संरक्षित क्षेत्र र सुनको फुल पार्ने कुखुरा
संरक्षित क्षेत्रमा भौतिक विकासको रहर गरे सुनको अन्डा दिने कुखुरालाई आजै मारेर सम्पन्न बन्ने लहड सावित हुनेछ।
यो आलेखको मूल विषयमा प्रवेश गर्नुअघि हामीले सानैबाट सुन्दै आएको कथा सम्झौं-
एकादेशमा एउटा किसान थियो। उससँग सुनको अन्डा पार्ने एउटा पोथी कुखुरा थियो। किसानले त्यो अन्डा बेचेर राम्रै आम्दानी गरिरहेको थियो।
एक दिन उसले सोच्यो- दिनको एउटा अन्डा पार्ने यो पोथीको पेटभित्र पक्कै पनि थुप्रै सुन हुनुपर्छ। त्यो सोचाइसँगै किसानले कुखुरा काटेर एकै पटक धनी बन्ने योजना बनायो, तर विडम्बना कुखुराको पेटभित्र एउटा पनि अन्डा थिएन!
नकाटेको भए त्यो कुखुराले बाँचुन्जेल अन्डा पारिरहन्थ्यो र किसानको आर्थिक जीवन सहज भइरहन्थ्यो। बजारीकरणमा अलिकति ध्यान दिंदा अझै राम्रो हुन्थ्यो। तर किसानले मूर्खताको बाटो रोज्यो।
हालैका दिनमा यो कथाका पात्र परिवर्तन भएका छन्। सरकार र हामी जनता यो कथाको किसान भएका छौं भने नेपालका निकुञ्ज र संरक्षित क्षेत्र सुनको अन्डा पार्ने कुखुरा।
बाघ, गैंडा, हिउँ चितुवा लगायत वन्यजन्तु, सेताम्य हिमालय र कञ्चन पानी बग्ने नदीनाला हेर्न विदेशीहरू नेपाल आउने गर्छन्, किनभने यस्ता परिदृश्य विश्वमा दुर्लभ भइरहेका छन्। नेपाल आउने कुल विदेशी पर्यटकमध्ये ४५ प्रतिशत कुनै न कुनै संरक्षित क्षेत्र घुम्न जाने गरेको सरकारी तथ्यांक छ। उनीहरूले खर्च गर्ने पैसाबाट लाखौं परिवार लाभान्वित भइरहेका छन्।
निकुञ्ज र संरक्षित क्षेत्रलाई कतिपयले सुनौलो अन्डा दिने कुखुरा नै होइन पनि भन्ने गरेका छन्। उनीहरूको तर्कमा, संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्जको सुरक्षा तथा व्यवस्थापनमा हुने खर्चको परिपूर्ति पर्यटकलाई टिकट बेचेर हुँदैन। संरक्षणका नाममा कहिलेसम्म घाटाको व्यापार गरिरहने?
विश्व ब्यांकको एक प्रतिवेदन अनुसार नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमा एक रुपैयाँ लगानी गर्दा स्थानीयले ७.६ रुपैयाँ बराबरको फाइदा पाउँछन्। चितवनमा पर्यटकले एक रुपैयाँ खर्च गर्दा स्थानीयको आयमा १.७८ रुपैयाँ थप हुने गरेको सोही प्रतिवेदनले बताएको छ।
विश्व ब्यांककै अर्को एक अध्ययनले पर्यटक नआउँदा स्थानीय अर्थतन्त्रमा पर्ने असरको झलक दिएको छ। कोभिड-१९ महामारीका कारण पर्यटक नआउँदा चितवन आसपासको आय प्रतिमहीना करीब ४० करोड रुपैयाँ घटेको थियो। चितवनमा बाघ र गैंडा रहेनन् भने विदेशी पर्यटक आउलान्?
किसानको सन्दर्भमा ‘दिगो विकास’ भनेको सुनको फुल पार्ने कुखुरालाई चाहिए जति खान दिनु, वेलामौकामा औषधोपचार गर्नु र अन्डाबाट हुने आर्थिक लाभ बढाउँदै लगेर कुखुरालाई अर्को पुस्तामा हस्तान्तरण गर्नु हो।
त्यस्तै, जैविक विविधताको सन्दर्भमा संरक्षित क्षेत्र, लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्नु, वन्यजन्तुको आहारविहारको ख्याल राख्नु र तिनीहरूलाई नमासी फाइदा लिने क्षमता बढाउँदै लैजानुलाई ‘दिगो विकास’ मान्न सकिन्छ। हामी भने यसको ठीक विपरीत दिशातिर जान खोज्दै छौं।
कसरी?
‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१’ मार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन संशोधन गरेर।
सम्मानित सर्वोच्च अदालतको ‘कार्यान्वयन नगर्नू’ भन्ने अन्तरिम आदेशबाट हाल रोकिएको संशोधनले ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना’ का लागि संरक्षित क्षेत्रमा जस्तोसुकै पूर्वाधार (होटल, सडक, रेलमार्ग, केबलकार, जलविद्युत् आयोजना) बनाउने सक्ने बाटो खोलेको छ।
यो संशोधनले निजी क्षेत्रका कम्पनीलाई संरक्षित क्षेत्रमा जलविद्युत् आयोजना, होटल, केबलकार लगायत सहजै चलाउन सकिने सुविधा दिएको छ। यसका लागि उनीहरूले राष्ट्रिय योजना आयोगमा निवेदन दिए पुग्छ।
उता, वनस्पति र वन्यजन्तुको आफ्नै दुनियाँ छ। उनीहरू प्राकृतिक वातावरण रुचाउँछन्। विभिन्न अध्ययन अनुसार मानव गतिविधि बढी भए वन्यजन्तुमा ‘कोर्टिसोल’ जस्तो तनावमा सक्रिय हुने ग्रन्थि (हार्मोन)को मात्रा बढेर जान्छ। रगतमा कोर्टिसोलको मात्रा बढी हुँदा उनीहरूमा आहार नपच्ने र प्रजनन क्षमतामा ह्रास आउने जस्तो समस्या हुन्छ।
संरक्षित क्षेत्रभित्र संरचना निर्माणमा प्रयोग हुने डोजर, क्रेन जस्ता ठूला उपकरण र धेरै मानिस जम्मा हुँदा निक्लने आवाजले जनावरहरूमा तनाव सिर्जना गर्छ। निकुञ्ज क्षेत्रमा मानिसको आउजाउ बढ्दा सुरक्षाकर्मीलाई पनि निगरानी गर्न गाह्रो पर्छ र चोरी शिकारको जोखिम बढ्छ।
सन् २००९ मा चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द गर्दा सरकारको यही जिकिर थियो। चोर शिकारीले पाए भने छोटो समयमा पनि धेरै जनावर मार्न सक्छन् भन्ने द्वन्द्वकालको अनुभव छ।
नेपालमा औलो उन्मूलन हुनुअघि पूर्व-पश्चिम तराईमा घना वन थियो। बाघ, गैंडा र हात्ती सजिलै मेची-महाकाली गर्न सक्थे। औलो उन्मूलन भएपछि जंगल मासिंदै गएर हात्ती, बाघ र गैंडा जस्ता जनावर ससाना पकेट क्षेत्रमा सीमित छन्।
यसरी प्राकृतिक वासस्थानको खण्डीकरणबाट पनि वन्यजन्तु लोपोन्मुख छन्। अझ संरक्षित क्षेत्रभित्रै धमाधम जलविद्युत्, होटल, सडक बन्न थाल्दा के होला? साना पकेट क्षेत्रमा सीमित वन्यजन्तुको प्रजननमा हाडनाता सम्बन्ध हुन गएर उनीहरूको स्वास्थ्यमा त्यसै पनि ठूलो असर परिरहेको वैज्ञानिकको मत छ।
नेपालको २३ प्रतिशत भूभाग ओगटेका संरक्षित क्षेत्रमा जैविक विविधता जोगाए विकासका लक्ष्यमा ठूलो योगदान पुग्ने सम्भावना रहेको विश्व ब्यांकको रिपोर्टले बताएको छ। यो सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न संरक्षित क्षेत्रको व्यवस्थापनमा सुधारका साथै लगानी वृद्धि गर्नुपर्ने औंल्याएको छ।
चार प्रमुख निकुञ्ज बाहिर नयाँ स्थलहरूमा पनि पर्यटन क्षेत्र विस्तार र विविधीकरण गर्दै पर्यटन र विकासको लाभ स्थानीय समुदायमा पुर्याउन विश्व ब्यांकको रिपोर्टको सुझाव छ।
यस्ता कामका लागि संरक्षणको दीर्घकालीन सोच चाहिन्छ। निकुञ्ज र संरक्षित क्षेत्रभित्र पूर्वाधार बनाएर विकास लक्ष्य हासिल हुँदैन। सुनको अन्डा पार्ने कुखुरालाई जीवित राख्न जरूरी छ।
{जोशी नेपाल वातावरण समूह (नेफेज)का कार्यसमिति सदस्य हुन्।}
यो पनि पढ्नुहोस् : जैविक विविधता मास्ने ‘अति अ-संवेदनशील’ कानून