गौतमको ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
प्राध्यापक कृष्ण गौतमको उपन्यास अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएको छ।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालको पद्मश्री साहित्य पुरस्कार गौतमको कृति अद्वैतलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए। मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा अत्यन्तै परिष्कृत तथा बोधगम्य भाषा र शैलीमा लेखिएकाले यस उपन्यासलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि पनि हुन्। उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
यस पुरस्कारका लागि १८७ पुस्तक प्राप्त भएका थिए। त्यसमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा पाँच पुस्तक सार्वजनिक गरिएको थियो।
त्यस्तै, पद्मश्री साधना सम्मान पवनकुमार चाम्लिङलाई प्रदान गरिने भएको छ। भारतको सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङ नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेकाले सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
यसैगरी, प्राध्यापक केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने भएको छ। समतामूलक समाज निर्माणका लागि निरन्तर योगदान गरेकाले माथेमालाई पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष लामिछानेले बताए। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् पूर्व राजदूत माथेमा नागरिक अभियन्ताका रूपमा क्रियाशील छन्।
सबै पुरस्कार र सम्मानको राशि जनही तीन लाख रुपैयाँ छ।