‘बौद्धस्थल मात्र समेटेर ग्रेटर लुम्बिनीको अवधारणा पूर्ण हुँदैन’
‘विधागत विज्ञका साटो बाहिरका मान्छेको हातमा पुगेकैले केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजनाको अपव्याख्या हुन पुग्यो। कोषकै पदाधिकारीले काम असी प्रतिशत सकिएको भनिरहँदा टांगेको गुरुयोजना पालना गरिएजस्तो लाग्दैन ।’
पुरातत्त्वविद् वसन्त बिडारी नेपालको मध्यतराई, खासगरी लुम्बिनी-कपिलवस्तु क्षेत्रको पुरातात्त्विक अन्वेषण, उत्खनन र संरक्षणमा अग्रगण्य व्यक्तित्व हुन्। यिनै क्षेत्रमा केन्द्रित रही कपिलवस्तु : द वर्ल्ड अफ सिद्धार्थ, लुम्बिनीः अ हेभेन अफ सेक्रेड रेफ्युज, लुम्बिनीः पास्ट, प्रिजेन्ट्स एन्ड फ्यूचर विथ मास्टरप्लान र द ट्रिज रिलेटेड टु बुद्धज् लाइफ आदि पुस्तक प्रकाशन गरेका छन्।
त्यस्तै, उनले देशी-विदेशी गोष्ठीहरूमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको पुरातत्त्व, विशेषगरी लुम्बिनीलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। हाल लुम्बिनी बौद्ध विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर रहेका बिडारीसँग हिमालखबरका लागि गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
तपाईले लामो समयदेखि अन्वेषण गर्दै आएको लुम्बिनी-कपिलवस्तु क्षेत्रका बौद्ध पुरातात्त्विक स्थलहरूको अन्तर्राष्ट्रिय पहिचान अहिले केकस्तो छ?
यसमा दुई-तीन अवधारणा छन्। सबैभन्दा पहिले त गौतम बुद्ध आफैं लुम्बिनीको पहिचान हुनुहुन्छ। जीवनको अन्तिम क्षणमा उहाँले आफ्ना अनुयायीलाई जान भनी सुझाएका चार ठाउँमा लुम्बिनी पनि पर्छ। अर्थात् लुम्बिनीको पहिलो प्रचार उहाँ आफैंले गर्नुभएको छ। बुद्धले जीवनका २९ वर्ष बिताएको कपिलवस्तुको सट्टा लुम्बिनीलाई यति धेरै महत्त्व दिइनुको कारण उहाँको जन्मस्थल भएकैले हुनुपर्छ। केही अध्ययनले भन्छन् कि महापुरुषहरूले आफू जन्मेका ठाउँमा ऊर्जा छाडेका हुन्छन्। अनुयायीले त्यहाँ जाँदा त्यो ऊर्जा महसूस गर्छन्।
बुद्धको ऐतिहासिकता प्रमाणित गर्ने महत्त्वपूर्ण आधार हो, लुम्बिनी-कपिलवस्तु क्षेत्र। लुम्बिनीलाई बुद्धको जन्मस्थल भनी चिनाउने सबैभन्दा बलियो आधार सम्राट् अशोकले राख्न लगाएको अभिलेखयुक्त स्तम्भ हो। त्यसमा उनले उत्कीर्ण गराएका ‘अतन आगाच महीयिते हिदबुधेजाते सक्यमुनीति’ (शाक्यमुनि बुद्ध जन्मिएको ठाउँमा म आफैं आएँ)’ पदावली महत्त्वपूर्ण छन्।
अशोकले स्तम्भमा ‘सक्यमुनि’ शब्द नपारेका भए वा ‘हिदबुधेजाते’ मात्र लेखेका भए गौतम बुद्धको जन्मस्थलबारे द्विविधा हुन्थ्यो। किनकि बौद्ध ग्रन्थहरूमा गौतम बुद्धभन्दा अगाडि पनि २८ जना बुद्ध रहेको उल्लेख छ। निग्लिहवा र गोटिहवामा प्राप्त अशोककै स्तम्भले कनकमुनि र क्रकुच्छन्द बुद्धको अस्तित्व प्रमाणित गर्छन्। लुम्बिनीका हकमा अशोकले लेखाएका ९० वटा अक्षरकै कारण विश्वले गौतम बुद्धको जन्मस्थलका रूपमा चिन्न थालेको हो।
नेपालको तराईमा भएका पुरातात्त्विक उत्खननले यस क्षेत्रको प्राचीनता कुन हदसम्म उजागर गरेका छन्?
खासगरी मध्यतराई क्षेत्र बौद्ध पुरातात्त्विक दृष्टिकोणले निकै महत्त्वपूर्ण देखिन्छ। सबैभन्दा बढी उत्खनन पनि यही क्षेत्रका कपिलवस्तु, लुम्बिनी र नवलपरासीमा भएका छन्। नवलपरासीको रामग्राम, रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको तिलौराकोटमा २०० वर्षअघि नै जर्मन तथा इस्ट इन्डिया कम्पनीका पुरातत्त्वविद्ले अन्वेषण र उत्खनन थालेका थिए। पछिल्लो १२ वर्षदेखि जापानिज फन्ड इन ट्रस्ट (जेफिट)को आर्थिक सहयोगमा बेलायतको दुर्हाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र पुरातत्त्व विभागको समन्वयमा काम भइरहेको छ। पछिल्ला उत्खननमा आधुनिक विज्ञान प्रविधि प्रयोग गरिंदै छ। राजा शुद्धोधनको दरबार तिलौराकोटमा प्राप्त पुरातात्त्विक सामग्रीको जाँचले उक्त क्षेत्रको मानवीय इतिहास कम्तीमा इसापूर्व आठौं-नवौं शताब्दी पुरानो रहेको पुष्टि गर्छन्।
त्यस्तै, इटालियन संस्था इस्मियो, लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले सन् १९९२ देखि १९९६ सम्म गरेको उत्खननमा प्राप्त कोइलाको ‘रेडियो कार्बन डेटिङ’ गर्दा गोटीहवामा इपू ८१५ तिरै सांस्कृतिक उपक्रम विकास भइसकेको देखिएको छ। पुरातत्त्व विभागका पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा रामग्रामको सीमित क्षेत्रमा गरिएको उत्खननले नै रामग्राम स्तूप इपू छैटौं शताब्दीमै अस्तित्वमा रहेको प्रमाण दिएको छ। यसको अर्थ बुद्धको महापरिनिर्वाणपछि कोलीयहरू कुशीनगरमा पुगेर अस्थिधातुका लागि अनुरोध गरेका थिए र एक भाग पाएका थिए। सोही अस्थिभाग ल्याएर रामग्राम स्तूप बनाइएको प्रसंग फाहियान र ह्वेनसाङ जस्ता चिनियाँका यात्रावृत्तान्त र बौद्ध ग्रन्थहरूमा उल्लेख छ। रामग्रामको मुख्य भागमै उत्खनन गरिए यसभन्दा पनि पुराना सांस्कृतिक अवशेष भेटिने सम्भावना छ।
यी तिथिमितिको निर्क्योलबाट सिन्धु घाटी सभ्यतासँग पनि यस क्षेत्रको कुनै साइनो भेटिन्छ कि?
सिन्धु घाटी सभ्यताका विशेषतः तीन चरण देखिन्छन्। पहिलो- सिन्धु सभ्यतापूर्वको चरणमा विकसित संस्कृतिलाई ग्रामीण संस्कृति भनेर बुझिन्छ। त्यस्तै, दोस्रो चरण अर्थात् इपू २२५० देखि इपू १७५० का बीचमा विकसित सभ्यतालाई ‘मेचुअर्ड इन्डस सिभिलाइजेसन्स’ भनिन्छ। यो सभ्यता विविध कारणले मासियो। त्यसपछि पनि यस क्षेत्रमा सानो सांस्कृतिक विकास भएको छ, जसलाई ‘पोस्ट इन्डस सिभिलाइजेसन्स’ भनिन्छ। वस्तुतः सिन्धु घाटी सभ्यतामा उच्च नगर सभ्यता समेत विकास भएको पुरातात्त्विक प्रमाणहरूले देखाएका छन्। चेसबोर्ड प्रकारका बाटोघाटो, बाटो छेउछाउ भवनहरू, नगरको बीचमा स्नानागार, नगर खाई वा पर्खालले घेरिएका हुनु सिन्धु नगर सभ्यताका वास्तुकलात्मक विशेषता हुन्।
तिलौराकोट दरबारको अध्ययनले त्यहाँ पनि यस्तै वास्तुशैलीको प्रभाव देखिंदा यी दुईबीच सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ। यी दुई ठाउँका माटाका भाँडाको निर्माण पद्धतिमा पनि केही सादृश्य पाइन्छ। यद्यपि यत्तिकै भरमा लुम्बिनी-कपिलवस्तुलाई सिन्धुसँग जोड्नु कमजोर आधार हुनेछ। किनकि हामीकहाँ सिन्धु सभ्यतामा जस्तो माटाका भाँडाकुँडा उद्योगकै जसरी उत्पादन भएको पाइएको छैन।
लुम्बिनी-कपिलवस्तु क्षेत्रका पुरातात्त्विक उत्खननमा बौद्धकालपछिका अर्थात् मौर्यकाल र त्यसपूर्वका इँटा आदि भने निकै पाइएका छन्। त्यसैले यस क्षेत्रका पुरातात्त्विक संरचनालाई हरप्पा सभ्यतासँग जोड्न थप अध्ययन आवश्यक छ।
खण्डहर बनिसकेका लुम्बिनी-कपिलवस्तुको शुरूमा उत्खनन गर्नेहरूले कुन स्रोतका आधारमा ती ठाउँ पहिचान गरेका होलान्?
भारतका पुरातात्त्विक स्थलहरूको अध्ययन गर्ने तत्कालीन ब्रिटिश इन्डिया अन्तर्गतका बेलायतीलाई यसको श्रेय दिनुपर्छ। सन् १८६१ मा स्थापित भारतीय पुरातात्त्विक सर्वेक्षण (एएसआई)का पहिलो महानिर्देशक अलेक्जेन्डर कनिंघमले चिनियाँ यात्री ह्वेनसाङले यात्रावृत्तान्तमा लेखेका ठाउँ पछ्याउँदै अन्वेषण थालेका थिए। ह्वेनसाङले सम्बद्ध स्थानको भौतिक अवस्था, दिशा, भूबनोट र एकदेखि अर्को ठाउँसम्मको दूरीसम्मका विवरण उल्लेख गरेका छन्। सोही आधारमा कनिंघमले भारतीय क्षेत्रको सिंगो पुरातत्त्वलाई दिशानिर्देश गरे।
ह्वेनसाङले वर्णन गरेका बौद्धस्थलको अध्ययनका लागि उनले छुट्टै टोली बनाएका थिए। बोधगया, सारनाथ, कुशीनगर, नालन्दा, राजगीर, वैशाली, सांकाश्य, श्रावस्ती, साँची आदिको प्राचीनता उनकै कार्यकालमा पत्ता लागेको हो।
नेपालको सन्दर्भमा कुरा गर्दा, शुरूमा राणा शासकहरूले विदेशीलाई लुम्बिनी र कपिलवस्तु क्षेत्रमा उत्खनन गर्न सहमति दिएका थिएनन्। त्यति वेलासम्म भारतको सिद्धार्थनगर सहित विभिन्न क्षेत्रमा प्राप्त भग्नावशेषका आधारमा तिनै ठाउँ लुम्बिनी-कपिलवस्तु रहेको अनुमान समेत गरिंदै आएको थियो। तर ह्वेनसाङले तिलौराकोट दरबार भागीरथी नदीको किनारमा रहेको, लुम्बिनीमा अशोक स्तम्भ र त्यसमाथि घोडा रहेको भनी दिएको विवरणसँग ती भग्नावशेष मेल खाँदैनथे।
यस्तैमा सन् १८९३ मा जसकरण सिंह भनिने एक सैन्य अधिकृत (कसैले उनलाई नेपाली त कसैले श्रावस्ती नजीकैको बलरामपुरका बासिन्दा भन्छन्) तराईको जंगलमा शिकार खेल्न आउँदा अक्षर सहितको स्तम्भ देखेका थिए। त्यो विवरण समेटेर उनले पछि लखनऊबाट प्रकाशन हुँदै आएको पायोनियर पत्रिकामा लेख लेखे। त्यसका आधारमा कनिंघमले त्यही नै ह्वेनसाङले उल्लेख गरेको अशोकस्तम्भ रहेको अनुमान गरी थप अध्ययनका लागि निग्लिहवा जान दिन नेपाल सरकारसँग अनुरोध गरे। स्वीकृति पाएपछि भारतको उत्तर प्रदेश (नर्थ वेस्ट प्रोभिन्सेन अवध)का पुरातात्त्विक सर्वेक्षक फ्युहररलाई खटाइयो।
जर्मन नागरिक फ्युहरर सन् १८९५ मा निग्लिहवा पुगे। त्यहाँ रहेको अशोक स्तम्भलाई स्थानीयले भीमसेनको लाठी (भीमसेनले गाई चराउँदा लिएको लाठी) भन्ने गरेका रहेछन्। फ्युहररले स्तम्भलेखको उतार गरी फोटो खिचे। तर उनले ती अक्षर पढ्न सकेनन्। त्यसैले भियनामा रहेका गुरु जर्ज ब्युहलरलाई त्यो उतार पठाए। गुरुले ती अक्षर ब्राह्मी लिपिका रहेको जसमा कनकमुनि बुद्धको उल्लेख रहेको र उनको जन्म त्यही ठाउँमा भएको विवरण रहेको जानकारी दिए।
ह्वेनसाङले गरेको वर्णनमा कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाबाट अन्दाजी ५० ली (चिनियाँ भाषामा दूरीसूचक एकाइ) पूर्वमा लुम्बिनी बगैंचा रहेको उल्लेख छ। फ्युहररले त्यसपछि नेपाल सरकारसँग गौतम बुद्धको जन्मस्थल खोजी गर्न लुम्बिनी जाने अनुमति मागे।
सरकारले पाल्पाका बडाहाकिम खड्गशमशेरसँगको समन्वयमा यो काम गर्न भन्यो। सोही सिलसिलामा खड्गशमशेर र फ्युहररबीच सन् १८९६ नोभेम्बर ३० का दिन निग्लिहवामा भेट्ने र त्यसपछि थप अन्वेषण थाल्ने भनी पत्राचार भयो। सोही अनुसार फ्युहरर निग्लिहवा पुगे, तर खड्गशमशेर आएनन्।
खड्गशमशेर सोझै लुम्बिनी पुगिसकेका रहेछन्। स्थानीयले अशोक स्तम्भबारे जानकारी दिएपछि आफ्नै तरीकाले उत्खननको काम थाले। यद्यपि त्यो उत्खनन वैज्ञानिक तरीकाको थिएन। खड्गशमशेर नआएपछि फ्युहरर पनि लुम्बिनीतिरै लागे र त्यहाँ उत्खनन भइरहेको देखेपछि त्यसैमा मिसिए। भोलिपल्ट १ डिसेम्बरका दिन करीब तीन फिट खनिएपछि अभिलेख सहितको स्तम्भ भेटियो जसमा लेखिएको थियो- हिदबुधेजाते सक्यमुनीति।
निग्लिहवाको स्तम्भ अध्ययनपछि फ्युहरर ब्राह्मी लिपिबारे अलि अलि अड्कल लगाउने भइसकेका थिए। उनले उक्त वाक्यको अर्थ लगाएपछि गौतम बुद्धको जन्म यही ठाउँमा भएको तथ्य फेरि उजागर भयो। गौतम बुद्धको जन्मस्थल पत्ता लागेको भनी संसारभर प्रचार भयो। लुम्बिनीको इतिहासमा यो सबैभन्दा ठूलो उपलब्धि हो।
पछिल्लो समय ‘ग्रेटर लुम्बिनी’ को अवधारणा पनि आइरहेको छ। यो के हो?
अहिले नवलपरासीको रामग्राम र कपिलवस्तुको तिलौराकोटबीचको भागलाई आधार मानी ‘ग्रेटर लुम्बिनी’ को रेखांकन गरिएको छ। यसमा वाणगंगाभन्दा पूर्व अर्थात् दाउन्नेभन्दा तलको सानो शहर (रामग्रामपूर्व) बाट पश्चिम, उत्तरमा पूर्व-पश्चिम राजमार्ग र दक्षिणमा नेपाल-भारत सीमासम्मको भाग समेटिएको छ। तर यतिले पुग्दैन। बाणगंगा पछाडिको चतरादेही र यसपछाडिका केही भाग पनि समेट्नुपर्छ। यी क्षेत्रको पुरातात्त्विक अन्वेषण नै भएको छैन।
अघिल्लो चरणका फ्युहरर, पीसी मुखर्जी, देवलामित्र, बाबुकृष्ण रिजाल बाहेक पछिल्लो कालमा लुम्बिनी विकास कोषका प्रतिनिधि र इटालियन टोलीले बाणगंगादेखि पूर्व, कोठी नदीदेखि पश्चिम, पूर्व-पश्चिम राजमार्ग यताको क्षेत्रमा अन्वेषण गरी १३६ वटा पुरातात्त्विक स्थल पत्ता लगाएका थिए। तर तिनमा बौद्ध बाहेकका धर्मसम्बद्ध स्थलहरू पनि छन्।
पुरातत्त्वले सबै विषय र विधालाई समेट्नुपर्छ। बौद्ध पुरातात्त्विक स्थलको मात्र नभएर इस्लाम, हिन्दू वा अन्य जुनसुकै धार्मिक समुदायका प्राचीन स्थलको संरक्षण तथा संवर्द्धन गरिनुपर्छ। तर हामीले भन्ने गरेको ग्रेटर लुम्बिनीको अवधारणाले बौद्ध सम्बन्धी पुरातात्त्विक स्थललाई मात्र जोड दिएको देखिन्छ। जस्तो- लुम्बिनी विकास कोषलाई कपिलवस्तु क्षेत्रका सात वटा पुरातात्त्विक स्थल मात्र हेर्न दिइएको छ जुन बुद्धसँग मात्र सम्बद्ध छन्। ग्रेटर लुम्बिनीले त सबैखाले पुरातात्त्विक क्षेत्रको अध्ययनमा जोड दिनुपर्छ।
अर्कातिर एउटा समुदायविशेषमा केन्द्रित रही उत्खनन हुँदा अर्को समुदायमा असन्तोष फैलन सक्छ। जस्तो-गोटीहवामा उत्खनन गर्दा त्यहीं रहेको तौलेश्वर महादेवलाई बेवास्ता गरिए मानिसले प्रश्न उठाउनु स्वाभाविकै हुन्छ।
पुरातत्त्वको मर्म पनि धार्मिकताभन्दा माथि उठेर अन्वेषण र उत्खनन गर्नु हो। उत्खननबाट प्राप्त सामग्रीको प्राचीनता र महत्त्वको तुलनात्मक विश्लेषण गरी अतीतको उजागर गर्नु पुरातत्त्वको प्राज्ञिक परिधि हो।
लुम्बिनी क्षेत्रको बृहत् विकासका लागि तयार पारिएको गुरुयोजनाको पृष्ठभूमि के हो?
लुम्बिनीको पछिल्लो भौतिक विकासको कुरा गर्दा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ-थान्तलाई श्रेय दिनुपर्छ। बर्मेली नागरिक उहाँ सन् १९६७ मा आउँदा लुम्बिनी निकै उजाड र पिछडिएको स्थितिमा थियो। नजीकको शहर भैरहवा जोड्ने बाटो गतिलो थिएन। बिजुली, खानेपानी, स्वास्थ्य केन्द्र जस्ता पूर्वाधार, तीर्थयात्री बस्न होटल तथा धर्मशाला थिएनन्। जन्मजात बौद्ध धर्मावलम्बी उ-थान्तलाई यो कुराले विह्वल बनाएछ। अनि काठमाडौं पुगेपछि तात्कालिक राजा महेन्द्रसँग भनेछन्, “लुम्बिनी यस्तो ठाउँ हो जसले विश्वका भोकानांगा अनि युद्धमा रहेका देशलाई शान्तिमार्गमा ल्याउन सक्छ? अनि यही ठाउँको हालत चाहिं किन यस्तो?” राजाले उहाँको कुरा मनन गरे।
महासचिव उ-थान्तले सन् १९६८ मा तीन जनाको ‘एड्भाइजरी प्यानल’ पठाए जसलाई लुम्बिनीको समग्र अध्ययन गरी तत्काल के गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार पार्ने कार्यभार थियो। उनीहरूले प्रतिवेदनमा सबैभन्दा पहिले भैरहवादेखि लुम्बिनीसम्म सडक निर्माण, खानेपानी तथा बिजुली, तीर्थयात्रीका लागि बसोबासको व्यवस्था मिलाउनुपर्ने र एअरपोर्ट थप विस्तार गर्नुपर्ने सुझाए। त्यसपछि सन् १९७० को राष्ट्रसंघीय महासभामा उ-थान्तले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे। यसमा १३ वटा देशका प्रतिनिधिले हात उठाउँदै लुम्बिनीको विकासका लागि आवश्यक सहयोग गर्न सहमति जनाए।
तिनमा अफगानिस्तान, पाकिस्तान, श्रीलंका, कम्बोडिया, भियतनाम, लाओस, जापान, मलेशिया, सिंगापुर आदि थिए। तिनै देशको एउटा कमिटी पनि बनाइयो- इन्टरन्याशनल कमिटी फर द डेभलपमेन्ट अफ लुम्बिनी (आईसीडीएल)। केन्द्रीय कार्यालय वाशिङटनमा राखियो। सन् १९७२ मा पाकिस्तानबाट छुट्टिएको बाङ्लादेश र पछि भूटान पनि कमिटीमा थपिए। कमिटी र नेपाल सरकारले सन् १९७२ मा विश्वप्रसिद्ध वास्तुकलाविद् केन्जो टांगेलाई लुम्बिनी क्षेत्रको गुरुयोजना तयार पारिदिन अनुरोध गरे। उनले ६ वर्ष लगाएर सन् १९७८ मा गुरुयोजना तयार पारे।
गुरुयोजना कार्यान्वयनको स्थिति चाहिं के छ?
केन्जो टांगेले गुरुयोजनामा बुद्धशिक्षालाई पनि महत्त्वपूर्ण स्थान दिन खोजेको देखिन्छ। उनले लुम्बिनीलाई तीन भागमा छुट्याएर दक्षिणतिरको स्क्वायर माइललाई पवित्र उद्यानभूमि, बीचको एक माइललाई अन्तर्राष्ट्रिय विहार क्षेत्र र उत्तरतिरको एक माइललाई नवलुम्बिनी ग्राम नाम दिएका छन्। यो विभाजन दार्शनिक दृष्टिकोणबाट भएको छ। बौद्ध धर्ममा बुद्ध, धर्म र संघ त्रिरत्न मानिन्छन्। यस्तोमा पवित्र उद्यानले बुद्ध, विहारहरू रहेको बीचको स्क्वायरले धर्म र उत्तरतिरको स्क्वायरले संघको प्रतिनिधित्व गर्छन्। संघ किनभने त्यो भागमा बुद्धशिक्षा अनुकरण गर्ने होटल व्यवसायी र लुम्बिनी विकास कोषका कर्मचारीको निवास छ।
अनि यी तीन भागलाई गहिरिएर हेर्दा यिनले बुद्धशिक्षाका तीन मुख्य मर्म दुःख, अनित्य र अनात्मा, त्यसै गरी अष्टांगिक मार्गमा पर्ने शिल, समाधि र प्रज्ञालाई पनि प्रतिविम्बित गरे जस्तो लाग्छ।
उत्तरबाट दक्षिणतिर हेर्दा तीर्थयात्री बस वा एअरपोर्टबाट झरेर सीधा आवास क्षेत्र अर्थात् नवग्राम पुग्छन्। त्यहाँबाट पुस्तकालय, संग्रहालय हुँदै विहार क्षेत्रमा जान्छन्। यसलाई दार्शनिक रूपमा बुझ्दा नवग्राम क्षेत्रले साधारण जीवन, संग्रहालय-पुस्तकालय क्षेत्रले शैक्षिक जीवन, विहार क्षेत्रले धार्मिक जीवन र लुम्बिनी बगैंचाले प्रज्ञालाई संकेत गर्छन्। टांगेले म्याग्नेटिक नर्थमा अशोक स्तम्भ र धवलागिरि हिमाललाई जोडेका छन्। त्यसैले उनको गुरुयोजनालाई सतही भावमा बुझेर हुँदैन। उनीसँग प्राज्ञिक समूहले नै काम गरेको थियो। गुरुयोजनामा अनेक रूखबिरुवा रोप्ने समेत उल्लेख छ। गुरुयोजना कार्यान्वयन गर्दैगर्दा उनले डिजाइन गरेको दार्शनिक पक्षलाई बेवास्ता पो भइरहेको छ कि भन्नेमा गहिरिएर हेर्नुपर्छ।
म लुम्बिनी विकास कोषमा जोडिंदा पञ्चायतकाल नै थियो। कोषका अध्यक्ष हुनुहुन्थ्यो, लोकदर्शन बज्राचार्य। उहाँकै पालामा ११५५ बिघा जमीन अधिग्रहण गरियो। त्यस क्रममा पाँच-सात वटा गाउँलाई स्थानान्तरण गरी वृक्षरोपण, विभिन्न संरचनाको निर्माण थालियो।
त्यसयता एकपछि अर्को गरी भएका राजनीतिक व्यवस्था परिवर्तनको प्रभाव विकास कोष र गुरुयोजनामा पनि पर्दै गयो। त्यसैले आज गुरुयोजनाबारेको बुझाइ पञ्चतन्त्रको कथामा दृष्टिविहीनहरूले हात्ती छामेर बनाएको दृष्टिकोण जस्तै भ्रान्तिपूर्ण बनेको छ। विधागत विज्ञका साटो बाहिरका मान्छेको हातमा पुगेकैले टांगेको गुरुयोजनाको अपव्याख्या हुन पुग्यो।
मैले कतै कोषकै पदाधिकारीले गुरुयोजनाको काम ८० प्रतिशत सकिएको भनेको सुनें। तर मलाई टांगेको गुरुयोजनालाई जुन रूपमा सम्बोधन गर्नुपर्ने हो, भए जस्तो लाग्दैन। अर्को कुरा, यसमा स्थानीय र प्रादेशिक सरकारको पनि खासै भूमिका देखिएन। केन्द्र सरकारका पदाधिकारीहरू नै कोषमा आफ्नो भूमिकाबारे अन्योलमा देखिन्छन्। टांगेको गुरुयोजनालाई साकार पार्ने हो भने यो विधागत विज्ञहरूको हातमा पुग्नुपर्छ। पुरातत्त्व विभागको महानिर्देशक स्वतः कार्यकारिणी सदस्य हुनुपर्यो। सुरक्षा अधिकारीसँग पनि समन्वय हुनुपर्छ। यो धार्मिक नभई विशुद्ध प्राविधिक संस्था हो। प्राविधिक पक्षमा काम गर्न सम्बन्धित विज्ञ नै चाहिन्छ।
मायादेवी मन्दिरको उत्खनन कार्यमा यहाँ आफैं संलग्न हुनुभयो। यो मन्दिरको प्राचीनता के हो र उत्खननपछि बनाइएको संरचनाले त्यसलाई कत्तिको प्रतिविम्बित गरेको छ?
ह्वेनसाङ लुम्बिनी आउँदा अर्थात् सातौं शताब्दीसम्म यहाँ मन्दिर थिएन। मन्दिर हुन्थ्यो त, उनले यात्रावृत्तान्तमा पक्कै खुलाउँथे। उनले मायादेवीले बुद्धलाई जन्म दिंदा समातेको रूख मरिसकेको स्थितिमा रहेको उल्लेख गरेका छन्। उनीभन्दा अघि इस्वीको चौथो शताब्दीतिर (इसं ३५०-३७५ को बीचमा) लुम्बिनी पुगेका अर्का चिनियाँ यात्री सेनसाइको यात्रावृत्तान्तमा बुद्ध जन्मेको स्थानलाई एउटा ढुंगाले छोपिएको, त्यसमा मानिसले फूल चढाउने गरेको, नजीकै मायादेवीले बुद्धलाई जन्म दिंदा समातेको रूख रहेको र त्यसको फेदमा मायादेवीले बुद्धलाई जन्म दिंदाको भाव व्यक्त गरिएको मूर्ति रहेको वर्णन छ।
यसरी हेर्दा ह्वेनसाङ आएको समयपछि मात्र यी ठाउँहरूमा हिन्दू (सनातन) धर्मको प्रभाव परेको हुनुपर्छ। आठौं-नवौं शताब्दी ताका कुदान स्तूपको माथिल्लो भागमा शिवलिंग राखिएको थियो। भारतीय पुरातत्त्वविद् देवलामित्राले गरेको उत्खननमा महिषमर्दिनीको मूर्ति भेटियो जसलाई उनले आठौं-नवौं शताब्दीको मानेकी छन्। फ्युहरर र मुखर्जी आदिले पनि स्तूपको माथिल्लो भागमा बाबाजीको मठ रहेको चर्चा गरेका छन्। मुखर्जीले खिचेको तस्वीर हेर्दा ढिस्कोमाथि एउटा संरचना देखिन्छ। त्यहाँ शिवमन्दिर रहेको र सधैंभरि ताल्चा लाग्ने गरेको मुखर्जीले लेखेका छन्। सेनसाइले बुद्ध जन्मिएको स्थानमा ढुंगाले छोपिएको र त्यहाँ भक्तजनले पूजा गर्ने गरेको उल्लेख गरेकामा सम्भवतः त्यही ढुंगा राख्न बनाइएको संरचनालाई पछि मन्दिर भनियो र यही नामले निरन्तरता पायो।
टांगेले गुरुयोजना बनाउनुअघिसम्म यही मन्दिरलाई वनदेवी भनी स्थानीयले पशुबलि समेत दिने गरेका थिए। सन् १९१२ मा लुम्बिनी आएका जापानी भिक्षु इकाइ कावागुचीले पनि यो कुरा लेखेका छन्। मानिसहरूले लामो समयदेखि देवीका रूपमा पूजा गरेकैले यो संरचनाले मन्दिरको स्वरूप लिएको तथ्य बुझ्नुपर्छ।
उत्खनन गर्नुअघि त्यहाँ एउटा पीपलको रूख थियो, त्यसको जराले चारैतिरबाट मन्दिरको संरचना कमजोर बनाइरहेकाले पनि संरक्षण जरूरी भइसकेको थियो। उत्खननपछि त्यहाँ कस्तो संरचना बनाउने भन्नेबारे विज्ञहरूबीच छलफल गरियो। अन्तिममा युनेस्कोले इँटा विशेषज्ञ बेन्डाकिरलाई लुम्बिनी पठायो। उनले लुम्बिनी क्षेत्रको समग्र वस्तुस्थिति अध्ययनपछि संरक्षणका लागि भग्नावशेष छोप्नै पर्ने प्रतिवेदन दिए। उनीभन्दा अघि प्राध्यापक सुदर्शनराज तिवारीले मन्दिर र बुद्ध जन्मस्मारक शिला (मार्कर स्टोन) माथिबाट मात्र छोप्ने गरी चार वटा स्तम्भ राखेर नेपाली शैलीको छानो हाल्ने तर चारैतिर खुला राख्ने सत्तल प्रकृतिको संरचना बनाउन सुझाएका थिए।
म, पुरातत्त्व विभागका पुरातत्त्वविद् कोशप्रसाद आचार्य र श्रीलंकाका गामिनी आदिले यो डिजाइनमा छलफल गरी स्विकारी पनि सकेका थियौं। तर युनेस्कोका विज्ञले छानो हाल्ने मात्र नभई पूरै छोप्नुपर्नेमा जोड दिएपछि इन्जिनीयर जीवराज पोखरेलको नेतृत्वमा एउटा टीम बन्यो। अब उत्खननअघिकै स्वरूपमा मायादेवी मन्दिरको डिजाइन गरियो। यो डिजाइनमा मन्दिरको माथिपट्टि स्तूपको संरचना थिएन। पछि भिक्षु सुदर्शनको सल्लाहमा थपिएको हो।
पुरातात्त्विक दृष्टिले यो भग्नावशेषहरूको संरक्षणका लागि बनाइएको संरचना हो। किनकि भग्नावशेष जोगाउनकै लागि यहाँ इँटा, फलाम आदि प्रयोग गरिएको छ। अब धार्मिक आस्थाका हिसाबले हेर्दा मायादेवीको मूर्ति रहेकाले यो मन्दिर हो। आस्थावान्हरूलाई यहाँको संरचना केले बनेको हो भन्ने कुरासँग सरोकार हुँदैन। बौद्ध गतिविधि कम हुँदै गएपछि त्यो संरचना मन्दिरको स्वरूपमा आयो। अतः यसलाई दुवै रूपमा लिन सकिन्छ।
मायादेवी मन्दिरछेउकै अशोक स्तम्भ र त्यसमा उत्कीर्ण अभिलेखको सुरक्षाको स्थिति के छ?
वर्षौंदेखिको घामपानीसँगै मानवीय कारणले पनि अशोक स्तम्भ जोखिममा छ। तीर्थयात्रीले चढाउने अबीर, केशरी, कपूर, धूप आदिका कारण यसमा लेखिएका अक्षरमा क्षति पुगिरहेको छ। थाई र ताइवानीहरूले पर्फ्यूम अनि श्रीलंकालीहरूले दूध पनि चढाउने गरेका छन्। लुम्बिनीलाई विश्वसामु चिनाउन मुख्य भूमिका रहेका यी अक्षर जोगाउनु विश्व समुदायकै दायित्व हो।
यसको संरक्षणका लागि थाइल्यान्डको थाई पुएङ थाई फाउन्डेशन संस्थासँग मिलेर अक्षर रहेको भागमा फूलअक्षता आदि नपरोस् भनी चारैतिरबाट सिसाले घेर्ने अवधारणा ल्याइएको थियो। तर कोषबाट मेरो निवृत्ति भएपछि यो काम त्यत्तिकै अड्कियो।
मन्दिरको गर्भगृहमा पनि समस्या छ। मन्दिरछेउको १८ फिट गहिरो पोखरीबाट रसाउने पानीले गर्भगृहका कोष्ठमा असर पुर्याइरहेको छ। अर्कातिर मन्दिरमा कतै पनि झ्याल छैन जसले गर्दा भित्रको आर्द्रता जहिल्यै उच्च हुन्छ। दर्शनार्थीको श्वासप्रश्वासबाट निस्कने कार्बनडाइअक्साइडले पनि भित्रको आर्द्रतामा समस्या ल्याउँछ। यसको न्यूनीकरणका लागि युनेस्कोका विज्ञले भित्र हावा ओहोरदोहोर हुने व्यवस्था गर्न सुझाएका थिए। यसो गर्दा सापेक्षिक आर्द्रता कम हुन्छ। आर्द्रता कम भएपछि इँटाहरूमा तुलनात्मक रूपमा कम लेउ उम्रन्छ र बिग्रन पाउँदैन। बुद्ध जन्मस्मारक शिला (मार्कर स्टोन)मा पनि लेउ, झ्याउ र काई स्थायी रूपमै हटाइनुपर्छ।
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न नेपालले विश्व सम्पदा केन्द्रमा मनोनयन दस्तावेज पेश गरिसकेको छ। यसका लागि हामीसँग पर्याप्त प्रमाण जुटिसकेका हुन्? आधिकारिक रूपमै नभए पनि तिलौराकोटबारे यदाकदा फरक दाबी पनि सुनिन्छ नि?
विश्वसम्पदा सूचीमा पर्न जुन मापदण्ड छ, त्यस अनुसारका प्रमाण यथेष्ट उपलब्ध छन्। विश्व सम्पदामा पर्न हुुनुपर्ने आधिकारिकता र विश्वव्यापी मूल्य लगायत कोणबाट तिलौराकोट- राजा शुद्धोधनको दरबारको विस्तृत अध्ययन भइसकेको छ। तर पक्षराष्ट्रले आवेदन दिएकै भरमा कुनै सम्पदा सूचीकृत हुँदैन। हामीले दिएका दस्तावेजलाई विश्व सम्पदासँग जोडिएका इक्रोम, इसिमोड र आईयूसीएन जस्ता अन्तर्राष्ट्रिय संस्थाले अध्ययन-परीक्षण गर्छन्। त्यसैले पेश गरिएको प्रतिवेदन मनोनयन प्रक्रियामा जान पनि सक्छ, नजान पनि। तर तिलौराकोट बाहेक अरू कुनै यस्तो पुरातात्त्विक क्षेत्रको सम्भावना छैन, जसलाई प्राचीन शाक्यहरूको राजधानी दाबी गर्न सकियोस्। सबैले यो कुरा मानिआएकै हुन्।
सन् १९६२ मा भारतीय पुरातत्त्वविद् देवलामित्रले लुम्बिनी-कपिलवस्तुमा उत्खनन गरेपछि केही विवाद झिक्न खोजिएको चाहिं हो। उनलाई भारतीय पुरातत्त्व सर्वेक्षणले कुदान स्तूप क्षेत्रको उत्खनन गर्न र तराई क्षेत्रका केही भागको अन्वेषण गर्न पठाएको थियो। त्यही क्रममा उनले तिलौराकोटमा उत्खननका लागि ‘ट्रेन्च’ तयार पारिन्। उनले जहाँ उत्खनन गरिन्, त्यो ठाउँ नै सही थिएन। उनीसँग आएका सर्भेयर सुकुमार दत्तले तिलौराकोटको भौगोलिक नक्शा बनाएका थिए र हामी पनि अहिले त्यही प्रयोग गर्छौं।
तिलौराकोटको सबैभन्दा उच्च बिन्दु त्यो नक्शामै प्रस्ट छ। तर देवलामित्रले त्यो बिन्दुको साटो बाहिरी सुरक्षा पर्खालतिर उत्खनन गरिन्। अनि त्यही पर्खालमा पाइएको पुरातात्त्विक सामग्रीकै आधारमा पूरै तिलौराकोटको तिथि आफूखुशी निर्धारण गर्दै यसलाई इपू दोस्रो-तेस्रो शताब्दीभन्दा पछाडिको संरचना भनेर लेखिन्। फेरि नर्दन ब्ल्याक पोलिस्ड वेयर (एनबीपी)का आधारमा इपू छैटौं शताब्दीसम्म जान सकिने विवादास्पद प्रतिवेदन पनि दिएकी छन्। आफ्नो किताब बुद्धिस्ट मनुमेन्टमा त भारतको पिप्रहवा प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तु हुन सक्ने भाव व्यक्त गरेकी छन्।
पछि भारतीय पुरातत्त्व विभागको महानिर्देशक बनेकी उनले सन् १९७२ मा केएम श्रीवास्तवलाई पिप्रहवामा पठाएकी थिइन्। विहार र स्तूपहरू रहेको पिप्रहवा साधारण धार्मिकस्थल मात्र हो। तर श्रीवास्तवले आफ्नो उत्खनन प्रतिवेदन ‘द लास्ट सिटी अफ कपिलवस्तु फाउन्ड’ मा पिप्रहवालाई नै शाक्यहरूको राजधानी लेख्दै विवादमा घ्यू हाल्ने काम गरे। यो हुनै नसक्ने गलत र नियोजित तर्क हो जसलाई विभिन्न तथ्यप्रमाणले गलत ठहर्याइसकेका छन्।
मुख्य कुरा त त्यति वेलाका राजधानी वा किल्लाका विशेषता बुझ्नुपर्छ। तिनीहरू ठूलाठूला पर्खालले घेरिएका, प्राचीन व्यापारिक मार्गहरूसँग जोडिएका हुन्थे। बौद्ध ग्रन्थहरू पल्टाएर हेर्दा कपिलवस्तुको पूर्वी सिमाना रोहिणी नदी, पश्चिमी सिमाना अछिरावती, दक्षिण पश्चिमको सिमाना कोशल राज्य भनी लेखिएको छ। भारतीय विद्वान् राहुल सांकृत्यायनले उत्तर प्रदेश राज्यको बस्ती जिल्लालाई प्राचीन कोशल राज्य भनेका छन्।
पहिले त्यताका पिप्रहवा र गनवरिया क्षेत्र पनि कपिलवस्तुभित्रै पर्थे। बौद्ध ग्रन्थहरूमा कपिलवस्तुको उत्तरी क्षेत्रमा हिमालय रहेको चर्चा छ। त्यो भनेको अहिलेको चुरे पर्वतलाई संकेत गरिएको हुनुपर्छ। यी सबै पक्ष र कपिलवस्तु राज्यको प्रशासनिक केन्द्र कहाँ थियो भन्ने अध्ययन गरे तथ्यमा पुगिहालिन्छ। माथि उल्लिखित क्षेत्रहरूको उत्खनन गरी प्राप्त सामग्रीका आधारमा काल निर्धारण गरिए एउटै समय वा सांस्कृतिक उपक्रम भेटिन सकिन्छ।