नेपालमा झन्डै तीन खर्ब वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
नेपालमा वैदेशिक लगानीको एकतिहाइभन्दा बढी हिस्सा भारतको देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० ले नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा भारतीय देखाएको हो। राष्ट्र ब्यांकले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमूना छनोट गरी सम्पन्न गरेको अध्ययनले नेपालमा ५८ देशका कम्पनीको प्रत्यक्ष वैदेशिक लगानी रहेको देखाएको छ।
केन्द्रीय ब्यांकका अनुसार नेपालमा कुल दुई खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी छ। यो अघिल्लो वर्षको तुलनामा ११.८ प्रतिशतले बढेको हो।
यसमध्ये भारतीय कम्पनीहरूको लगानी एक खर्ब तीन अर्ब ४५ करोड रुपैयाँ छ। भारतपछि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चिनियाँ कम्पनी धेरै छन्। चिनियाँ लगानीकर्ताले नेपालमा ३५ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन्।
त्यस्तै, नेपालमा आयरल्यान्डबाट रु.२२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट रु.१९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट रु.१८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी भएको छ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी छ। यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत ब्यांक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ।
प्रदेशगत आधारमा भएको प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको सर्वेक्षणमा देखिएको छ। त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम देखिन्छ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत पाइएको छ। अध्ययनले वैदेशिक लगानीको स्वपूँजी (इक्विटी)को प्रतिफल करीब ११.६१ प्रतिशत रहेको देखाएको छ।