‘सोरठी एउटा कलात्मक आन्दोलन पनि हो’
‘सोह्र तालमा सोह्र दिनसम्म नाचिने, जैशिंगे राजाका सोह्र वटी रानी भएर वा सोरठी रानीको नामबाट सोरठी लोककथा नामकरण भएको बताइन्छ।’
रंगकर्मी संगीता थापा मगर पछिल्ला सात वर्षदेखि नाटकमा अभिनय गर्दै आएकी छन्। कैयौं नाटकमा दमदार अभिनय गरेकी उनी यस पटक भने नयाँ भूमिका देखिएकी छन्, निर्देशक।
उनले पहिलो पटक सहनिर्देशन गरेको लोकनृत्य विधा सोरठीमा आधारित नाटक सोरठी अहिले शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। सञ्जय काउछा मगरको सहनिर्देशन रहेको नाटक सोरठीसँगै नाट्यकर्ममा केन्द्रित भएर निर्देशक मगरसँग हिमालखबरका लागि सेवा भट्टराईले गरेको कुराकानी:
तपाईंको पहिलो निर्देशनका रूपमा सोरठी नाटक मञ्चन भइरहेको छ। यो कस्तो नाटक हो?
यो नाटकको कथा हैमती रानी, जैशिंगै राजा र सोरठी भन्ने केटीकोे गाथामा आधारित छ। मगर समुदायमा प्रचलित लोकनाटकमा पाइने कथा हो यो। यसलाई नेपाली नाटक भन्न पाइयो।
यो हाम्रो संस्कृति हो, इतिहास हो, किंवदन्ती बोकेको कथा हो। त्यसैले यसबारे युवा पुस्ताले अझै बुझ्न जरुरी छ। अर्को, पुस्तान्तरण होस् भन्ने उद्देश्यले कतै न कतै झकझक्याउन पनि रंगमञ्चमा ल्याएका हौं। यो एउटा कलात्मक आन्दोलन पनि हो।
सोरठीको गाथाबारे छोटकरीमा बताइदिनुहुन्छ?
सोरठी नाम कसरी रह्यो भन्ने विभिन्न कथा छन्। सोह्र तालमा सोह्र दिनसम्म नाचिने, जैशिंगे राजाका सोह्र वटी रानी भएर वा सोरठी रानीको नामबाट नामकरण भएको बताइन्छ। कसैले राजाकी छोरीको नाम सोरठी भएकाले त कसैले यो लोकगाथा पाइने ठाउँ स्राङ्दी नदीबाट नाम राखिएको भन्ने पनि गरेका छन्।
राजारानीको जीवनमा एउटा दुर्घटना भनौं, राजाले बिहे गर्न लाग्दा ती युवती छोरी हुन् भन्ने थाहा पाएको विषयलाई लिएर कथा बनेको छ।
छोरीप्रति बुबाको आकर्षणका कथाहरू सोरठीमा पाइन्छन्। नेपालका अन्य लोककथामा पनि यस्तो पाइन्छ। यस्ता कथाहरू हुनु र अहिलेसम्म पनि यी कथा बताइराख्नुको के सन्दर्भ छ?
कतिपय अवस्थामा हाम्रो वरिपरि के छ, कस्तो अवस्था छ, आफ्नो लालची स्वभावबारे बुझ्नुपर्ने हुन्छ। एउटा बूढो मान्छेलाई मर्ने उमेरमा बिहे गर्ने इच्छा किन लाग्यो होला र? त्यो चाहनालाई उसले नियन्त्रण गर्नुपर्ने हो, तर अझै धेरैले नियन्त्रण गर्न सकेका छैनन्। अहिले पनि त्यही स्थिति छ नि त।
पुरुषसत्तात्मक समाजमा लोग्नेमान्छेले अझै जे पनि गर्न सक्छन्। यस्ता घटना अहिले पनि सुन्छौं। यी कथा अहिले पनि उत्तिकै सान्दर्भिक छन्। त्यसैले यी कथा भन्न जरूरी छ।
सोरठी वास्तवमा एउटा लोकनाटक हो। मगर र गुरुङ समुदायले नाच्ने/नचाउने गर्छन्। सोरठीबारे अनुसन्धान गर्नुभयो?
अहिलेको देउसीभैलो खेल्दाखेरि सोरठी नाचिन्छ। मेरो ठाउँ मकवानपुरमा पूर्णिमामा या अरू कुनै विशेष अवस्थामा भाकल गरेर पनि नाचिन्छ। यो नाटक तनहुँमा पाइने सोरठीमा आधारित छ। यो कथा एउटा प्रकाशोन्मुख उपन्यासबाट लिइएको हो, जुन तनहुँको स्राङ्दी नदी वरिपरिको क्षेत्रमा आधारित छ।
नाटकमा लोकगीतको भरपूर उपयोग गर्नुभएको छ। यसमा कसरी काम गर्नुभयो?
म आफैं पनि संगीतको विद्यार्थी भएकीले कतै न कतै नाटकमा सोरठीको लय समात्नुपर्छ भन्ने लाग्यो। अनि सोरठीमा एउटा यस्तो लय छ, सुन्दै पनि आनन्द लाग्छ। त्यो ध्यानमग्न हुने खालको लय छ।
त्यसरी नै मैले नाटकभरिको संगीत तयार पारेकी छु। नाटकमा कतिपय सोरठी लोकगाथाकै गीत छन्। कतिपय मैले नै सिर्जना गरें, कम्पोज गरें। त्यसमा पनि सोरठी भाकाको स्वाद छ।
यो लोकगाथा मगर समुदायको लोकसम्पदा भए पनि नाटकमा रूपान्तरित हुँदा नेपाली भाषाका गीत छन्। वास्तविक सोरठीमा पनि मगर भाषा मात्रै नभएर नेपाली भाषाको पनि झलक आउँछ। अर्को, सरस्वतीको पूजा हुन्छ। यी सबैको सम्मिश्रणलाई कसरी लिनुभएको छ?
हामी जसरी हुर्कियौं, त्यसलाई नकार्न सक्दैनौं। पहिलेदेखि नै खस भाषाको प्रभाव हाम्रो समुदायमा परेकाले लोकनाटक पनि त्यस्तो बन्यो होला। म मगर समुदायकी भएकाले यसलाई त पूरै मगर या कुमाल भाषामा मात्रै गर्नुपर्ने थियो, तर हामीले त्यसो गरेनौं। यो नाटक सबै भाषाका दर्शकलाई देखाउनुपर्छ, जो मगर भाषा बुझ्दैनन्, उनीहरूलाई पनि त देखाउनुपर्छ। त्यसैले नेपालीकरण या भनौं हिन्दू तत्त्व मिसिएका छन्।
यसलाई स्वीकार गर्नुको विकल्प छैन। यसरी नाटक ल्याउँदा खुशी लागेको छ। मगर भाषामा वा कुमाल भाषामा मात्र गरेको भए नाटक खुम्चिन्थ्यो होला। त्यो समुदायभित्र मात्रै हुन्थ्यो होला। तर यो अलिक फैलियोस् भन्ने मान्यता पनि हो र फैलिंदै पनि छ।
सोरठीलाई मगर समुदायभन्दा फरक समुदायका व्यक्तिले पनि हेरिराख्नुभएको छ। दर्शकबाट राम्रै प्रतिक्रिया पाइराखेका छौं। यसको कथा यस्तो रहेछ, थाहा थिएन भन्ने प्रतिक्रिया दिइरहनुभएको छ। सबैलाई बुझाउन सक्यौं, यसमा खुशी लाग्छ।
खासमा गाउँघरमा सोरठी सात दिन र सात रातसम्म गाइन्छ र नाचिन्छ भन्नुभयो। यसलाई डेढ घन्टाको नाटकमा रूपान्तरण गर्न कत्तिको गाह्रो भयो?
यो साह्रै नै चुनौती हुँदो रहेछ, यसपालि काम गर्दै जाँदा थाहा पाएँ। नराखी नहुने दृश्य मात्रै राखेका छौं। नराख्दा पनि ठीकै हुन्छ या हामीले यसरी बुझाउन सक्छौं भनेर ‘मेटाफोर’ मा खेलेका छौं, कतिपय कुरामा। संवाद राखेका छैनौं।
अहिले लोकनाच सोरठीको अवस्था कस्तो देख्नुभएको छ?
राम्रो चाहिं, यस्तो नाच नाच्नु अहिले फेशनका रूपमा पनि आएको छ। जस्तो- बजारमा देउसीभैलो खेल्दा स्पीकरमै बजाएर भए पनि लोकगीत बजाउने, लोकनाच नाच्ने प्रचलन बढेको रहेछ। तर त्यसो गर्दा यो लोकनाच भित्रको कथा चाहिं थाहा हुँदैन।