तीजको समाजशास्त्र बदलियो बरिलै!
हिजो लोग्ने जतिसुकै बदमास भए पनि तिनका निम्ति व्रत बस्नुपर्ने र आराधना गर्नुपर्ने परम्पराले थिचिएको तीज पर्वले आज नयाँ स्वरूप धारण गरेको छ।
हरितालिका तीज हिन्दू नेपाली महिलाको मौलिक पर्व हो। तीजको दिन रातो परिधान लगाउने, मन्दिरमा शिवको आराधना गर्ने, व्रत बस्ने जस्ता धार्मिक, सांस्कृतिक क्रियाकलाप गरिन्छ। यस दिन घर, मन्दिर, चोक र खुला ठाउँमा महिलाहरू नाचगान गर्दै मनोरञ्जन गर्छन्। तीजको अघिल्लो रात दरका रूपमा दरिलो भोजन खाने र नाचगान गर्ने चलन छ।
तीज हिन्दू धर्मसँग जोडिएको भए पनि आजभोलि सबै धर्म-सम्प्रदायका महिला यस पर्वको मनोरञ्जनमा सहभागी भएका देखिन्छन्। त्यसैले यो लोकप्रिय संस्कृतिका रूपमा विकास भइरहेको छ। पौराणिक कालदेखि मनाइँदै आएको विश्वास गरिने यो पर्व विशेष खालको जीवनशैली र अभ्यासका कारण मौलिक नेपाली संस्कृतिका रूपमा प्रचलनमा छ।
तीजलाई चेली-माइती मिलनका रूपमा लिइन्छ। तर यसको सम्बन्ध यतिमा मात्र सीमित छैन। नारीको स्वतन्त्रतालाई नियमन गर्न बनेको पितृसत्तात्मक धार्मिक-सांस्कृतिक व्यवस्था पालना गराउँदै ल्याउन पनि यस पर्वको बलियो भूमिका छ।
सभ्यताको यात्रामा सामन्तवादको युगले नारीलाई नियमन र नियन्त्रण गर्ने कसिलो साङ्ला तयार पार्यो र कस्ने हतियारका रूपमा संस्कृतिको आविष्कार गर्यो। वैदिक कालमा नारीलाई वेदको सन्देश टाढा टाढा फैलाउन सक्ने विदूषीका रूपमा स्वीकार गरिएको थियो। तर तिनै विदुषीलाई बिस्तारै दमन गर्दै लगियो (अनामिका, सन् २००१, पृ. २५)। यो प्रक्रिया पुराण कालमा तीव्र रूपमा अगाडि बढाई नारीलाई पुरुष अधीनस्थ बनाइयो। तीजको कथा शिवपुराणमा वर्णित पार्वतीको कथाकै मिथकीय प्रतिविम्ब हो (मित्तल, सन् २०१६, पृ. २७२)। यसरी तीजको उत्पत्तिको जुन प्रसंग छ, यसले पितृसत्ताकै रक्षा र प्रवर्द्धन गरेको छ। सामन्ती समाजले नारी विभेदका लागि विवाह नामक संस्थाको उपयोग शुरू गर्यो। विवाह संस्थाले निश्चित महिलालाई निश्चित पुरुषले ल्याएर सँगै बस्ने अवस्था बनायो, नारीलाई दास बनाउने प्रक्रिया यहींबाट शुरू भयो (कात्यायनी, सन् २००४, पृ.४२)। तीजको मिथक पनि यही विवाह प्रणालीसँग सम्बद्ध छ।
नेपाली समाजमा विवाह गरेर टाढा गएकी छोरीचेलीलाई माइत बोलाई मीठोमसिनो (दर) खुवाउने अनि नाचगान गरी उल्लासपूर्वक मनाइने पर्वका रूपमा तीजलाई लिइन्छ। यस पाटोबाट हेर्दा, माइती पक्ष विवाहित छोरीचेलीसँग नजीक हुने र उनीहरूका समस्या एवम् जीवन बुझ्न यो पर्वले सहयोग गरेको पनि देखिन्छ। अर्को पक्षबाट सोच्दा महिलालाई विना पारिश्रमिक घरायसी कामको चर्काे श्रम थोपरेको समाजले त्यसलाई सन्तुलनमा ल्याउन पनि यस्तो समयको व्यवस्थापन गरेको हो भन्न सकिन्छ। छोरीचेलीलाई आर्थिक अधिकार नदिने र आत्मनिर्भर बनाउने वातावरण नबनेको समयमा तीजको संस्कारले उनीहरूलाई माइतीको हार्दिकता र समभाव दिनु सुन्दर कुरा हो। अर्कातिर, जतिसुकै बदमास भए पनि पतिका नाममा व्रत बस्ने, पतिलाई देवता मानेर पानीसम्म नखाई बस्नुपर्ने मान्यता र अभ्यासले पितृसत्तालाई बलियो बनाएको छ। पति धर्मका नाममा महिलाको देहलाई प्रयोग गर्ने यस परम्परालाई शरीर राजनीतिकै एउटा पक्षका रूपमा हेर्न सकिन्छ।
तीजले पितृसत्ताका कतिपय अभ्यासको प्रवर्द्धन गरे पनि कर्मघरमा अनेक संघर्षमा पिसिएका छोरीचेलीलाई माइत ल्याई तिनका गुनासा र समस्या उजागर गर्न सकारात्मक भूमिका खेलेको छ। नाचगानको माध्यमबाट महिलाका पीडा, वेदना र असन्तुष्टि सहजै अभिव्यक्त गर्ने वातावरण यसै पर्वले बनाएको हो। यही समयलाई महिलाहरूले पितृसत्ताको दमनको विरोध गर्ने उपयुक्त अवसरका रूपमा उपयोग गरेको पनि देखिन्छ। नारीलाई केन्द्रमा राखेर हेर्दा पारिवारिक पुनर्मिलन, स्वतन्त्रता र अधिकारको आवाज उठाउने समय आदि यसका सकारात्मक पक्ष हुन्।
शिवलाई पतिका रूपमा पाऊँ भनी पार्वतीले बसेको व्रतसँग तीजको कथा जोडिएको छ। यसलाई नारीको स्वचयनको अधिकारसँग जोडेर हेर्न सकिन्छ। पिता हिमालयले विष्णुसँग विवाह गरिदिन लागेकी पार्वतीले सखीहरूको सहयोगमा तपस्या (भोक हडताल) गरी जीवनसाथी छान्न सफल भएकी पौराणिक कथा छ। पार्वतीले पति छानेर आफ्नो जीवनको निर्णय आफैं गरे झैं छोरीहरूले आफ्नो निर्णय आफैं गर्न सक्छन् भन्ने सन्देश पनि यस पर्वले बोकेको छ। यही विषयलाई आधार मानी अनामिका (सन् २००१, पृ. १५७) ले पार्वतीलाई प्रतिरोधकी देवी भनेकी छन्। यति भएर पनि तीजका कथासँग जोडिएका कतिपय सन्दर्भ र व्याख्या तथा अहिले गरिने अभ्यास (पतिलाई परमेश्वर मानी गरिने अनेक क्रियाकलाप) मूलतः पितृसत्ता शक्तिशाली बनाइराख्ने अभ्यास नै हो।
उहिले तीजमा महिलाले गरेको व्रत (पतिप्रतिको भक्ति)लाई तत्कालीन समाजका अधिकारविहीन र आर्थिक रूपमा दुर्बल महिलाले आफ्नो सहयोग र साथका लागि गरेको एउटा बाध्यकारी अभ्यास थियो भनेर पनि बुझ्न सकिन्छ। पछिल्लो समय चाहिं विवाह नगर्ने, एकल रूपमा बस्ने महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी महिलाको कल्पना समेत नगरी पतिसँगै आश्रित हुने महिलाको पाटो मात्रको सम्बोधनले तीज सबै महिलाको पर्व हो त भन्ने प्रश्न गर्न सकिन्छ। तीजका धार्मिक र सांस्कृतिक अभ्यासले महिलालाई आश्रित पात्रका रूपमा नै उभ्याएको छ, तर आजको सन्दर्भमा यसको कतिपय स्वरूप फेरिंदै गएका छन् भने महिलाहरू पनि आत्मनिर्भर र आर्थिक रूपमा सबल हुँदै भएका छन्। बदलिंदो सामाजिक परिस्थिति र विकाससँगै तीजको मर्म र बुझाइ फेरिंदो छ।
महिलाको यौनिकतामा अंकुश
पितृसत्तात्मक व्यवस्था सधैं लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुन्छ। यस व्यवस्थाले जात, लिंग, वर्ण, धर्म, वर्ग जस्ता विभेदसँगै परिवारको वर्चस्वशाली पुरुषको धारणालाई स्वीकार गर्नुपर्ने मान्यता राख्छ। नेपाली समाजमा पहिलेदेखि प्रचलित तीजको धारणा पितृसत्ताबाट निर्देशित देखिन्छ। यस पर्वमा पितृसत्तात्मक र सामन्तवादी संस्कारका मान्यता समेटिएका छन्। तीजले महिला शरीरको नियन्त्रणका लागि पतिप्रति बफादार हुन सिकाएको छ। तीजको पूजामा सुनाइने कथा, ऋषिपञ्चमी व्रतमा सुनाइने कथाले धर्म र पापका नाममा महिलामाथि कडा नियन्त्रण गरेको छ। रजस्वलासँग जोडेर बनाइएका अनेक कथा र संस्कार महिलाको स्वतन्त्रता नियन्त्रण गर्न बनाइएका हुन्।
परापूर्वकालदेखि नै महिलाको यौनिकतालाई नियन्त्रण गरिनुपर्ने र यसका लागि पुरुष बढी जिम्मेवार हुनुपर्ने पाठ सिकाइएको छ। महिलाको स्वतन्त्रतामा अंकुश लगाउन ल्याइएको पतिव्रता धर्म सामन्तवादी पितृसत्ताको औजार हो। यही पाटोलाई नियमन गर्न तीजको व्रत र यससँग जोडिएका अनेक संस्कार व्यवस्थित गरिएका हुन्। मनु एकातिर ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ भन्छन् भने अर्कातिर महिला पुरुषको अधीनमा रहनुपर्ने र स्त्रीधर्म पालना गर्नुपर्ने भन्छन् (ठकुरी, २०७७, नयाँपत्रिका डटकम)। महिलालाई स्त्रीधर्मको पाठ सिकाउनकै लागि तीजको कथा शुरू भएको देखिन्छ। यस्तै, रजस्वला जस्तो महिलाको शरीरबाट हरेक महीना रगत निस्किने प्राकृतिक प्रक्रियालाई ‘अछूत समय’ का रूपमा बुझाई दोष निवारण गर्न ऋषिपञ्चमीको पूजा गर्ने नियम बसालिएको छ। पितृसत्ताले महिलालाई नियन्त्रण गर्न यस्ता धार्मिक आचार र संस्कारको व्यवस्था गरेको देखिन्छ।
तीज गीतमा नारी चेतना
नेपाली समाजमा नागपञ्चमीदेखि ऋषिपञ्चमीसम्म तीज गीत गाउने चलन छ। तीजका दिन महिलाहरू घरका कामकाजबाट फुक्काफाल भएर समूहमा नाचगान गर्छन्। हिजोदेखि आजसम्म तीजमा गाइने गीतहरू हेर्दा यिनमा कुनै न कुनै रूपमा नारीका आवाज र चेतना मुखरित भएका पाइन्छन्।
सामाजिक सञ्जालको व्यापकतासँगै व्यवसायमुखी होडबाजीका कारण पछिल्ला समयका तीज गीत र भिडिओमा अश्लीलता भित्रिए पनि मौलिक तीज गीतको महक अर्कै हुन्छ। तीजमा महिलाहरूले भगवान् शिवको महिमा, माइतीको सम्झना र आफ्नो जीवन भोगाइका गुनासासँगै आफू सबल हुनुपर्ने आवाज उठाउँदै गीत बुनेको देखिन्छ। पहिले महिलाले गाउने तीज गीत शिवको आराधनामा सीमित थिए। समयसँगै शिक्षा र चेतनाको विकासले गीतको विषय र स्वरूपमा विविधीकरण र परिवर्तन ल्यायो। तीज गीतमा महिलाहरूले मूलतः आफ्नो जीवनको परिस्थितिलाई जोडेर पीडा र संघर्षका भाव पोख्दै अधिकार र परिवर्तनको चाहना अभिव्यक्त गरेको देखिन्छ।
नेपाली समाजमा २०३० को दशकतिरका कतिपय गीतहरूबाट नै महिला अधिकारका आवाज मुखरित हुन थालेका देखिन्छन्। तीजले हाम्रा हजुरआमा र आमा पुस्तालाई यसैगरी बोल्न सिकायो-
लिप्यौं लाप्यौं बाबाको आँगनी
छिटकरी मारी नाचौंला
छिटकरी मारी नाचने चेलीको
शिरैमा छैन शिरफूल....।
सम्पत्तिको अधिकार जमाएका घर र माइतीका पुरुष सदस्यलाई आफ्ना पेवा वा सम्पत्तिका रूपमा रहने गरगहनाको वर्णन गर्दै बनाइदिन अनुरोध गरिएका यस्ता गीतले उनीहरू आर्थिक रूपमा सबल बन्न चाहेको भाव झल्किन्छ।
- रमझम तीजै र आयो
कमाइदेऊ राजै शिरफूल
- तिमी त नारी काली पो छौ र
सुहाउँदैन शिरफूल
- वेदका अक्षर नि काला हुन्छन् राजै
नपढे है सास्तर ...
विगतमा महिलाले गीत मार्फत गर्ने माग गहना र शृंगार सामग्रीमा सीमित थिए। यद्यपि यी मागमा उनीहरूले आफ्नो आर्थिक अधिकार खोजेको देखिन्छ। समयको चेतनासँगै महिलाले आफ्नो आवाज अझ मुखर बनाउँदै लगे। २०४० को दशकतिर गण्डक क्षेत्रमा गाइने गीत यस्तो पनि थियो- ‘सालको पात टिपेर नलाऊ आमा टपरी, हामी बिहे गर्दैनौं मनै नपरी...।’
महिलाहरूले अधिकार र स्वतन्त्रतालाई बुझ्न थालिसकेका थिए। योगमायाको जलसमाधिको विद्रोह हुँदै विराटनगर मजदूर आन्दोलनमा जोडिएका महिलाको प्रेरणाबाट महिलाहरूमा चेतनाको लहर बढ्न थालेको थियो। देशको परिवर्तित व्यवस्थासँगै अखिल नेपाल ट्रेड युनियन महासंघको आन्दोलनदेखि महिला एकतिहाइ सहभागिताको आवश्यकता अनुभव गर्न थालियो (पाण्डे, २०७१, पृ. ३९०) त्यसपछि सम्पत्तिमा महिला अधिकारको विषयलाई लिएर देशव्यापी कार्यक्रमसँगै महिलामा चेतनाको खुड्किलो बढेको देखिन्छ। यस समयका तीज गीतमा सम्पत्तिमा महिलाको अधिकार रहे मात्र महिला मुक्ति र स्वतन्त्रता सम्भव हुन्छ भन्ने भाव प्रतिविम्बित भएको छः
पारि वनमा सेतै भयो सिमलुका भुवाले
छोरा जति परदेश गए भन्छन् बुबाले
बुबाले भन्नुहुन्छ भैंसी फुकाई लगाइदेऊ
आमाले भन्नुहुन्छ धन्दा सघाइदेऊ
भैंसी फुकाई लगाम् कि घरको काम सघाम् कि
भविष्यलाई सोचेर पढ्न जाम् कि
हामी पनि हौं नि बुबा एउटै रूखका बिरुवा
हाम्लाई पनि चाहियो अंश काँक्रो चिरुवा
बुबाका कामले कपाल मैले कोरिनँ
अब मैले आधा अंश नलाई छोडिनँ
हैनौ छोरी भन्छौ भने अर्को बुबा देखाइदेऊ
हौ छोरी भन्छौ भने अंश लेखाइदेऊ। (स्रोतः अमृता शर्मा, त्रिवि)
२०४६ सालको जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि नारी चेतनालाई थप जागृत गराउँदै लग्यो। त्यसपछिका तीज गीतको बोल नारी अधिकारमा मात्रै सीमित देखिंदैन, देशको चिन्तासँग पनि जोडिएको छ। समाज परिवर्तन गर्छौं भन्ने नेताहरूको कुकर्मको आलोचना गर्ने, गहना र लुगामा भुलाएर नारीलाई भोग्या बनाउने पितृसत्तालाई प्रहार गर्ने, नारीको शोषणका कारण खोतल्ने जस्ता भाव यस समयका गीतमा प्रकट भएका छन्-
बाबाको दैलामुनि ठूलो रूख सिमलु
देशको थिति हेर्दा खेरी मनै भिमलु
जतिजति नारी उठे नारी हक छ भनी
त्यतित्यति नारीलाई शोषण गरनी
नारीलाई शोषण गर्ने यिनी पुरुष जाति हुन्
स्वतन्त्र छन् समान छन् भन्ने यिनै हुन्
गहना र कपडाले नारीलाई सिंगारे
आनन्द र विलासको साधन बनाए
किरिम पनि चाहिंदैन, पाउडर पनि चाहिंदैन
नारीलाई थिचोमिचो गर्न पाइँदैन
सिर्जनाको स्रोत हो नारी सम्झ सबैले
सिर्जनालाई भुलाउँछ नारी जातिले... (अधिकारी, २०७८, सेतोपाटी डटकम)
तीज गीतमा विद्रोही चेत क्रमिक रूपमा विकसित हुँदै आएको छ। राजनीतिक व्यवस्था फेरिए पनि र जतिसुकै आधुनिक समयमा छौं भने पनि आज पनि महिलाहरूले दमन र उत्पीडन भोगिरहेकै छन्। त्यस्तो दमन र हिंसाको स्वरूप फेरिएको छ। देश र समाजका बाहिरी परिदृश्यमा धेरै परिवर्तन आए पनि महिलाको शरीर र सुन्दरताबारे पूँजीवादी युग र पितृसत्ताले बनाएका मापदण्ड र धारणा विरुद्ध प्रीति आलेले गीत गाएकी छन्- ‘मै मोटी भएको दुनियाँलाई पीर...।’
पछिल्लो समयका तीज गीतमा बलात्कारी र भ्रष्टाचारीलाई शूली चढाउने क्रान्तिकारी आवाज पनि छन्। कतिपय गीतले अधिकार र चेतनाका लागि अग्रसर हुन महिलाहरूलाई आह्वान गरेका छन्। प्रीति आलेको ‘दुनियाँलाई’, शान्तिश्री परियारको ‘काली पसम् कि डोरी कसम् कि’, पवित्रा पौडेल (खोलाखर्के)को ‘शंख फुक चेली हो’ जस्ता गीतले महिलाको ‘बडीशेमिङ’, शोषण र भ्रष्ट राजनीतिको मुद्दालाई उठाएका छन्। यही समयमा पितृसत्ताको सोचबाट निर्देशित भई महिलालाई वस्तूकरण गरिएका र भोगवादी बनाइएका गीत पनि गाइएका छन्।
तीजमा प्रश्न
दशैं, तिहार, छठ आदि पर्व कसरी र किन मनाउने भन्ने प्रश्न खासै गरिन्न, तर तीज किन मनाउने, कसरी मनाउने भन्ने प्रश्न गरिन्छ। बदलिएको सामाजिक चेतनाको तह र परम्परा अनुसार चल्दै आएका महिलालाई नियन्त्रण गर्ने कतिपय अभ्यासका कारण यो प्रश्न गरिएको हो। प्रश्न गरिनु आवश्यक छ, किनभने प्रश्न र विमर्शले नै हामीलाई समाजका गलत अभ्यास छाड्दै सकारात्मक पक्ष अँगाल्न प्रेरित गर्छ र सही बाटोमा डोर्याउँछ।
नेपाली समाजमा उपभोक्तावादको प्रभाव र दबाब महिलामाथि बढी छ। उत्तर उपभोक्तावादी संस्कृतिले एउटा नयाँ बजारको निर्माणका लागि महिला देहलाई वस्तु बनाएर प्रस्तुत गरेको छ (कुमार, सन् २००४, पृ. १५७)। यसले गर्दा महिलाकेन्द्रित उपभोक्तावाद निरन्तर मौलाएको छ। साउने सोमबार र तीजलाई उपभोक्तावादी पूँजीवादले आफ्नो नियन्त्रणमा लिंदा तीजका हिजोका मूल्य सकिएका छन्। शपिङ मल र पार्टी प्यालेसको बाटोबाट बजारीकरणको दिशामा हिंडेको माहोल यसको दृष्टान्त हो।
महीना दिनदेखि दर खाने, पार्टी प्यालेसमा रमझम गर्ने, लुगा र गहनाको भड्किलो रूपमा प्रदर्शन गर्ने, अश्लील गीत र भिडिओको निर्माण तथा प्रदर्शन गर्ने आदि सन्दर्भले तीजको मौलिकपन हराएको छ भने यसले महिलाको शरीरलाई फेशन विम्बमा परिणत गरेको छ। यसले वर्गीय सोपानक्रमलाई बढाएको छ। समाजका हुनेखाने र हुँदाखाने वर्गबीचको खाडल झन् गहिरिंदै गएको छ। यी सबै स्थिति हेर्दा तीज धार्मिक-सांस्कृतिक पर्व मात्र रहेन, यो पूँजीवादी बजार व्यवस्थाको चंगुलमा परेको पर्व पनि बनेको छ।
पूँजीवादी अर्थव्यवस्थाले समाजका हरेक तह प्रभावित हुँदा तीज अछूतो रहने कुरै भएन। साउनमा लगाइने हरिया/पहेंला लुगा र चुरादेखि तीजमा लगाइने महँगा साडी र गरगहना उपभोक्तावादी जीवनशैलीका उपज हुन्। मुनाफामुखी बजार व्यवस्था र त्यसको दबदबामा परेको समाज तथा उपभोगमा मग्न हुने उपभोक्ताको जीवनशैली तीजमा मात्र नभई नेपाली समाजका हरेक चाडपर्वमा देखिएका छन्। विवाह, व्रतबन्ध जस्ता उत्सव र संस्कारमा गरिने खर्च, अन्य जमघटमा गरिने मनोरञ्जनलाई पनि पूँजीवादी अर्थव्यवस्थाले घेरेको छ।
तीजको बहानामा पार्टी प्यालेसमा हुने जमघटलाई अर्को कोणबाट पनि हेर्न सकिएला। एउटी कामकाजी महिला आफन्त र साथीका लागि खानपान गराउन घरमा सबै कुरा व्यवस्थापन गर्न सक्दिनन् र रेस्टुरेन्ट वा पार्टी प्यालेसमा कार्यक्रम गर्छिन् भने त्यो अस्वाभाविक होइन। भ्यालेन्टाइन्स डेमा भरिने रेस्टुरेन्ट र पार्टी प्यालेस तीजमा भरिनुलाई आलोचना गर्नुपर्ने पनि नहोला। खाने र मनोरञ्जन गर्ने प्रवृत्ति मानवीय स्वभाव हो, जुन पुरुषमा मात्र होइन महिलामा पनि लागू हुन्छ। मुख्य कुरा चाहिं, कुनै पनि मनोरञ्जनले अरूलाई बाधा पुर्याउनु भएन, भड्किलो खर्च नगरे, सामूहिक जमघट सिकाइ र बुझाइमा परिवर्तन ल्याउने गरी उत्पादनमूलक हुन सके राम्रो।
तीज मनाउने कि नमनाउने भन्ने व्यक्तिगत स्वतन्त्रताको विषय हो। तर यसका गलत अभ्यासलाई छोड्नु वा सुधार गर्नु आवश्यक छ। तीजभित्र पितृसत्ताले थोपरेको दुष्प्रवृत्तिप्रति प्रश्न उठाउँदै कसरी अगाडि बढ्ने भन्नेबारे नयाँ पुस्ता केही सचेत छ। यो विषयमा चासो राख्नेहरूले अरूलाई पनि सचेत बनाउनु आवश्यक छ।
कसरी मनाउने?
तीजका कतिपय परम्परागत अभ्यासलाई आलोचनात्मक कोणबाट हेर्दै यस पर्वलाई सिर्जनात्मक बनाउन सकिन्छ। यसबारे सिलसिलेवार चर्चा गरौं।
- लैंगिक समानता ल्याउन भइरहेका पहल र व्यवहारमाथि आलोचनात्मक छलफल हुन आवश्यक छ। नेपाली समाजमा महिलाहरूको विकसित भूमिकामा केन्द्रित छलफल आयोजना गरी बहस गर्न सकिन्छ। कतिपय परम्परागत अभ्यासबारे आलोचनात्मक दृष्टिकोण आवश्यक छ। निर्जला व्रत, पतिका लागि उपवास जस्ता कुरा व्यक्तिगत स्वतन्त्रताका विषय हुन्, यी बाध्यकारी होइनन्। उपवासले आफ्नो स्वास्थ्य सकारात्मक हुन्छ भने बस्नु राम्रो, तर आफ्नो स्वास्थ्य अनुसारको खाना महत्त्वपूर्ण हो। तीजको दिन महिला सशक्तीकरण, नेतृत्व, आर्थिक स्वतन्त्रता सम्बन्धी कार्यशाला सञ्चालन गर्न सकिन्छ।
- उत्सव आयोजना गरेर तीजलाई रचनात्मक अभिव्यक्ति दिने अवसरका रूपमा मनाउन सकिन्छ। आधुनिक कोणबाट तीज र नारीत्व सम्बन्धी अन्वेषण गर्ने प्रदर्शनी, कविता गोष्ठी, स्ल्याम पोयट्री, नाटक मञ्चन आदि गर्न सकिन्छ। उत्सवमा युवा कलाकारलाई आफ्ना विचार रचनात्मक रूपमा व्यक्त गर्न प्रोत्साहित गर्न सकिन्छ। पुरानो र नयाँ संस्कृतिलाई झल्काउने फेशन शो पनि गर्न सकिन्छ। यसबाट महिलाको व्यावसायिकताले स्थान पाउन सक्छ।
- सामाजिक र वातावरणीय जागरुकता प्रवर्द्धन गर्ने कार्यक्रम पनि आयोजना गर्न सकिन्छ। सजावट सामग्री र कपडामा पर्यावरण अनुकूल सामग्रीको प्रयोगलाई प्रोत्साहन दिने खालका अभ्यास बढाउन सकिन्छ। पर्यावरणमैत्री जीवनशैलीका लागि केही नयाँ अभ्यास (सरसफाइ, वृक्षरोपण, फालिएका सामानको पुनःप्रयोग आदि) शुरू गर्न सकिन्छ। पूजामा मात्र सीमित हुने परम्पराबाट एक कदम अगाडि बढेर मूर्ति र मन्दिर संरक्षण गर्ने, सरसफाइ गर्ने तरीकालाई अभ्यासमा ल्याउन सकिन्छ।
- सामाजिक र परोपकारी गतिविधि बढाउने अवसर पनि बन्न सक्छ, तीज। अशक्त महिलाका लागि आश्रय, बालबालिकाका लागि शैक्षिक कार्यक्रम, ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर तथा कोष संकलन गर्न सकिन्छ।
- तीजलाई आर्थिक नभएर सामाजिक-सांस्कृतिक पर्वका रूपमा मनाउने र सामाजिक-सांस्कृतिक उत्पीडन विरुद्ध जुट्नेतर्फ केन्द्रित हुन सकिन्छ।
- विभिन्न पार्टीका महिला संगठनहरूले तीजलाई नारी जागरण पर्वका रूपमा लिएर नारी मुक्तिको चेतना वृद्धि गर्न जुट्नुपर्छ।
- सामाजिक सञ्जालको व्यापकता रहेको आजको समयमा तीजकै अवसरमा अनलाइन अभियान शुरू गर्न सकिन्छ। प्रेरणादायी महिलाका कथा साझा गर्ने, भर्चुअल उत्सव पनि आयोजना गर्न सकिन्छ।
- विद्यालय र क्याम्पसमा विविध शैक्षिक कार्यक्रम बनाई चाडपर्वको इतिहास, संस्कृतिका कमीकमजोरी र आधुनिक परिवर्तनहरूको खोजी गर्न प्रोत्साहित गर्न सकिन्छ। यिनै विषयमा युवाहरूबीच अन्तरक्रियात्मक सत्र चलाउन सकिन्छ।
- तीजलाई समावेशी उत्सव बनाउन सकिन्छ। पुरुषलाई पनि सहभागी गराएर साझा सांस्कृतिक दायित्वका रूपमा अगाडि बढाउन सकिन्छ। पुरुषले महिलालाई सहयोग गर्ने र प्रोत्साहन गर्ने पर्वका रूपमा पनि यस पर्वलाई लिन सकिन्छ। अन्तरसामुदायिक उत्सवका रूपमा पनि तीजलाई विकसित गर्न सकिन्छ। यसलाई धार्मिक मात्र नभई सांस्कृतिक हिसाबले अगाडि बढायो भने सामाजिक सद्भाव विकसित गर्नेछ।
निष्कर्षमा, तीजसँग धार्मिक सहित सामाजिक र सांस्कृतिक पक्ष उत्तिकै शक्तिशाली रूपमा जोडिएका छन्। नेपाली समाजको कृषि परम्परासँग जोडिएको जीवनशैली हेर्दा यो पर्व कामको थकानबाट विश्राम लिएर रमाउने अवसर हो भनेर पनि बुझ्न सकिन्छ। यसका साथै जीवनमा भोग्नुपरेका शोषण, दमन र हिंसाका सुस्केरा पोख्ने र त्यस विरुद्ध आवाज उठाउने समय पनि हो यो।
तीजमा पहिले अपनाइएका व्यवहार पहिलेकै सामाजिक अवस्था अनुसारका थिए। धर्मग्रन्थमा भनिएका कतिपय कुरा त्यो समाजको सापेक्षतामा भनिएको थियो, तर आज समय फरक छ। पहिले महिलाको अस्तित्व पुरुषको स्थानबाट हेरिन्थ्यो, आज त्यो स्थिति बदलिएको छ। विधवाको स्थिति साह्रै कमजोर थियो, आज केही सुध्रिएको छ। तीज धार्मिक-सांस्कृतिक पर्व मात्र रहेन, यो सामाजिक सद्भावको र स्त्रीत्वलाई उत्सवका रूपमा मनाउने पर्वका रूपमा विकसित हुँदै छ।
नेपाली समाजमा पति र पत्नी सँगसँगै धार्मिक अनुष्ठान गर्ने परम्परा छ। तीजमा पनि पुरुषलाई सहभागी गराई आपसको प्रेमका लागि मनाइने पर्वका रूपमा विकसित गर्न सकिन्छ। अटल सौभाग्यको बुझाइलाई पति-पत्नीको प्रेमपूर्ण सम्बन्धका रूपमा अर्थ्याउन सकिन्छ। अहिले तीज दुःख-वेदना सुनाउनेभन्दा भेटघाट, रमाइलो र शुभकामना आदानप्रदान गर्न मनाइने पर्वका रूपमा रूपान्तरित हुँदै छ। तीजको माध्यमबाट शुरू भएको महिला अधिकार र सशक्तीकरणका कुरा परिवर्तित सामाजिक व्यवस्था अनुसार क्रमशः सशक्त बन्दै गएको छ।
(डा. ढकाल त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका सहप्राध्यापक हुन्।)
सन्दर्भ-स्रोत:
- अधिकारी, निर्जला (२०७८, भदौ ११)। ‘तीजका गीत, समय चेत र विद्रोह’, सेतोपाटी।
- अनामिका (सन् २००१) स्त्रीत्वका मानचित्र, दिल्लीः सारांश प्रकाशन प्राइभेट लिमिटेड।
- कात्यायनी (सन् २००४)। दुर्ग द्वार पर दस्तकः स्त्री के अन्तर्जगत-बहिर्जगत और मुक्तिके प्रसंग मे कुछ बाते, लखनऊः परिकल्पना।
- कुमार, राकेश ( सन् २००४)। नारीवादी विमर्श, हरियाणाः आधार प्रकाशन प्राइभेट लिमिटेड।
- ठकुरी, सञ्जोग (२०७७ जेठ ३१), ‘हिन्दू समाजमा ब्राह्मणवादी पितृसत्ता’
- पाण्डे, बिन्दा (२०७१), ‘श्रमिक आन्दोलनमा लैंगिक समानता, रूपान्तरणमा महिला’। दोस्रो संस्करण, काठमाडौंः अस्मिता महिला प्रकाशन गृह सञ्चार तथा स्रोत संस्था।
- मित्तल, महेन्द्र (सन् २०१६)। शिवपुराण, छैटौं संस्करण, दिल्लीः मनोज प्रकाशन।