जर्मनीले नेपाललाई साढे सात अर्ब रुपैयाँ अनुदान दिने
जर्मनीले नेपाललाई सात अर्ब ५५ करोड (५१ मिलियन यूरो) बराबरको सहयोग गर्ने भएको छ।
नेपाल सरकार र जर्मन सरकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता शुक्रबार सम्पन्न भएको छ। बर्लिनमा द्विपक्षीय वार्ता सम्पन्न भएसँगै जर्मनीले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता दिने सहमति भएको हो। सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक-सामाजिक विकास लगायत क्षेत्रमा परिचालन गर्ने लगायत काममा खर्च हुनेछ।
वार्ताका क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपश्चात् नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्त्वपूर्ण हुने भएकाले जर्मन सरकारका तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ। जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस क्रममा जलवायु परिवर्तन, लैंगिक समता, वातावरणीय दिगोपना, गरीबी न्यूनीकरण लगायत विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो। नेपाली प्रतिनिधिमण्डलका तर्फबाट वार्ताको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले गरेका थिए।