राष्ट्रपतिद्वारा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक बिहीबार प्रमाणीकरण गरेका छन्।
संघीय संसद्का दुवै सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको जनाएकी छन्।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँग यसले कानूनको रूप लिएको हो। अब दुवै आयोगमा पदाधिकारी नियुक्ति गर्ने बाटो खुलेको छ।
प्रतिनिधि सभाबाट साउन ३० मा पारित भएको विधेयकलाई राष्ट्रिय सभाले भदौ ६ गते पारित गरेको थियो। यसअघि तीन दलीय कार्यदलले गरेको सहमतिका आधारमा संसदीय समितिले पारित गरेको थियो।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएकोमा अन्तर्राष्ट्रिय समुदायले पनि स्वागत गरेका थिए। छिमेकी चीनसँगै अमेरिका, स्वीट्जरल्यान्ड, संयुक्त राष्ट्रसंघ, यूरोपियन युनियन लगायतले स्वागत गरेका थिए।
यो पनि पढ्नुहोस् :