डेंगीको ‘हटस्पट’ बन्दै गण्डकी
बर्खा लागेसँगै बढ्न थालेको डेंगीको संक्रमणले गण्डकी प्रदेश ‘हटस्पट’ बन्दै गएको छ भने पछिल्लो एक महीनामा तीन जनाले ज्यान गुमाइसकेका छन्।
उच्च ज्वरो आउने, जीउ, टाउको र जोर्नी दुख्ने, खान मन नलाग्ने। पछिल्लो एक महीनायता पोखराका अस्पतालमा यस्तै समस्या लिएर आउनेको घुइँचो छ। अझ आसपासका गाउँघरका स्वास्थ्य संस्थामा पनि यो संख्या बढ्दै गएको छ।
कास्कीसँगै यस्तै समस्या बढेको अर्को जिल्ला हो, तनहुँ। आबुँखैरेनी अस्पतालमा दैनिक १० देखि १५ जना बिरामी आइरहेको अस्पतालका प्रमुख डा. डीबी क्षेत्री बताउँछन्। “१५ शय्याको क्षमता रहेको अस्पतालमा ३० जनासम्म बिरामी राखेका छौं,” डा. क्षेत्री भन्छन्।
साउनयता यस्तै समस्या लिएर कास्की र तनहुँका अस्पताल पुगेका तीन जनाको ज्यान गइसकेको छ। “अहिलेसम्म कास्कीमा दुई जना र तनहुँमा एक जनाको मृत्यु भएको छ,” गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का भन्छन्।
यसरी ज्यानै लिने गरी फैलिरहेको रोग हो, डेंगी। बर्खा लागेसँगै देशका धेरैजसो क्षेत्रमा डेंगीको संक्रमण देखिएको भए पनि गण्डकी प्रदेश भने ‘हटस्पट’ बन्दै गएको छ। मुस्ताङ बाहेक गण्डकीका १० जिल्लामा डेंगी संक्रमण देखिएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार साउन १७ देखि भदौ ९ गतेसम्मका २५ दिनमा गण्डकी प्रदेशका १० जिल्लामा दुई हजार ३९२ जनालाई डेंगी सक्रमण भएको छ। देशभर भने पाँच हजार ११९ जनामा डेंगी संक्रमण देखिएको छ। देशभर पुष्टि भएकामध्ये ४२ प्रतिशत डेंगी संक्रमित गण्डकीमै छन्।
हाल तनहुँमा सबैभन्दा बढी डेंगी संक्रमण देखिएको छ। भदौ ९ गतेसम्मको तथ्यांकमा तनहुँमा एक हजार ३६४ जनामा डेंगीको संक्रमण पाइएको छ। कास्कीमा एक हजार २१२, पर्वतमा ३०२, गोर्खामा १३८ र स्याङ्जामा १०९ संक्रमित छन्। त्यस्तै, बाग्लुङमा ९८, लमजुङमा ५७, म्याग्दीमा ५०, नवलपुरमा ३३ र मनाङमा दुई जनामा डेंगी संक्रमण देखिएको छ।
गत वर्ष पनि गण्डकीका कास्की र तनहुँ सहित देशभरका १० जिल्लामा डेंगी प्रकोपका रूपमा नै फैलिएको थियो। कुल संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढी १० जिल्लामै पाइएकाले यसलाई प्रकोपका रूपमा लिइएको थियो।
नेपालमा २०६१ सालदेखि डेंगी देखिन थालेको हो। डेंगीका लक्षण देखा पर्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सरकारले कार्ययोजना निर्माण गरेर पूर्व तयारी गर्दै आएको छ। तर बर्सेनि डेंगी संक्रमण बढ्दो क्रममा छ। गत वर्षको पुससम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगीको सक्रमण देखिएको थियो भने २० जनाको ज्यान गएको थियो।
यस वर्ष पनि उस्तै प्रकोपको रूप लिने हो कि भन्ने स्वास्थ्यकर्मीले चिन्ता जनाउन थालेका छन्। तनहुँको आँबुखैरेनी अस्पतालमा त बिरामीको संख्या बढ्दै गएपछि उपचार गर्न समस्या हुन थालेको छ। संक्रमण बढ्न थालेपछि अति विपन्न परिवारका बिरामीका लागि डेंगी परीक्षण निःशुल्क गराउने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा. क्षेत्री बताउँछन्।
पछिल्लो समय गाउँभन्दा पनि शहरी क्षेत्रमा डेंगीको संक्रमण बढी देखिन थालेको छ। आँबुखैरेनी अस्पतालका डा. क्षेत्री भन्छन्, “विशेषत: बजार क्षेत्रबाट डेंगीका बिरामी आइरहेका छन्।”
डेंगीको संक्रमण शहरी क्षेत्रमै बढी देखिन थालेपछि स्वास्थ्यकर्मी पनि चिन्तित छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका महानिर्देशक खड्का महीनौंदेखि सचेतनाको प्रयास गरे पनि डेंगीको संक्रमण बढ्दै गएको बताउँछन्। “स्वास्थ्य संस्थाबाट हामी तयार छौं, तर डेंगी संक्रमण कम गर्न टोल समुदायबाट नै अग्रसरता हुनुपर्छ,” उनी भन्छन्, “आफ्नो घर वरपर पानी जम्ने ठाउँ छ भने सफा गर्नुपर्यो।”
स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष जेठ महीनादेखि नै डेंगीको संक्रमण बढ्न थालेको हो। पछिल्लो एक महीनामा संक्रमण झन् तीव्र बनेको छ। असोज महीनासम्म संक्रमतिको संख्या उच्च रहने स्वास्थ्यकर्मीको अनुमान छ। डेंगी संक्रमणको रोकथामका लागि पानी जम्न नदिने, लामखुट्टेका लार्भा नष्ट गर्ने तथा घर बाहिर हिंड्दा सतर्कता अपनाउने लगायत उपाय स्वास्थ्यकर्मीले सुझाएका छन्।