बेचिने जोखिम देख्दादेख्दै विदेश उडेका ती चेली
घरको जिम्मेवारीले थिचेपछि लाउने-खाने उमेरका ती युवती आफू बेचिन सक्ने जोखिम मोल्न पनि तयार भए। अवैध रूपमा विदेश जाँदा जे पनि हुन सक्छ भन्ने थाहा हुँदाहुँदै देश छाडे।
गत वर्षको कुरा हो, दशैं नजिकिंदै थियो। महान् चाडको महक बोकेको पारिलो घाम लाग्न थालिसकेको थियो। शहरबाट मानिस गाउँ फर्कने तयारी गर्दै थिए। ती दुई चेली भने देशै छोड्ने तयारीमा रहेछन्।
त्यो साँझ करीब साढे ७ बजेको हुँदो हो, मेरो मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो। नम्बर अपरिचित भए पनि उताबाट बोल्ने युवती परिचित रहिछन्। उनले आत्तिएको भावमा भनिन्, “म विदेश जान लागेको। मसँगै एउटी बहिनी पनि छिन्। अलिक समस्या भयो। अहिले नै आइहाल।”
उनले यति भनेपछि म ‘पठाओ’ गरेर उनीहरू बसेको स्वयम्भूस्थित होटलमा पुगें।
भर्खर २३ वर्ष लागेकी सरु (परिवर्तित नाम) र २१ वर्षीया सीता (परिवर्तित नाम)सँग भेट भयो। सरुसँग मेरो पुरानै चिनजान थियो। उनी विभिन्न कार्यक्रम, मेला र महोत्सवमा नाच्थिन्। सीतासँग मेरो पहिलो भेट थियो। उनी पनि कार्यक्रममा नाच्ने कलाकार रहिछन्।
“के काममा विदेश जान लागेका?” मैले सोधें।
“नेपालमा जस्तै महोत्सवहरूमा नाच्ने कामका लागि दुबई जान लागेका हौं। महोत्सवमै भेटेका मान्छेले पठाउन लागेका हुन्,” दुवैले भने। पठाउने खर्च पनि तिनै मान्छेले बेहोरेको उनीहरूले सुनाए।
पूर्वी नेपालको गाउँबाट विदेश जान आए पनि दुवै जनासँग पासपोर्ट लगायत कुनै पनि कागजात थिएन। जहाजको टिकट भने ह्वाट्सएपमा थियो। त्यही रात उड्नुपर्छ भनेका रहेछन् पठाउने मान्छेले। तर कति बजेको फ्लाइट हो, उनीहरूलाई थाहा थिएन।
“घरी अहिले ९ बजे एअरपोर्ट आउनू भन्छन्, घरी ११ बजे भन्छन्। फोन नगर्नू, हामी आफैं गर्छौं भनेका छन्। केही सोध्दा झर्किन्छन्,” उनीहरूले पिरोलिंदै सुनाए।
उनीहरू केही आत्तिएका थिए, थोरै उत्साहित पनि देखिन्थे। किनकि विदेश गएर पैसा कमाइन्छ भन्ने आशा जो थियो।
वस्तुस्थिति हेर्दा उनीहरूलाई अवैध रूपमा दुबई पठाइँदै छ भन्ने मलाई शंका लाग्यो। उनीहरूको जहाजको टिकट हेरें। उड्ने समय बिहानको ३ बजे लेखिएको थियो। मैले उनीहरूलाई बताएँ। त्यसपछि मात्र उनीहरूले उड्ने समय थाहा पाए। तर उनीहरूलाई एअरपोर्टमा छिटै आइहाल्न ताकेता आइरहेको रहेछ। बिहान ३ बजे फ्लाइट भएको मान्छेलाई किन यति चाँडै बोलाएको होला भनेर उनीहरूले आश्चर्य प्रकट गरे।
मैले उनीहरूलाई अवैध तरीकाले पठाइँदै छ भनेर बुझाएँ। यो कुरा थाहा भएको उनीहरूले बताए।
“तिमीहरू बेचिन पनि सक्छौ है,” मैले सजग गराएँ।
उनीहरूले केही डराए जस्तो गरे, तर धेरै गम्भीर रूपमा लिएको देखिएन।
सरुलाई नयाँ नम्बरबाट फेरि फोन आयो। “तपाईंहरू एअरपोर्ट हिंडिहाल्नुस्,” यति भनेर फोन काटियो।
साढे ८ मात्र बजेको थियो, उनीहरू हतारिन थाले।
मैले सम्झाउने प्रयास गरें, “यसरी हतारिएर विदेश जान राम्रो हुँदैन, कुनै राम्रो कम्पनीबाट प्रक्रिया पुर्याएर जानू।”
तर कमाउन जाने भनेर उड्ने अन्तिम तयारीमा रहेका उनीहरूले मेरो कुरै सुनेनन्। मैले थप केही भन्न सकिनँ।
मैले नै पठाओ ट्याक्सी बोलाएँ। हामी तीनै जना एअरपोर्ट जान निस्कियौं।
जब एअरपोर्ट पुग्यौं, उनीहरू कोही थिएनन्। फोन गर्दा उठाएनन्। फोन उतैबाट गर्छौं भनेकाले धेरै प्रयास गरेनौं।
केही समयपछि उतैबाट फोन आयो। सरुलाई हरेक पटक नयाँ नम्बरबाट आउने फोनले के भन्थ्यो मलाई थाहा थिएन, तर उनी डराउँथिन्। बोल्न डराएर फोन मलाई दिइन्।
मैले फोनमा कडा शैलीमा भनें, “तपाईंले डकुमेन्ट यहीं दिन्छु भन्नुभएको रहेछ, तपाईं त हुनुहुन्न। फोन पनि नगर्नू भन्नुहुन्छ।”
उसले मलाई ‘तपाईं को हो’ लगायत केही सवाल गर्यो। त्यसपछि ‘अर्को ठाउँ आउनू, त्यहीं भेटेर दिन्छु’ भन्यो। तर कुन ठाउँ मलाई भनेन। ‘ट्याक्सी चढ्नू, म उसैलाई लोकेशन दिन्छु’ भनेर फोन राख्यो।
हामी ट्याक्सी चढ्यौं। फेरि फोन आयो। त्यो चोटि सीधै ट्याक्सी ड्राइभरसँग कुरा गर्यो।
ट्याक्सी एअरपोर्टको गेटबाट बाहिरियो र हामीलाई भित्रभित्रको गल्लीबाट लग्यो। एउटा होटलछेउमा ट्याक्सी रोकियो। त्यसै वेला हामीलाई फोन आयो। केही मिटर पर अग्लो, मोटो ज्यान भएको एउटा पुरुष उभिएको थियो। फोन गर्ने मान्छे उही रहेछ। उसले फोनबाटै हामीलाई बोलायो, “तपाईंहरू यो छेउको होटलमा आउनुस्।”
कसैले देख्ने हो कि भनेर होशियार देखिइरहेको थियो ऊ।
हामी सरासर उसले भनेको होटलमा गयौं। त्यहाँ ५/६ जना डरलाग्दा देखिने पुरुषहरू थिए। कोही चुरोट खाइरहेका थिए, कोही रक्सी। चलचित्रमा देखिने गुन्डाहरू जस्ता!
हामी त्यहाँ पुग्ने बित्तिकै सबैको ध्यान हामीतिर मोडियो। सरु र सीता निकै डराए। मलाई पनि भित्रभित्र डर लाग्यो। तर मैले आफ्नो डर बाहिर देखाइनँ।
एक जना गोरो वर्णको दुब्लो पुरुष उठ्यो। मलाई सोध्यो, “तपाईं चाहिं को हो?”
“उनीहरूकी दिदी हुँ,” मैले भनें।
“तपाईं (विदेश) नजाने मान्छे किन आउनुभयो?” उसले फेरि सोध्यो।
“मेरा मान्छे विदेश जाँदै छन्, तपाईं भन्नुहुन्छ मलाई- किन आएको?” मैले उल्टै प्रश्न गरें।
कोही पनि बोलेनन्। ‘घरी एअरपोर्टमा घरी कता बोलाउनुहुन्छ, खै त कागजात’ भनेर मैले मागेपछि उनीहरूले ‘त्यही दिन बोलाएको’ भने।
त्यो दुब्लो मान्छेलाई ‘तपाईंको नाम के हो’ भनेर सोधें।
‘तपाईंलाई मेरो नाम किन चाहियो’ भनेर आक्रोशित भए।
केही समय फेरि हाम्रो सवाल-जवाफ चल्यो। पछि उसले आफ्नो नाम ‘दीप लामा’ बतायो। अर्को पुरुषसँग पनि पटक पटक नाम सोधेपछि उसले ‘मुकेश पोखरेल’ भन्यो।
म मधेशमा जन्मे-हुर्केकी मान्छे। उसको मधेशी लवजले ऊ मधेशको हो भन्ने मैले पहिचान गरिसकेकी थिएँ। तर त्यो मान्छेले पोखरेल बतायो। उसले झूट बोलेको कुरा उसको हाउभाउबाट प्रस्टै देखिएको थियो।
मैले उनीहरू बोलेको रेकर्ड गरिरहेकी थिएँ। उनीहरूलाई शंका लागेछ। आफूहरूको अडिओ रेकर्ड गरिएको छ कि छैन भनेर फोन मागे। केही मान्छेको नजर मबाट हटेन। त्यसपछि मैले रेकर्ड बन्द गरें र ‘गरेको छैन’ भनेर देखाएँ।
सरु र सीता बेचिंदै छन् भन्नेमा म प्रस्ट भइसकेकी थिएँ।
ती मानिसले सरु र सीतालाई हतार हतारमा एउटा कागज थमाए। “यो कागज एअरपोर्टमा बोर्डिङ पासको वेला माग्छ, त्यहाँ देखाउनू अनि भित्र गएपछि शौचालयमा गएर च्यातेर फ्याँकिदिनू,” उनीहरूले सिकाए।
फेरि अर्को कागज दिंदै भने, “त्यो कागज च्यातेर फालेपछि यो कागज बोकेर जानू। जहाज उड्ने ठाउँमा हाम्रो मान्छे हुन्छ, उसले बुझिहाल्छ।” सरु र सीता उनीहरूको कुरा ध्यानपूर्वक सुनेर ‘हुन्छ’ मात्र भनिरहेका थिए।
मैले किन यसरी पठाउन लाग्नुभएको भनेर सोध्दा ती मानिस जंगिए, “तपाईं जाने मान्छे होइन, केही नबोल्नुस्। उनीहरू पैसा कमाउन जाँदै छन्, बीचमा आएर नभड्काउनुस्।”
म केही पनि बोल्न सकिनँ।
सरु र सीतालाई सीधा भएर उभिन लगाइयो र दुवैका फोटो खिचे। हामी त्यहीं हुँदाहुँदै एउटा मान्छेलाई फोन आयो। ऊ भन्दै थियो, “फोटो पठाइदिएको छु, केटीहरू यिनै हुन्।”
सरु र सीताले सेतो फर्मल शर्ट लगाएका थिए। सरुले कफी रङको फर्मल पाइन्ट र सीताले सेतो जिन्स पाइन्ट लगाएका थिए। दुवैले हल्का मेकअप गरेका थिए। ठिक्कको हाइट। मिलेको शरीर। उनीहरूको सुन्दरता जोकोही मोहित हुने खालको थियो।
मभित्रको पत्रकार जागेको थियो। अपराध हुँदै छ भन्ने थाहा थियो मलाई। तर निरीह थिएँ। केही गर्न सकिनँ, हेरिरहें।
उनीहरूले मलाईं ‘तपाईं फर्किए हुन्छ’ भनेका थिए। सरु र सीतालाई चाहिं ‘उड्न धेरै समय बाँकी छ, बसेर खाजा खाऔं’ भन्दै थिए। तर सरुले मलाई जान दिइनन्। मैले उनीहरूलाई छोडिनँ।
दीप लामा नाम बताउने पुरुषले ट्याक्सीलाई भाडा दियो र फेरि एअरपोर्ट पुर्याइदिन भन्यो। ट्याक्सीले हामीलाई एअरपोर्ट पुर्याइदियो।
एअरपोर्टमा एउटा पुरुष बाइकमा आयो। ऊ सीताको प्रेमी रहेछ। सीता र उनको प्रेमी हामीबाट केही पर गए। प्रेमीले सीतालाई अंकमाल गर्यो। उनीहरू दुवै भावुक भए।
सीताको हात समाएर प्रेमी भन्दै थियो, “तिमी जे भन्छ्यौ त्यही गर्न तयार छु, प्लिज तिमी मलाई छोडेर नजाऊ। मैले तिम्रा लागि के चाहिं गर्न सकिनँ?” सीता केही बोलिनन्।
दुवैका आँखाभरि आँसु थिए। मैले चलचित्रमा मात्र यस्तो दृश्य देखेकी थिएँ, त्यो दिन प्रत्यक्ष देखें। सरु र मेरा आँखा पनि डबडबाए। सीताको प्रेमी रुँदै फर्कियो। सीता ऊ फर्केको बाटो हेर्दै धेरै बेर टोलाइरही।
केही बेरमा वातावरण अलि सहज भएपछि मैले उनीहरूलाई सम्झाएँ, “तिमीहरू यसरी गएर राम्रो गरिरहेका छैनौ। अझै पनि समय छ, नजाओ।”
सीतालाई भनें, “यति माया गर्ने मान्छे रहेछ, बरु बिहे गर बस। जीवन निर्वाह गर्ने यतै अरू विकल्प खोज।”
सीताले भनिन्, “बिहे गरेपछि उसले मलाई त हेर्छ, तर मेरा बूढा बाबुआमालाई कसले हेर्छ दिदी? ममाथि परिवारको जिम्मेवारी छ। त्यो बिर्सेर बिहे गर्न सक्दिनँ।”
उनका ती शब्दले मलाई नि:शब्द बनाइदियो। सरुले पनि त्यसमै थपिन्, “तिमीले पो पढेकी छ्यौ, जागीर गर्छ्यौ र त्यसै अनुसार हामीलाई पनि नेपालमै बस भन्छ्यौ। एक पटक हाम्रो ठाउँमा बसेर हेर।”
मैले केही बोल्न सकिनँ।
मान्छेलाई बाध्यताले कसरी अँध्यारो बाटोमा हिंड्न बाध्य बनाउँदो रहेछ, त्यति वेला बुझें।
रातको १ बज्यो। त्यसपछि एउटा मान्छे आयो। र उनीहरू एअरपोर्टको ‘चेक-इन’ काउन्टरबाट भित्र गए। म कोठामा फर्किएँ।
तर धेरै दिनसम्म मेरो दिमागमा त्यही कुरा खेलिरहयो। सरु र सीताको अनुहार झलझली आइरह्यो।
त्यसअघि पनि एउटा हाते झोला बोकेर झापातिरका दिदीहरू इन्डियाको बाटो हुँदै गएको देखेकी थिएँ। महीनौं मुम्बईमा बसेर साउदी अरब, कुवेत जाने उनीहरूले सुनाउँथे। शायद उनीहरू पनि यसैगरी बेचिएको हुनुपर्छ।
सरु र सीताका बारेमा गाउँघरमा सोधखोज गरिराख्थें। दशैंमा घर जाँदा थाहा भयो, सरु गएको दुई साता नहुँदै बिरामी भएर दशैंको पूर्णिमाको दिन घर फर्केकी रहिछन्। म उनलाई भेट्न गएँ। दुबई जाने वेला उनको मुहारमा जुन चमक थियो, त्यो हराएको थियो।
मैले उनलाई ‘किन फर्कियौ’ भनेर सोधें। उनले काम गर्न नसकेर फर्केको बताइन्। ‘काम के थियो’ भनेर सोधें। उनी केही बोलिनन्। रोइरहिन् मात्र। सीता चाहिं उतै रहिछन्।
सरुले काम र अरू थप कुरा सुनाउन चाहिनन्।
केही दिनअघि थाहा पाएँ, यो दशैंमा उनी फेरि विदेश जाने तयारी गर्दै रहिछन्। यसपालि प्रक्रिया पुर्याएर कम्पनीमा जाने भइछिन्। यहाँ बसेर परिवार नचल्ने भयो भन्छिन् अरे। उनलाई बुझाउन र रोक्न मसँग कुनै शब्द छैन।
सीतालाई सम्झन्छु। कहाँ होलिन्? कस्तो अवस्थामा होलिन्? के गर्दै होलिन्?
देशभित्र गरिखाने अवस्था नभएर जानाजान अवैध रूपमा विदेश जाने सीताहरूको नियति कहिले अन्त्य होला?
बहसमा विदेशगमन थप सामग्री: