निर्देशकको कमजोर बौद्धिकी हो भन्न सकिन्छ।
लोकगाथाहरू सयौं र हजारौं वर्षसम्म मौखिक कथ्य परम्पराबाट एक पुस्ताबाट अर्को पुस्तासम्म भनिंदै र सुनिंदै आउँदा कुनै भूगोल र जातिविशेषमा आइपुग्दा त्यसले स्वरूप परिवर्तन गरिसकेको हुन्छ। त्यसैले एउटै कथा पनि विभिन्न संस्करणमा उपलब्ध हुन सक्छन्। उही कथा एउटा अर्को संस्करणसँग मेल नखान पनि सक्छ। जस्तै- भारतका विभिन्न भूगोलमा एउटै रामायण कथाका थुप्रै संस्करण छन्।
सञ्जय काउछा मगरको प्रकाशोन्मुख उपन्यासको नाटकीकरण भनिएको सोरठी पनि यो अपवादबाट मुक्त छैन। नाटक हेर्दा एकबहादुर गुरुङले (पर्वत) संकलन गरेर प्रकाशन गरेको पुस्तक आर्थर डाँडा खर्कको सोरटी गीत तथा कथामा व्यक्त कथा सिंजालीको सोरठी नाटकसित हूबहू मिल्दैन। गुरुङको शब्द सोरठी होइन, सोरटी हो।
उनीद्वारा संकलित सोरटीमा वृन्दावनको प्रसंग छ, जबकि सोरठी नाटकमा कतै पनि वृन्दावनको प्रसंग छैन। लोकगाथाको विशेषता नै यस्तो हुन्छ। एउटा जाति र भूगोलको लोकगाथा अर्कोमा ठ्याक्कै मिल्दैन। त्यसैले लोककथामा घरीघरी कसको कथा वास्तविक र आधिकारिक हो भन्ने विवाद उठिरहन्छ।
लोकगाथा विविध समुदायको साझा सम्पदा हो। जुन जुन संस्करणमा ती लोकगाथा छन्, ती सबैलाई मनन गर्नुपर्ने र स्विकार्नुपर्ने हुन्छ। यसमा थप वादविवाद गर्नुको कुनै तुक छैन।
नेपाल विविध आदिवासी समुदाय बसोबास गर्ने मुलुक हो। यी आदिवासीका आआफ्नै लोकगाथा छन्। तर राज्य र सम्बन्धित समुदायको पनि पर्याप्त ध्यान नपुगेको कारणले गर्दा ती लोक आख्यानको संकलन, सम्पादन र प्रकाशन तथा दस्तावेजीकरण हुन सकेको छैन। त्यसमाथि चलचित्र, वृत्तचित्र र नाटक जति बन्नुपर्ने थियो, बन्न सकेका छैनन्।
यस्तो संकटग्रस्त अवस्थामा सञ्जय काउछा मगरको लेखन र संगीता थापा मगरको निर्देशनमा सोरठी नाटक महानगरभित्र छिर्नु साह्रै सराहनीय कार्य हुन गएको छ। यस नाटक मार्फत मगर र गुरुङ समुदायमा प्रचलित लोकगाथालाई गीत, नृत्य र संगीत मार्फत आधुनिक रंगमञ्चमा जीवन्त बनाउने प्रयत्नले अरू आदिवासी समुदायलाई पनि उत्प्रेरणा दिएको छ। त्यसका निम्ति नाटक लेखक तथा निर्देशकलाई साधुवाद छ।
यो पनि पढ्नुहोस् : ‘सोरठी एउटा कलात्मक आन्दोलन पनि हो’