काठमाडौं कहिले होला साइकलको शहर!
पाँच दशकअघि फिल्म हेर्न जाँदा पहिलो पटक देखेको साइकल रहरैरहरले हुइँक्याएको थिएँ, अहिले ७० को उमेरमा टेक्न लाग्दा भने स्वास्थ्यका लागि साइकल कुदाउनुपर्ने भएको छ।
म केटौलो वयमा छँदासम्म भोजपुरमा साइकल पुगेकै थिएन। साइकलको कहानी भने पुगिसकेको थियो।
बेलायती र भारतीय सेनामा रहेका लाहुरेहरू छुट्टीमा वा पेन्सन पाकेर घर फर्कंदा तिनैले बस, हवाईजहाज र साइकलका कहानी गाउँ पुर्याएका थिए। तिनले फिल्मका कुरा र कहानी पनि सुनाउँथे। लाहुरबाट फर्केका तिनै काका, बाबा, बडा वा दाजुहरूका मुखबाट मैले दन्त्यकथा जस्तै सुनेको थिएँ, साइकलबारे।
यसबारे सुनेपछि साइकल कसरी कुद्छ वा कुदाइन्छ होला भन्ने कुतूहल जाग्थ्यो।
अन्ततः त्यो कुतूहल मेटिने दिन पनि आयो। भोजपुरबाट फिल्म हेर्न धरान झरेको वेला पहिलो पल्ट प्रत्यक्ष रूपमा साइकल देखें। आजभन्दा ५० वर्षअघिको कुरा हो यो।
भोजपुर बजारबाट ओरालो लागेपछि पार्पनी र त्योभन्दा तल फेदी आउँछ, जहाँ पिखुवा खोला भेटिन्छ। पिखुवाको बाइस जँघार तरेपछि बराहक्षेत्र पुगिन्छ। यसको नजीकै चतरा बजार छ। यो बजार उवेला भोजपुर, खोटाङका बासिन्दाका लागि किनमेलको केन्द्र थियो। ती जिल्लाका ढाक्रेहरू वर्ष दिनका लागि नुन-तेल, मरमसला र लत्ताकपडा लिन त्यहाँ पुग्थे।
त्यस बखत चतरा बजार नपुगी सडकमा गुड्ने साधन देख्न पाइँदैनथ्यो। साइकल कस्तो हुन्छ होला र कसरी गुड्छ होला भन्ने मेरो प्रश्नले त्यहीं पुगेपछि उत्तर प्रत्यक्ष देखेको थियो।
धोती-कुर्ता लगाएका एक व्यक्तिले थोत्रो खालको दुईपांग्रे जिनिस खर्ल्याक्ठ्याक्-खर्ल्याक्ठ्याक् गर्दै बगर जस्तै बाटोमा चलाएको देखें। त्यही रहेछ साइकल। केही जीप र ट्रक धूलो उडाउँदै कुदिरहेका देखिन्थे।
फिल्म हेर्न धरान जानु थियो मलाई। त्यो आतुरताले खचाखच जीपमा चढेर गन्तव्य पुगें।
चतराभन्दा धरान अलि विकसित थियो। ठाडोबजारमा सडक पिच थियो। छेउछाउका पातलो बस्तीको बाटो भने धुलाम्य नै थियो। धरानमा धेरैजसो मानिस साइकल कुदाइरहेका देखिन्थे। यता पनि साइकल उता पनि साइकल। पहिलो पटक त्यहीं काकी-छेमा अर्थात् महिलाहरूले लाहुरेनी लुंगी लगाएर साइकल कुदाएको देख्दा तीनदंग परेको थिएँ। काकी-छेमाहरू भनेकै लाहुरे बाङाहरू (काका-बडा)का श्रीमतीहरू हुन्थे। लाहुरे परिवारले गाउँघर छोडेर धरान बस्ने चलन भर्खरै शुरू भएको थियो। धरान सुविधायुक्त हुँदै थियो।
साइकलै साइकलको शहर जस्तो थियो धरान। बाइक, स्कूटीको नामोनिशान थिएन। साइकल मर्मत गर्ने पसल ठाउँ ठाउँमा थिए। यसको अर्थ, साइकल उति वेलाको धरानमा आममानिसको साधन थियो।
पहिलो चोटि श्यामश्वेत फिल्म हेर्न हलमा छिरें। आधा हेरेपछि टाउको दुखेर हलबाट निस्कें र सोडापानी खाएँ। अलि आराम मिल्यो। आइन्दा फिल्म भन्ने जिनिस कहिल्यै हेर्दिनँ भन्ने अठोट नै गरें। फिल्म हेर्न आउनेहरूका साइकल हल बाहिर भरिभराउ हुन्थे, अचेल पार्किङमा बाइक, स्कूटीको लस्कर भए झैं। साइकलधनीहरूले पैसा तिरेर वाहन रुङ्न लगाउँथे। कुरुवाले प्रतिसाइकल पाँच वा १० पैसा जति लिन्थ्यो होला। मैले फिल्म नै ५० पैसामा हेरेको थिएँ।
एसएलसी दिएपछि फेरि म धरान झरें। ब्रिटिश लाहुरे जेठा दाजु ‘डब्लुओ-टू’ बालकृष्ण राई (सिग्नल्स) एकवर्षे ड्युटीमा धरान क्याम्पमा आउनुभएको थियो, भाउजू सहित। दाजुले प्राइभेट र मैले रेगुलर परीक्षा दिएर सँगै एसएलसी पास गरेका थियौं।
दाजुको नयाँ हिरो साइकल थियो। धरानमा १५ दिन बस्दा मैले पहिलो पटक साइकल चलाएँ, सिकें। त्यस वेला धरानमा जताततै खाली चौर थिए। जता कुदाए पनि भयो।
एसएलसी सेकेन्ड डिभिजनमा पास गरेपछि म लाहुरे हुनबाट जोगिएँ। सीधै काठमाडौं जाने बस चढें, २०३४ सालको अन्त्यतिर। धरानबाट ‘राजदूत’ दिवा बस चल्थ्यो। हेटौंडा पुगेपछि खाना खुवाउन बस रोकियो। त्यस वेला हेटौंडामा पनि सडक पिच कमै देखिन्थ्यो। साइकल प्रशस्तै कुदेका देखिन्थे। आज लाग्दै छ, त्यति वेला नै साइकल आममानिसको पहुँचमा रहेछ।
पालुङ-टिस्टुङको बाटो हुँदै अनेक घुम्ती छिचोलेर बस साँझ धरहराको फेदमुनि रोकियो। त्यस वेला उपत्यका बाहिरबाट आउने बसले यात्रु छाड्ने गन्तव्य यही थियो। त्यस बखतसम्म बसपार्कको अवधारणा बनेको रहेनछ। यसले के देखाउँछ भने, काठमाडौंमा उवेला बस पनि कमै मात्रामा चल्थे। जतासुकै साइकल गुडेका देखिन्थे।
आज सवारीसाधनको चापले जसरी काठमाडौं निसास्सिँदो छ, नीतिनिर्माता र शहरी योजनाकारहरूले यसको कल्पना पनि गरेका थिएनन् भन्ने लाग्छ। आज धूवाँ, धूलो, जाम, ध्वनि प्रदूषण उपत्यकावासीले भोगिरहेको यथार्थ छ। म कल्पना गर्छु, साइकललाई प्राथमिकता दिने नीति लिएर विगतमा जस्तै काठमाडौं साइकलै साइकलको शहर भए कति शान्त, सुन्दर अनि वातावरण र स्वास्थ्यमा पनि फाइदाजनक हुँदो हो!
धेरै देशमा साइकलको प्रयोगलाई प्राथमिकता दिइएको देखिन्छ। सभ्य र विकसित देशहरूमा कार, बाइक वा स्कूटीमा पहुँच हुने या नहुने बहुसंख्यक मानिसले दैनिक आउजाउ गर्ने साधनका रूपमा साइकल नै रोज्छन्। स्वास्थ्य र पर्यावरणका लागि साइकल चढ्नेको संख्या बढ्दो छ। चीनका केही वृत्तचित्रमा सडकभरि जनताले साइकल कुदाइरहेको देखिन्थ्यो। यसले देखाउँछ, विकसित र सुसंस्कृत देशले साइकल र साइकलयात्रीलाई प्राथमिकता दिंदा रहेछन्, अनुकूल नीति र पूर्वाधार बनाउँदा रहेछन्।
साइकलको कथा र यसलाई हेर्ने कोण अनेक होलान्। आजको सवाल चाहिं, साइकल आवश्यक सुविधा हो कि स्वास्थ्यको टेको? आज शहरमा शारीरिक सुगठन र स्वास्थ्यका लागि फिटनेस सेन्टर धाउने खातापिता मान्छेको भीड बढ्दो छ। यसका साथै साइकलमा विचरण गर्नेको संख्या पनि धेरै छ। साइकलमा यात्रा गर्नेहरू धनीमानी, पढालेखा, सबै जातवर्गका छन्।
यति वेला म उहिले साइकल चलाएका कतिपय चर्चित व्यक्ति सम्झन्छु। प्रश्न आफैंसँग छ, तिनले सुविधाका लागि साइकल चढे कि स्वास्थ्यका लागि?
काठमाडौं आएपछि मैले कहिलेकाहीं साइकल भाडामा लिएर कुदाएको थिएँ। त्यो रहर र आवश्यकता थियो। दुई रुपैयाँ तिरेपछि एक घण्टा साइकल गुडाउन पाइन्थ्यो। विदेशी पर्यटकले पनि भाडाको साइकल लिएर बौद्ध, स्वयम्भू, झोंछे आदि स्थान घुमेको देख्थें। विशेष गरेर विदेशी पर्यटक पुरुष र महिला दुवैले साइकल चलाएको देखिन्थ्यो। पोखरामा पनि पर्यटकले साइकल भाडामा चलाउँथे।
तर काठमाडौंमा साइकल चलाउने नेपाली महिला कमै देखिन्थे, चितवन, नवलपरासी आदि स्थानको तुलनामा। सीमावर्ती तराईका जिल्लामा हिजोदेखि आजसम्म दैनिक आउजाउ, घाँसदाउरा र अन्य कामका लागि साइकल प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य छ। भारतमा बन्ने साइकल सीमावर्ती जिल्लाका मानिसले सस्तोमा किन्न सक्ने भए।
काठमाडौंमा भने त्यस वेला साइकल महँगो भएकाले सबैको पहुँच थिएन। हुनेखानेले मात्रै चढ्थे। यसै कारण यहाँ साइकल चलाउने मान्छेका लागि यो सुविधासँगै सान पनि थियो।
त्यस वेला काठमाडौंको जमलबाट असन जाने बाटैमा दुइटा साइकल पसल थिए। नयाँ साइकल किन्न, पार्टपुर्जा किन्न र साइकलको चेनमा लाइने ग्रिज तथा तेल त्यहाँ बाहेक अरूतिर पाइँदैनथ्यो। त्यसै कारण पसलमा प्रायः चहलपहल देखिन्थ्यो। पसलेको व्यापार राम्रो थियो। शहरभरिका साइकलधनीले साइकल पसल चिन्ने र पसलेले सबै साइकलयात्रीको नाम थाहा हुने अवस्था थियो।
मैले साइकल किन्न सकेको थिइनँ। विद्यार्थी थिएँ। रत्नपार्कको स्वीट भ्यालीमा कसले चिया र समोसा खुवाउला भनेर ताक हेर्नुपर्ने मेरो अवस्था थियो।
त्यस्तो समयमा नाम चलेका व्यक्तिहरू धेरैजसो रिक्सामा र कहिलेकाहीं साइकलमा शहरमा आउजाउ गरेको देख्थें। तीमध्येका एक थिए, साहित्यकार बालकृष्ण सम। परिधान र अनुहारको सज्जाले उनको व्यक्तित्व धपक्क बलेको देखिन्थ्यो। लामो लबेदा र सुरुवाल, भादगाउँले टोपी, कालो जुत्ता लगाउँथे। मुहारमा मेकअप गर्थे, ओठमा लाली र आँखीभौंमा पनि आइलाइनर हुन्थ्यो। जीवनको उत्तरार्द्धमा पनि चिटिक्क सजिएर हिंड्थे।
फेशन गर्ने र अनुहार मेकअप गर्ने ‘क्षेत्राधिकार’ महिलाको मात्रै हो भन्ठान्ने मेरो सोचको जालो त्यही वेला फाटेको थियो। दुईसीटे साइकल त समसँग मात्रै थियो होला। त्यो साइकल सीधै कलकत्ताबाट मगाइएको हुनुपर्छ। असनको साइकल दोकानेले त्यस खालको साइकल बेच्न राखेको मैले कहिल्यै देखिनँ। अचेल त्यस्ता साइकल देखिन छाडे।
२०३६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले दिने संगीत तालीममा म पनि छानिएँ। संगीत सिक्न दैनिक बिहान कमलादीमा रहेको प्रतिष्ठान जान्थें र ११ बजेपछि पुतलीसडकको कोठामा फर्कन्थें। त्यस वेला अरू प्रसिद्ध कलाकार र साहित्यकारले साइकल चढेको देखें।
केदारमान व्यथित, श्यामदास वैष्णव, धर्मराज थापा, तुलसी दिवस, पण्डित नयराज पन्त, पूर्णप्रकाश नेपाल ‘यात्री’ आदि धेरै प्राज्ञ र विद्वान्को आवतजावत भइरहने प्रतिष्ठानमा मास्टर रत्नदास प्रकाश, संगीत प्रवीण नरराज ढकाल, उस्ताद शम्भुप्रसाद मिश्र, प्रकाण्ड हार्मोनियमवादक शाम्बदेव शर्मा, संगीतकार नातिकाजी, नाटककार प्रचण्ड मल्ल, अभिनेता एवम् गायक शिवशंकर मानन्धर आदि साइकलमा आउजाउ गर्थे। त्यो देख्दा मलाई पनि साइकल चढ्नुपर्छ भन्ने हौसला मिलिरहेको थियो।
२०३८ असार २२ गते म रेडियो नेपालको जागीरे कलाकार भएँ। त्यहाँ आइरहने र काम गर्ने कलाकारहरू उही गोविन्दबहादुर गुरुङ, हरिबहादुर रञ्जितकार, पन्नाकाजी, ज्ञानबहादुर श्रेष्ठ आदिले पनि साइकल चलाएको देख्थें। शहरका सडकमा कलासाधक संगीत प्रवीण मोहनप्रसाद जोशी, प्रसिद्ध सितारवादक गणेश भण्डारी पनि साइकलमा सरर कुदेको देखिन्थ्यो। रानी ऐश्वर्य, प्रेक्षा आदिका सितार गुरु थिए भण्डारी।
यो सबै देख्दा एक थान साइकल आफ्नो पनि भए हुन्थ्यो भन्ने लाग्थ्यो। तर सुको-सेन्टी जम्मा थिएन। उपत्यकाका तीन शहरमा साइकल किन्ने र कुदाउने हैसियत कि त हुनेखाने कि त कर्मचारीहरूको हुन्थ्यो। अरूको पिताम चल्दैनथ्यो।
मैले सरसापट गरेर बल्लतल्ल २०४० सालमा १८ सयमा हिरो साइकल किनें। सापट चुक्ता गर्न तीन-चार महीना लागेको थियो। सापटमा डुबे पनि साइकलधनी भएपछिको स्वाद र शान अर्कै थियो। साइकल चढ्न सक्ने र नसक्ने दुइटा वर्ग स्पष्ट देखिने त्यो समयमा आफूसँग साइकल हुँदा एक किसिमको गौरव हुन्थ्यो। साइकल चढेर शहरबजारतिर निस्किएपछि मलाई कसैले हेर्यो कि छैन भन्ने लाग्थ्यो।
प्रख्यात चित्रकार एवम् आवरण कलाकार टेकवीर मुखिया पनि साइकलयात्री नै थिए। गोष्ठी, सभा जस्ता कार्यक्रममा जहाँ बोलाए पनि उनी साइकल चढेरै आएको देख्थें।
चर्चित गायक फत्तेमान राजभण्डारीले पनि निकै पछिसम्म साइकल यात्रा गरेको देखिन्थ्यो। नातिकाजी दाइलाई मुटुको समस्या भएपछि डाक्टरले बाइक चलाउन मनाही गरेर साइकल चढ्न सुझाव दिएका थिए। त्यसपछि नातिकाजीले पछिसम्मै साइकल चलाउनुभयो।
पत्रकार तथा फोटोग्राफर हरिवंश किरात र फोटोग्राफर तथा वृत्तचित्र निर्देशक अर्जुनकुमार राई पनि साइकल प्रयोगकर्ता हुन्। दुवै सूचना विभागका कर्मचारी थिए। देश या विदेशमा राजाको सवारी हुँदा फोटो खिच्ने काम उनीहरूकै थियो। अर्का पत्रकार हरिगोपाल प्रधान, लेखक/कवि विप्लव प्रतीक, लेखक तथा संगीतकार गणेश रसिक आदि पनि उवेलाका साइकलयात्री हुन्।
धिमे बाजावादक कृष्णभाइ महर्जन, संगीतकार गणेश परियार, डबल बेसवादक रामप्रसाद बैजू, रेडियो नेपालका समाचारवाचक प्रवीण गिरी, कमल प्रधान, कार्यक्रम सञ्चालक दामोदर अधिकारी, गायक द्वारिकालाल जोशी, गायक/संगीतकार राम थापा, धार्मिक प्रवचन दिने पण्डित खेमराज केशवशरण आदिले पनि साइकल यात्रा गरेकै हुन्।
साइकलको सुविधा लिंदालिंदै समय परिवर्तन हुँदै गयो। २०४५ सालपछि साइकलको ठाउँ बाइकले लिन थाल्यो। २०५० साल आइपुग्दा त मैले पनि साइकलको यात्रा विराम लगाएर सानो सनसाइकल किनें। तीन लिटर पेट्रोल हालेर कुदाउन मिल्थ्यो। तर त्यो स्टार्ट गर्न भएभरको बल लगाउनुपर्थ्यो। त्यसपछि क्रमशः अरू बाइकतर्फ लागियो। साइकलसँगको सम्मोहन विसर्जन भयो।
रेडियो नेपालबाट म सेवानिवृत्त भएपछि भाइ दीप लामासँग सम्बन्ध पुनः जोडियो। उनी मेरी आमाकी बहिनी यशोदा छेमाका छोरा हुन्। उनले कफीको व्यावसायिक खेती गर्दै आएका छन्। बूढानीलकण्ठमा परिवार सहित बस्ने उनलाई एक दिन मैले ‘शनिबार बिहान भेटघाट गरौं न’ भनेर प्रस्ताव गरें।
उनले भने, “दाजु, अरू दिन भए त भेट्न हुन्थ्यो। शनिबार त म राजाले बोलाए पनि टाइम दिन सक्दिनँ नि।”
मैले कारण सोधें।
उनले भने, “शनिबार बिहान त म ५ बजेदेखि ११ बजेसम्म टोखा, शिवपुरी, नुवाकोट आदि क्षेत्रमा साइकल यात्रा गर्छु। कहिले सुन्दरीजल पुगेर बौद्ध हुँदै बूढानीलकण्ठ फर्कन्छु। ज्यानलाई दुःख दिएन भने त यति वेला सुगर, प्रेसर, युरिक एसिडले हानिसक्थ्यो होला। हप्ताको एक दिन बिहान त कसैलाई समय छैन। अरू दिन अफिसमा बस्दाबस्दा भाते भएको ज्यान साइजमा ल्याउनुपर्यो नि।”
उनको कुराले म छक्कै परें। ६० पुग्न तीन वर्ष मात्र बाँकी छ, अझै साइकल हुइँक्याउँदै छन् भाइ। ज्यान पनि चिरिच्याट्ट पारेको देखिन्छ।
आफ्नो उमेर ७० को छेउछाउ पुग्दै छ। पोहोर कार्डियो जचाउन जाँदा डा. अरुण सायमीले मलाई साइकल चलाउन सल्लाह दिएका थिए।
मैले सोधें, “स्वीमिङबाट हुँदैन र?”
डा. सायमीले भने, “स्वीमिङ गर्न त घरबाट अलिक टाढा जानुपर्ला, तर साइकल घरैमा हुन्छ नि।”
उनको कुरा चित्त बुझेको थियो। तर अझैसम्म साइकल किन्न सकेको छैन। पुरानो साइकल कबाडीलाई १५० मा बेचेको झलझली सम्झें। राखेको भए हुने रै’छ भनेर थकथकी लाग्यो।
पोहोर साल ‘नछेक मेरो आँसुको भेल’ बोलको गीत (स्वर : स्मिता प्रधान, रचना : कविता दाहाल र संगीत : मेरो)को भिडिओ छायांकन गर्न भक्तपुरको गुन्डु गएका थियौं। हाम्रो शूटिङ स्पटमा साइकलयात्रीको हुलले छोपेको थियो। साइकल मोह यति धेरै बढेको देखेर अचम्म लागेको थियो।
त्यहाँ कविताले उनकी छोरी पनि साइकलयात्री रहेको सुनाइन्। छोरी विदेश जान लागेकाले साइकल बेच्ने तयारी रहेछ। अघिल्लो साल मात्रै ३० हजार रुपैयाँमा किनेको सुनें। समयसँगै साइकलको भाउ पनि चौपट्टै बढेछ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा पढाउने समालोचक डा. तारालाल श्रेष्ठ पनि साइकल प्रयोगकर्ता रहेछन्। उनले एउटा किताब खोज्दै फोन गरेपछि भर्खरै मात्र हाम्रो चिनापर्ची भयो। उनलाई अरुणा लामाको किताब चाहिएको रहेछ।
त्यो किताब संगीत पुस्तकालय नेपालमा थियो। उदयपुरको चौदण्डीगढी नगरपालिका-४, मक्कमडाँडाबाट काठमाडौं आउने यात्रीसँग मगाएँ।
किताब आएपछि डा. श्रेष्ठलाई न्यूरोडमा बोलाएँ। किताब लिन आउँदा वा मेरा घरमा आउँदा पनि उनले साइकल छोडेका थिएनन्। यो उनको साइकलप्रतिको अनुराग हो या सम्मोहन? स्वास्थ्यप्रतिको सजगता थियो कि हैसियत? मैले बुझेको छैन। तर साइकलयात्री हुनु राम्रो हो भन्ने उनको पैरवी चाहिं खायस पर्दो छ। साइकलबाट विश्वयात्रा गर्ने पुष्कर शाह र उनको किताब नपढेको होइन नि!
यातायातको साधनमा साइकल अत्यन्तै पर्यावरण अनुकूल यातायात हो। यसले कत्ति पनि बिमाख गर्दैन। हल्ला गर्दैन। डिजेल/पेट्रोल चाहिएन। बिजुली पनि दरकार परेन। यत्ति हो, पिंडुला र पाखुरा चाहिं दह्रो हुनुपर्यो।