तीज गीतमा सुनिने प्रतिरोधी चेतना
२०४६ सालको परिवर्तनपछिका तीज गीतले समाजमा जारी लैंगिक विभेद, शोषण र उत्पीडनप्रति चर्को आक्रोश पोख्दै परिवर्तनको खोजी गरेका छन्।
टोलसमाज र बजारलाई तीज लागिसकेको छ। बजारको रफ्तारलाई पछ्याउँदै तीजका गीत पनि सार्वजनिक भइरहेका छन्। थरीथरीका तीज गीत आएसँगै विगतमा झैं यस वर्ष पनि यी गीतका बोल, विषय र प्रस्तुतिबारे विमर्श भइरहेका छन्।
तीज गीतबारे गत वर्ष पनि मैले हिमालखबरमा लेखेकी थिएँ। जसमा २०४६ सालभन्दा अघिका र रेकर्ड एवम् अर्काइभ नभएका मौलिक गीतहरू र तिनले उठाएको सामाजिक पाटोबारे चर्चा गरिएको थियो। यस लेखमा भने २०४६ सालपछि रचना गरिएका रेकर्ड भएका र नभएका दुवै खाले गीतमा केन्द्रित भएर लेख्दै छु। रेकर्ड नभएका गीतहरूले भने गण्डकी क्षेत्रलाई मात्र प्रतिनिधित्व गर्छन्।
बाबाले दिनुभो जानुपर्यो म घर
पढपढ कान्छो भाइ छोड्ने नगर
सम्पत्तिले नपुगे गैरीखेत राजीनाम
डिग्री पास नगरे छैन बाबु काम।
२०४६ सालको परिवर्तनपछि रचना गरिएको यस गीतले त्यो समयमा शिक्षाको महत्त्वबारे महिलामा आएको जागरण देखाउँछ। आफूले पढ्न नपाए पनि नपढे पछाडि परिन्छ भन्ने चेत महिलामा आइसकेको भाव गीतले समेटेको छ।
आजकालका मानिस मै ठूला भन्छन्
तीन हजारको घडी हातमा बाँध्छन्
काम गर्ने वेला भए बुहारीलाई खटाउँछन्
खाने–लाउने वेलामा माइत पठाउँछन्
यो ठाडी उकालीमा कसले भारी बिसाउनी
माइतीबाट घर आउँदा बज्यै रिसाउनी
ढोगिदिन जाँदा देउरे गोडो लर्कियो
मैले देको कोसेली मैलाई फर्कियो।
२०५० को दशकमै रचना गरिएको यस गीतले २०४६ सालमा व्यवस्था परिवर्तन भए पनि समाजमा घरेलु उत्पीडन, विभेद, बुहार्तनको सिलसिला पूर्ववत् रहेको अवस्था देखाउँछ। महिलाको स्थिति जसरी परिवर्तन हुनुपर्ने हो त्यो नभएको गुनासो गीतमा अभिव्यक्त छ।
– आमाले पकाएको दूध भात खाएर
काँसम्म साइत जुत्ता लाएर?
– काठमाडौंसम्मको थियो मेरो साइत
नजाऊ है पियारी तिमी माइत।
– घरको धन्दा बाआमा छोडेर
नजानोस् स्वामी राजै के छ पढेर?
– हेरिनौ तिमीले बुझिनौ तिमीले
जान्छु म त पढ्न त्यसो नभन
पढे भने जागीर खान्छु हवैजहाज चलाउँछु
काठमाडौं शहरबाट तिम्लाई बोलाउँछु
बुलाकी फुकाल कानपासा रिबन
सुखसयल गरेर जाला जीवन।
श्रीमान्श्रीमतीबीचको संवादको शैलीमा रचना गरिएको यस गीतले पनि शिक्षाको महत्त्वबारे बोल्छ। गीतले शिक्षाको उज्यालोले जीवनको बाटोमा ल्याउने सहजताको कुरा गर्छ।
माथि उल्लिखित गीतहरू २०४६ देखि २०६० को दशकमा रचना गरिएका हुन्। २०६० सालपछि क्यासेटको बजारले तीज गीतको शैली र बनोट परिवर्तन हुँदै गयो। त्यसअघि महिलाले आफ्ना पीडा, विरह र असन्तुष्टि अभिव्यक्त गर्न चलिआएको गाउने, बजाउने, नाच्ने परम्परालाई रेकर्डिङ र भिडिओले बिस्तारै विस्थापित गर्यो। २०६० र ७० को बीचको समयमा टेलिभिजनले तीजे भाकालाई दृश्य भाषामा पस्कियो।
२०६२/६३ को परिवर्तनले समाजलाई अझ उदार र समावेशी बनायो। अहिले जस्तो सामाजिक सञ्जाल र यूट्यूब जस्ता भिडिओ प्लेटफर्मले तीजलाई नछोए पनि यो पर्व आउनु केही दिनअघिदेखि नै टेलिभिजनमा तीजकै लागि बनेका गीत घन्किन्थे। तथापि २०७० सालसम्म आइपुग्दा हाम्रा तीज गीतका शब्द र तिनका भिडिओ अहिलेका जस्ता द्विअर्थी र अश्लील थिएनन्।
उडी आयो रानी चरी, बस्यो सेतो हिमालमा
बुहारीभन्दा दाइजो प्यारो अहिले नेपालमा
मुखले त भन्छन् सब दाइजो हाम्लाई चाहिन्न
साँच्चै दाइजो नलिने त कोही पाइन्न
बाबाले खेत बेची मलाई दाइजो दिए’नि
आफ्ना भन्ने स्वामी पनि पराइ भए’नि
ससुराले भन्नुहुन्छ दाइजो थोरै ल्या’की हो
सासूले भन्नुहुन्छ रित्तै आ’की हो
दाइजोले घरमा आँगन–पिँढी खाली रहेन
ससुराको उज्यालो मन भएन।
हरिदेवी कोइरालाले रचना गरेको र गाएको यो तीज गीतले दाइजो कुप्रथाबाट पिल्सिएका महिलाको दारुण अवस्था बोलेको छ। यसमा गण्डकी क्षेत्रको गीति लय छ। मौखिक परम्पराबाट रेकर्डिङसम्म आइपुगे पनि यसले तीजको मर्म र मौलिक संगीत जोगाएको महसूस हुन्छ।
भरर... रानी चरी ऐंसेलुको गाँजैमा
मलाई सम्झी नरोऊ आमा सम्झी साँझैमा
हुलाकैमा चिठी आमा लेख्ने थिएँ खबर
जान्दिनँ म मेरी आमा रुन्छु धरर..
भाले बास्न नपाउँदै पानीको पँधेरो
तीजमा आउन पाइनँ आमा मनै अँधेरो
रातदिन डोको नाम्लो पिठ्युँमा टुटेन
सासूज्यूको पोल्ने वचन कैल्यै टुटेन।
चन्दा रायमाझीको शब्द र नारायण रायमाझीको संगीतमा बिमाकुमारी दुराले गाएको यो गीत पनि २०६० कै दशकमा बजारमा भित्रिएको थियो। कर्मघरमा महिलाले खेप्नुपरेको कष्ट र सास्ती समेटिएको यस गीतमा पढ्न नपाएकी छोरीको व्यथा छ।
वर्ष दिनको तीजमा आएँ बैनी लिनलाई
बिदा माग ज्वाइँसित दुई–चार दिनलाई
माइत गए भाउजूको गाली खानुभन्दा
जान्नँ दाजु म माइत, यहीं छ आनन्द
आजभोलि तिम्री भाउजू देउतैसरि भाकी छन्
के भनिन् र भाउजूले बिग्रियो तिम्रो मन
सिद्धियो रे आधा जेथा दाइजो दिंदा सम्पूर्ण
भन्छिन् मलाई नआऊ माइत, दाइको धन तुर्न।
करीब १५ वर्षअघि नारायण रायमाझी, भगवान् भण्डारी र सिर्जनाको शब्द/संगीतमा राजु परियार र शर्मिला गुरुङले गाएको यस गीतले दाजुबहिनीको भलाकुसारी शैलीमा सम्बन्धका साना झैं लाग्ने तर गहिरो आयामबारे बोल्छ। पुरुषले तीजका गीत लेख्न थाले पनि २०७० को दशकमा टेक्दासम्म यस्ता गीतले मौलिकता आत्मसात् गर्नुका साथै महिलाको अवस्थाबारे बोलेको देखिन्छ। त्यस समयका तीज गीतमा मायाप्रेमका उन्मुक्त भाव कम भेटिन्छन्।
तर पछिल्ला केही वर्षमा तीज गीत भनेर ल्याइएका कतिपय गीति भाका अपाच्य र तीजको मर्म विपरीत छन्। तीज गीतको बजार देखेर यसको आवरणमा अरू नै गीत सार्वजनिक गरी लाभ लिनेहरू बढेका छन्। यसै वर्ष राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘दिउँला बरिलै’, ‘मादलु घन्काउँदै’, ‘टिकटकमा भाइरल हल्लाएरै हो’, ‘बिस्ताराले पोल्यो’, ‘चियर्स बियर’ बोलका गीतहरू विकृतिजन्य सामग्री भएको भन्दै प्रचारप्रसारमा रोक लगायो। कतिले ती गीत परिवारसँग हेर्न नमिल्ने भने त कतिले सार्वजनिक स्थानमा बसेर सुन्न नसकिने भनेर प्रतिक्रिया दिए। तथापि जुनसुकै नाममा गीत र सिर्जनालाई रोक लगाउनु राम्रो होइन।
पछिल्लो समयका तीज गीतमा सदियौंदेखि महिलाले भोग्दै आएको उत्पीडन र शोषण विरुद्ध प्रतिरोधी स्वर पनि सुनिन थालेका छन्। प्रेम सापकोटा (सोनु)को शब्द/संगीतमा शान्तिश्री परियारले घरेलु हिंसाको प्रतिवाद गर्दै गाएकी छिन्–
पोलेको छ सिउँदो, दुखेका छन् नाडी
गलाको यो पोते, भयो आमा भारी
काली पसम् कि आमा, डोरी कसम् कि
करिम यस्तै भन्दै रुँदै बसम् कि।
महिला विरुद्धको हिंसा र यौन उत्पीडनबारे बोल्न थालिनु आफ्नो स्त्रीत्व र शरीरमाथिको अधिकारमा दाबी हो। प्रीति आलेको शब्द, संगीत र स्वरमा यसै वर्ष आएको ‘दुनियाँलाई’ बोलको यस गीतले महिला सुन्दरताबारे प्रचलित मान्यता र परिभाषाको प्रतिरोध गरेको छ। गीतमा पितृसत्ताले सुन्दरताबारे कोरिदिएको नापनक्शा विरुद्ध आक्रोश र आपत्तिको स्वरमा भनिएको छः
कसले भन्यो काली केटी राम्ररी हुन्न भनी
आज मैले त्यसको जवाफ दिन्छु गनीगनी
बीस किलोका खुट्टा मेरा दश किलोका हात छन्
एकै मुक्का हानें भने रगत रगत छाद्छन्
... ... ...
काली छु त काली कौवा भन्नै पर्ने हो र
केको खसखस मेरो कालो तिम्लाई सर्ने हो र!
लगाउदिनँ किरिम पाउडर जस्तो छु म सही छु
मेरो लागि संसारमा सबसे राम्री मै छु
सिरीसिरी हावा कालीको तीर
मै काली भएको दुनियाँलाई पीर।
२०४६ सालपछि विभिन्न चरणमा आएका तीज गीतहरू हेर्दा यसअघि स्त्रीत्वलाई दाबी गरेर लेखिएका गीत कम भेटिन्थे भने पछिल्लो समयका केही गीतमा यस्ता विषयवस्तु बलियो गरी उठाइएका छन्। यसले महिलाको शैक्षिक, आर्थिक अवस्थामा सुधार आउँदै प्रतिरोधी चेतना पनि बढेको देखाउँछ।
यस समयका अधिकांश तीज गीतले महिलाको जीवनमा आएका परिवर्तनसँगै समाजमा आएको रूपान्तरण देखाउँछन्। कतिपय गीतमा महिलालाई वस्तूकरण गर्दै शरीर र अस्तित्वमाथि भद्दा मजाक गरेको देखिए पनि धेरैजसो गीतले तत्कालीन समाज र परिवर्तनकै पक्षमा बोलेको भेटिन्छ।