टिकटकको प्रतिबन्ध हट्यो, अब सहजै चल्ने
सामाजिक सञ्जाल टिकटकमा सरकारले लगाएको प्रतिबन्ध औपचारिक रूपमा हटेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय अनुसार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ। मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीले अब टिकटकमाथि लगाएको रोक हटाउनेछन्।
यससँगै नेपालमा सहज रूपमा टिकटक चल्ने भएको छ। यसअघि सरकारको प्रतिबन्धका कारण भीपीएनबाट चलाउने गरिएको थियो।
सरकारले यसअघि भदौ ६ मा शर्त सहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका प्रतिनिधिहरूले सरकारका शर्त सबै मान्न मन्जुरी जनाएका थिए।
सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकलाई प्रतिबन्ध लगाएको थियो। सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले रोक लगाए पनि नागरिक स्वतन्त्रता खुम्च्याइएको भनेर चर्को विरोध भएको थियो।
सरकारको शर्त अनुसार टिकटकले नेपालमा दर्ता तथा सम्पर्क केन्द्र स्थापना गर्ने लगायत विषयमा सहमति जनाएको छ। त्यसैगरी, डिजिटल साक्षरताका लागि पनि सहयोग गर्ने भएको छ। टिकटकले प्रतिबन्ध लगाएदेखि नै प्रतिबन्ध हटाउन सरकारलाई दबाब दिंदै आएको थियो।