विष्णु माझीकी मोडल पनि गुपचुप!
लोकप्रिय गायिका विष्णु माझी मात्र हाेइन, उनका पछिल्ला गीतमा मोडलिङ गर्ने मोडल एवं गायिका ललिता पौडेल पनि गुपचुप छिन्।
चर्चित गायिका विष्णु माझीको तीज गीत ‘आइनँ आमा यो तीजमा’ ले कीर्तिमान कायम गर्यो। यूट्यूबमा प्रिमियर भएको दुई सातामै डेढ करोड ‘भ्यूज’ पायाे।
नयाँ गीत आएपछि गायिका माझीको चर्चासँगै प्रशंसा त हुने नै भयो, यो म्युजिक भिडिओका कारण एक जना मोडलले पनि प्रशंसा पाइरहेकी छन्। उनी हुन्, ललिता पौडेल। उनी यो म्युजिक भिडिओमा मुख्य भूमिकामा छन्। तर करोड क्लबकी यी मोडलबारे सञ्चारमाध्यममा ज्यादै थोरै जानकारी आएका छन्।
गायिका माझीका गीतमा दीपाश्री निरौला, सुषमा कार्की, ज्योति मगर, विनु सुवेदी, सम्झना बुढाथोकी लगायत मोडलले अभिनय गरेका छन्। उनीहरूले अन्य गीत र फिल्ममा पनि काम गरेका छन्। तर पछिल्लो समय माझीका गीतमा देखिएकी पौडेल भने अन्य गायकगायिकाका गीतमा देखिएकी छैनन्।
उनी अन्य सांस्कृतिक कार्यक्रममा पनि देखिएकी छैनन्। लोक तथा दोहोरी प्रतिष्ठानका पदाधिकारी पनि गायिका एवं मोडल पौडेलबारे धेरै जानकारी नभएको बताउँछन्। उनी प्रतिष्ठानमा पनि आबद्ध नभएको सचिव शंकर विरही गुरुङले जानकारी दिए। “लोक तथा दोहोरी प्रतिष्ठानमा जोडिनुभएको छैन,” गुरुङ भन्छन्।
किन पाैडेल गुपचुप छन् त? उनीसँग काम गरेका केही गायक, गायिकासँग हिमालखबरले कुराकानी गरेको छ। कतिपयले धेरै जानकारी नभएको प्रतिक्रिया दिए भने केहीले सम्पर्कमा नभएकाले बोल्न नमिल्ने बताए। करीब डेढ दशकअघि पौडेललाई चिनेका र लामो समय सँगसँगै काम गरेका लोक तथा दोहारी गायक मौसम गुरुङ गुपचुप बस्नुको कारण थाहा नभएको बताउँछन्। पछिल्लो चार वर्षदेखि सम्पर्क नभएको गुरुङको भनाइ छ।
“हामीले सँगै काम गरेका थियौं। मेरो गीत पनि गाउनुभएको छ,” गायक गुरुङ भन्छन्, “चार वर्षअघि एक्कासि हराउनुभयो। एक दिन ल्यान्डलाइनबाट फोन आएको थियो। ललिताले ‘म अब फोन गर्न पाउँदिनँ, दादा। मेरो फोन पनि छैन। फेसबूक पनि चलाउन पाउँदिनँ’ भन्नुभयो। त्यसपछि सम्पर्क भएको छैन।”
पौडेलले पछिल्लो केही वर्षयता अरूका गीतमा काम गरेको नदेखेको उनी बताउँछन्। “अहिले त विष्णु माझीको गीतमा मात्रै खेल्नुभएको छ, अरूसँग काम गरेको देखेको छैन,” गुरुङ भन्छन्।
पौडेलसँगै गायिका विष्णु माझी र सुन्दरमणि अधिकारीलाई नजिकबाट चिन्ने लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटा पनि पछिल्लो समय उनी गुपचुप जस्तै रहेको बताउँछन्। “ललिता पनि विष्णु माझी जस्तै छिन्, माझीका गीतमा मात्रै मोडलिङ गर्छिन्,” सापकोटा भन्छन्, “अरूसँग काम गर्दिनन्। त्यसैले अन्य कलाकारसँग पनि सम्पर्कमा आउँदिनन्।”
सपना म्युजिक इन्डस्ट्रिजको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत सुन्दरमणि अधिकारीले लेखेका हुन्। अधिकारीले नै संगीत भरेका छन्। अधिकारी गायिका माझीका श्रीमान् हुन्।
यसअघि मोडल पौडेल गायिका माझीकै ‘चरी जेलैमा-२’ गीतमा देखिएकी थिइन्। २०७९ सालको तीजमा आएको यो गीतले पनि दर्शक तान्न सफल भएको थियो। दुई वर्षको अवधिमा ‘चरी जेलैमा-२’ गीत यूट्यूबमा एक करोड २० लाख पटक हेरिएको छ।
त्यसको एक वर्षअघि २०७८ सालको तीजमा माझीको नयाँ तीज गीत आएको थियो, ‘चरी जेलैमा’। यो गीतले पनि अहिलेसम्म साढे पाँच करोड ‘भ्यूज’ बटुलिसकेको छ। माझीको यो गीतमा पनि मोडल थिइन्, उनै पौडेल। साँच्चै भन्ने हाे भने यो गीतले उनलाई चर्चामा ल्याएको थियो।
त्यस्तै, २०७७ सालमा माझीको ‘कति महीना भो’ गीत आएको थियो। अधिकारीकै शब्द र संगीत रहेको यो गीतको म्युजिक भिडिओमा पनि पौडेलले मोडलिङ गरेकी थिइन्। यसमा उनीसँगै अधिकारीले पनि मोडलिङ गरेका थिए।
त्यस वर्षको तीजमा माझीले ‘नदीया सलसल’ गीत ल्याएकी थिइन्। यो गीतको म्युजिक भिडिओमा पनि पौडेलकै अभिनय थियो। माझीका ‘म रोएर तिमीलाई, ‘शीत’ लगायतका गीतमा पनि पौडेल देखिएकी छन्। जसमा अधिकारीले पनि अभिनय गरेका छन्।
को हुन् ललिता?
ललिता पौडेलसँग काम गरेका गायक, गायिका तथा कलाकारका अनुसार उनी गुल्मीकी बासिन्दा हुन्। सानैदेखि गाउने र नाच्ने गर्थिन्। विद्यालयमा हुने प्रतियोगिता थुप्रै पटक पुरस्कार जितेकी थिइन्। गायक मौसम गुरुङ सुनाउँछन्, “स्कूलमा तपाईंको गीत गाएर थुप्रै पुरस्कार जितेको छु भन्थिन्।”
उनी स्कूलको पढाइ सकेपछि १० वर्षअघि काठमाडौंमा आएकी थिइन्। सीतापाइलामा दिदीसँगै बसेर सांगीतिक क्षेत्रमा सक्रिय भइन्। दिदी भने लोक सेवाको तयारी गर्थिन्। उनी लोक सेवामा पास भएर नुवाकोट खटिएकी छन्।
शुरूआतमा पौडेलले गीत गाइन्। गायक गुरुङ पौडेल आफ्नो गीत पनि गाएको सुनाउँछन्। “ललिताजी र मैले ‘बरबर आँसु झर्यो’, ‘निभेको आगो म कसले ताप्छ र’ गीत गाएका थियौं, तर चलेनन्,” गुरुङ भन्छन्। पौडेलको स्वरमा ‘निभेको आगो म कसले ताप्छ र’ को दोस्रो भाग पनि आएको थियो।
त्यस्तै, उनले महेन्द्र भण्डारीसँग पनि गीत गाएकी छन्। पौडेल र भण्डारीको स्वरमा रहेको ‘कर्मैले’ गीत २०७५ सालमा आएको थियो। सन्तोष केसीको शब्द तथा संगीत रहेको ‘दाइकी साली मन पर्यो’ गीतमा पनि पौडेलको स्वर छ।
उनी मोडलिङभन्दा पनि गायनमा राम्रो रहेको गुरुङको मूल्यांकन छ। “ललिता राम्री गायिका हुन्, स्वर पनि एकदमै राम्रो छ,” उनी भन्छन्।
तथापि गायनमा जम्न नसकेपछि उनी मोडलिङतिर लागिन्। म्युजिक भिडिओमा दर्शकले मन पराएका थिए। उनले सुन्दरमणि अधिकारीसँगै म्युजिक भिडिओमा मोडलिङ थालेकी थिइन्। माझीका पछिल्ला केही गीतमा पनि अधिकारीसँगै अभिनय गरेकी छन्। लाेक तथा दोहोरी गायक तथा गायिकाहरू सुन्दरमणि अधिकारीले नै ललिता पौडेललाई मिडियामा आउन नदिएको दाबी गर्छन्।
करोड ‘भ्यूज’
गायिका माझीका गीत सधैं चर्चामा रहन्छन्। उनका गीतलाई दर्शकले पनि उत्तिकै मन पराउँछन्। धेरैजसो गीतले यूट्यूबमा करोड ‘भ्यूज’ पाएका छन्।
यो तीजमा आएको ‘आइनँ आमा यो तीजमा’ ले दुई सातामै डेढ करोड ‘भ्यूज’ बटुलेको छ। सबैभन्दा छिटो करोड ‘भ्यूज’ पाउने गीत बनेको छ।
त्यस्तै, दुई वर्षअघि २०७९ सालको तीजमै सार्वजनिक भएको ‘चरी जेलैमा-२’ गीत एक करोड २० लाख पटक हेरिएको छ। त्यसअघि २०७८ सालको दशैंअघि आएको ‘दशैंतिहार आइसक्यो’ गीतले एक करोड ३० लाख ‘भ्यूज’ पाएको छ।
त्यही वर्ष तीजमा आएको ‘चरी जेलैमा’ ले त कीर्तिमान नै बनाएको छ। यो गीत अहिलेसम्म पाँच करोड ४० लाख पटक हेरिएको छ।
२०७७ सालमा आएको ‘नदीया सलसल’ ले पनि एक करोड ६० लाख ‘भ्यूज’ पाएको छ भने त्यो भन्दा एक वर्षअघिको तीज गीत ‘डाली नुगाइदेऊ न राजै’ एक करोड ७३ लाख पटक हेरिएको छ। उनका अन्य गीत पनि लाखौं पटक हेरिएका छन्।
यो पनि पढ्नुहोस् : अझै किन ‘चरी जेलैमा!’