चूपचाप दिनहुँ ५० मान्छे मारिरहेको क्षयरोग
गरीबी, जनचेनताको अभाव र सरकारले पर्याप्त बजेटको व्यवस्था नगर्दा क्षयरोगले दैनिक झन्डै ५० जना नेपालीको ज्यान लिइरहेको छ।
२०८० असोजको दोस्रो साता हो, शर्मिलालाई खोकी लाग्न शुरू हुन्छ। ज्वरो पनि आउँछ। क्लिनिकमा गएर दबाई खान्छिन्। अहँ, सन्चै हुँदैन।
कहिले कुन क्लिनिक त कहिले कुन क्लिनिक धाउँदैमा चार महीना बित्यो। सबैतिर भाइरल ज्वरो भन्दै औषधि लेखिदिन्थे। जति औषधि खाए पनि निको भएन। “ज्यान गल्ने, सुत्न नसक्ने, खाना मन नपर्ने, खोकी नरोकिने हुन्थ्यो। मेरो आवाज पूरै गइसकेको थियो। अब त मर्छु कि भन्ने लागिसकेको थियो,” उनी भन्छिन्।
कुनै पनि औषधिले नछोएपछि आफू काम गर्ने कार्यालयका हाकिमले सुझाए बमोजिम शर्मिला छातीको एक्स-रे गर्न गइन्। नभन्दै छातीमा दाग देखियो। चिकित्सकले टीबी (क्षयरोग) लागेको भनेपछि उनी खङ्ग्रङ्ङ भइन्। उनलाई त फोक्सोमा टीबी पो लागेको रहेछ।
गीत गाउने र मोडलिङ समेत गर्ने, बाहिरबाट हेर्दा स्वस्थ देखिने शर्मिलालाई सर्ने खालको टीबी लागेको थियो। माघको १८ गतेदेखि साउनको १८ गतेसम्म नियमित औषधि सेवन गरेपछि उनको शरीरको दुखाइ कम हुँदै गयो। “यो रोगले दुःख पनि दियो, त्यसमाथि टीबी लागेको थाहा पाउनासाथ घरपरिवारले छिःछिः र दुरदुर पनि गरे,” शर्मिला भन्छिन्, “त्यसपछि आफ्नो खूब ख्याल राखें। कार्यालयमा पनि सधैं मास्क लगाइरहें। नियमित औषधि खाइरहें। अहिले ठीक छु।”
टीबी रोगको लक्षण थाहा नपाएर दुःख पाएकी शर्मिला अहिले कसैलाई लामो समयसम्म खोकी लागेको छ भने क्षयरोग जँचाउन सल्लाह दिने गरेको सुनाउँछिन्।
उनकै कार्यालयमा काम गर्ने रीता रीताको कथा पनि उस्तै छ। महीनावारीको समयमा ज्वरो आएकाले रीताले खासै वास्ता गरिनन्। केही दिन पछि फेरि ज्वरो आयो। अस्पतालमा जचाउँदा उनलाई पनि भाइरल ज्वरो भनेर पठाइयो।
रीतालाई अर्को महीनावारीमा फेरि ज्वरो आयो। उनले पाठेघरमा समस्या छ कि भनी महीनावारी भएको सात दिनपछि महिला विशेषज्ञकहाँ गई जाँच गराइन्। पाठेघर पनि सबै ठीक थियो।
उनले ‘होलबडी चेकअप’ गराइन्, केही देखिएन। चिकित्सकले सीटीस्क्यान गर्न लगाए, त्यहाँ पनि केही निस्किएन। ज्वरो आएको १५-२० दिनपछि उनको कानको तल डल्लो आयो। फेरि जँचाउन गइन्, चिकित्सकले ज्वरोको औषधि दिएर फर्काईदिए। रीता भन्छिन्, “शंका लागेर खकार जँचाएँ, नेगेटिभ आयो। मलाई खोकी पनि लागेको थिएन।”
ज्वरो आएको तीन महीनापछि डल्लो बढ्दै गयो। डल्लोको तल अर्को डल्लो थपियो। अझै चिकित्सकले रोग पत्ता लगाउन सकेनन्। अस्पताल धाउँदा धाउँदा चार महीनापछि बल्ल रोग पत्ता लाग्यो। उनलाई ‘लिम्फ नोड्स टीबी’ भएको रहेछ, यो नसर्ने टीबी रहेछ। “धेरै खर्च भएपछि मात्र टीबी भनेर पत्ता लग्यो। टीबी पत्ता लगाउन गाह्रो रहेछ। फोक्सोभन्दा बाहिर टीबी लागेको छ भने त पत्ता लगाउन झन् गाह्रो हुने रहेछ,” उनी भन्छिन्।
एउटै कार्यालयमा दुई-दुई जना क्षयरोगी भेटिने गरी फैलिरहेको यो रोगले शर्मिला र रीतालाई झैं यस क्षेत्रमा काम गरिरहेकालाई समेत आश्चर्यमा पारेको छ। सन् २०५० सम्म विश्वबाटै क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखिए झैं नेपालको पनि २०३५ सालसम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य छ।
तर जसरी यो रोग फैलिरहेको छ, त्यसले सरकारले तोकेको समयसीमाभित्र निमिट्यान्न हुनेमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक प्रज्वल श्रेष्ठ नै विश्वस्त छैनन्। “समाजमा जसरी यो रोग फैलिइरहेको देखिन्छ, त्यसका आधारमा विश्लेषण गर्दा हामीलाई लक्ष्य हासिल गर्न गाह्रो छ,” श्रेष्ठ भन्छन्।
क्षयरोग ‘माइक्रोब्याक्ट्रेरियम ट्यूबरक्लोसिस ब्याक्टेरिया’ द्वारा फैलिने संक्रामक रोग हो, जसले मुख्यतः मान्छेको फोक्सोमा असर पार्छ। तर यो रोगले मिर्गौला, मेरुदण्ड, मस्तिष्क जस्ता अन्य अंगमाथि पनि आक्रमण गर्छ। यो खोकी, हाच्छिँउ र कुरा गर्दा श्वासप्रश्वासबाट सर्ने गर्छ। यो दुई प्रकारको हुन्छ- डिस टीबी अर्थात् सामान्य टीबी र डिआर टीबी अर्थात् जटिल खालको टीबी।
यी टीबी सर्ने र नसर्ने दुवै खालका हुन्छन्। सरुवा- यसले रोगको लक्षण देखाउँछ र संक्रामक पनि हुन्छ। सक्रिय क्षयरोगका लक्षण भएका व्यक्तिलाई लामो समयसम्म खोकी लाग्छ। छाती दुख्छ, तौल घट्छ, ज्वरो आउँछ, रातमा पसिना बहन्छ र थकान महसूस हुन्छ। कहिलेकाहीं रगत मिसिएको खकार निस्कन्छ। क्षयरोगको समयमा उपचार नगराए यो प्राणघातक हुन सक्छ।
दैनिक ५० जनाको मृत्यु
विश्व स्वास्थ्य संगठनको ग्लोबल क्षयरोग रिपोर्ट (२०२२)ले नेपाललाई क्षयरोगको उच्च जोखिममा रहेको देशका रूपमा सूचीकृत गरेको छ। जटिल क्षयरोग पाल्ने नेपाल विश्वको ३०औं नम्बरमा पर्छ। दुई छिमेकी देशमध्ये भारत त टीबी रोगी रहेको विश्वको शीर्ष नम्बरमा पर्छ भने चीन तेस्रो नम्बरमा छ। यी दुई छिमेकीका कारण पनि नेपालमा टीबी रोग फैलनमा भूमिका खेलेको ठानिन्छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक श्रेष्ठका अनुसार नेपालमा आधा अर्थात् ५० प्रतिशत जनसंख्याले क्षयरोगको कीटाणु बोकेर हिंडिरहेका छन्। यो तथ्य कीटाणु बोकेर हिंड्ने व्यक्ति स्वयंलाई पनि थाहा छैन। क्षयरोगका कीटाणु शरीरमा उपस्थित त हुन्छन्, तर यी निष्क्रिय हुन्छन्। जसले कुनै लक्षण देखाउँदैन र संक्रामक पनि हुँदैन। तर पछि यो सक्रिय हुन सक्छ।
पोषक तत्त्वको कमी वा अन्य कुनै रोगका कारण व्यक्ति कमजोर भई उसको प्रतिरोधक क्षमता घटेको खण्डमा यी कीटाणुले शरीरको कमजोर भागमा प्रभाव फैलाउँछन् र टीबी रोगमा परिणत हुन्छ। सर्ने खालका यी कीटाणु कमजोर शरीरमा छिरे भने त्यहाँ पनि यिनले टीबी रोग जन्माइदिन्छन्।
गएको दुई वर्ष चितवन र प्यूठानमा गरिएको अध्ययनले के देखायो भने, क्षयरोग नलागेको तर कीटाणु मात्र बोकेकाहरूले औषधि सेवन गरेको खण्डमा क्षयरोग जन्माउने कीटाणुहरू नियन्त्रण हुन सक्छन्। निर्देशक श्रेष्ठ भन्छन्, “यसले ६ वर्षसम्म काम गर्छ। यसरी कीटाणु मरेपछि अरूलाई सर्न पाउँदैन र यो रोगलाई नियन्त्रण गर्न सकिन्छ।”
सरकारले सन् १९६५ देखि औपचारिक रूपमा क्षयरोग निवारणमा काम गरिरहेको भए पनि यो रोग अहिले पनि नियन्त्रणमा आएको छैन। नेपालमा प्रत्येक वर्ष अनुमानित ७० हजारलाई क्षयरोग हुन्छ। त्यसमध्ये करीब १८ हजारको मृत्यु हुन्छ। यो भनेको हामीले क्षयरोगका कारण दिनहुँ करीब ५० जना आफन्त गुमाइरहेका छौं।
नेपाल सरकारले पाँच वटा समूहलाई जोखिमयुक्त मानी वर्गीकरण गरेको छ। क्षयरोग लाग्न सक्ने उच्च जोखिम समूहमा धूम्रपान गर्ने व्यक्ति, चिनी (डाइबेटिज) रोगी, एचआई संक्रमित, मद्यपान गर्ने र कुपोषण भएका व्यक्तिलाई राखिएको छ। यस्ता व्यक्तिलाई क्षयरोगको कीटाणुले छिटै समात्ने गर्छ। निर्देशक श्रेष्ठ भन्छन्, “जबसम्म मान्छेको जीवनशैली सुध्रिंदैन, तबसम्म यो रोगबाट मुक्त हुन सकिंदैन।”
जोखिम थलो
क्षयरोगलाई गरीबको रोग पनि भनिन्छ। आर्थिक अभावका कारण उचित खुराकको कमीले प्रतिरोधक क्षमतामा ह्रास आउने र क्षयरोग लाग्ने हुनाले यस्तो भनिएको हो। नेपाल जीवनस्तर सर्वेक्षण, २०७९/८० अनुसार नेपालमा गरीबीको रेखामुनि रहेका जनसंख्या करीब साढे ५८ लाख छ। गरीबी सँगसँगै जनघनत्व बढी हुने स्थानमा यो रोग फैलिइरहेको छ। जस्तै- मधेशमा २२.५३ प्रतिशत नागरिक गरीबीको रेखामुनि छन् भने जनसंख्याको घनत्व पनि बढी भएकाले क्षयरोगको असर बढी देखिन्छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार, २०८० सालमा क्षयरोगीको संख्या ३७ हजार ४४७ देखिएको थियो, जसमध्ये जनघनत्व बढी हुने मधेशमा नौ हजार १६१, बागमतीमा आठ हजार ८४९ र लुम्बिनीमा सात हजार ७०६ जनामा क्षयरोग संक्रमण देखियो। यी तीन वटा प्रदेशमा मात्र ६८ प्रतिशत बिरामी छन्। केन्द्रले मधेशका आठ वटै जिल्लाका स्थानीय तहमा गई अध्ययन गरेको थियो। श्रेष्ठ भन्छन्, “गरीबी निवारण नभएसम्म क्षयरोग न्यूनीकरण गर्न सकिने अवस्था छैन।”
मधेशमा गरीबी मात्र छैन, अशिक्षा पनि निकै छ। मधेशमा सबैभन्दा कम साक्षरता दर (६३.५५ प्रतिशत) छ। त्यसैले क्षयरोग सम्बन्धी जनचेतना यी जिल्लामा कम रहेको निर्देशक श्रेष्ठ बताउँछन्। त्यसमाथि भारतसँगको बाक्लो सामाजिक सम्पर्कका कारण पनि उतैबाट संक्रमण फैलिएको पनि केन्द्रको आकलन छ।
टीबीको जोखिमको हिसाबले पहिलो नम्बरमा सुकुम्बासी बस्ती देखिन्छ भने दोस्रोमा वृद्धाश्रम र गुम्बाहरू छन्। छात्रावास, ब्यारेक, कारागार, विद्यालय पनि जोखिममुक्त नभएको श्रेष्ठ बताउँछन्। क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने हुनाले जहाँ गुजुक्क बसोबास र भीड हुन्छ त्यहाँ क्षयरोगको भार उच्च रहन्छ।
क्षयरोगका विश्वव्यापी आँकडाअनुसार, सन् २०२२ मा दुईतिहाइ रोगी त आठ देशमा मात्र थिए। यी देश जनघनत्वका साथै गरीबीमा अग्रस्थानमा देखिन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार, भारतमा २७ प्रतिशत, इन्डोनेशियामा १० प्रतिशत, चीनमा ७.१ प्रतिशत, फिलिपिन्समा ७ प्रतिशत, पकिस्तानमा ५.७ प्रतिशत, नाइजेरियामा ४.५ प्रतिशत, बाङ्लादेशमा ३.६ प्रतिशत र कंगोमा ३ प्रतिशत क्षयरोगी रहेका छन्।
विश्वमा कोभिड-१९ पछि क्षयरोग दोस्रो प्रमुख ज्यानमारा संक्रामक रोगका रूपमा फैलिन गयो। क्षयरोग लागेर दैनिक १३ लाख मानिसको मृत्यु भइरहेको छ। यो रोग जनस्वास्थ्यका हिसाबले विश्वभरका कम आय भएका मुलुकका निम्ति चुनौतीपूर्ण बन्दै गएको छ।
ज्यानकै जोखिम
जनचेतनाका कारण क्षयरोग पत्ता लगाउन अप्ठेरो छ। यो रोगबारे समाजमा गलत धारणा भएका कारण पनि मानिस सकभर खुल्न चाहँदैनन्। त्यसैले विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको वार्षिक ७० हजार रोगी सरकारले पत्ता लगाउन सकिरहेको छैन। वार्षिक ३७ हजार रोगी मात्र पत्ता लाग्ने गरेका छन्।
रोग पत्ता लागेपछि नियमित औषधि खाने हो भने डराउनु पर्ने अवस्था पनि छैन। क्षयरोगको औषधि सरकारले निःशुल्क दिन्छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकमा यो रोगको उपचार सफलता दर ९२ प्रतिशत देखिन्छ। क्षयरोगका कारण महिलामा बाँझोपन बढ्न सक्छ। रोगीको ज्यान जाने खतरा हुन्छ।
चालु आर्थिक वर्ष २०८०/८१ मा क्षयरोग नियन्त्रणका सरकार र दातृ निकायको सहयोग गरी एक अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ। त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले एक अर्ब रुपैयाँ बजेट छुट्याएको थियो।
यसरी हेर्दा क्षयरोग नियन्त्रणका लागि वार्षिक एक अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने गरेको देखिन्छ। क्षयरोग नियन्त्रणका लागि नेपाल बजेट अपुग भएको निर्देशक श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “यो रोग जाँच्ने मशिन महँगो छ। दबाई निःशुल्क वितरण गर्नुपर्छ। रकम त्यसैमा खर्च हुन्छ। त्यसैले बजेट अपुग भएको छ।”
जनमानसमा न्यून जागरणकका कारण पनि क्षयरोग फैलिइरहेको छ। धूम्रपान र मद्यपानका लत भएका र मधुमेहका रोगी बढी भएको समाजमा क्षयरोग नियन्त्रण निकै चुनौतीपूर्ण मानिन्छ। त्यसैले क्षयरोग नियन्त्रणका लागि सरकारले पर्याप्त काम गर्नुपर्ने विज्ञहरू बताउँछन्।