सुत्नै पाउँदैन पोखरा
पर्यटकीय राजधानी घोषणासँगै ‘चौबीसै घन्टा खुला पोखरा’ रात्रिकालीन अत्यधिक ध्वनि प्रदूषणले स्थानीय बासिन्दा र पर्यटकका लागि टाउको दुखाइ बनेको छ।
यूरोपबाट सपरिवार घुम्ने आउने योजना बनाउँदा क्रिस्टिना (नाम परिवर्तन)को मनमस्तिष्कमा पोखराको एउटा तस्वीर बनेको थियो- सुन्दर, शान्त र रमणीय। त्यो तस्वीरमा थपिएका थिए, सेताम्य हिमाल, चारैतिर हरिया डाँडाकाँडा, नीलो फेवा ताल र छेउमै शान्त बस्ती।
त्यसैले अबेर रातिसम्म बालबालिकासँगै फेवा किनारमा टहल्दै फर्किन सजिलोका लागि ताल नजीकैको होटल ‘बूक’ गरेकी थिइन्। काठमाडौं ओर्लिएर पोखरा पुग्दा त उनको मनमस्तिष्कमा कोरिएको तस्वीर झन् सुन्दर थियो।
पोखराको रात्रिकालीन बसाइ भने उनले सोचे जस्तो भएन। ध्वनि प्रदूषणले वाक्कदिक्क बनाएपछि उनले सामाजिक सञ्जालमा लेखिन्, ‘पोखरासँग मैले धेरै आश गरेकी थिएँ। तर म बसेको होटल नजीकै रातभर ठूलो आवाजमा गीत घन्किँदा निदाउन सकिनँ, मेरा बच्चाहरू सुत्न सकेनन्, प्रहरी पनि शक्तिहीन रहेछन्।’
उनी दुई साता पोखरा घुम्न आएकी थिइन्। केही दिन परिवारसँगै शान्तसँग बस्ने योजना थियो। रातभर चर्को होहल्लाले सुत्नै नपाएपछि प्रहरीलाई २० पटक फोन गरेको उल्लेख गरेकी छन्। तर प्रहरीले पनि होहल्ला रोक्न नसकेको उनको भनाइ छ। राति सुत्नै नसकेपछि अर्को दिन बिहानै सामाजिक सञ्जालमा लेखिन्, ‘त्यसैले म पोखरा छाड्दै छु।’
उनको स्टेटसमा अन्य थुप्रै विदेशी पर्यटकले पनि ‘कमेन्ट’ गरेका छन्। उनीहरूले शान्त वातावरण खोज्न पोखरा आएको उल्लेख गर्दै रातभर ध्वनि आतंक मच्चिएको र सुत्नै नपाएको भोगाइ सुनाएका छन्।
पर्यटक मात्रै होइन, स्थानीय बासिन्दा पनि त्यसबाट आजित छन्। राति सुत्नै नपाइने उनीहरूको गुनासो छ। केहीले त रातभर चर्को स्वरमा गीत घन्किँदा दैनिकी नै बिथोलिएको भनेर वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालय, कास्कीमा उजुरी दिएका छन्।
लेकसाइड क्षेत्र पर्ने पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई पनि स्थानीय बासिन्दाले गुनासो गरिरहेको बताउँछन्। “हल्ला भयो, सुत्न सकिएन भनेर स्थानीय गुनासो गरिरहेका छन्,” वडाध्यक्ष भट्टराई भन्छन्।
पाँच महीनायता स्थानीय बासिन्दासँगै पोखरा घुम्न आउने पर्यटकको निद्रा खलबलिएको छ। शान्त वातावरणमा पोखरा आएका पर्यटक राति सुत्नै नपाएपछि बिरक्तिएर फर्किरहेका छन्।
यसको कारण हो, चौबीसै घन्टा खुला पोखरा। गत चैत ४ मा पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरालाई चौबीसै घन्टा खुला गरिएको छ। विदेशी पर्यटक भरिभराउ हुने फेवा तालछेउ लेकसाइडमा रातैभर चहलपहल हुन्छ। यस क्षेत्रमा रहेका रात्रिकालीन व्यवसाय विशेषतः नाइट क्लब र होटल बिहानैसम्म खुला हुन्छन्।
लेकसाइड क्षेत्रमा बसोबास गर्ने स्थानीय र पर्यटकले नाइट क्लब तथा होटलको चर्को ध्वनिले राति सुत्नै नपाएको बताएका हुन्। पटक पटक प्रशासनमा गुनासो गर्दा पनि सम्बोधन नभएको दुखेसो गरेका छन्। लेकसाइडमा रातभर होहल्ला, झैझगडा बढिरहेको, अशान्त बनेको भन्दै स्थानीय जनप्रतिनिधि र पर्यटनसँग सम्बन्धित संस्था पनि गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
पाँच महीनाअघि पर्यटकीय शहर पोखरा राति १ बजेसम्म खुला रहन्थ्यो। अहिले नाइट क्लब, बार, दोहोरी साँझ, होटल र रेस्टुरेन्ट बिहान ६ बजेसम्म खुला हुन्छन्। जहाँ चर्को स्वरमा गीत बजाउने, होहल्ला गर्ने गरिएको स्थानीय बासिन्दा सुनाउँछन्।
पालना भएन मापदण्ड
पोखरालाई चौबीसै घन्टा खुला गर्नुअघि यस्तै समस्या आउन सक्ने आकलन गरिएको थियो। त्यसैले व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले रात्रिकालीन/पूर्ण होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८० बनाएको थियो।
मापदण्डको बुँदा नं. ८ मा सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ। यसको (ख) मा व्यवसाय स्थल परिसरभित्र र वरपर सडक क्षेत्रमा हर्न बजाउन नपाइने साथै ‘साउन्ड कन्ट्रोल सिस्टम’ जडान गरी ध्वनि प्रदूषण नियन्त्रण गर्न उचित व्यवस्था भएको हुनुपर्ने उल्लेख छ।
यस्तै, (ग) मा लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, दोहोरी आदिमा प्रयोग हुने उपकरणलाई ‘साउन्ड प्रूफ’ गर्ने उपाय अवलम्बन गरी ध्वनि प्रदूषण तथा होहल्ला नहुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। मापदण्डको (ट) मा छिमेकी एवं आसपासको समुदायलाई कुनै असर नपर्ने र गुनासो नआउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने शर्त राखिएको छ।
तर यस अनुसारको मापदण्डमा रात्रिकालीन व्यवसाय नचलेको पर्यटन विज्ञ वासुदेव त्रिपाठी बताउँछन्। मापदण्डमा उल्लेख भए अनुसार ध्वनि व्यवस्थापन पनि नगरिएको त्रिपाठीको भनाइ छ। उनी भन्छन्, “छिमेकी तथा आसपासका समुदायलाई असर गरिनु भएन, तर बिहानैसम्म आउने आवाजले असर पुगेको छ। ‘साउन्डप्रूफ’ बनाएको छैन।”
त्यस्तै, मापदण्डको बुँदा नं. १२ मा व्यवसाय सञ्चालन गर्ने समयमा किराना पसल, पान पसल, मदिरा पसल, रेस्टुरेन्ट, खाना तथा खाजा पसल, स्पा राति १ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख छ। लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी तोकिएको मापदण्ड पालना गरी पूर्ण समयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
पूर्णकालीन व्यवसाय सञ्चालन गर्न वडा कार्यालयको सिफारिश सहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्ने व्यवस्था छ। पोखरा लेकसाइडमा सञ्चालित कतिपय व्यवसाय भने वडा कार्यालयको सिफारिश विना नै सञ्चालन भइरहेको स्थानीय बासिन्दा बताउँछन्।
जनप्रतिनिधि पनि रात्रिकालीन व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड पालना नभएको बताउँछन्। पोखरा-६ का वडाध्यक्ष भट्टराई लेकसाइड क्षेत्रमा होहल्ला तथा दुर्घटना बढेको र विकृति फैलिएको बताउँछन्।
लेकसाइड व्यावसायिकसँगै आवासीय क्षेत्र पनि हो। रात्रिकालीन होहल्ला, झैझगडाले गत पाँच महीनादेखि स्थानीय बासिन्दाले शान्ति सुरक्षाको महसूस गर्न सकेका छैनन्। “रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने मापदण्ड लागू भएको छैन,” वडाध्यक्ष भट्टराई भन्छन्, “सुरक्षाको अनुभूति भएन भन्दै स्थानीय बासिन्दा गुनासो लिएर आइरहेका छन्।”
तयारी विनाको घोषणाले समस्या
अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पोखरामा विदेशी पर्यटकको संख्या बढ्ने आशा गरिएको थियो। जसका लागि रात्रिकालीन व्यवसाय चौबीसै घन्टा खुला हुनुपर्ने पर्यटन व्यवसायीको माग थियो।
यो माग पूरा गर्नुअघि पनि स्थानीय प्रशासनले सुरक्षाको विषयमा प्रश्न गरेको थियो। शान्ति सुरक्षाका लागि प्रहरी संख्या, क्षमता नपुग्ने हो कि होइन भन्ने छलफल कायम रहँदै पूर्णकालीन व्यवसायका लागि खुला गरियो। अहिले आएर स्थानीय बासिन्दा र पर्यटकले सुरक्षित महसूस गर्न सकिराखेका छैनन्।
लेकसाइड कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय, बैदाममा जम्मा ९८ प्रहरी कार्यरत छन्। उनीहरूसँग दुई वटा मात्रै गाडी छन्। लेकसाइडमा शान्ति सुरक्षा कायम गर्न अहिलेको जनशक्ति र साधनस्रोत पर्याप्त नभएको सुरक्षाकर्मी बताउँछन्। “हामी अहिले यही जनशक्तिले धानिरहेका छौं,” बैदाम वडा प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष निरौला भन्छन्, “तर अहिले संख्याभन्दा बढी प्रविधिमैत्री हुनुपर्ने आवश्यकता देखेको छु।”
दैनिक हजारौं पर्यटक आवतजावत तथा बसोबास गर्ने लेकसाइड क्षेत्रको सुरक्षामा खटिने प्रहरी अरूमै निर्भर छ। यस क्षेत्रमा हुने कुनै पनि घटनाको प्रमाण जुटाउन सीसीटीभी फूटेजका लागि प्रहरीले व्यवसायीलाई गुहार्नुपर्छ। “केही घटना, दुर्घटना हुँदा प्रमाण जुटाउन पसल, होटल, रेस्टुरेन्टले राखेको सीसीटीभीमै भर पर्नुपर्ने अवस्था छ,” डीएसपी निरौला भन्छन्।
रात्रिकालीन व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड पालना नहुँदा जनजीवन प्रभावित भएको सुरक्षा निकायलाई पनि थाहा छ। यसबारे स्थानीय र पर्यटकले पनि उजुरी गर्दै आएका छन्। यो क्षेत्र हेर्ने डीएसपी निरौला रात्रिकालीन व्यवसाय सञ्चालनका लागि गठित अनुगमन संयन्त्र सक्रिय भएर लागेमा व्यवस्थित गर्न सकिने सुनाउँछन्।
यसका लागि अनुगमन समिति गठन गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक र सम्बन्धित क्षेत्रको नेपाल उद्योग वाणिज्य संघको प्रतिनिधि वा सम्बन्धित व्यवसायको संघको प्रतिनिधि सदस्य रहेने व्यवस्था छ।
समितिलाई व्यवसाय सञ्चालन भएको ठाउँमा मापदण्ड र प्रचलित कानून विपरीत काम भए/नभएको अनुगमन गर्ने/गराउने अधिकार दिइएको छ। तर अनुगमन समितिले मापदण्ड पालना गराउन सकेको छैन।
स्थानीय र पर्यटकबाट गुनासो आइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे पनि बताउँछन्। यस विषयमा छलफल भइरहेको उनको भनाइ छ। “जनगुनासो आएपछि छलफल गरेर अनुगमन भइरहेको छ,” पाण्डे भन्छन्।
स्थानीय बासिन्दा भने मापदण्ड पालना गराउन नसक्ने भए चौबीसै घन्टा खुला राख्ने निर्णयमा पुनर्विचार गर्नुपर्ने बताउँछन्। स्थानीय जनप्रतिनिधि पनि शान्ति सुरक्षालाई ध्यानमा राखेर यसको समीक्षा गर्नुपर्ने बताउँछन्।
तर पोखराका मेयर धनराज आचार्य पर्यटनको राजधानी घोषणा भएको पोखराले केही ‘कम्प्रोमाइज’ गर्नुपर्ने प्रतिक्रिया दिन्छन्। “मापदण्ड लागू भए/नभएकोबारे अनुगमन गरिनेछ,” मेयर आचार्य भन्छन्, “पर्यटकीय राजधानी भएकाले केही ‘कम्प्रोमाइज’ त गर्नुपर्छ, पोखरा चौबीसै घन्टा खुला नै रहनेछ।”
यो पनि पढ्नुहोस् :