राजस्व चुहावट नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन
राजस्व चुहावट तीव्र भएको आशंकापछि नियन्त्रणका लागि अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ।
पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। पहिलो टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानून अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ। यसैगरी, आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो। यसैगरी, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो।
लक्ष्यभन्दा कम राजस्व उठेर सरकार दबाबमा पर्दै आएको छ। आम्दानीका तुलनामा खर्च धेरै भएपछि सरकारले धमाधम ऋण काढेर रकम व्यवस्थापन गर्दै आएको छ। राजस्व चुहावटका कारण भन्सार सहितको राजस्व कम उठेको आकलन सरकारी अधिकारीहरूको छ।