चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण अन्तिम चरणमा
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।
रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतस्थित चिलिमे हब सबस्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली-३ ‘बी’ हब सबस्टेशनसम्मको २८ किलोमिटर प्रसारण लाइनकाे अन्तिम चरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। दशैंअघि नै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको प्राधिकरणको भनाइ छ।
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली-३ ‘बी’ हब सबस्टेशन निर्माण भइसकेका छन्। प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ। एउटा टावर जडान कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ।
२८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ। टावर जडान र बाँकी रहेको तार तान्न करीब २०० जना श्रमिक परिचालन गरिएका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायतको उच्चस्तरीय टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दशैंअघि नै काम सक्ने समयसीमा तोकेको छ। आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, श्रमिक थपेर कामलाई तीव्रता दिन आग्रह गर्दै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोही अनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ।
प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिनेछ। दुवै आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा विद्युत् उत्पादन गर्न पाएका छैनन्।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए। “यो लाइन बन्न नसक्दा दुई जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरू गर्न सकिरहेका छैनन्, विकट भौगोलिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, बाँकी काम सम्पन्न गर्न पहल गरिरहेका छौं,” घिसिङले भने।
उत्तरगया गाउँपालिका-१ को तिरुदेखि सिरुचेतसम्म एक हजार २३५ मिटर तार तान्नुपर्ने छ। मैलुङ खोलामाथि पर्ने यो खण्डमा ड्रोनको प्रयोग गरी तार तान्ने तयारी भइरहेको छ।
खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरण ढुवानी गरी नौ वटा टावर निर्माण गरिएको छ। दुई वटा टावरका लागि हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरिएको छ। प्रसारण लाइन अन्तर्गत चिलिमे-मैलुङ खण्डमा २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली-३ ‘बी’ हबसम्म आठ किलोमिटर मल्टिसर्किट लाइन निर्माण गरिएको छ।
कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टिसर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली-१ ले मल्टिसर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ। प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी पिंगाओ ग्रूप अफ कम्पनीजसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको थियो।