गलैंचा कारखानाबाट निकालिएँ, मुम्बईमा बेचिएँ
बालश्रमिक राख्न नपाइने भनेर अभियान चलाउँदा काठमाडौंको गलैंचा कारखानाबाट निकालिएकी म भारतको मुम्बईस्थित कोठीमा बेचिएँ, नारकीय जीवन भाेग्नुपर्यो।
गोरखाको चुम भ्यालीबाट ३५ वर्षपछि फर्किएका प्रकाश तामाङ भोजपुरस्थित घर पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता देखाएपछि उनले नागरिकता पाएका छन्। हेर्ने कथामा प्रकाशको कथा हेरेर मन पग्लिएका धेरैले सहयोग गरेपछि उनको जिन्दगी फेरिएको छ।
प्रकाश जस्तै चार दशकअघि काठमाडौंका गलैंचा कारखानामा बालबालिकालाई काममा लगाउँथे। किन हाे कुन्नि, एकाएक बालश्रमिकलाई कामबाट निकालिन शुरू भयो। म पनि त्यति वेला गलैंचा कारखानामा काम गर्थें। गलैंचा कारखानाबाट निकालिएपछि प्रकाश चुम भ्याली पुगे, म भने भारतको मुम्बईस्थित कोठीमा बेचिएँ।
प्रकाशको कथाले मलाई पनि पुराना दिन याद दिलाएको छ। काठमाडौंको जोरपाटीस्थित गलैंचा कारखानामा पुर्याएको छ। जहाँबाट निकालिएपछि भारतका कोठीमा पुगेकी थिएँ।
प्रकाश र मेरो उमेर उस्ताउस्तै रहेछ। अहिले म पनि ४५ वर्षकी भएँ। २०३६ सालमा सिन्धुलीको दुधौली गाउँमा जन्मिएकी हुँ। आमाबुबाकी जेठी सन्तान भएकीले सानी छँदा खूब माया पाएँ।
ठूली हुँदै गएपछि भने परिवारको जिम्मेवारी थपिंदै गयो। मभन्दा साना तीन बहिनी र एक भाइ थिए। परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। बुबा वेलावेला काठमाडौं आउनुहुन्थ्यो। ज्यामीको काम गरेर कमाएको पैसाले घरखर्च चल्थ्यो।
त्यो वेला काठमाडौंबाट गलैंचा कारखानाका ठेकेदार कामदार खोज्न गाउँ गाउँमा पुग्थे। प्रायः केटीहरू भनेको मान्ने र राम्रो काम गर्ने भएकाले ठेकेदारको पहिलो रोजाइमा पर्थे। म पनि गाउँका दिदीबहिनीसँगै पैसा कमाउन ठेकेदारको पछि लागेर काठमाडौं हिंडें, नौ वर्षकै उमेरमा।
जोरपाटीमा रहेको एक गलैंचा कारखानामा काम पाएँ। शुरूआतका ६ महीना तालीम जस्तै हुन्थ्यो, तलब पाइँदैनथ्यो। खाने र बस्ने व्यवस्था चाहिं हुन्थ्यो। त्यो वेला मैले गलैंचाको धागो खाएछु। रगत वाक्न थालें। बिरामी भएर थला परें। ठेकेदारले मलाई परिवारको जिम्मा लगाइदियो। करीब ६ महीनामै गाउँ फर्किएँ।
गाउँका केही केटाकेटी स्कूल जान्थे। मलाई पनि स्कूल जाने रहर थियो। स्कूले पोशाक थिएन, तैपनि स्कूल गएँ। तर पोशाक नभएको भन्दै स्कूलबाट निकालिदिए।
फेरि गलैंचाको बाटो समातें। काम खोज्दै काठमाडौं आएँ। काम सिकेकै थिएँ, त्यसैले तालीम लिनु परेन। दुई वर्ष काम गरें। मासिक ५०० रुपैयाँ तलब थियो।
गलैंचा मालिकले बुबा काठमाडौं आएको वेला हिसाब गर्थे। म कमाउने भएपछि बुबालाई सजिलो भएको थियो। गाउँघरमा भएको खेतीपातीले वर्षभरि खान पुग्दैनथ्यो। त्यसैले म जस्तै धेरै किशोरीले गलैंचा कारखानामा काम गरेको पैसाले परिवारको गर्जाे टर्थ्यो।
पछि थाहा पाएँ, २०४६ सालको परिवर्तनपछि नयाँ नियम लागू भएको रहेछ। काठमाडौंका गलैंचा कारखानालाई बालश्रम मुक्त गराउन थालियो। गलैंचा कारखानामा काम गरिरहेका बालबालिकालाई निकालियो। केही दिन त साहुले दिउँसो घरमा लुकाउने र राति काम गराउँथे। तर घरमा पनि छापा मार्न थालेपछि कामबाटै निकाले।
त्यही चपेटामा म पनि परें। बालबालिकालाई राम्रो होस् भनेर कामबाट निकाले पनि मेरा लागि भने दुःखका दिन शुरू भए। कहिले त लाग्छ, त्यो कारखानाबाट ननिकालिएकी भए मुम्बईको कोठीमा त पुग्ने थिइनँ कि?
हुन त त्यो वेला गलैंचा कारखानामा पनि महिला र किशोरीमाथि यौनहिंसा र शोषण हुन्थ्यो। म सानै भएकीले त्यो बुझ्ने भइसकेकी थिइनँ। सँगै काम गर्नेहरूले अरू महिला र किशोरीलाई देखाउँदै ‘साहुसँग सुतेर आई’ भनेर उडाउँथे। म टुलुटुलु हेरिरहन्थें, भेउ पाउँदिनथें।
जागीर गएपछि गलैंचा कारखानाका ठेकेदारहरूले नै केटीहरूलाई भारतको बनारसमा यस्तै कामका लागि जाऔं भने। यता जागीर खोसिएकाले नाइँ भन्ने कुरै थिएन। खुशी हुँदै बनारस जान राजी भयौं।
हामी १२ देखि १६ वर्षसम्मका सात जना केटी थियौं। त्यति वेला परिवारसँग सम्पर्क हुन गाह्रो थियो। सोधपुछ गर्न पनि पाएनौं।
तीन जना ठेकेदारले भैरहवा हुँदै सुनौली पुर्याए। एक दिन त्यहीं बसाले। सातै जनालाई नयाँ नयाँ लुगा किनिदिए। लुगाफाटो पाउँदा खुशी नै लाग्यो।
अर्को दिन भारतमा पुगेपछि रेलमा बस्यौं। अलग अलग तीन समूह बनाएर बसेका थियौं। बनारसमा काम लगाउने भनेको ठेकेदारले त मुम्बई पुर्याएछ, कहाँ हो भन्ने थाहै भएन।
पहिलो दिन त आलिशान होटलमा राख्यो। रेलको यात्राले थाकेका थियौं। दिनभर निदायौं।
दोस्रो दिन बिहानै एक जना महिला होटलमै आइन्। नेपाली भाषा बोलेकीले हाम्रै देशकी हुन् भनेर खुशी भयौं। उनीसँग तीन जना पुरुष पनि थिए। काम गर्न कोसँग जाने हो भनेर सोधे। पुरुषहरूसँग जान कसैले मानेनौं। सातै जना ती महिलाकै पछि लाग्यौं, नुवाकोटकी रहिछन्।
होटलबाट रिक्शामा हालेर अर्काे ठाउँमा लगियो। बाहिर जस्ताले बेरेको थियो भने भित्र ठूलो गेट थियो। महिलाका फोटाले भित्ता भरिएका थिए। कटेरो जस्तो देखिए पनि भित्र त आलिशान महल थियो। सातै जनालाई एउटै कोठामा राखेर मीठो खानेकुरा दिनुभयो। आराम गर भन्नुभयो, हामी त सुत्यौं।
खानामा लट्ठ्याउने औषधि हालिएको रहेछ। म त सुतेको सुत्यै भएँ। साँझपख बिउँझिंदा एक्लै थिएँ। साथीहरू कोही थिएनन्। मेरा लुगा र झोला पनि थिएनन्।
झल्याँस्स भएँ। मलाई केही नभनी किन गए भनेर साथीहरूसँग रिस उठ्यो। रुन थालें। आफ्नै टाउको भित्तामा ठोकें। रोएको सुनेर मालिक्नी आइन्। उनले भनिन्, “मैले किनेको हो, तिम्रो ठेकेदारसँग। यहाँ अरू पनि छन्। तिम्रा साथीहरू अलग अलग ठाउँमा गए।”
रुवाइ केही रोकियो। उनले मैले गर्ने कामबारे बताइन्।
म शून्य भएँ। बल्ल थाहा पाएँ, म त बेचिएकी रहेछु।
“यस्तो काम गर्दिनँ। मेरो घरमा पुर्याइदेऊ,” मैले आग्रह गरें।
अर्की महिला आएर एक झापड हानिन्। म झन् चर्को स्वरमा रोएँ। फेरि हानिन्। जति रुन्थें, त्यति नै हिर्काउँथिन्।
मेरो रुवाइ नरोकिएपछि अर्को कोठामा लगेर हुलिदिइन्।
त्यसपछि मेरो अर्को संसार शुरू भयो, नारकीय जीवन। ग्राहकसँग राख्न थालियो। म जिउँदो लास भएँ। जीवन एकाएक रोकिए जस्तो भयो। सबै थोक बिर्सिएँ, आफैं हराएँ।
त्यो कोठीमा भएका अन्य महिला आएर सम्झाउन थाले। नेपाली बोल्ने पनि थिए। चार-पाँच वर्षदेखि यस्तै जीवन काटिरहेको सुनाए। उनीहरूले सम्झाएको मान्नु बाहेक विकल्प थिएन।
एक वर्ष यस्तै दैनिकीमा बित्यो। एक दिन भाग्ने योजना बनाएँ। झ्यालबाट भागेर भारतीय प्रहरीसम्म पुगें। सबै बेलिबिस्तार लगाएँ। तर प्रहरीले नै मलाई त्यही कोठीमा लगेर छोडिदियो। प्रहरी र कोठी सञ्चालकबीच त मिलेमतो रहेछ। भागेको भनेर थप यातना दिए।
त्यसपछि मलाई अर्को कोठामा राखियो। त्यहाँ भर्खरका केटीहरू थिए। ग्राहकले फोटो हेरेर मोलमोलाइ गर्थे। ग्राहकले जे भन्यो, चूपचाप त्यो गर्नुको विकल्प थिएन। दुई वर्ष यसरी नै बिताएँ।
२०५२/५३ सालतिर हो, भारतको महाराष्ट्र सरकारले कोठीहरूमा छापा मार्न शुरू गर्यो। १८ वर्षमुनिका बालिकालाई कोठीबाट उद्धार गर्न थाल्यो। त्यही क्रममा एक दिन ५०० महिलाको उद्धार गर्यो। जसमा करीब १५० नेपाली थिए। त्यही क्रममा मेरो पनि उद्धार भयो। बल्ल नरकबाट उन्मुक्ति पाएँ जस्तो लाग्यो।
भारतीय प्रहरीले सरकारी ‘शेल्टर’ मा ल्याएर राख्यो। ६ महीना त त्यहीं बस्यौं। नेपाल, भारत र बाङ्लादेशका किशोरी तथा महिला थिए। भारतका पनि घर फर्किए, बाङ्लादेशका पनि गए, तर नेपाल सरकारले हामीलाई फिर्ता लैजान अस्वीकार गर्यो।
त्यो वेला सुनेको ‘समाजले स्विकार्दैन, एचआईभी एड्स सार्छन्’ भन्ने सरकारको तर्क थियो। त्यसपछि माइती नेपाल लगायत सात वटा सामाजिक संस्था मिलेर दुई चरणमा नेपाल ल्याए। माइती नेपाल, महिला पुन:स्थापना केन्द्र (ओरेक) नेपाल, एबीसी नेपाल, सिविन, शान्ति पुन:स्थापना गृह, नवज्योति केन्द्र र स्त्री शक्ति मिलेका थिए।
नेपाल फर्किएपछि म माइती नेपालको ‘शेल्टर’ मा बसें। घर फर्काउन माइती नेपालले हाम्रो ठेगानामा पत्राचार गर्यो। गाउँभरि म भारतमा बेचिएको हल्ला फैलिसकेको रहेछ।
त्यति वेला प्रायः आफन्त भेट्न आउँदैनथे। कसै कसैको आए मन भक्कानिन्थ्यो। मेरो पनि कोही आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो।
केही समयपछि काका भेट्न आउनुभयो। उल्टै हकार्नुभयो। उहाँले भनेको अझै पनि मानसपटलमा ताजै छ, “छोरीको कर्म र अन्डा फुटे काम लाग्दैन।”
काकाले त ‘हाम्रो नाक काटिस्’ भन्दै पिट्न पो खोज्नुभयो। बुबाआमा त आउनु नै भएन। खबर पठाउनुभएको रहेछ- ‘गाउँ नफर्की’ भनेर।
माइती नेपालले सबै जनाको स्वास्थ्य जाँच गरायो। मलाई एचआईभी एड्स लागेको रहेछ। नयाँ जीवन पाएकामा खुशी भएकी थिएँ, तर एड्स लागेको थाहा पाएपछि आफैंलाई धिक्कार्न थालें। त्यो नर्कबाट आउँदा जीवनभरि नमेटिने घाउ बोकेर फर्किएछु।
त्यसपछि अर्को संघर्ष शुरू भयो। प्राणघातक रोग लागेको थाहा पाएपछि मानसिक रोगी जस्तै भएँ। धेरै पछि एक दिन बुबा भेट्न आउनुभयो। बुबाले ‘गाउँभर फैलिएको तँ भारतमा बेचिएको खबरले म बस्न सकिनँ’ भन्नुभयो। बुबा पनि काठमाडौंमै बस्न थाल्नुभएछ।
एक वर्ष माइती नेपालमा बसें। त्यो बसाइका क्रममा कूकको तालीम दिइएको थियो। त्यो सिकाइले चुच्चेपाटीको एक होटलमा काम पाएँ। त्यहाँ पाँच वर्ष काम गरें।
एक जना फ्रान्सेली नागरिक थिए, सामाजिक सेवामा। उनी माइती नेपालमा भएका हिंसापीडितलाई त्यो होटलमा कामको अवसर जुटाइदिन्थे। हामी धेरै जना काम गर्थ्यों। तर हृदयाघातबाट होटल सञ्चालकको मृत्यु भयो। नयाँ सञ्चालकले एड्स संक्रमित भनेर मलाई कामबाट निकालिदिए।
एड्स संक्रमित भएकीले पौष्टिक आहार खानुपर्थ्यो। तर कामबाट निकालिएँ। फेरि दुःखका दिन शुरू भए।
त्यसपछि शक्ति समूहमा जोडिएँ। खर्च चलाउन गाह्रो भयो। फेरि जोरपाटीमा गलैंचा बुन्न थालें।
परिवारले स्विकारेको थिएन। रोगी शरीर लिएर काम गर्न थालें। जीवन धान्न निकै कठिन भयो। तैपनि हार मानिनँ।
म जस्ता एड्स संक्रमित धेरै थिए, जो बेचबिखनमा परेका थिए। आफू जस्तै संक्रमितलाई जुटाएँ। सबै मिलेर शक्ति मिलन समाज भन्ने संस्था खोल्यौं।
त्यो संस्था मार्फत खुलेर बोल्न थालें। सरकारी तथा गैरसरकारी संघसंस्थामा ‘मेरो बाँच्ने हक छ’ भन्दै पैरवी गर्न थालें। कसैले केही वास्ता गरेनन्।
२०६१ सालमा त धर्ना नै बसें। त्यसपछि बल्ल सरकारले सम्झौता गर्यो। त्यति वेला सरकारले ‘औषधि वितरण गर्ने तर ज्यान तलमाथि भए जिम्मा नलिने’ भन्यो।
शुरूआतमा २५ जनालाई औषधि खुवाउने तयारी भयो। कोही पनि औषधि खान तयार भएनन्। मैले आँखै अगाडि संक्रमित मरेको देखेकी थिएँ। सोचें- यसै मरिन्छ, उसै मरिन्छ, बाँचे ठीकै छ, मरे पनि औषधि खाएर मरूँ। मैले एड्सको औषधि खान शुरू गरें। केही भएन। बरु झाडापखाला रोकियो। ६ महीनासम्म डाक्टरको निगरानीमा बसें।
उपचार पाएपछि म काम गर्न सक्ने भएँ। आर्थिक अभाव उस्तै थियो। त्यसपछि जापान गएँ। तीन वर्ष जापानमा काम गरें। त्यसपछि बल्ल परिवारले स्विकार्यो। तैपनि दुःख कम भएन, किनकि म जापानबाट फर्किंदा आमा मानसिक रोगबाट पीडित हुनुभएको थियो।
जापानबाट फर्किएपछि फेरि बिरामी परें। टेकु अस्पतालको बेडमा १३ महीना लडें। मुश्किलले ठीक भयो। त्यसपछि सोचें, अब केही काम गर्छु।
२०७३ सालमा शान्ति फाउन्डेशन खोलें। बेचबिखनमा परेका महिलाका लागि काम गर्न फेरि शुरू गरें। एचआईभी संक्रमित महिलालाई जोडें। अहिले ३०० महिला जोडिएका छन्। कति जना त हेर्दाहेर्दै मरे पनि। सम्झिँदा कहाली लाग्छ।
एउटा शान्तिले धेरै शान्तिलाई बचाउन सक्छे भनेर काम गरिरहेकी छु। विभिन्न संघसंस्थालाई गुहारिरहेकी छु। अब जति दिन बाँच्छु, आफू जस्तै बेचबिखन प्रभावित र एचआईभी संक्रमितको न्यायका लागि पैरवी गर्नेछु।
(अधिकारकर्मी लामासँग धनु विकले गरेको कुराकानीमा आधारित।)