भारतको पनि ईपीजी प्रतिवेदन बुझ्ने समय मिल्ला भन्ने लागेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्ष तयार हुने विश्वास व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा ईपीजीका सदस्य समेत रहेका पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको पुस्तक इन्टरन्याशनल वाटरकोर्सेस लः अ प्रस्पेक्टिभ अन नेपाल-इन्डिया कोपरेशन पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्। नेपालका तर्फबाट प्रतिवेदन बुझ्न आफू तयार रहेको तथा भारतीय समकक्षीले प्रतिवेदन बुझेपछि दुवै मुलुकबीच थाती रहेका विषयमा छलफल गर्न सहज हुने उनको भनाइ छ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “ईपीजीको प्रतिवेदन बुझ्ने-बुझाउने मौका अहिलेसम्म मिलेको छैन। नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन। समय भएरै यो कार्यक्रममा पनि आएँ। भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ।”
पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा नेपाली समूहका संयोजक रहेको ईपीजीमा पूर्व प्रशासक सूर्यनाथ उपाध्याय, पूर्व मन्त्री नीलाम्बर आचार्य र एमाले नेता राजन भट्टराई सदस्य थिए। भारतीय समूहका संयोजक भगतसिंह कोसियारी, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा जयन्तप्रसाद सदस्य रहेको ईपीजीको पहिलो बैठक २०१६ जुलाईमा बसेको थियो। त्यसको दुई वर्षपछि २०१८ जुलाई प्रतिवेदन तयार भएको थियो। भारतले प्रतिवेदन बुझ्न आनीकानी गरिरहेको छ।
प्रधानमन्त्री ओलीले दुवै देशमा ईपीजी गठन गर्नेहरू नै प्रधानमन्त्री भएको स्मरण गरे। नेपाल र भारत दुवैले एकअर्काको विषयमा खुला र खुलस्त धारणा राख्नुपर्नेमा उनले जोड दिए। उनले फराकिलो, सहनशील र न्यायोचित मनले संवाद गरे नेपाल-भारतबीचका समस्या समाधान गर्न सकिने धारणा राखे।
संविधानविद् डा. विपिन अधिकारीले यो पुस्तकले अन्तर्राष्ट्रिय कानून अन्तर्गत नेपालको न्यायोचित अधिकार तथा आजसम्म देखिएका विडम्बनालाई सरल रूपमा प्रस्तुत गरेको धारणा राखे। पुस्तकको समीक्षा गर्दै अधिकारीले भने, “लेखकले यस पुस्तकमा अन्तर्राष्ट्रिय प्रचलनहरूको राम्रो विश्लेषण गर्नुभएको छ।”