थासाङ हिउँ पहिरो : बग्न थाल्यो बोक्सीखोला
धवलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट खसेको हिउँ पहिरोले थुनिएको मुस्ताङको थासाङ गाउँपालिकास्थित बोक्सीखोला बग्न थालेको छ।
मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित मूलखर्कबाट बोक्सीखोला क्षेत्रमा मंगलबार साँझ हिउँ पहिरोले बोक्सीखोला थुनिएको थियो। करीब १३ घन्टापछि बुधबार बिहानदेखि खोला बग्न थालेको वडाध्यक्ष गौतम शेरचनले बताए।
उनका अनुसार खोंचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बिस्तारै बग्न थालेको हो। “हिउँ पहिरो थुप्रिएर बोक्सीखोला पूरै सुकेको थियो, सामान्य अवस्थाको तुलनामा आधा जति बगेको खोलामा बिस्तारै पानीको मात्रा बढ्दै गएकाले तटीय क्षेत्रमा सतर्कता अपनाएका छौं,” शेरचनले भने।
तटीय क्षेत्रका नौ वटा घरपरिवारलाई राति सुरक्षित ठाउँमा सारिएको थियो। पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका-२ का वडा सदस्य भीमप्रसाद थकालीले बताए।
बोक्सीखोलाको मूलखर्कदेखि तल करीब एक किलोमिटरसम्म हिउँ पहिरो थुप्रिएको छ। त्यो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो। त्यति वेला हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घन्टापछि बग्न थालेको थियो। यसअघिकै हिउँको थुप्रो पग्लिनसक्दै पुनः पहिरो आएर हिउँ थपिएको उनले बताए।
बोक्सीखोला कालीगण्डकीको सहायक खोला हो। तीन वटा ठाडो खोला मिसिएर बोक्सीखोला बग्ने गर्छ। आसपासमा बस्ती नभए पनि बेनी-जोमसोम सडक बोक्सीखोलामा पर्छ।
यसअघि २०७८ कात्तिक २८ र फागुन २१ मा पनि थासाङ गाउँपालिका-२, कोवाङमा टुकुचे हिमालबाट आएको हिउँ पहिरोले १५० भन्दा बढी चौंरी गाई मरेका थिए। -रासस