‘समयमै उपचार पाएको भए चारै जना बाँच्थे’
राप्तीपारिको गेगली गाउँका दुई बालबालिका सहित चार जनाले उपचारको अभावमा ज्यान गुमाएका छन्।
एक साताअघि बाँकेको नरैनापुर गाउँपालिका-३, गेगली गाउँमा एक्कासि झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या देखियो। एक-दुई जना गर्दै गाउँभरिका मानिस बिरामी परे।
भदौ १० मा २५ वर्षीया रुसा पासी बिरामी परिन्। निको होला भन्दाभन्दै दुई दिन पर्खिइन्। भदौ १२ मा त उनको ज्यान गयो। त्यही दिन १० वर्षीय युसुफ अलीकोे पनि मृत्यु भएको वडाध्यक्ष अजय मिश्रा बताउँछन्।
झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। अन्य गाउँले पनि सिकिस्त भए। भदौ १४ मा ६० वर्षीया शान्ति पासीको मृत्यु भयो। त्यसको दुई दिनपछि भदौ १६ मा डेढ वर्षीया नन्दनी पासीको ज्यान गएको वडाध्यक्ष मिश्रा बताउँछन्।
त्यसपछि भने स्थानीय बासिन्दा आत्तिए। उनीहरूले वडा कार्यालयमा खबर गरेको मिश्रा बताउँछन्। “बिमारी त गाउँभरि फैलिसकेको रहेछ,” उनी भन्छन्, “चार जनाको मृत्यु भइसकेको छ। ४० जनाभन्दा बढी बिरामी छन्।”
वडास्तरबाटै उपचार गर्न सम्भव नभएपछि गाउँपालिका कार्यालयसँग सहयोग मागियो। गाउँमा झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या बढेको खबर पाएपछि भदौ १६ मा स्वास्थ्यकर्मीको टोली गेगली गाउँ पुगेको छ। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ।
उपचार गर्न थालेपछि गेगली गाउँको अवस्था सामान्य बन्दै गएको स्वास्थ्य शाखा प्रमुख शाह बताउँछन्। स्वास्थ्यकर्मीको टोलीले गाउँमै उपचार गरिरहेको बताउँदै उनी भन्छन्, “झाडापखाला भन्दा टाउको दुख्ने, ज्वरो आउने लक्षण भएका धेरै बिरामी छन्।”
गाउँभरि ६० जना बिरामी देखिएको उनी बताउँछन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ। गाउँमा उपचार सम्भव नभएपछि गम्भीर बिरामी रहेका निकेश पासीलाई भेरी अस्पतालमा रिफर गरिएको छ।
सामान्य रोगले चार जनाको ज्यान गएको देखिएको उनी बताउँछन्। उपचार पाएको भए उनीहरू पनि जोगिने अवस्था रहेको शाहको भनाइ छ। “खासमा चार-पाँच दिनदेखि मानिस बिरामी परेका रहेछन्, तर उपचार नगराएर घरमा बसेकाले चार जनाको अकालमा मृत्यु भएको रहेछ,” स्वास्थ्य शाखा प्रमुख शाह भन्छन्, “छिटो खबर गरेको भए चारै जनालाई बचाउन सकिन्थ्यो होला।”
अब त्यस्तो क्षति नहोस् भनेर सतर्कता अपनाइएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन्। “सामान्य बिरामीको पनि प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ,” शाह भन्छन्।
अत्यधिक गर्मी र दूषित खानेपानीका कारण झाडापखाला फैलिएको देखिएको उनी बताउँछन्। सरसफाइको अभाव र खानपिनका कारण पनि बिरामी बढेको हुन सक्ने उनको भनाइ छ। उनका अनुसार गेगली गाउँका अधिकांश बासिन्दाले मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। “भारतसँग सीमा जोडिएको गाउँ हो, समयमै खबर पाएको भए ज्यानै जाने अवस्था आउने थिएन,” उनी भन्छन्।
स्वास्थ्यकर्मी पुगेर उपचार गर्न थालेपछि अवस्था सामान्य बन्दै गएको उनको भनाइ छ। गाउँमै बसेर उपचार भइरहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको शाह बताउँछन्।