एमाले पनि गण्डकी सरकारमा, चार मन्त्रीले लिए शपथ
नेकपा (एमाले) पनि कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ।
एमालेका तर्फबाट सोमबार चार मन्त्री थपिएका छन्। नवलपुरकी पद्मा जीसी, बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री बनेका हुन्।
नवनियुक्त मन्त्री जीसीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकलाई स्वास्थ्य, केसीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
कांग्रेसबाट यसअघि नै सरकारमा सहभागी टकराज गुरुङलाई आर्थिक मामिला मन्त्रालयकै जिम्मेवारीमा राखिएको छ। त्यस्तै, यसअघि सामाजिक विकास तथा स्वास्थ्यमन्त्री रहेका बिन्दुकुमार थापालाई सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका थिए। नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमै निरन्तरता पाएका छन्।
गुरुङ र देवकोटा कांग्रेसको कोटाबाट मन्त्री बनेका हुन्। दुई ठूला दलबीच सहमति हुँदा कांग्रेसको भागमा मुख्यमन्त्री सहित पाँच र एमालेको भागमा चार मन्त्रालय परेका थिए।
एमालेबाट नवनियुक्त चारै जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई शपथ खुवाएका हुन्।
गण्डकीमा भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याइएको हो। यसअघि सात मन्त्रालय रहेकामा दुई वटा टुक्र्याएर नौ बनाइएका छन्।